Monday, December 18, 2017

ओलीतिर सोझिएका आँखा


गत महिना काठमाण्डौको एउटा कार्यक्रममा भाग लिन आएका विख्यात माक्र्सवादी अर्थशास्त्री प्रोफेसर प्रभात पटनायकले एउटा प्रसंगमा नेपालको निर्वाचनमा हुन लागेको सम्भावित वामपन्थी विजयलाई लक्षित गर्दै भनेका थिए ः तपाईहरुकहाँ निर्वाचन बाटै कम्युनिष्टहरु सत्तामा आउने संकेत देखिएको छ । यो सामान्य कुरा होईन । विश्वभरका लागि नै नयाँ सन्देश हो । कम्युनिष्टहरु निर्वाचनबाटै सत्तामा आउन सक्छन, आवधिक निर्वाचनका माध्यमबाट पनि जनताको अनुमोदन लिएर जित्न सक्छन भन्ने संकेत हो यो । यसको विश्वराजनीतिमा गम्भिर महत्व छ । सबैले अब यता ध्यान दिने छन । प्रोफेसर पटनायक आफै नेपालमा निर्वाचन मार्फत कम्युनिष्टहरुले सरकार बनाउन लागेकोमा निकै खुशि र आसावादी देखिन्थे । कमसेकम यताका वामपन्थीहरुले प्रयास गरेमा नवउदारवाद र दक्षिण एशियालाई अप्ठेरोमा पार्दै लगेको मोदीको हिन्दुत्ववादी अतिवादका विपक्षमा वैचारिक बहसका थलोहरु बनाउन सकिने आसा व्यक्त गर्दै थिए ।
डिसेम्वर १२ चिनको सरकारी मुखपत्र पिपुल्स डेलीको सहप्रकाशन ग्लोबल टाईम्सले नेपालको निर्वाचनवारेको समाचार छापेको छ जसको शिर्षक राखिएको छ ‘प्रो चाईना नेपाल पिएम उड हेल्प इकोनमिक टाईज ः एक्स्पर्ट’ । विभिन्न समाचार स्रोतहरु उल्लेख गर्दै नेपालमा एमाले–माओवादी कम्युनिष्ट गठबन्धनले चुनावमा बहुमत ल्याउँदै गरेको तथा त्यसका नेताका रुपमा प्रधानमन्त्री बन्न लागेका केपी शर्मा ओली चिनपरस्त रहेको बताउन खोजीएको छ । समाचारमा ओलीको जितले चिनसंगको आर्थिक सम्वन्ध बलियो हुने तथा चिनको वेल्ट एण्ड रोड ईनिसिएटिभ्सलाई सहयोग पुग्ने अपेक्षा झल्किने गरि टिप्पणीकारहरुको भनाई कोट गरिएको छ । त्यससंगै नेपालमा चिनमुखि कम्युनिष्टहरुको यो जित र ओली नेतृत्वको सरकारले चिनसंग मिलेर गर्नसक्ने कामलाई भारतले पटक्कै नरुचाउने तथा त्यसलाई वाधा पुर्याउन सक्ने अनुमान पनि गरिएको छ ।
सोही दिन भारतीय अंग्रेजी दैनीक दि हिन्दुस्तान टाईम्सले एउटा सम्पादकीय टिप्पणी लेख्दै भनेको छ ‘चिनको प्रभाव विस्तारलाई रोक्न भारतले नेपालको नयाँ सरकारसंग काम गर्नैपर्छ ।’ यस्तो शिर्षक राखेर भारत र नेपाल सरकार दुवै तर्फ दिन खोजीएको सन्देशमा नाकावन्दी र संविधान माथि हस्तक्षेपबाट नेपालमा खस्किएको भारतको शाख उकास्न  अव राजनीतिक हस्तक्षेप गरेको नदेखिने गरि काम गर्न र चिनको प्रभावमा जान अघि नै नेपालसंगको सम्वन्ध सुधार्न भनिएको छ । त्यहि दिन दि टाईम्स अफ ईण्डियामा सचिन पराशरको आलेख छापिएको छ जसको शिर्षक छ ‘नेपालः ईन प्रो चाईना ओली, ईण्डिया फेस अ हिमालयन फरिअन पोलीसी च्यालेञ्ज’ । ओलीको पहिचान दुनियाभर चिन तिर झुकाव राख्ने व्यक्तिका रुपमा भएको छ, स्थापित गरिदै छ । भारतीय संस्थापनले एउटा हात ओलीसंग सहकार्य गर्न अघि बढाउने र अर्को हात ओलीलाई कमजोर बनाउन सक्रिय गराउने संकेत दिन खोेजीएको छ ।
