Monday, July 9, 2018

एउटा मृत पोखरी र छायाँदेवी


गतसाता मानवशास्त्री सुरेश ढकालको आग्रहमा विना पुर्वयोजना आदिवासी जनजाती चलचित्र महोत्सवमा सामेल हुन पुगेको थिएँ । पहिले निकै चहलपहल हुने गरेको उक्त महोत्सवको यो संस्करणको पहिलो सो मा निकै कम मानिसहरु थिए । हल भित्र र बाहिर पनि चहलपहल कम थियो । उद्घाटन सकिएपछि पुग्दा महोत्सव भन्दा पनि आयोजकहरुले आफ्नो नियमीत कर्म पुरा गरिरहेको जस्तो अनुभूति हुन्थ्यो । देशको पछिल्लो राजनीतिक घटनाक्रममा जसरी पहिचानको राजनीति र आदिवासी जनजातीका आवाजहरु छाँयामा परिरहेका छन त्यसको प्रतिच्छायाँ यता पनि देखिएको हो कि जस्तो लाग्थ्यो । 
चलचित्रकर्मिहरु सञ्जोग लाफामगर र माओत्से गुरुङ, आदिवासी जनजाती महासंघका गोविन्द छन्त्याल लगायत  कार्यक्रममा सक्रिय रहेका भेटिए । पहिलो सोमा देखाईएको सञ्जोग लाफा मगर निर्देशित १९ मिनटको डकुमेण्ट्री कमलपोखरी हेरेर हामी फर्कियौं । मलाई भोज गुरुङ निर्देशित तमु भाषाको चलचित्र मैरिमों र डिवि मोक्तानले निर्देशन गरेको तामाङ भाषाको चलचित्र ‘माया सेलासी’ हेर्ने मन थियो तर भोलीपल्ट देखि परिरहेको झरिले त्यता जान सकिएन । र यसपटकको उक्त महोत्सव कमलपोखरी हेरेर विसाईयो । 
कमलपोखरी मार्फत निर्देशकले भनेको कथाले समाजको शक्ति सम्वन्ध र त्यसलाई हेर्ने आम दृष्टिकोणलाई कसरी सत्ता र पुँजीले डोर्याईरहेको छ भन्ने वारेमा मिहिन ढंगले विषय उठाएको छ । केहि समय अघि काठमाण्डौ निजगढ दु्रतमार्गले आफ्नो मौलीक संस्कृती, अर्थतन्त्र र पुर्खाको ईतिहास मेटिने भय व्यक्त गर्दै खोकनावासी आन्दोलीत भएका थिए । जनदवाव पछि अहिले उक्त स्थानबाट सडक नखनीने भएको छ । देशभर यस्ता धेरै मौलीक संस्कृती, जिवन शैली र ईतिहास बोकेका हजारौं पाटी, पौवा, पोखरी, देवल, सत्तल, चौतारी र अरु चिन्हहरु मेटद्ै ‘विकास’ को भदौरे राँगो बुुर्कुसी मारिरहेको छ । 
हाम्रो दैनीक सम्वाद, समाचारका साधनहरुका प्रस्तुती, साहित्य र मुलतः छिटोछिटो विकसीत देशको दाँजोमा पुग्न हतारिएका हाम्रा विकासे बहस र मागहरुले यस्ता ससाना तर हाम्रो पहिचानसंग गाँसीएका हजारौं वियषयलाई छोपि दिएको छ । राज्य सञ्चालनको नेतृत्व दावि गर्ने सबैपक्षबाट विकास र सम्वृद्धिको यस्तो धुलो उडाईएको छ कि मानिसहरुले आफ्नै अनुहार चिन्न छाडेका छन । 
कमलपोखरीको कथा
डकुमेण्ट्री सामान्य छ । कुनै जटिल बनावट पनि छैन । ठमेलको गा हलको छेउतिरको लोकेशन । तिनजना कथावाचकले ईतिहास देखि वर्तमानसम्मका विभिन्न सन्दर्भहरु जोडेर एउटा कथा भन्छन कमलपोखरीको । पोखरी सहितको जमिनको बनोट ईरेज गरेर अहिले दुईवटा ठुला होटल सहित सपिङ कम्प्लेक्स बनिरहेको छ ।  पोखरीसंग वरपर साना देवलहरु छन । सयौं बर्षको ईतिहास भएको उक्त पोखरी, त्यहाँ देखाईने गरेको जात्रा, त्यससंग गाँसीएका मानिसहरुका साँस्कृतीक चिन्ह समाप्त पारिएका छन । घटना त्यति हो । 
