Wednesday, January 3, 2018

एउटा धमिलो बुधवार



बुधवार कहिलेकहिँ आतंक लिएर आउँछ मेरा लागि । केहि समय कान्तीपुरमा पाक्षिक कोलम भने पनि हुने गरि विहिवारकै लागि लेख्ने गरेको थिएँ । यता झण्डै साढे चारबर्ष देखि नयाँ पत्रिकामा विहिवार छापिनेगरि  अपवाद बाहेक नियमीत लेखिरहेको छु । राजनीतिक टिप्पणीकारका रुपमा बजारमा टिकीरहन या आफ्ना पाठकहरुलाई निराश नबनाउन प्रयास गर्दा गर्दै मेरो बुधवार जाने गरेको छ । हरेक बुधवार विहान केहि समय सामाजीक सञ्जाल र ९ बजे आईपुग्ने पत्रपत्रिका पढेपछि म लेख्ने विषय निक्र्योल गर्छु । कहिलेकहिँ भने पहिले नै विषय तय हुन्छ र लेख्न सजिलो हुन्छ । यसपटक भने बुधवार फरक किसिमले मन र मथिंगल दुवै हल्लाउने सन्दर्भहरु आफैसंग लिएर आयो । 

मलाई ईरानमा यसपटक भैरहेको जनप्रदर्शनले आकर्षित गरिरहेको थियो । विश्व राजनीतिको शक्ति आफ्नो मुठ्ठिमा पार्न कस्सिएको अ‍ेमरिकाले ईरानमा वामपन्थी प्रभाव कमजोर बनाउन चालेका अनेक कदमबाट फाईदा उठाउँदै भएको ईश्लामिक क्रान्ती पछि स्थापित मुल्ला मौलवीहरुको शासन १९७९ देखि निरन्तर जारि छ । एकातिर अमेरिका खुला तथा गोप्य कार्यवाहि मार्फत ईरानी सत्ता कमजोर बनाउन लागिरहेको छ । अर्कोतिर ईरानी शासकहरु जनतालाई आधारभुत अधिकारबाट बञ्चित गर्न यहि अमेरिकी हस्तक्षेपलाई उपयोग गरिरहेका छन । मध्यपूर्वको भूराजनीतिक चित्रमा सद्धाम हुसेनको पतन पछि शक्तिशाली बन्दै गएको सिया बहुल ईरानलाई कमजोर नबनाई न सउदी अरव न ईजरायललाई निद्रा लाग्छ । 
यता बढ्दो महंगी, आर्थिक जडता, र राजनीतिक अधिकारबाट बञ्चितिकरणको पिसाईमा परेका जनताहरु विद्रोहमा छन । यसले ट्युनिशिया र ईजिप्ट लगायतका देशमा केहि बर्ष अघि भएको अरब विद्रोहको सम्झना गराउँछ । तर यसपटककोे बुधवार फरक प्रसंग लपेट्दै आयो जसले मेरो ध्यान ईरानबाट लतारेर काठमाण्डौका गल्लीहरुमा पछारिदियो । 
यो बुधवारका चारवटा सन्दर्भ सुचि यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ जसले मेरो लेखकीय चेतलाई झकझ्याएका थिए । नयाँ पत्रिका दैनीकमा कृष्णज्वाल देवकोटाको आलेख छ ‘कस्तो चुनाव कसको चुनाव’ शिर्षकमा । कान्तीपुर दैनीकमा नारायण ढकालको समाजवादी सपनासंग सम्वन्ध विच्छेद शिर्षकमा एउटा आलेख छ । त्यसैगरि कान्तीपुरमा नै सुरेश ढकाल र संजीव पोखरेलको विकास ः कसको ? कसका लागि ? शिर्षकमा एउटा बहस छापिएको छ । र चौथो प्रसंग हो नेकपा एमालेका सचिव योगेश भट्टराई र पोलिटव्युरो सदस्य विष्णु रिमालका विच सामाजीक सञ्जालमा पोखिएको घृणा । 
यी सबै सन्दर्भहरु नेपालको समाकालिन राजनीतिले लिदै गरेको बाटो र त्यसको भविष्यसंग जोडिएका छन । यससंगै लामो समय देखि आर्थिक विकास र वृद्धि मार्फत सापेक्षित सहज जिवनको खोजी गरिरहेका आम मानिसका सपना पनि यससंग गाँसिएका छन । त्यसभन्दा बढि कतै न कतै यसपटकको प्रदेश सभा तथा प्रतिनिधि सभामा बहुमत ल्याएको वामपन्थी गठबन्धन अर्थात नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी ५ बर्ष देशलाई कसरी नेतृत्व गर्लान भन्ने प्रश्नहरुको उत्तर खोज्न यी सन्दर्भहरु महत्वपूर्ण छन । माथिका सबै प्रसंग केहि गरि एक अर्काका परिपुरक जस्ता या जेलिएका पनि छन । 
कृष्णज्वाला देवकोटाले कसरी राजनीतिक वर्ग मात्र होईन तल्लो तहको आम जनता या मतदाता समेत आफ्नो मतको व्यापार र लिलाम बढाबढ गरिरहेको छ भन्ने चित्र प्रस्तुत गरेका छन । उनको अनुभवमा व्यक्तिएजस्तो उमेद्वार पुरै एक्लै हुने या राजनीतिक आस्था र दलगत आवद्धताका आधारमा मत नआउने चैं होईन तर आम रुपमा राजनीतिमा जे विकृती उनले व्यक्त गरेका छन त्यो यसपालीको निर्वाचनका समयमा गाउँ जाँदा मैले पनि अनुभुती गरेको थिएँ । एक दुइ हजार रुपैंयामा मत विक्रि गर्ने देखि आफ्नै दलका कार्यकताले मासुभात नखाई उमेद्वारको पक्षमा सक्रिय नहुने या उमेद्वारको प्रचार कार्यक्रममा जाँदा या भात भान्सा तयार पार्दा पनि त्यसको ज्याला लिने गरेको देखेर मलाई उदेक लागेको थियो । २०४८ मा घरघरमा नेता या प्रचारकलाई बोलाएर भात खुवाँउदा खुशी हुने कार्यकर्ता अहिले भेट्न मुश्किल परेको देखियो । 
यसले मतको व्यापारीकरण र राजनीतिको भ्रष्टिकरण अव जनस्तरसम्म संस्थागत हुन थालेको चिन्ता देखाउँछ । यसैपनि शक्तिशाली भाषामा लेख्ने ज्वालाको आलेखले निराशा ह्वात्तै बढाउँछ मानौ समाजलाई चौथो स्टेजको क्यान्सर भएको कुरा अचानक पत्ता लागेको होस ।
नारायण ढकालले मुख्यतया एमाले र माओवादी नेतृत्वले घोषित नीतिका रुपमा रहेको समाजवाद तर्फको यात्रालाई पथभ्रष्ट बनाउन खोजेको तर्फ संकेत गर्दै चिन्ता जाहेर गरेका छन । उनको समग्र लेखले छिटै सरकार बनाउँदै गरेको वामपन्थी गठबन्धनले कमसेकम मोडरेट वामपन्थको बाटो समातीदिए हुन्थ्यो भन्ने आस व्यक्त गरेको छ । तर अहिले जे जस्ता मुद्धा अघि सारेर एकता र अनेकताको विवाद गरिदै छ त्यसले भने सुखद संकेत गरिरहेको छैन । अहिलेकै नेतृत्वबाट, जो एउटा हातमा नवउदारवादको वाईवल र अर्को हातमा सामाजीक न्याय सहितको संविधानको ठेली बोकेर आवस्यकता अनुसारको मानिसहरुमा भ्रम बाँढ्न लाज मान्दैन, त्यसबाट धेरै आसा गर्न कसरी सक्लान र नारायण जीले ? 
 भाषा, ईतिहास र राजनीतिक चेतको गजव समिश्रण छ ढकालको लेखमा ।