यी सुचनाले नेपालमा वामगठबन्धनले बनाउँदै गरेको सरकारको वाह्य आयामका केही पाटा खुल्छन । नेपालमा लोकप्रिय बहुमतमा पुगेको वाम गठबन्धनका मुख्य रचनाकार केपी ओली र प्रचण्ड दुवै भएपनि निर्वाचनका समयमा देखाएको सक्रियता र गठबन्धनको ठुलो साझेदार दलका नेताका रुपमा केपी ओली नै यसका मुख्य अभियन्ता बने । गठबन्धनको नेतृत्व गर्दै उनी प्रधानमन्त्री बन्ने निस्चित रहेको सन्दर्भमा विश्वको ध्यान अहिलेलाई ओली तिर नै खिचिनु स्वभाविक हो । र उनका प्रति विदेशमा पनि र देशभित्र पनि आसा र आशंका दुवै नजरले हेरिएको छ । भूराजनीतिक जटिलताका विच भारतको प्रभावलाई न्युन गर्न पछिल्लो समय चिनले देखाएको सक्रियता र नेपालमा भारतको गिर्दो साखका कारण उत्पन्न तनाव पनि यसमा सामेल भएको छ । यसैपनि विश्वमा कमजोर रहेको कम्युनिष्ट तथा वामपन्थी आन्दोलनका सन्दर्भमा (यता ओलीले आफुलाई केवल पोलिटिकल कम्युनिष्ट भन्न रुचाएको तथा समाजवाद र खस–पहाडे राष्ट्रवाद मिसमास भएको लोकप्रिय राजनीतिलाई आधार बनाएर बहुमत ल्याएको भएपनि) कम्युनिष्ट पार्टिकै नाममा हँसिया हथौडा झण्डा बोकेरै लोकप्रिय बहुमतमा सरकार गठन गर्दै गरेका कम्युनिष्ट नेता देख्दा विश्वभरका वामपन्थीहरुमा एकप्रकारको आकर्षण बढ्नु अस्वभाविक पनि होईन । 
यस्ता वाम सुभचिन्तकहरुका चासो सम्वोधन हुने नहुने विषय अलि परको भो, धेरै आसा नगर्दा राम्रो हुने । तर वाह्य चासोको मुख्य पक्ष भारतलाई विश्वासमा लिने र चिनसंग मिलेर नेपालको पूर्वाधार विकासका क्षेत्रमा तत्काल काम गर्ने विषयमा सन्तुलित हुनु पनि र देखिनु पनि उनका लागि निकै ठुलो चुनौती हुनेछ ।
यता आन्तरिक रुपमा पनि अहिलेलाई सबैका आँखा केपी ओलीतिरै सोझिएका छन । २०७० को संविधान सभा निर्वाचन अघिसम्म एकप्रकारका कुरौटे र आलोचना मात्र गरिहिंड्ने छवि बनाएर सेकेण्ड ईन कमाण्डमा रहेका केपी ओली त्यस यता देशको राजनीतिको केन्द्रीय पात्र मध्ये एक बनेका छन र अनेक पटक आफुलाई मियो बनाउन सफल भएका छन । वाम गठबन्धन गर्दै दललाई दिलाएको सफलता पछि उनको दल भित्र मात्र होईन बाहिरका आलोचकलाई पनि उनीप्रति औंला ठड्याउन मुस्किल पर्नेे अवस्थामा धकेलीदिएका छन । नेपाली राजनीतिका अनेक मुद्धामा उनका अडानहरुप्रति सहमति विमति जे भएपनि उनले ईतिहासमा जुन स्थान बनाएका छन त्यसलाई भने स्विकार गर्नै पर्नेछ । उनले माओवादीसंगको चुनावी गठबन्धनलाई पार्टी एकतासम्म तन्काउन सफल भए र देशलाई आगामी ५ बर्ष वामपन्थी नेतृत्वको स्थिर र सफल सरकार दिए भने उनी नेपालको ६८ बर्ष यताको राजनीतिमा सबैभन्दा सफल नेता मानिने छन । यस्तो सफलता वामपन्थी दलको सरकार दिएर मात्र होईन नेपालको अनन्त मानिएको राजनीतिक अस्थिरतामा पूर्ण विराम लाएकाले पनि प्राप्त हुनेछ ।