यससंग जोडिएर आउँछ केहि मानिसहरुले उक्त पोखरी बचाउन गरेको संघर्षको कथा पनि । उहिले चन्द्र शमशेरका छोरा केशरशमशेरले उक्त सार्वजनिक पोखरी आफ्नो नाममा दर्ता गरेर पचाउन खोजेका रहेछन । पछि स्थानीयले मुद्धा हाले पनि विभिन्न समयका अनेक उपक्रम पछि जमिन सरकारकै नाममा रहने फैसला भएछ । केशरशमशेरका सन्तानहरुको शक्ति कमजोर भएको थियो । जमिन निजी हुनबाट बच्यो । तर अहिले छायाँदेवि कम्पनीका नाममा नयाँ समयका पुँजीपतिहरु प्रवेश गरे । राज्य संयन्त्रलाई प्रभावित गरे । र छायाँदेवि कम्प्लेक्सको निर्माण गरे । कम्पनीका एकजना मानिस बोलेका छन, भन्छन यो त एशियाकै ठुलो व्यापारिक पर्यटकीय कम्प्लेक्स बन्दै छ । कसैले विरोध गर्नुको अर्थ छैन । 
सानो संख्यामा रहेपनि सचेत स्थानीय वासिन्दाहरु भने आफ्नो संस्कृतिको अंग रहेको उक्त स्थान मासिन पुगेकोमा आक्रोशित छन र अझैपनि अस्तित्व पुनस्थापना गर्न सकिन्छ कि भनेर संघर्ष गरिरहेका छन । 
कम्प्लेक्स ठुलो कि पोखरी
बहस यत्ति हो । सार्वजनिक स्थलहरु मिच्दै, व्यापारीक मुनाफाका लागि कम्प्लेक्स, होटल या अरु निजी सार्वजनिक संरचनाहरु निर्माण गर्दै जाँदा दुईवटा प्रष्ट परिणाम देखिने छन । पहिलो हो हाम्रो शहर विस्तारै भवनहरुको डिजाईनमा, सडक या अरु आधुनिक शहरी संरचनामा विश्वका अरु नयाँ बनेका शहरहरुजस्तो बन्दै जाँदा झण्डै दुईहजार बर्षको ईतिहास रहेको हाम्रो शहरी सभ्यता मासिने छ । त्यसपछि हाम्रो मौलीक भन्ने कुनै कुरो रहने छैन । यसले साँस्कृतीक पहिचान गुमाउने छ । यसको अर्थ यसले आकर्षण गुमाउने छ । हुनसक्छ भौतिक रुपले आधुनिक र सम्पन्न देखिन भने यसले मद्धत नै गर्ने छ ।
दोस्रो भनेको खासगरि काठमाण्डौ उपत्यकाको हकमा नेवारी संस्कृतीका धरोहरहरु मासिने छन । आफ्नो समयमा हाम्रा पुर्खाले बनाएको सभ्यता विलुप्त भएर जानेछ । यसैपनि काठमाण्डौ जंगवहादुरको बेलयात यात्रा पछि युरोपेली आर्किटेक्टको मोहमा फसेको हो । त्यससंगै हाम्रो परम्परागत भवन निर्माण शैली बदलीयो र ठुला दरवारहरु बन्दै गए । पुरानो शहरका धारा, वहाल र पाटी या मन्दीरहरुको विस्तार रोकियो । पछिल्लो तिस पैंतिस बर्षमा, अत्यधिक केन्द्रीकृत सुविधाहरुका कारण देशभरबाट मानिसहरु काठमाण्डौ आउन थाले र तिनले साना साना प्लटहरुमा आफ्नो लागि निर्वाह हुने खालका र अलि सम्पन्नहरुले चैं भाडामा पनि दिन मिल्ने घरहरु बनाए । न व्यबस्थित योजना, न शहरि विकासको नाप नक्सा क्रक्रिटको जंगल विस्तारित हुँदै मुख्य शहरको बाहिर, रिंगरोडसम्म, त्यस पछि पाखा भित्तासम्म यसको विस्तार हुँदै जाँदा काठमाण्डौको परम्परागत वास्तुकला र शहर निर्माणको सभ्यता आधारित वस्तीहरु छोपिए । तिनले समग्र जिवनशैलीमाथि हस्तक्षेप गरे । 
यसका दुईवटा सहज कारण देखिन्छन । पहिलो विकृत र दलाल पुँजीवादको विकासले सिर्जना गरेको धनले गरेको अतिक्रमण । यससंग राज्यसत्ताको प्रत्यक्ष संलग्नता र साँठगाँठ हुने नै भयो । दलाल तथा नोकरशाही पुँजीको केन्द्रीकरण काठमाण्डौमा हुँदै जाँदा त्यसले समग्र काठमाण्डौको शहरी व्यबस्थापनलाई परम्परागत शहरी विकासका अवधारणा भन्दा भिन्न पस्चिमा जिवनशैलीलाई पच्छयाउने बाटो लियो तर अव्यबस्थित रुपमा  । दोस्रो चाहि हाम्रो राजनीतिक नेतृत्वमा हस्तान्तरण हुँदै आएको सामन्तवादी सोच र चिन्तन हो । यसले एउटा भ्रष्ट नोकरशाही संयन्त्र, भाईभतिजावाद, र क्रोनी क्यापिटालिष्ट वर्गलाई हुर्कायो जो तत्काल जे गर्दा नाफा हुन्छ त्यसमा केन्द्रीत भयो । पचास सय बर्ष पछिको काठमाण्डौको दृष्यको परिकल्पना गर्न नसक्ने स्वाँठहरुको स्वार्थको मिचाईमा परेर तत्काल नाफा हुने जे सुकै काम पनि आँखा चिम्लेर गर्न थाल्यो । 
