Tuesday, December 12, 2017

गाउँबाट चुनाव नियाल्दा


अघिल्लो साता चार दिन जति म कास्कीका केहि गाउँहरु पुगें । घर नपुगेको पनि दुई बर्ष भैसकेको थियो । आफ्नो रित्तो र विरानिदै गएको घर पुग्दा त्यसले नेपालका धेरै गाउँको कथा भनेजस्तो लाग्यो । आफु जन्मे हुर्केको, खेलेको लडेको र उठेको आँँगन, वरपरका दृष्यहरु उनै थिए तर आमा बा नवसेको घर घर जस्तो लाग्दो रहेनछ । क्रमशः रित्तिदै गएका वस्तीहरु । मेरो छिमेकमा मेरी माईली आमा र एउटी मुक बहिनी वस्छन । आमा ८० बर्ष छोरी ४५ बर्ष । दुईवटा भैंसी पालेर दुध दुहुँदै बसे पनि एकलास र बुढेसकालका असहायपन भरिएको अनुहार लिएर  आमाले दिएको २ गिलास मोही पिँए । अर्को पट्टिको घरमा एकजना ६५ बर्ष जतिकि सानीमा र उनको त्यति नै उमेरको मुक देवर वस्छन । दुवै घरका अरु सन्तानहरु या पोखरा छन या अरु ठाउँमा अध्यवसाय गरेर बसेका छन । रित्ता घरहरुको यो कथा यताको मात्र होईन । घरहरु रित्तीएसंगै पाखोवारीको जोतभोग घटेको छ । बारीहरु बाँझै पल्टेका छन । यो दृष्य भाचोकको पनि हो । यहि दृष्य थाकको पनि हो । 
माझठानामा भने जिल्लाकै उत्कृष्ट उब्जाउ टारी भएकोले किसानहरु अझै पनि खेतीपाती गर्दै रहेछन । कसैको खेत बाँझो थिएन । त्यहाँका किसानले बताए अनुसार प्रतिरोपनी सात मुरी जति जेठोबुढो धान फल्ने भएकोले केही दलित परिवारहरु बाहेक त्यहाँका किसानहरुको जीवनस्तर राम्र्र्रै छ । अतिरिक्त श्रम भने या पोखरा तिर या विदेशतिर गएर काम गरिरहेको छ । बाहिरको कमाई गाउँ प्राय फर्किन्न । खेतीमा पुर्नलगानी छैन । केही केही बाहेक परम्परागत निर्वाहमुखी खेतीमा नै रमाईरहेका छन । 
रैकर पुगेको बेला एकजना वाम गठबन्धनका मतदातासंग केहीबेर कुरा गरियो । सउदी तिर १२ बर्षजति काम गरेर फर्केका उनी अहिले गाउँमै रहेछन । मत वामपन्थी गठबन्धनका उमेद्वारलाई दिने भए पनि उनी अहिलेसम्म नेताहरुले गरेको काम र व्यबहारबाट निकै असन्तुष्ट पाईए । उनको चासो भने गाउँमा भएको आफ्नो जमिनको उपयोग गरेर सहज जिविका गर्ने वातावरण राज्यले बनाईदेओस भन्ने रहेछ । पूँजी आफ्नै लगानी गर्ने, स्रोत आफ्नै परिचालन गर्ने, आफैले श्रम गर्ने र राम्रो आम्दानी गर्ने सोच बनाएर पनि पूर्वाधारको कमिका कारण केही गर्न नपाएको उनको गुनासो थियो ।
राजनीतिक दलहरुका घोषणापत्र र नेताहरुको भाषणमा उनका चासोको सम्वोधन कतै पनि थिएन । मैले पनि पाईन उनीपनि आस्वस्त भएनन । सबै गाउँमा डुल्दा देखिएको एउटा साझा दृष्य भने खेतीपातीमा रहेको परम्परागत प्रचलन हो जसले किसानहरुको जिवनस्तर उठाउन सहयोग गरिरहेको छैन
हरेक जसो सरकारी विद्यालयमा विद्यार्थि संख्या कम हुँदै गएको छ । रैकरको माविमा पहिले सात आठ सय विद्यार्थि हुने गरेकोमा अहिले तिनसयको वरपर मात्र रहेछन । मलाई यो सुन्दा अनौठो लाग्छ । पहिले सामुदायीक विद्यालयमा कम शिक्षकले पढाएर पनि धेरै विद्यार्थि उत्तिर्ण हुन्थे । दरवन्दी नहुँदा गाउँलेले अनेक गरेर तलव खुवाएर पालेका शिक्षक, गाउँलेले श्रम गरेर बनाएका भवन हुँदा पनि चलेकै थियो । अहिले भवन बनाउन कतै न कतै राज्यकोषबाट पैसा जान्छ । सबै दरवन्दीमा सरकारी तलव खाने शिक्षक छन । विद्यार्थि संख्या घटेको छ शिक्षक संख्या थपिएको छ । तर त्यहिँको शैक्षिक गुणस्तरबारे मानिसहरु आस्वस्त छैनन ।