यता संजिव पोखरेल र सरेश ढकाल पछिल्लो समय समग्र राजनीतिक संकथनलाई बेर्दै लगेको विकास र सम्वृद्धिको नारामा रहेको खोक्रो पना उदांग पार्ने पर्याप्त तर्कहरु सहित उपस्थित छन । उनीहरु भन्छन सम्वृद्धिको यो बहसले सामजिक न्याय, समतामूलक समाज, राजनीतिक अधिकार र लोकतान्त्रीक विधि तथा पद्धतिलाई अवमुल्यन गर्छ । आर्थिक वृद्धिदर र भौतिक पूर्वाधारलाई नै समाजको लक्षका रुपमा चित्रित गर्छ । उनीहरुको चिन्तनमा वर्तमान सम्वृद्धिको बहसमा रहेको खोक्रोपनाको पर्याप्त खण्डन छ तर वैकल्पीक मान्यताको राम्रो चित्र भने पाईदैन । त्यसमाथि सम्वृद्धिको बहसलाई शितयुद्धकालिन विश्व सन्दर्भमा अफ्रिकाका लोकप्रिय शासकहरुले गरेको राजनीतिलाई अहिलेको नेपालसंग तुलना गर्नु त्यति सान्दर्भिक हो जस्तो लाग्दैन । 

