Wednesday, January 24, 2018

श्री विष्णुजीको छेपन

८ माघ, सोमबारको कान्तिपुर दैनिकको अंकमा ‘वामपन्थी सपनाको वियोगान्त’ शीर्षकमा विद्वान् मित्र विष्णु सापकोटाको लेख छापिएको छ । विष्णुजी साहित्य, समकालीन र पुराना दर्शनशास्त्र, राजनीति र समाजबारे हामीकहाँका थोरै जान्नेबुझ्ने र लेख्नेमध्ये पर्नुहुन्छ । उहाँको सो लेखले गैरवामपन्थी वृत्तमा केही भ्रमले छोपेको खुसी र वामपन्थी वृत्तका केहीमा अवश्य केही भ्रमपूर्ण पिर पारेको हुनुपर्छ । निर्वाचनमा कांग्रेस पराजित भएपछिको ‘डिप्रेस्ड’ मनस्थितिमा रहेका पार्टीबाहिरका कांग्रेसजन र हुन सक्छ कोही वामपन्थीसमेत अत्यन्त खुसी पनि भएका हुन सक्छन् । उहाँले आफ्नो आलेखको उठानका लागि उल्लेख गरेको ११ भाइ वक्तव्यवाज ‘वाम वुद्धिजीवी’मा यो लेखकको नाम पनि सामेल भएकाले त्यसले आकर्षित नगर्ने कुरो भएन । त्यसैले यो आलेख विष्णुजीले उठाएका प्रश्न र हानेको छेपनबारे आफूलाई लागेका कुरा राख्न लेखिएको हो । यो न खण्डनमण्डन हो, न विरोध वा बचाउ । उहाँको लेखन शैली, शालीन, भद्र व्यक्तित्व र मित्रताको म प्रशंसक हुँ । आफ्ना अभिव्यक्तिबारे उहाँजस्तो विद्वान्ले चर्चा गर्नुले हाम्रो कर्मको अर्थ रहेछ भन्ने पनि जनाउँछ । त्यसैले यो लेख उहाँलाई धन्यवाद दिन पनि लेखिएको हो ।

विष्णुजीले आफ्नो लेखको मुख्य पक्ष वामपन्थीको सपनाकोे वियोगान्तलाई बनाउनुभएको छ । यसको थालनी ११ थान वामपन्थी बुद्धिजीवीले गत निर्वाचनमा वामपन्थीलाई जिताउन गरेको अपिलबाट गर्नुभएको छ । कसरी सारा वामपन्थी सपना एमाले–माओवादी एकताबाट वामपन्थीको बहुमत भएको सरकार बनाउनुमा गएर विसर्जित भयो भनेर केही फिक्री-तर्क गर्नु उहाँको लेखको मुख्य मजबुन रहेको छ । त्यसका लागि उहाँले पार्टीभित्र नरहेका पेसागत वृत्तका वामपन्थीको दुःखका फेहरिस्त प्रस्तुत गर्नुभएको छ ।
उहाँको भनाइको सार के निस्कन्छ भने एउटै वामपन्थी दल बन्नु, सारमा त्यो वामपन्थी भए पनि नभए पनि, देशका लागि राम्रै हो । तर, त्यसका लागि वामपन्थी विचारबाट प्रभावित भएर कम्युनिस्ट पार्टीप्रति आकर्षित भएका तथा परिवर्तनको सपना देखेका क्रान्तिकारी, उत्पीडित समूहका दलित, जनजाति या मधेसी तथा बौद्धिकले वामपन्थी दलको एकता र संसदीय बहुमतका पक्षमा बोल्नु, लेख्नुचाहिँ वामपन्थी सपनाको वियोगान्त हो । हो, यही निष्कर्ष अन्तरविरोधपूर्ण र भ्रमपूर्ण छ । मेरो चासो पनि यसैमा छ ।
