Sunday, June 18, 2017

त्यो बिगत यो बर्तमान

पोखरा महानगरको मेयर पदमा मानबहादुर जिसी निर्वाचित भए । तिनले पोखरामा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई दश हजारभन्दा बढी मतले हराए । यता बुटवल उपमहानगरको मेयरका लागि शिव सुवेदीले एमालेबाट प्रतिस्पर्धा गर्ने भएका छन् । त्यहाँ पनि कांग्रेस र माओवादीका तर्फबाट संयुक्त उम्मेदवारी दर्ता गर्ने निश्चित भएको छ । एमाले राजनीतिमा यी दुवैजनाले पाएको सफलता लोभलाग्दोे छ । अर्को कुरा पनि पक्का छ, यो सफलता एमालेको बढी र व्यक्तिगत रूपमा यिनीहरूको कम हो, तर व्यक्तिविना पार्टी कसरी बन्छ र ? यो देखेपछि मलाई यिनीहरूसँग जोडिएका समयको केही सम्झनाले ताने ।
०३९ माघको अन्तिम सातातिर म गाउँकै एउटा प्राविको शिक्षक पदबाट राजीनामा दिएर पृथ्वीनारायण क्याम्पसमा बिए पढ्न पुगेको थिएँ । ०३७ मंसिरमा आइएको पढाइ सकेर गाउँ फर्कंदा म पार्टीमा संगठित थिइनँ । शिक्षक आन्दोलनमा सहभागी थिएँ । राजनीति र साहित्य अध्ययन गर्थें । कहिले–कहिले आउने अखिलका नेतालाई त्यहाँको हाईस्कुलमा संगठन बनाउन सहयोग गर्थें, भाइ दीपक नै विद्यालय प्राकको अध्यक्ष भएको थियो (ऊ भने अहिले पनि राजनीतिमै सक्रिय छ) । मनमा चाहिँ मालेको राजनीतिमा सामेल हुने चाहना बलशाली नै थियो । पोखरा पुगेकै दिनदेखि पार्टीको सम्पर्कमा पुगिहालेँ र पहिलो सातासम्ममा त क्याम्पसमा युवा लिगको सदस्य बनेर काम थालेँ ।
बगरमा केही सेल्टर थिए स्थायी जस्तै । तीमध्ये सधैँ कोही न कोही डेरा लिएर बस्ने घर सिमपानीका विश्वकल्याण पराजुलीको थियो । म जाँदा त्यहाँ रामनाथ ढकाल र खगराज अधिकारी सँगै बस्थे । सायद रघुनाथ अधिकारी गुरु पनि त्यही घरमा हुनुहुन्थ्यो त्यतिवेलासम्म । पार्टीका केही न केही बैठक त्यहीँ भइरहन्थे । ठिक्क पारिपट्टिको घरमा शेखर अधिकारी र टुुकराज सिग्देल बस्थे । त्यो कोठा पनि सेल्टर नै थियो । त्यता जाउआउ भइरहन्थ्यो । विश्वकल्याण पराजुलीको घर लामो समय पार्टीका कार्यकर्ताले कोठा लिएर बस्ने र सेल्टरका रूपमा प्रयोग गर्ने घरका रूपमा रह्यो । विश्वकल्याणले पोखरा रहुन्जेल खासै सक्रिय राजनीति गरेनन् । प्रशिक्षण केन्द्रमा केही जागिरमा थिए । पछि टियु आएपछि सक्रिय नेता भए । यसपालि त्यही घरबाट शारदा पराजुलीले वडाध्यक्ष जितेर एक मात्र महिला वडाध्यक्ष बन्न पुगिन् । शारदाको जित त्यो परिवारको योगदानको कदर र सम्मान पनि हो ।