जिवनलाई सहज बनाउने उपायहरुको खोजीमा रहेका जनतालाई आस्वस्त पार्न र चिन र भारतको विचको आर्थिक विकासको चापबाट नेपाल नचेपियोस भन्नका लागि केहि ठुला पूर्वाधारका क्षेत्रमा तत्काल काम थाल्न आवस्यक छ । यसमा अर्थशास्त्रको व्याकवार्ड लिंकेज र फरवार्ड लिंकेजका सिद्धान्तहरुको तालमेल खोजी गर्नु आवस्यक छ । र मुलतः जनतालाई सहभागि बनाउने र जनता निर्णायक हुने विकास प्रक्रिया अवलम्वन नगरिने र सामाजीक न्यायको सुनिस्चितता नहुने खाले विकास अभियानबाट बच्न भने आवस्यक छ । यस्तो पूर्वाधार अहिलेका लागि तिव्र विद्युतिकरण र सघन यातायात सञ्जाल त हो नै संगै शिक्षा, स्वास्थ्य लगायत मानव संसाधनमा गरिने लगानी बढाउनु पनि हो । यीनका विचको सन्तुलित चित्र तयार पार्न लेखकहरुले अल्छी गरेका हुन कि ? 
जे होस भैरहेका विकासे बहसको लहडी सम्वृद्धिको राजनीतिक व्यापार माथि यो गतिलो हस्तक्षेप हो ।

अन्तमा दिक्क लाग्ने कुरा । कमरेड विष्णु रिमाल र कमरेड योगेश भट्टराई विचको सार्वजनिक छेडखानी । केहि दिन देखि सञ्चार माध्यममा आएका समाचार हेर्दा योगेश भट्टराई एमालेको आन्तरिक शक्तिसंघर्षमा एउटा पक्षको भाषा बोलीरहेका जस्ता देखिन्छन । अहिलेको वामगठबन्धनको निर्माणमा वामदेव गौतम या विष्णु पौडेलको जे जस्तो भूमिका भए पनि गठबन्धन सम्भव भएको केपी ओलीकै निर्णयका कारणले हो । अनि केपी ओली र प्रचण्डको आँटले गठबन्धन भएको भएपनि देशभर निर्वाचनमा वामगठबन्धनको नेतृत्व गरेको चैं केपी ओलीले नै हो ।
पुत्र प्रकाशको असामयीक निधनले देशव्यापी गतिविधिमा जान नसकेका प्रचण्ड यो अभियानका लागि भावनात्मक नेता अवस्य बनेका थिए । तर मुख्य अभियान्ता भने ओली नै थिए । गठबन्धनको मुख्य घटकका नेताका रुपमा केपी ओली प्रधानमन्त्रीका सहज उमेद्वार हुन । यो लोकले पनि भन्ने कुरा हो कुनै बहुमत अल्पमत चाहिने विषय होईन । 
ओलीले  बन्दिन भनेको अवस्थामा प्रचन्ड स्वभाविक रुपले प्रधानमन्त्रिका दावेदार हुनेछन, अरु होइन । 

कुन अर्थमा भनेको हुन योगेश जी ले त्यो सन्दर्भ चैं थाह भएन, तर अहिले ईश्वर पोखरेल या माधव नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि सार्नु सामान्य राजनीतिक प्रचलन र मुल्यका दृष्टिले पनि सुहाउने कुरा थिएन । 

यता उनले जुन अर्थमा भनेको भएपनि उनलाई भित्तैमा पुर्याउने गरि विष्णु रिमालले जस्तो टिप्पणी गरे मा का फुई समेत जोडेर त्यो आफैमा हास्यास्पद र नमिल्दो खालको थियो । त्यसले यी दुई नेताका विचको व्यक्तिगत र एमाले भित्रको गुटगत सम्वन्धलाई मात्र तितो बनाउने हो जग हसाउँने बाहेक । उनी किन त्यति आक्रोसमा आए थाह भएन । तर योगेशको भनाईले अर्को समुहमा निकै चोट परेको भने यसले संकेत गर्छ । भरखर जनमतबाट अनुमोदित भएर सरकार चलाउने तरखरमा रहेका दलका यी स्तरका नेताको यो बझान पक्कै पनि राम्रो संकेत होईन । 
विहान उठ्ने वित्तिकै हिमाल नदेख्दै सामाजीक सञ्जालहुँदै ल्यापटप मार्फत खुल्ने र आँखामा पर्ने यस्ता समाचारहरुले दिक्क खेलाए । धमिलो धमिलो मन भएर वित्यो आजको वुधबार । यसरी धमिलो भयो कि विहिवारका लागि लेखिएको लेख पनि सन्तोषजनक रहेन । 

No comments:

Post a Comment