उता मेरो गाउँ मकैखोलाका केहि साथिभाई संग कुरा हुँदा त्यहाको हाईस्कुलबाट पछिल्लो समय उत्पादन भएका विद्यार्थिहरु उच्च शिक्षामा राम्रै गरेका भेटिए । ईन्जिनीयर  पढ्दै गरेका, कसैले पुल्चोकमा नाम निकालेर पढेका केहि अरु तिर । यो सुनेर चैं खुशी लाग्यो । अलि सामान्य विषयमा पढेका या आधा बाटोमा पढाई छाडेकाहरुका लागि रोजगारी अहिलेको मुख्य चुनौती भएको देखियो ।
निर्वाचनको समय भएकोले गाउँमा राजनीतिक चहलपहल छ । कच्ची भएपनि सडक सञ्जालले बेरेको गाउँ बस्तीमा उमेद्वार र तिनको प्रचार टोली गाडीमा सरर जान्छ धुलो उडाउँदै । गाउँलेहरु माला र खादाले सत्कार गर्छन । सायद दलको पहिलेकै योजनामा खाना तयार हुन्छ । यस्ता भोज हुने सबैजसो ठाउँमा मासु खानाको अनिवार्य अंग बनेको देखियो । २०४८ र २०५१ को निर्वाचन सम्म पनि प्राय प्रचारमा हिँड्नेहरुलाई स्थानीय नेता कार्यकर्ता या शिक्षकहरुले आप्mनै घरमा खाना बनाएर खुवाँउथे । शहरमा या कुनै पसलमा दिउसो खाने खाजाको बाहेक खानामा पैसा खर्च गर्ने चलन थिएन । 
अहिलेको एमाले उमेद्वार खगराज अधिकारी उतिवेला पनि उमेद्वार थिए । म आफैले व्यबस्थापन गरेको २०४८ सालको निर्वाचनमा उनको खर्च ६१ हजार मात्र भएको थियो । अहिले ६१ लाखमा सक्न पनि मुश्किल रहेछ । पहिलेको यस्तो खर्च पनि धेरैजसो शिक्षक, केही कर्मचारी र केही व्यापारीसंगको चन्दाले चल्थ्यो । अहिले स्थिती बदलीएछ । आर्थिक तरक्की गरेका कार्यकर्ताहरु र व्यापारीहरुले यस्तो खर्च व्यहोर्न सक्ने हैसीयत बनाउँदै गएको पाईयो । यद्यपी खर्च कति हुन्छ या कसरी व्यबस्थापन गरिन्छ चन्दा कसले दिन्छ जस्ता विषयमा कसैले मुख खोलेर कुरा गर्न चाहेन ।
निर्वाचन प्रचारलाई प्रविधि र यातायातको सुविधाले होलो बनाएछ । गाउँ गाउँमा नयाँ पुस्ताका ससक्त युवा कार्यकर्ता र नेताहरुको एउटा तह तयार भएको रहेछ । यो देखेपछि अव विस्तारै दलहरुको नेतृत्व हस्तान्तरणको प्रक्रिया आरम्भ हुने आसा गर्न पलाउँछ ।
मादी गाउँपालिका र कास्की निर्वाचन क्षेत्र नम्वर १ प्रदेश ख को मात्र कुरा गर्दा नेपाली काँग्रेस ओरालो लाग्दै गरेको जस्तो देखियो । जति गाउँ डुलें वामपन्थी गठबन्धनका पक्षमा जनमत बढिरहेको मैले देखेेंं । वाम गठबन्धनमा रहेका दुवै दलका कार्यकर्ता र मतदातासम्म उत्साहजनक समर्थन देखियो । यो देखेपछि मलाई निर्वाचन पछि एमाले र माओवादी केन्द्रका विच एकता हुन सम्भव छ जस्तो लाग्यो । केहि बर्ष देखि निस्किृय रहेका काँग्रेसहरु पनि वामगठबन्धन बनेपछि काँग्रेसका पक्षमा सक्रिय भएका भेटिए । मैले भेटेका वाम गठबन्धनका प्रदेश सभाका उमेद्वारहरु कृष्ण थापा, मनवहादुर गुरुङ र रामजी बराल आफ्नो जितमा ढुक्क थिए ।
समग्र रुपमा कास्कीमा जनमत बुझ्ने प्रयास पनि गरेको थिएँ । तिन नम्वरमा प्रतिनिधि सभा तर्फ काँग्रेस उमेद्वार शुक्रराज शर्मा वामपन्थी उमेद्वार जगत विश्वकर्मा भन्दा अलि प्रभावशाली रहेको भन्ने चर्चा थियो । तर स्थानीय तहको निर्वाचनको परिणाम र संगठित मत तथा वामगठबन्धनले जगाएको उत्साह हेर्दा सबै सिट वामपन्थीको पोल्टामा जान अनुमान धेरैले गरेको पाँए । म भने यसपटक कसैको बारेमा कुनै पूर्वानुमान सार्वजनिक गर्ने पक्षमा छैन । 