पहिले स्पष्ट पारौँ, म यो स्वघोषित वामपन्थी एकता या माओवादी–एमाले मिलेर बन्ने पार्टीलाई वामपन्थी या कम्युनिस्ट मान्ने दाबीप्रति शंका गर्छु । उहाँले हेर्नुभएको छैन भने म स्मरण गराउन चाहन्छु, ५ अक्टोबरमा मैले आफ्नो ब्लगमा स्पष्टसँग लेखेको छु कि यो गठबन्धनलाई म वामपन्थी या कम्युनिस्ट मान्दिनँ तर म मत यसैलाई दिन्छु, यसैलाई देब्रे कोणबाट आलोचना पनि गरिरहन्छु । दलगत रूपमा प्रत्यक्ष संलग्न नभए पनि मेरो स्कुलिङ र हुर्काइ एमाले नै हो, सरसंगत बसउठ एमालेकै वृत्तमा छ । सम्भवतः यसले पनि म यो वृत्तमा रहन्छु । यसको अर्थ मैले आफ्नो आलोचनात्मक दृष्टि बन्धक राख्नुपर्र्छ भन्नेचाहिँ लाग्दैन ।
नेपालका कम्युनिस्ट या वामपन्थीले उठाउनुपर्ने एजेन्डाका सम्बन्धमा यतिवेलाको एमाले या माओवादी नेतृत्वले लिएका कतिपय दृष्टिकोण बिल्कुल नमिल्ने र उल्टो भए पनि र तिनले दिनदिनै खैरो रंग धारण गर्दै गएको भए पनि यिनै दलको नेतृत्वमा नेपालको अर्थराजनीतिक क्षेत्रमा हस्तक्षेप भएको हो । समाजमा विद्यमान अर्थसामाजिक तथा अर्थराजनीतिक अन्तरविरोधलाई दरीमुनि घुसारेर बाहिर सुकिलो देखाइएको राजासहितको ०४७ को संविधान फेरेर समानुपातिक प्रतिनिधित्व भएको समावेशी चरित्रको प्रतिनिधित्व प्रणालीको स्थापना र राज्य पुनर्संरचनाको अहिलेको प्राप्तिको जस त सीधै माओवादीलाई जान्छ । ०४७ कात्तिकमा संविधान जारी हुने वेलामा तत्कालीन मालेले अघि सारेका २७ बुँदे असहमतिका बुँदामा गणतन्त्र र संघीयता तथा समावेशी समानुपातिक प्रतिनिधित्वको पक्ष थपेर माओवादी जनयुद्धले आफ्नो कोर्स पूरा ग¥यो । एमाले नेतृत्वले आफैँले अघि सारेका ती बुँदाप्रति बेवास्ता गर्दै गएपछि हामीले त्यसको आलोचना र माओवादी कार्यसूचीप्रति उनीहरूको हिंसालाई छाडेर समर्थन गरेकै हो ।
अलिकति आफ्ना अनुभवका आधारतिर जाऊँ । विष्णुजीले लेखमा व्यक्त गरेजस्तै म पनि पन्ध्र वर्षे अल्लारे उमेरमा ०३५-३६ को विद्यार्थी आन्दोलनपछि माक्र्सवाद र समाजवादप्र्रति आकर्षित भएको हुँ । तत्कालीन मालेको राजनीतिक लाइनअनुसार गाउँबाट सहर घेर्दै दीर्घकालीन सशस्त्र संघर्षका माध्यमबाट देशमा जनगणतन्त्र ल्याउने र समाजवादतिरको यात्रा थाल्ने सपनाले म पनि केही वर्ष रोमाञ्चित भएकै थिएँ । तर, पार्टीसँगको सम्पर्कको पाँच वर्षका अनुभव तथा आफ्नो अध्ययनको दायरा विस्तारित हुँदै जाँदा ०४० को अन्त्यतिर पुग्दानपुग्दै म त्यो सपनाबाट मुक्त भएको थिएँ । म स्तालिनवादी र सांस्कृतिक क्रान्तिकालीन माओका विचारप्रति असहमत भइसकेको थिएँ । यसमा सबैभन्दा बढी सहयोगचाहिँ एब्गेनिया एस झिन्झवर्ग लिखित संस्मरण ‘अन्धड की झपेड में’ ले गरेको थियो । ०४५ असारमा पुग्दा नै मलाई तत्कालीन मालेको राजनीतिक रंग अहिलेको जस्तो खैरो या छिर्केमिर्के बन्ने पूर्वानुमान भइसकेको थियो । यति जानेरै म राजनीतिमा संलग्न थिएँ र ०४८ सम्म बिल्कुल खुसीले सामेल थिएँ ।
