Tuesday, December 26, 2017

दि ट्रेजेडी अफ रामचन्द्र पौडेल


(पहिले नै पाठकहरुलाई प्रष्ट पारांैं ः यो लेख रामचन्द्र पौडेलको राजनीतिक अविच्युरी चैं होईन । माधव नेपालले २०६४ को निर्वाचनमा दुईठाउँमा पराजय ब्यहोरे । लगत्तै पार्टी महासचिवबाट पनि राजिनामा गरेपछि उनको राजनीतिक अविच्युरी लेखिएको थियो । तर १५ महिना वित्दा नवित्दा उनै माधब नेपाल चोरबाटोबाट देशको प्रधानमन्त्री नै भएर आए । त्यसपछि मलाई कुनै जिउँदो राजनीतिज्ञको राजनीतिक अविच्युरी लेख्न डरलाग्छ ) 
नेपालका राजनीतिक दलहरुमा कुनै कार्यकारी अधिकार कम भएको तर देखाउँनलाई ठुलो हैसीयतको देखाउनु पर्ने व्यक्तिलाई व्यबस्थापन गर्न एउटा पद सिर्जना गर्ने चलन छ ः बरिष्ट नेता । त्यस्तो अभ्यास यता एमालेमा पनि छ । पार्टीको दैनीक राजनीतिमा कुनै निर्णायक हैसीयत प्रदर्शन गर्न नपाएपनि कमरेड माधव नेपाल र झलनाथ खनालहरु बरिष्ट नेता कहलिन्छन । काँग्रेसले त गणेशमान सिंहकै समय देखि यस्तो अभ्यास गर्दै आएको हो । 
यस्तो अभ्यासको पछिल्लो चरणमा सभापतिको निर्वाचनमा पराजित भएपछि रामचन्द्र पौडेल पनि परेका छन । उनलाई सबै काँग्रेसीहरु र सञ्चार माध्यमले बरिष्ट नेता भन्छन । काँग्रेसको विधानमै यस्तो व्यबस्था छ कि काँग्रेसीहरु सान्त्वनास्वरुप रामचन्द्रलाई यो पदवी दिईरहेका छन भन्ने चैं यो पक्तिकारलाई थाह भएन । जे होस उनी बरिष्ठ नेताकै रुपमा चिनिन्छन र कहिलेकहिँ सामाजीक सञ्जालमा आफैले आफैलाई बरिष्ठ नेता भनिरहेका पनि भेटिन्छन । 
उनै रामचन्द्र पौडेल गत सोमवार तनहुँको व्यास नगरपालिकाको खहरेमा पुगेर आफ्ना मतदातासमक्ष रोएछन । मत दिए पनि नदिएपनि मतदातालाई धन्यवाद दिन पुगेका पौडेलसमक्ष मतदाताले आँसु खसालेर सहानुभूति दिएछन । जनताका आँखामा आँशु देखपछि भाविविहल हुँदै रामचन्द्रले पनि आसु बगाएछन । रामचन्द्र रोएछन यो नै समाचार हो । यो समाचारपछि अलिकति यी नेताको दुःखान्तको बारेमा चर्चा गर्नु सामयीक नै हुनेछ ।
तनहुँको सामान्य परिवारमा जन्मेका रामचन्द्र पौडेल पोखराको संस्कृत पाठाशालामा पढ्दै गर्दा वामपन्थी विद्यार्थि संगठनप्रति आकर्षित भएर राजनीतिमा लागेका थिए । (उनीसंग मैले २०५९ तिर लामो कुरा गरेको थिएँ । अनेविफेको सम्मेलनमा भाग लिन आउँदा दामोदर शमशेरको दरवारमा कार्यक्रम हुन लागे पछि मैले बहिष्कार गरें भन्थे । यी नेतासंग मैले दुईपटक अन्तरवार्ता गरें । पहिलो कुनै दिन प्रयोग होला । अर्को चैं दिल्लीबाट निस्कने एउटा म्यागाजिनका लागि थियो । पुर्ण वस्नेतसंगै उनको घरमा पुगेर २०६४ साउनमा लिएको । माओवादी अध्यक्ष प्रचण्ड र एमाले महासचिव माधव नेपालको अन्तरवार्ता डिकोड गरेर सकेको थिएँ । यीनको गर्दै थिएँ अचानक कम्मरको मासु च्यातिएकोले दश दिन जति उठ्न सकिन । उता पत्रिकाको डेडलाईन सकियो । यीनको अन्तरवार्ता पठाउन सकिएन) । दरवारीयाहरुसंग वामपन्थीको उठबस देखेर काँग्रेसतिर लागेको बताउँथे । तर जव काँग्रेसमा लागे तहिले देखि निरन्तर काँग्रेसको राजनीतिमा छन । एक दशक भन्दाबढि समय जेल बसे । पेशेवर राजनीतिमा सामेल भए । २०४० को वरपर पुग्दा काँग्रेसका दोस्रो पुस्ताका अगुवा नेता भैसकेका थिए । 
मैले राजनीतिप्रति चासो राख्दा गण्डकीका काँग्रेसहरुबाट सुनिने एउटा नाम यिनको पनि थियो । उनले राजनीतिका क्रममा साधारण पहिरनमा एउटा झोला बोकेरसंगठन गर्दै हिँड्दाको विम्वका चर्चा कसै मेरो मनमा पनि उनिएका छन । यीनले खासगरी तनहुँ र लमजुङ्का काँग्रेसहरुको राजनीतिक विरासत थामेका थिए । २००७ साल वरपरको राणाविरोधी क्रान्तीमा श्रीभद्र शर्माले त्यस भेगको नेतृत्व गरेका थिए । श्रीभद्र र उमाभद्र  खनाल, गोवर्धन पोख्रेल लगायत नरङ्गातिरका जुल्फे ठिटाहरु ( यी जुल्फे नरङ्गे ठिटामध्येका एकजनालाई मैले २०३७ माघमा नरङ्गाबेंसीमा भेटेर धेरै कुरा सुन्न पाएको थिएँ) पुलिमराङका बखानसिंह गुरुङ ( जसका छोरा धर्मध्वज २००७ सालमा बन्दिपुर आक्रमणका क्रममा शहिद भएका थिए), लमजुङ चिसंकुका श्रीप्रसाद घिमीरे तथा दुराडाँडाका श्रीकान्त अधिकारीहरु त्यस भेगका काँग्रेसका अगुवाहरु थिए । 
यी मध्येका  खनाल दाजुभाईको राजनीति पञ्चायत प्रवेश गरेर राजाको विश्वास आर्जन गर्न खोज्दा खोज्दै सकियो । श्रीकान्त अधिकारी पञ्चायत नै प्रवेश गरे र एकपटक रापंस भए । बखानसिंह गुरुङ २०३८ सालमा पर्शुनारायण चौधरीसंगै पञ्चायत प्रवेश गरे र गद्धार अड्तिसे समुहका रुपमा चिनिए । अरु जो थिए तिनीहरु राजनीतिक संघर्षकै क्रममा विते । एकप्रकारले सबैको राजनीति दुःखान्तमा सकियो । गोवर्धनका छोराहरु कृष्णचन्द्र नेपाली र रामचन्द्र पोखरलेले भने अझै काँग्रेस राजनीति गरिरहेकै छन ।
यो पुस्ता पछिको तनहुँको काँग्रेस राजनीति धान्नेहरु मध्येका अगुवा चैं रामचन्द्र हुन  । गोविन्दराज जोशि लगायतका धेरैले काम गरेका र शक्तिमा पुगेका भएपनि राजनीतिक रुपमा चैं रामचन्द्र पौडेल नै त्यताका शिर्ष नेता बन्न सके । त्यस भेगमा उनको समयका अरु काँग्रेस नेताहरुको पनि एकप्रकारको दुःखान्त नै भएको मान्नु पर्छ । तनहुँका गोविन्दराज जोशी र अम्मर कैनी, गोर्खाका चिरञ्जीवी वाग्ले र कास्कीका तारानाथ रानाभाटहरु राजनीतिका किनारामा बसेर अरुले गरेको सत्ताभोग हेरिरहेका छन । 