०३९ चैतको पहिलो साता तारकाङको ध्रुव निमाविमा अखिलको जिल्ला सम्मेलन भयो । त्यसले रामनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति बनायो । समितिको उपाध्यक्षमा मानबहादुर जिसी, कोषाध्यक्ष शिव सुवेदी, सचिवमा गणेश तिमिल्सिना थिए । म पनि एउटा सदस्यमा छानिएँ । मानबहादुर जिसी भने त्यतिवेला अखिलको पिएन क्याम्पस प्रारम्भिक कमिटीका अध्यक्ष थिए । त्यही“देखि यी मानबहादुर र शिवस“ग मेरो सहकार्य सुरु भयो ।
कसले भन्न थाल्यो त थाहा छैन तर पोखराका अखिलबीच विश्वकल्याण र मानबहादुर जिसी मात्र त्यस्ता थिए, जसलाई सबैले दाइ भन्थे । समकालीन भए पनि यी दुवैलाई अहिले पनि म दाइ नै भन्ने गर्छु । र, कहिलेकाहीँ अत्यन्त औपचारिक बनेको वेलाबाहेक कहिल्यै एकअर्कालाई तपाईं भन्नुपरेको छैन । ‘तिमी’ले नै काम चल्ने गरेको छ । मानबहादुरले असारमा आइएडको पढाइ सकेर गाउँ जाने तरखर गरे । अचानक क्याम्पस प्राकको अध्यक्षको जिम्मेवारी मलाई आइलाग्यो । त्यो देशैभरका कमिटीमध्ये सबैभन्दा बढी सक्रिय बन्नुपर्ने जिम्मेवारी थियो । मानबहादुर त्यहाँबाट फर्केपछि भैँसे माझबेसीको एउटा विद्यालयमा पढाउन थाले ।
मैले उनलाई कहिल्यै सोधेनछु ती कसरी मालेको सम्पर्कमा पुगे । तर, उनी जहिले मालेमा सामेल भए त्यसपछि कहिल्यै मुन्टो बटारेनन्, कहिल्यै जिम्मेवारी छाडेनन् । कसरी हो उनले आफ्नो घरमा यस्तो सेल्टर बनाए, जुन त्यस भेगमा बेगनासपछि सबैभन्दा बढी प्रयोग भएको थियो । पार्टीका अनेक खाले कार्यक्रम आयोजना हुन्थे । रातबिरात कैयन् मान्छेलाई भात पकाएर खुवाउने व्यवस्था गर्नुपथ्र्यो । तलामै पिसाब फेर्ने र त्यो पिसाब पछि बाहिर लगेर फाल्ने व्यवस्था थियो । घरबाट पचास मिटर परको खोल्सीमा चर्पी थियो । वामदेव गौतम, जीवराज आश्रित, त्रिलोचन ढकाल, धर्मदत्त देवकोटा, शारदा सुवेदी, मीनराज, सीता गिरी, शिव, गोमा देवकोटालगायत त्यता काम गर्ने भूमिगत कार्यकर्ता र नेता गइरहन्थे । एउटा दसैंको टीकोसमेत रामनाथ ढकाल र मैले त्यही घरमा लगाएका थियौँ र तीन दिन बसेर दसैं मनाएका थियौँ हामीले ।
यो घरबारे मैले आफ्नो उपन्यास आधा जूनमा पनि चित्रण गरेको छु । र मानबहादुर जिसीलाई अर्कै पात्रमा आरोपित पनि गरेको छु । यिनलाई पछि सञ्चालक समितिले विद्यालयबाट निकल्यो । तर, यिनले बिएड पढ्दा पनि गाउँ छाडेनन् । हाम्रो समूहमा यिनी मात्र त्यस्ता थिए, जसको बिहे भइसकेको थियो अर्थात् बिहेपछि अखिलका कार्यकर्ता भएका थिए उनी । घरजम, परिवार र राजनीतिलाई सँगै लैजाने थोरैमा पर्छन् यी । यिनी राजनीतिमा लागिरहे निरन्तर । यिनले अहिले मेयरको उम्मेदवार पाउँदा र जित्दा पनि अरू के–के ‘फ्याक्टर’ले काम गरे थाहा छैन, तर यी हुन् चाहिँ ०३६ पछि पोखरावरपरको राजनीतिमा पिएन क्याम्पसको अखिल राजनीतिका उपज । उनले पाएको पद पनि त्यसको निरन्तरताको पुरस्कार हो ।