त्यसयता पार्टी र आन्दोलनप्रति आलोचनात्मक दृष्टि राख्दै लेखहरूमार्फत त्यही आन्दोलनमा सामेल छु । एमालेलाई आलोचना गर्दै गर्दा आएको र्‍याडिकल फोर्स माओवादीका कतिपय कार्यसूचीका पक्षमा लेखेको पनि हुँ । त्यसमा विष्णुजीले भनेकै जस्तो सीमान्तीकरणका मुद्दा, जातीय तथा सांस्कृतिक उत्पीडनका मुद्दामा माओवादीले लिएको अडानले काम गरेको थियो । माक्र्सवादी विद्यालयको विद्यार्थी भएकाले होला मभित्र गणतन्त्रप्रति गजबको मोह थियो । गोर्खालीको कुलीनतन्त्रले नियन्त्रण गरेको वर्ग तथा सांस्कृतिक सत्ता ध्वस्त होस् भन्ने चाहना पनि बलशाली थियो । यसका लागि त्यतिवेला माओवादीभन्दा को पो उपयुक्त शक्ति थियो र ?
तपाईं अहिले पनि सोध्न सक्नुहुन्छ स्याङ्जाका माओवादी नेता शैलेन्द्र घिमिरेसँग, उनीहरू माले छाडेर माओवादीतिर जान लागेका वेला ०५८ सालतिरै मैले सम्झाएको थिएँ, निर्णय नै गरेपछि जान त जाऊ साथी हो, तर जेजस्तोसुकै बलिदान गरी धेरै परिवर्तन गराएर आए पनि माओवादीको बाटो अन्त्यमा एमालेमा गएर मिसिन्छ । त्यसरी सम्झाएकामध्ये ज्ञानेन्द्र त्रिपाठी त जनयुद्धका क्रममा मारिए । दुई साताअघि भेट भएका शैलेन्द्र त्यही कुरा सम्झिँदै थिए । अर्थात् म तत्कालीन माले र पछि माओवादीका गन्तव्यप्रति कत्ति पनि भ्रममा थिइनँ । भ्रममा परेर त्यो राजनीतिलाई समर्थन गरेको पनि होइन । तर, दुवैले केही ‘र्‍याडिकल’ भनौँ या केही वामपन्थी कार्यसूची बोकून् र समाज रूपान्तरणमा हस्तक्षेपकारी भूमिका खेलून् भन्ने अर्थमा दुवैलाई सहयोग र दबाब दिएको साँचो हो । यसमा न पछुतो मान्नुपर्ने कुरा छ, न सपनाको वियोगान्तका रूपमा लिएर रुनु नै आवश्यक छ ।
मलाई यहीँनेर एउटा सम्झना आयो । २६ चैत ०४६ को राति दलमाथिको प्रतबन्ध हटेको घोषणा भयो । हामी सार्वजनिक अपराध र राजकाज मुद्दामा पनि भएकाले केही दिन थप जेल बस्नुपर्‍यो । जेलमा नै पर्वतका पार्टी सचिव कमरेड पावेल हामीलाई भेट्न आएका थिए । हाम्रो बहस अब पार्टीले कस्तो बाटो लिनुपर्छ भन्नेतिर केन्द्रित भयो । उनी सरकारमा गए, पार्टीलाई खुला गरे बरबाद हुन्छ भन्ने मान्यता राख्थे । मैले भनेको थिएँ एकजना मात्रै भए पनि मालेका नेता मन्त्रिमण्डलमा जानुपर्छ, पार्टी खुला गर्नुपर्छ र संसद्मा जित्ने तयारीमा लाग्नुपर्छ । हाम्रो यो विवाद लामो समय कायम थियो । अर्थात् अहिले बहुमतको सरकार बनाउन वामपन्थी बुद्धिजीवी किन लागिपरे भन्ने तपाईंको प्रश्न नयाँ होइन, उहिल्यै हल भएको हो । यसमा कोही भ्रममा थियो भने त्यो उसको मात्र समस्या हो ।