२०४८ पछि कुनै समय थियो काँग्रेसीहरु रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरवहादुर देउवालाई मिलाएर आरएसएस भन्थे जसलाई दोस्रो पुस्तामा काँग्रेस हाँक्ने नेताका रुपमा गनिन्थ्यो । तर सत्ता राजनीतिमा अनेक पक्षहरुले काम गर्छन । २०४८ मा गिरीजा मन्त्रीमण्डलमा गृहमन्त्री भएपछि देउवा संधै शक्तिमा रहे । कोईराला परिवारलाई चुनौती दिएर पनि प्रधानमन्त्री बने, पार्टी विभाजन गरेर पनि प्रधानमन्त्री बने पार्टी एक बनाएर पनि सभापति र प्रधानमन्त्री बने ।  शैलजा आफ्नै आकाँक्षा र अहमको रागले पिल्सीदैं सिमान्तीकरणमा धकेलीईन र असमयमा नै वितिन । पार्टिमा बरिष्ठ नेता कहलिदा पनि रामचन्द्र पौडेल भने न काँग्रेसको फष्ट म्यान हुन सके न देशको प्रधानमन्त्री बन्न पाए । 
गिरीजाप्रसादसंग कुरो नमिलेर पार्टी फोड्न हिँडेका पौडेल अन्तिम समयमा काँग्रेस बचाउन भन्दै शेरवहादुरलाई धोका दिएर पार्टिमा फर्के । पार्टीमा त्यस अघि नै गिरीजाप्रसादलाई प्रधानमन्त्रीबाट हटाउने दरवारीया षडयन्त्रमा जानी नजानी फसेर उपप्रधानमन्त्रीबाट राजिनामा दिएका उनलाई गिरीजाले कहिल्यै उपल्लो तहको विश्वास गरेनन । माधव नेपालले राजिनामा दिएर खाली भएको प्रधानमन्त्री पदमा निर्वाचित हुन १७ पटक उमेद्वार भएर पराजित भएका यीनलाई जव काँग्रेसले साँच्चै प्रधानमन्त्री पाउने अवस्था आयो अनि उमेद्वार नै बनाईएन ।
आफुलाई उदारवादी समाजवादका प्रवक्ता ठान्ने यीनले २०४७ यताका कुनै पनि काँग्रेस सरकारको आर्थिक सामाजीक नीति तय गर्ने ठाउँमा हस्तक्षेप गर्न सकेनन । यद्यपी पहिलेका निर्वाचनमा यीनकै नेतृत्वमा घोषणापत्र तयार हुन्थे । न समाजवाद भन्न छाड्ने न समाजवाद लागु गर्न सक्ने एकप्रकारका रुञ्चे राजनीतिक अभिव्यक्तिले यिनको आफ्नै उचाई घटायो । यिनी जहिले पनि पदले काँग्रेसको माथिल्लो तहमा रहने तर व्यबहारले आउटसाईडर बनिरहने अचम्मको स्थितीमा बाँचे । कसैको पनि किचन क्याविनेटमा परेनन ।
सुशिल कोईरालाको निधन पछिको काँग्रेस महाधिवेशनमा सभापतिमा उठ्दा पनि यिनको उचाई कमजोर देखियो । कतिसम्म भने सभापतिमा उठ्दा पनि उनको समुह पौडेल समुह नभएर कोईराला खेमाकै नामले चिनीयो । स्वभाविक थियो सत्ता राजनीतिमा बढि गनगने भूमिकामा देखिने यिनले देउवाका दाउपेच चिर्न सकेनन । सभापतिमा पराजित भए । 