मैले एमाले छाडेर माले बन्दा पनि र पछि राजनीतिबाट टाढिँदा पनि यिनीसँगको सम्बन्ध उस्तै अनौपचारिक रहिरह्यो, भेट हुँदा रमाइलो लाग्ने । अहिले भेटघाट कम हुन्छ, तर विगततिर फर्किंदा अनिवार्य सम्झिनेहरूमा यिनको अनुहार आइहाल्छ ।
शिव सुवेदी भने अखिलको कार्यकाल नसकिँदै परासी झरे । पछि बुटवल रुपन्देहीलाई कार्यक्षेत्र बनाए । हाम्रो बसाइ बगरको बागबजारबाट टुँडिखेलतिर जाने त्यतिवेलाको कसाही टोलमा दश घरजति तलमाथि थियो । यिनी बसेको घरमुनि राँगा र कुखुराको मासुका पसल थिए । नालामा रगत मिसिएको फोहोर पानी बगिरहेको हुन्थ्यो । यिनी मान्छे थिए त बिन्दास पाराका । हंसपुरको रामकोट माविका प्रअ प्रभात सुवेदी र नरनाथ सरहरूले गाँजा खाँदा एकअर्कालाई सम्बोधन गर्ने ऋखी (ऋषि) यिनले यता ल्याएका थिए । हामी एकअर्कालाई ऋखी भन्थ्यौँ । ०४० को मे दिवसमा पृथ्वीनारायण क्याम्पस गेटमा भएको प्रहरीसँगको लामो मुठभेडका क्रममा हामी सँगै भिडेका थियौँ । तराई झरेपछि यी कता हराए जस्तो लागेको थियो, पछि एमालेको मजदुर फाँटमा काम गर्दै गरेका भेटिए । रुपन्देहीजस्तो एमालेका दुवै गुटका ‘हेभिवेट’हरू भएको ठाउँमा तलबाट उठेर जिल्ला अध्यक्ष र बुटवल उपमहानगरको मेयरको टिकट पाउने भएपछि यिनको राजनीतिले उचाइ लिएको बुझ्न सकिन्छ ।
मलाई यिनको यो सफलताका पछाडि हंसपुरमा पुष्पकमलहरूले थालेको राजनीतिले आफ्नो उत्तराधिकारी पाएको जस्तो लागेको छ । एमालेको विचारधारात्मक पक्ष र पुष्पकमलहरूका सपनाको तुलना अहिले अर्थ राख्ला नराख्ला अर्को पाटो हो । तर, त्यहाँका देवराज, दिव्यराज, इन्द्र, रामबाबु, प्रभात, अमर, भद्रकृष्ण सुवेदीहरूले राजनीतिमा कतै उचाइ लिएनन् । त्यही पुस्ताका विजयबाबुले मात्र गाउ“को अध्यक्षका रूपमा काम गरे । शारदा सुवेदी एमाले वृत्तमा ‘सेन्टर टु पेरिफेरी’मा घुमिरहेका छन् । अहिले यिनै शिवले राजनीतिको उत्तराधिकार धानेका छन् ।
यिनले पोखरा छाडेपछि सम्झना त रह्यो तर मित्रता या सम्पर्क खासै रहेन । यीचाहिँ कास्कीको हंसपुरमा पुष्पकमल सुवेदी र देवराज सुवेदीहरूले आरम्भ गरेको कम्युनिस्ट राजनीतिका दोस्रो पुस्ताका हुन् । अहिले त्यता फर्केर हेर्यो भने हंसपुरेहरूमा सबैभन्दा सक्रिय र माथिल्लो तहमा राजनीति गर्ने यिनै रहेछन् ।