यी सबैको सञ्चालक शक्ति भने एउटै हो नाफाखोरी । परम्परागत सभ्यता भएका स्थानहरुको संरक्षण, सम्वर्धन गर्दै त्यसैलाई पर्यटकिय रुपमा विक्रि गर्ने वस्तु बनाउन सकेको भए सम्यताको निरन्तरता र सम्वृद्धि दुवै आउँथ्यो । यस्तो मुनाफा छायाँदेवी कम्प्लेक्सजस्तो नभएर समुदाय आधारित हुन्थ्यो र त्यसले समावेशी विकासलाई सहयोग पुग्थ्यो । तर त्यसको उल्टो कर्पोरेट पुँजीलाई सहयोग गर्ने बाटो अवलम्वन गर्दा न परम्परा जोगियो, न पहिचान, न विकासले समावेशी वाटो लियो । सिमित सम्भ्रान्तहरुको पक्षमा समग्र विकास न्यारेटिभलाई डोर्याईयो । त्यसले निम्त्याउने भनेको संस्कृतीसंग, परम्परागत सकारात्मक मुल्यहरुसंग सम्वन्ध चुँडिएको व्यक्तिवाद हुर्कने वातावरण हो । 
उल्टो बहस
अहिले नेपाली जनताले आम रुपमा बुझेको विकास र परिवर्तन भनेको पहिले नै विकास भएका या हुँदै गरेका देशहरुको जस्तै विशाल भवन भएको, फराकिला सडक, चिल्ला गाडी भएको या मेट्रो रेल चल्ने, रेष्टुरेन्ट, रात्रि जीवन अनुकुल शहर र त्यस भित्र आफ्नो रोजगारीको प्राप्ती जस्तो देखिएको छ । पछिल्लो समय विश्वको विकसित देशका अनेक शहरसंग अन्तरक्रियामा पुगेको नेपालीले देखेको त्यस्तो नेपालको परिकल्पनालाई नै हाम्रो राजनीतिक नेतृत्वले पछिल्लो समय चिनी दलेर विक्रि गरिरहेको छ । आफ्नो गाउँसम्म जाने सडक नभएको या उपचारका लागि असुविधामा परेको कुनै सुदुरको वासिन्दा पनि विकासका नाममा त्यस्तै कथ्यको शरणमा छ ।
तर यस्तो विकास अघि कमसेकम हरेक गाउँ र शहरमा राम्रो पढाई हुने विद्यालय, कलेज, राम्रो उपचार हुने व्यबस्था, सबै गाउँसम्म पुग्ने साधारण यातायातका साधनहरु चल्ने सडक, परम्परा ज्ञानसहित आधुनिक र यान्त्रीकरण भएको कृषि, कृषि आधारित उद्योग, उद्योग आधारित रोजगारी हो । यससंगै ठुला पूर्वाधारहरुको निर्माण पनि समानान्तर ढंगले बन्दै जानु पर्छ । तर यस्तो निर्माण गर्दा हाम्रा मौलीक पहिचानका अनेक सम्पदाहरुको संरक्षण पनि संगै गर्न सकियो भने मात्र हाम्रो आफ्नो पहिचान कायम रहन्छ । 
यस्तो पहिचान नेपालको जातीगत या साँस्कृतीक विविधता, त्यस्ता जातीहरुले सयौं बर्ष लगाएर निर्माण गरेका सभ्यता र जिवन शैली, तिनको जिवनलाई प्रभावित गरिरहेका धार्मिक साँस्कृतीक तथा भौतीक धरोहरुहरुसंग गाँसीएको हुन्छ । तिनलाई जोगाउँदा हामीकहाँ यहि पहिचान हेर्न अध्ययन गर्न आउने पर्यटकहरुको आकर्षण बढ्छ जसले अन्ततः आर्थिक रुपले रोजगारी र सम्वृद्धिको लागि सहयोग गर्छ । समाजमा स्थापित ग्य्राण्ड न्यारेटिभ रेल चढ्न, मेट्र चढ्न या मल्टीप्रपोस कम्प्लेक्सहरुको पछि कुदिरहेछ । 
हामी उल्टोबाटो हिँड्दै छौं । यसलाई रोकौं । 
nayapatrika, asar 21, 2075

No comments:

Post a Comment