विष्णुजीले पार्टीबाहिरको वामपन्थी वृत्तले वाम गठबन्धनको बहुमतको सरकार आउनुलाई गन्तव्य ठानेकोमा नै सपनाको वियोगान्त ठान्नुभएको रहेछ । योचाहिँ उहाँले भनेको ‘आर्म चेयर माक्र्सिस्ट’ या ‘लेफ्टिस्ट’को आरोप र निर्वाचन जिताउन हिँड्ने आरोपबीच बाझिने विषय हो । विष्णुजीले बुझ्नुभएको छ वामपन्थी हुनुको अर्थ सधैँ केही न केही कुरामा असन्तोष व्यक्त गर्दै लेख्ने, बोल्ने र क्रान्तिकारी कुरा गरेर मात्र बस्ने भन्ने होइन । वामपन्थी हुनु भनेको संस्थापनका विपक्षमा कहिलेकाहीँ रत्नपार्कतिर प्लेकार्ड लिएर उभिने, असहमतिको राजनीति गर्ने खेलो पनि होइन । न यो कुनै धार्मिक अनुष्ठान या कर्मकाण्डमा देखिने शुद्धतावाद नै हो ।
वामपन्थी या माक्र्सवादी हुनु भनेको सीधा सत्ता राजनीतिसँग, वर्ग राजनीतिसँग गाँसिने विषय हो । त्यसैले देशमा उपलब्ध विकल्पमध्ये, सीधा सीधा कुरा भन्दा कांग्रेस र वाम गठबन्धनबीच छनोट गर्दा वामपन्थी गठबन्धनका पक्षमा उभिनु, त्यसले जितोस् भनेर कामना गर्नु र सहयोग गर्नु कतै पनि वाम सपनाको विसर्जन होइन । के विष्णुजी अहिलेको स्वघोषित वामपन्थी गठबन्धनले जितेकोमा मनमनै पीडामा हुनुहुन्छ ? यी कथित आर्म चेयर वामपन्थी सक्रिय नभएको भए गैरवामपन्थीले जित्थ्यो, यिनले बिगारे भन्ने चिन्ता त पक्कै होइन होला उहाँजस्तो विद्वान्को । मेरो त सीधा मत छ, अहिले जेजस्तो संविधान हामीले बनाएका छौँ, त्यसको मुख्य जस वामपन्थीलाई नै जान्छ । यसको कार्यान्वयनका लागि पनि उनीहरूको भूमिका प्रभावकारी हुनुपर्छ।
म अर्को कुरामा पनि प्रस्ट छु, अहिलेको एमाले र माओवादी नेतृत्व वामपन्थका केही आधारभूत चरित्र र मुद्दाबाट विमुख छ । यसको आलोचना र विरोध जारी रहनुपर्छ । तर, अहिलेको संविधानले नेपालको समसामयिक राजनीतिमा उठेका आधारभूत प्रगतिशील मुद्दालाई सम्बोधन गरेको छ । यसलाई कार्यान्वयन गर्नु र थप सुधारका पक्षमा काम गर्नु, स्रोत र साधनको न्यायोचित वितरणका लागि दबाब दिनु आवश्यक छ । संविधानमा केही कमी रहेका कारण वामपन्थीले रातो सर्टमा कालो टाटा लाग्छ कि भनेर माइतीघर मण्डलातिर प्लेकार्ड बोकेर बस्दैमा मात्र जिम्मेवारी निर्वाह हुँदैन । सरकारमा जानु, सुधार गर्नु र हस्तक्षेप गर्नु जरुरी छ । हाम्रो समर्थन त्यसैका लागि हो ।