अब उनलाई कुनै सिंढी चढ्न बाँकी छैन । तर जहाँ पुगिएको छ त्यहाँबाट सफलता पूर्वक ओर्लने चुनौती छ । यसपटक जसरी आम वामपन्थी मतदाताले यो गठबन्धनलाई सहयोग गरे त्यसमा २००६ साल देखिका हजारौं कार्यकर्ता र लाखौं समर्थकका सपना मिसिएका छन । केवल काँग्रेसलाई हराउन या भारतलाइ देखाईदिन मात्र जनताले मत दिएका होईनन । उनीहरु वामपन्थी सरकारको नेतृत्वमा देशले पुरानो युगलाई काँचुली झैं छोडोस र नयाँ युगमा फड्को मारोस भन्ने चाहन्छन । यसरी सपना देख्नेहरुमा आफ्नो नाममा झुपडी बनाउने जमिन नभएका किसान पनि छन, अनौपचारिक क्षेत्रमा काम गरेर अर्धदासका झैं बाचिरहेका मजदुरहरु पनि छन । खाडी र मेलेशियाको पुँजीपतिका लागि सस्तो मोलमा श्रम बेचिरहेका लाखौं नेपाली युवा र तिनका परिवारका सपना पनि छन । मध्यम वर्गका पनि छन । एमालेको छायाँमा बसेर हुर्केका पुँजीपतिहरु पनि छन । सबैलाई आफ्ना आफ्नो औकात अनुसारको परिवर्तन चाहिएको छ । 
लथालिंग भएको सार्वजनिक शिक्षा र स्वास्थ्य सेवामा हरेक नेपालीको पहुँच हुनेगरि परिवर्तन खोजीदै छ । सामाजीक सुरक्षाका अनेक क्षेत्रमा साधारण मानिसहरुको पहुँच बनाउने माग छ । देशभर विद्युतिकरण गर्नुपर्ने छ । रोजगारी सिर्जना गर्नुपर्ने छ । 
निर्वाचनका समयमा कहिँ पनि स्थानीय तह र प्रदेश सरकारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बहस भएको छैन । अब प्रदेश र स्थानीय तहका सरकारलाई जति गतिशिल र सक्रिय बनाउन सकिन्छ, जति जति उनीहरुलाई जनताको घरधुरीसम्म पुर्याउन र हरेक नेपालीलाई परिवर्तनको अभियानमा सामेल गराउन सकिन्छ त्यति नै देशले परिवर्तनेको अनुभूति गर्ने हो । लोकतन्त्र र गणतन्त्रको अनुभूती गर्ने हो । यसका लागि कोही वामपन्थी नै बन्नु पर्छ भन्ने छैन । संविधानले परिकल्पना गरेका संस्थाहरुलाई बलियो बनाए मात्र पनि पुग्छ । 
कमसेकम ओलीले आफ्नो राजनीतिक उचाईलाई प्रयोग गरेर आफ्नो समयकालमा बुढिगण्डकी परियोजना, तराई– काठमाण्डौ द्रुत मार्ग, सुनकोशी कमला डाईभर्सन, भेरी बबई डाईभर्सन, र चिनसंग जोड्ने सडकहरुको स्तरोन्नती मार्फत उत्तरतर्फको कनेक्टिभिटिलाई बाह्रै महिना सञ्चालन हुने मार्गबाट जोड्ने काम सकाए भने र चिनले प्रस्तावित गरिरहेको केरुङ–काठमाण्डौ–पोखरा–लुम्वीनी रेलमार्गको केरुङ–काठमाण्डौ खण्डको काम सक्न लगाए भने देशले गरेको आसा धेरैहदसम्म पुरा हुनेछ । यसले नेपालीहरुको आत्मसम्मान फर्केर आउने छ, आसावाद सञ्चार हुनेछ । यति मात्र गरेपनि देशको अर्थतन्त्रमा खर्बौैंको बार्षिक आम्दानी र लाखौं रोजगारी थपिने छ । 