अहिलेको उमेद्वारी हेर्दा एउटा सन्तोक गर्ने ठाउँ पनि छ । कास्की दुईको ख तिर प्रदेश सभामा काँग्रेसका उमेद्वार विन्दु थापा मात्रै पेशेवर राजनीति बाहिरबाट आफुले आर्जन गरेको धनका कारणले उमेद्वारी पाएका देखिए । अरु सबै राजनीति गरेरै आएकाहरु उमेद्वार भएका छन । महिलाहरु प्रत्यक्ष तर्फ उमेद्वार बनाईएका छैनन जुन कुरा निकै खट्कीन्छ । दलितबाट जिवन परियार र जगत विश्वकर्माले प्रत्यक्ष तर्फ पाएको उमेद्वारीले दलितहरुको राजनीतिक शक्ति विस्तार भएको देखाउँछ ।
निर्वाचनमा कास्कीको दुई नम्वर क्षेत्रका वामपन्थी उमेद्वार रविन्द्र अधिकारीको सक्रियता र उनले पाईरहेको जनसमर्थन पनि काविल ए तारिफ छ । उनका वारेमा गुनासो नै नभएको त होईन तर त्यो व्यक्तिगत स्तरमा छ र असन्तुष्टहरु पनि चुनावमा सक्रयतापूर्वक खटिएकै छन । दुई पटक साँसद भैसकेर पनि त्यो लोकप्रियता कायम रहनु सजिलो हुँदैन । 
निर्वाचन क्षेत्र नम्वर एकमा एमाले उमेद्वार खगराज अधिकारी, काँग्रेस उमेद्वार यज्ञबहादुर थापा र दुई नम्वर क्षेत्रमा काँग्रेसका उमेद्वार देवराज चालिसेको भाषण गर्ने शैली भने अझै पनि विद्यार्थि नेता हुँदाको जस्तो अलि तितो टर्रे भयो भनेर आम वृत्तमा टिकाटिप्पणी गरेको सुनियो । मेरो अुनभवमा उनीहरुका सार्वजनिक भएका विचार हेर्दा अलि वासी कुरा र पूर्वाग्रहरु बढि देखें । शैली पनि उनीहरुको व्यक्तित्व सुहाउँदो नभएको आरोप पनि लगाईरहेका थिए आफ्नै समुहभित्र ।
सम्वृद्धि र विकासको नारा चर्का चर्का लागे पनि त्यो कसरी हासील हुने हो, त्यस्तो सम्वृद्धिको वितरण कसरी गरिन्छ तथा आम जनसमुदाय यस्तो अभियानमा कसरी सामेल हुन्छ भन्ने विषयमा कुनै उमेद्वारको पनि खास ध्यान गएको पाईएन । परम्परागत वाटो र पानीका कुरा र पर्यटन तथा जलस्रोत विकासका अमुर्त कुरा गरेरै मत मागिरहेको देखिन्छ । यसैपनि कास्की देशकै सम्पन्न जिल्लामा पर्ने भएकोले व्यक्तिका समस्याहरुको घेरा साँघुरो छ । तर ति सबै वर्गका मतदातालाई छुने विषय प्रष्ट राख्न उमेद्वार र दलका नेताहरु चुकिरहेको देखें । 
उनीहरु राजनीतिका ठुला न्यारेटिभहरुको तुँवालो उठाएर मतदातालाई भ्रमित पार्न र एकप्रकारको भय उत्पन्न गराउने प्रयासमा थिए । यसमा काँग्रेस बढि आक्रामक र वाम गठबन्धन रक्षात्मक देखियो । काँग्रेसले जे आरोप लगाउँदै थियो ती आफैमा म्याद सकिएको विष या नपड्कने बम जस्ता थिए । तर पनि यसको प्रभाव मतदातामा पर्ने नै भयो । 
मेरालागि यसपालीको घुमाई केही पुराना सम्वन्धहरु नविकरण गर्नमा सहयोगी भयो । उहिले विद्यालयमा कख पढाएका या आफुले राजनीति सिकाएकाहरु अहिले गाउँ या प्रदेशको मात्र होईन केन्द्रीय संसदको पनि जिम्मेवारी मज्जाले सम्हाल्न सक्ने राजनीतिक पंक्तिका रुपमा विकास भएको पाउँदा एकप्रकारको आनन्द पनि लाग्यो । कास्कीका सबै क्षेत्र विकास सम्भवनाका दृष्टिले उम्दा छन । चुनौती र नयाँ सम्भावन दुवै छन । खाँचो केवल जसले जिते पनि त्यसलाई सम्भावनामा रुपान्तरण गर्ने दृिष्ट र सक्रियताको मात्र छ ।
(यो अंकमा लेखुँला भनेर पहिले भनिएका कुरा अव आफै बासी हुँदै गएकोले त्यता प्रवेश गरिएन ) ।  

No comments:

Post a Comment