यहीँनेर थोरै अमेरिकी प्रजातन्त्रसँग तुलना गरौँ । मेरो विचारमा अहिलेका केपी ओली या प्रचण्डबाट तपाईं धेरै आशा नगर्न सक्नुहुन्छ । तर, बर्निस्यान्डर्सजत्तिको समाजवादी जन्मने पनि यही वामपन्थी वृत्त र दलभित्रैबाट हो । रिपब्लिकनबाट धेरै राम्रो आए रेगन र बुसहरू नराम्रो आउँदाचाहिँ ट्रम्पहरू आउने हुन्, अर्थात् कांग्रेसबाट म कुनै सुधारको गुन्जायस देख्दिनँ सामाजिक न्यायका दृष्टिले । यही भएर पनि म वामपन्थीको प्रचारक भएको हुँ । वामपन्थी हुनु र वामपन्थी राजनीतिमा संलग्न हुनु फरक कुरा हो । वामपन्थी मात्र हुन त बोलेर लेखेर पनि सकिन्छ, साहित्य, कला, संगीत जताबाट पनि सकिन्छ । तर, वामपन्थी राजनीतिमा संलग्न हुनु भनेको सीधा सरकारमा जान बल गर्नु, पाएसम्म जित्नु र सरकार चलाएर वामपन्थी कार्यसूची लागू गर्नु नै हो । बाँकी सबै भ्रम हो ।
म त वक्तव्यवाजीमा मात्र सीमित थिइनँ, सीधा मत माग्न आफू मतदाता रहेको निर्वाचन क्षेत्रमा सक्रिय पनि थिएँ । जहाँसम्म वक्तव्यमा बाबुराम भट्टराईको विरोध र नारायणकाजीको पक्षमा मत मागेको कुरा छ, त्यसबारे मैले आफ्नो असहमति २० नोभेम्बरमा आफ्नो ब्लगमा दिएको वक्तव्यबाट प्रकट गरिसकेको छु । वामपन्थी गठबन्धनको समर्थन गरिसकेपछि यो या त्यो व्यक्तिको पक्ष या विरोधमा उभिनु राजनीतिक दृष्टिले केटौले कुरा भयो भन्ने मेरो मत अहिले पनि छ ।
अन्त्यमा, वामपन्थीहरू सधैँ क्रान्तिका कुरा गरून्, सरकारको कुरा नगरून्, बहुमत ल्याउने कुरा नगरून्, सरकार चलाउने त सम्भ्रान्तले हो, लिबरलले हो भन्ने मत बोक्नु भनेको पनि प्रकारान्तरले प्रगतिशील सुधारका सम्भावनाको विरोध हो । अहिलेको संविधान खारेज गर्ने र अर्को क्रान्ति गर्ने कुरा वामपन्थी हो भनेर मान्ने हो भने त्यस्तो क्रान्तिले केके पक्षमा केके परिवर्तन गरेर वामपन्थी कार्यसूची लागू गर्ला भनेर पहिल्यै प्रस्ट पार्नुपर्ने हुन्छ । मलाई अहिले त्यसको आवश्यकता महसुस हुँदैन । वर्गीय विभेद, दलित मुद्दा तथा केही हदसम्म समावेशी मुद्दा जीवित छन् तर त्यसका लागि क्रान्ति होइन, जन्ड सुधार अहिलेको खाँचो हो । विष्णुजीको तर्क मानेर संसद्मा बहुमत ल्याउने र सरकार बनाउने कुराबाट भाग्नु प्रकारान्तरले यथास्थितिवादलाई सहयोग गर्नु हो, वामपन्थी हुनु होइन । न अहिलेको गठबन्धनले सहजै वामपन्थी कार्यसूची पूरा गर्छ, न त वामपन्थीका लागि योभन्दा गतिलो विकल्प छ । मेरा लागि यो विकल्प स्वीकार गर्नु बाध्यता हो, वामपन्थी सपनाको अवसान र वियोगान्त होइन । एक हदसम्म ती सपनाकै निरन्तरता हो । यसलाई समर्थन गर्दा वामपन्थी हुन नपाइने भन्ने कुरा पो नमिल्दो हो ।
११ माघ, 2074, nayapatrika.

No comments:

Post a Comment