तत्कालीन गण्डकी धौलागिरि क्रान्तिकारी कम्युनिस्ट दल (माले) का संस्थापकमध्येका सोमनाथ प्यासी मात्रै राजनीतिमा सक्रिय छन् र एमालेको स्थायी समिति सदस्यको हैसियतमा छन् । जयप्रकाश बाँस्तोला बिते, मोदनाथ, दामोदर शिक्षकबाट अवकाश लिएर सामान्य जीवन बिताइरहेका छन् । रामराज रेग्मी अहिले माओवादी केन्द्रमा सक्रिय छन् । रामबाबु लेखन साहित्यिक गतिविधिमा देखिन्छन् । रामचन्द्र अधिकारीको भूमिका के छ थाहा भएन । पर्वतका कृष्णप्रसाद भट्टराई दलहरूका बीच पिङ खेलिरहेका छन् । गोर्जेली निर्मल सुवेदी बर्दिया पुगे र एमालेका समानुपातिकतर्फबाट सांसद छन् ।
यीमध्ये सोमनाथ प्यासीकी छोरी मञ्जुबाहेक कसैका सन्तान पनि राजनीतिमा सक्रिय देखिएनन् । मञ्जु अहिले पर्वतको फलेबास नपामा उपमेयर बनेकी छिन् । उनी क्याम्पस पढ्दा स्ववियु सदस्य भएकी थिइन्, जहाँ उनका पिता प्यासीजी दुईपटक सभापति हुुनुभएको थियो । दुई वर्षकी नहुँदै बाबु जेल परे । आमा जानुकाले अनेक लाञ्छना र अभाव सहेर हुर्काएकी मञ्जुले त्यो पुस्ताको उत्तराधिकार धानेकी देखेर खुसी लागेको छ ।
अघिल्लो साता पोखराका वामपन्थी अभियन्ता टेकनाथ बराल आफ्नी माहिली छोरी प्रभा बरालका साथ काठमाडाैँमा भेटिनुभयो । प्रभा पहिलो चरणको निर्वाचनबाट चितवनको राप्ती नगरपालिकामा मेयर बनेकी छिन्, ३ नम्बर प्रदेशमा नपा मेयर बन्ने एक मात्र महिलाका रूपमा । उनलाई देख्नेबित्तिकै मलाई ०४६ साल फागुन १ गते पृथ्वीनारायण क्याम्पसमा भएको घटनाको झल्को आयो । उक्त दिन सात विद्यार्थी संगठनका तर्फबाट आन्दोलनको समर्थनमा एउटा कार्यक्रम राखिएको थियो । अखिल पाँचाैँका तर्फबाट वक्ताका रूपमा प्रारम्भिक कमिटीका अध्यक्ष यिनै प्रभा बराल थिइन् । अत्यन्त सामान्य वेशभूषाकी कलिली गाउँले किसान परिवारको छनक आउने । फ्रक लगाएकी यी केटीको अनुहारमा क्रान्तिप्रति अदम्य विश्वास थियो । प्रभाले त्यतिवेला बोलिरहँदा मलाई चाहिँ उनका दाजु विद्या बरालले ०३६ वैशाख २ गते क्याम्समा हडताल आह्वान गर्दै रातो अनुहारमा काम्दै गरेको भाषण याद आएको थियो । प्रभाले बोलिसक्दा नसक्दा भएको भयानक प्रहरी दमनले देशलाई नै हल्लाइदिएको थियो । लक्ष्मी कार्कीको गिरफ्तारी र यातानामा त्यो दिनको कार्यक्रम टुंगिएको थियो ।
प्रभा बरालले पनि पोखराको वामपन्थी आन्दोलनकै इतिहासलाई निरन्तरता दिएकी छिन् र टेकनाथ बरालको परिवारबाट राजनीतिमा सक्रियता देखाएर उत्तराधिकार सम्हालेकी छिन् । यिनीहरूले वामपन्थ या कम्युनिस्ट राजनीतिको पनि निरन्तरता देलान् या एमाले मात्र बन्लान् भन्नेबारे यहाँ प्रश्न उठाउनुु असान्दर्भिक हुनेछ । अहिलेचाहिँ यी सबैलाई बधाई र शुभकामना !
नयाँ पत्रिका   |   असार ०१, २०७४

No comments:

Post a Comment