०४८ साल देखि निर्वाचन जित्दै आएका यीनलाइ यसपटक आफ्नै मतदाताले पत्याएनन । वामगठबन्धनबाट उमेद्वार भएका राष्टिय राजनीतिमा कुनै परिचय नभएका व्यक्तिले यी बरिष्ट नेतालाई पराजित गरिदिए । त्यतिमात्र होईन पहिलोपटक आफ्नो परम्परागत प्रभाव क्षेत्र तनहुँ, लमजुङ, स्याङ्जा, कास्कीमा काँग्रेस नराम्रोसंग पछारिएको छ । तनहुँमा कुनैपनि सिट काँग्रेसको हातमा परेन । उनी अहिले ७४ बर्ष भैसकेका छन । अव अर्को निर्वाचन ५ बर्ष पछि हुने छ । त्यतिवेलासम्म यीनको राजनीतिक जिवन ज्युनिमा बस्ने तिर धकेलीने छ । सम्भवतः आगामी काँग्रेस महाधिवेशनमा यीनले कुनै बलियो समर्थन सहित सभापतिमा उठ्ने अवसर पनि पाउने छैनन । स्वभाविक छ हेर्दाहेर्दै आफ्नै परिचय र विरासतको संकटमा पुगेको कुनै सक्रिय नेता यस्तोवेला आँसु बगाउने बाहेक केहि गर्न सक्दैन । फरक यति हो अरु घरभित्र बसेर रोए, पौडेल सार्वजनिक स्थानमा ।
उनी राजनीतिमा निरन्तर लागिरहे, एउटा व्यक्तिले गर्न सक्ने धेरैहदसम्मको त्याग पनि गरे । लगातार सत्तारुढ दलको नेता पनि बनिरहे । एकपटक सभामुख, केहि पटक उपप्रधानमन्त्री, गृहमन्त्री लगायतका मन्त्रालय सम्हाले, पार्टिको केन्द्रीय सदस्य, महामन्त्री उपसभापति र कार्यवाहक सभापति पनि भए । शक्ति अभ्यास गरे र निजी पारिवारिक जिवनलाई सहज बनाए । तर पार्टि र देशमा कुनै अलग छाप छाड्न सकेनन । यसपटक निर्वाचन जितेर प्रधानमन्त्री बन्ने अन्तिमा आसामा रहेका उनको सपना निर्वाचन परिणामले हुरिले धुलो उडाए झंै उडाईदियो ।
खहरेका मतदातासमक्ष उनले आउने दिनमा जनताको सेवामा लागिरहने भनेर बचन दिएछन । तर २६ बर्षसम्म अवसर पाएको, सत्तामा रहेको र निर्वाचित भएको व्यक्तिले चुनाव हारेपछि भनेका यस्ता कुराहरुको के अर्थ रहन्छ भन्ने मतदातालाई पनि थाहछ । अवसर पाउँदा यसै दम्भ पालेर विताएका समयप्रतिको अपशोच बाहेक यसले के नै व्यक्त गर्छ र ? 
राजनीतिका उच्चस्तरीय मञ्चहरुमा रामचन्द्र जहिले पनि संख्याका अर्थमा मात्र उपस्थित देखिन्छन । उनी जहिले जहिले उच्चस्तरीय वार्तामा पुग्छन तहिले अरु कसैका छायाँ भन्दा बढि लाग्दैनन । उनको आफ्नै कुनै अलग व्यक्तित्व देखिन्न । जहिलेपनि नियतीका दास जस्ता देखिने उनको दुःखान्तको अन्तर्निहित कारण पनि सायद यहि होला । 
Naya patrika, 6 paush 2074

3 comments:

  1. ‘जहिलेपनि नियतीका दास जस्ता देखिने उनको दुःखान्तको अन्तर्निहित कारण पनि सायद यहि होला ।’ याे वाक्यको अर्थ के हाेला ? के पाैडेलकाे दुःखान्त नियतिकाे फल हाे वा उनकै कर्मकाे वा राजनीतिक दाउपेचमा उनकाे कमजाेर प्रस्तुतिको ?

    ReplyDelete
  2. बखान बा २०३४ मा अठतीसे समूह लिएर प्रवेश गरेका हुन्। २०३८सम्म परशुनारायण चौधरी पञ्चायतमा गएका हुन्।छ्यासमिस भएछ।

    ReplyDelete