यता किसानहरु सरकारको सहयोग खोजीरहेका छन । संरचनागत परिवन्दमा परेर टाउको उठाउन नसकेको हाम्रो उत्पादकत्व वृद्धिका लागि कृषि आधारित उद्योगहरु, आधुनिक कृषी र त्यसलाई व्यबस्थापन गर्न सक्ने दक्ष अर्ध दक्ष जनशक्तीको व्यापक पैमानामा उत्पादन गर्नुपर्ने आवस्यकता छ । अर्थतन्त्रको संरचनागत परिवर्तन भूमिसम्वन्धसंग धेरै हदसम्म गाँसीएको छ त्यसलाई सम्वोधन गर्नुपर्ने छ । सबैभन्दा बढि त २०४७ यताको अति राजनीतिकरणको शिकार भएर लथालिंग भएको सार्वजनिक संस्थाहरुलाई व्यबस्थित गरेर, कानूनको शासनको प्रत्याभूति गराएर, लोकतान्त्रीक संस्थाहरुलाई बलियो बनाएर जाने चुनौती छ ।
नेपाली काँग्रेस यसविचमा प्रतिपक्षको भूमिकामा रहँदा वामपन्थी सरकारको असफलताका लागि मनकामना भाकेर मात्र बस्नेवाला छैन । उसको निकट रहेका र नवउदारवादको समर्थन गर्दै आएका केहि बौद्धिक टिप्पणीकारहरु अहिले नै जनतामा एकप्रकारको भ्रम र भय उत्पन्न गराउन र यो सरकारलाई असफल बनाउन सक्रिय भएका छन । तिनीहरु अब शेयर बजार ओरालो लगाउन, निजी र वैदेशिक लगानीका लागि वातावरण विगार्नमा कस्सिएर लागि पर्ने छन । कम्युनिष्ट अधिनायकवाद र निजी पूँजीमाथि नियन्त्रणको भयबारे उठाउन खोजिएको बबण्डर निर्वाचनमा वाम मतदाताले पानीहालेर सेलाई दिए । तर अव मतदाता जाग्ने होईन नीतिगत रुपमा सबै पक्षलाई विश्वासमा लिने दायीत्व सकारको हुनेछ । पार्टी अध्यक्षका रुपमा र प्रधानमन्त्रीका रुपमा पनि ओलीको हुनेछ । 
विदेशी मित्रहरु र साझेदारहरुका आँखा पनि ओलीतिर । विदेशबाट नेपाललाई रणनीतिक खेल मैदान बनाउन चाहनेको आँखा पनि ओलीतिर । देशमा परिवर्तनको सपना देख्नेको आँखा पनि ओलीतिर । परिवर्तनलाई सिमित परिवार र व्यक्तिको हितमा नियन्त्रीत गर्न खोज्ने क्रोनी क्यापिटालिष्टहरुका आँखा पनि ओलीतिर भएको बेला हो यो । जसरी उनले निर्वाचन जित्न समाजका भिन्न भिन्न स्वार्थ र प्रवृतीका अनेक पात्रहरुलाई अँगालो हालेका छन त्यसले उनको छवि राम्रो मात्र बनाएको छैन । प्रश्नहरु पनि उठाएको छ । उनका दाविहरु जस्ता भएपनि प्रदेश नम्वर दुईमा देखिएको मत प्रवृर्तीले राजनीतिक क्षेत्रमा सम्वोधन गर्नुपर्ने मुद्धाहरु छन भन्ने संकेत पनि गरेका छन । यीनलाई नजरअन्दाज गरेर, वेवास्ता गरेर मात्र अघि बढ्न सम्भव हुन्न । यस अघि पनि उनी प्रधानमन्त्री भएका हुन । उनका लागि यो पद नौलो अवस्य होईन । तर उनले अल्पायुको प्रधानमन्त्रीत्व र भारतीय नाकावन्दीलाई कारण बनाएर माफि पाएका थिए, शंकाको सुविधा पाएका थिए । अब स्थिती त्यस्तो हुने छैन । 
आसा गरौं धेरै अनुकुलता र थोरै प्रतिकुलताका विच प्रधानमन्त्री हुने तरखरमा लागेका ओली कुर्सिबाट ओर्लने बेलामा रुञ्चे हाँसो होईन विन्दास हाँसो हाँस्दै निस्कन सक्नेगरि आफ्नो कर्ममा लाग्नेछन ।
Naya patrika

No comments:

Post a Comment