Saturday, June 10, 2017

यी व्यर्थका प्रश्न

यी प्रश्न निर्दोष भने होइनन् है, एउटा हिन्दी गीतमा ‘तेरे मासुम सवालोँ से परेसान हुँ मैं’ भने झैँ । यी प्रश्न घरीघरी  घोच्न आइरहन्छन् ।
१. राजनीति र कांग्रेसप्रति चासो राख्ने काठमाडौंको गफाडी वृत्तमा शेरबहादुर देउवा र प्रदीप गिरिबारे एउटा ठट्टा पन्ध्र वर्षअघिदेखि प्रचलित छ । एकपटक सन्ध्याकालीन जमघटमा शेरबहादुरसँगै गफिइरहेका वेला गिरिले वरपर भएकालाई सुनाउँदै भनेछन् : यो शेरबहादुर मूर्ख छ । न कुनै पुस्तक पढ्छ न कुनै शास्त्रबारे जान्दछ । हाजिरीजवाफ शैलीमा शेरबहादुरले भनेछन् : म मूर्ख भएर दुईपटक प्रधानमन्त्री बनिसकेँ, तँ विद्वान् भएर एकपटक पनि हुन सकेको छैनस् त ! गिरिलाई आफ्नै वचनले पोलेछ ।
हो त, किन प्रदीप गिरि कहिल्यै प्रधानमन्त्री या मन्त्री हुन्नन् र शेरबहादुर चार–चारपटक प्रधानमन्त्री बने ? के छ त्यस्तो रहस्य जसले प्रधानमन्त्रीमा शेरबहादुरलाई खोज्छ, जो आफ्ना विगतका प्रधानमन्त्रीत्व कालका कामका सन्दर्भमा बदनाम पनि छन् ।
यो प्रश्नको सम्झना त्यतिवेला भयो, जब चार दिनअघि तिनै विद्वान् तथा कायाले वृद्ध देखिँदै गरेका आदरणीय प्रदीप गिरि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको बालकोट दरबारमा देउवाको प्रधानमन्त्री बन्ने बाटो खोलिदिन अनुरोध गर्दै हात जोड्न पुगेको टिभीहरूले देखाए । प्रदीपको नियति के होला र शेरबहादुरको व्यक्तित्वको असार्वजनिक पाटो के होला ? के तागत छ शेरबहादुरसँग, जसले प्रदीपलाई सधैँ आफ्ना वरपर सहयोगीका रूपमा काम गर्न प्रेरित गर्छ ? त्यसको बदला मजाले तिघ्रे भन्दै उडाएर प्रदीप आफ्नो पीडा लुकाउँछन् । ‘क्या गम हे जिसको छुपा रहे हो’ प्रदीप दाइ ? यहाँनेर गिरि स्वयंको पदप्रतिको अनाशक्तिबारे प्रश्न उठाउन खोजेको चाहिँ किमार्थ होइन । केवल राजनीतिमा बौद्धिकता र मूर्खताको के सीमा हुन्छ र के अवसर, भन्ने जान्न उत्सुक भएको मात्र हो ।
सामयिक राजनीतिको विद्यार्थीका रूपमा यसपालि शेरबहादुरको सत्तारोहण मधेस आन्दोलन, प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना, जिओपोलिटिक्स, ओलीको हठवादिता तथा धेरैचाहिँ संसदीय गणितका कारण गत वर्ष नै निर्धारित थियो भन्ने त म पनि अनुमान गर्न सक्छु । तर, शेरबहादुरजत्तिकै पुराना, त्यागका केही बढी नै भोटो फटाएका, अपेक्षाकृत सिद्धान्त बुझेका रामचन्द्र पौडेल मलीन अनुहार लिएर प्रधानमन्त्रीको समर्थकका रूपमा संसद्मा प्रस्ताव दर्ता गर्न जाने र शेरबहादुरचाहिँ निरन्तर प्रधानमन्त्री बनिरहने कुरा रहस्य नभएर पनि एकप्रकारको प्रश्न त बनिरहन्छ ।
अरूका नियतिमाथि निकै सुरुचिपूर्वक लेख्नुहुने प्रदीप गिरिले यो आफ्नै र रामचन्द्रको नियति तथा देउवाको प्राप्तिबारे केही लेखे स्वाद आउँदो हो ।
२. उखान र नेपाली बोलीचालीका द्विअर्र्थी शब्द खेलाउन माहिर कमरेड ओली आफ्नो क्षमताकै आधारमा दलभित्रका प्रतिपक्षी गुटलाई तह लगाएर पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत बने । उनको तार्किकता, वाक्पटुता र प्रत्युत्पन्न मति गज्जबको छ । राजनीतिमा एउटा दृष्टिकोण बनाएपछि त्यसमा मजाले अडिने र पछारिँदा पनि आफ्ना खुट्टा अर्काको शरीरमाथि राखेर आफैँले जितेको भान दिनसक्ने गज्जबको क्षमता पनि उनमा छ । कहिलेकाहीँ त उनी यस्तो भ्रम ‘भर्चुअल्ली’ नै सही, यति शक्तिशाली रूपमा सिर्जना गर्छन् कि भर्खर उनैलाई जितेको मानिस पनि एकछिन आफ्नो जितबारे आशंका गर्न थाल्छ । जनकपुर महाधिवेशनमा उनले हलमा आफ्नो मत अल्पसंख्यामा पर्ने देखेपछि एउटा बसको यात्रुको उदाहरण दिँदै भनेका थिए— एउटा यात्रु बसमा चढेछ, गाउँबाट सहर आउन । बाटो खाल्डाखुल्डीको । बस घरी यता कोल्टिएर लड्लाझैँ गर्ने घरी उता कोल्टिएर । सो यात्रु भने बसको बीचमा ठड्याइएको डन्डी बलियोसँग समातेर उभिएछ । बस गन्तव्यमा पुगेपछि ओर्लेर भनेछ : आज मैले त्यो डन्डी बलियोसँग नसमातेको भए बस लडेर यतिका मान्छेको ज्यान जाने थियो । महासचिव त माधव नेपाल नै निर्वाचित भए तर ओलीले उनलाई भर्चुअल्ली हराएर आए माधव मनमनमा हारेर आए । बुटबलमा झलनाथले जित्दा पनि त्यस्तै भएको थियो ।
किन प्रदीप गिरि कहिल्यै प्रधानमन्त्री या मन्त्री हुन्नन् र शेरबहादुर चार–चारपटक प्रधानमन्त्री बने ? के छ त्यस्तो रहस्य, जसले प्रधानमन्त्रीमा शेरबहादुरलाई खोज्छ, जो आफ्ना विगतका प्रधानमन्त्रीत्व कालका कामका सन्दर्भमा बदनाम पनि छन् ।
अब केही गडबड भयो जस्तो छ । दोस्रो ठूलो दलका नेता । प्रचण्डको समर्थनमा प्रधानमन्त्री भएका थिए । तर, उनले आफ्नो पार्टीको अल्पमत पक्षलाई या माधव अथवा झलनाथ खनाललाई झैँ प्रचण्डलाई पनि टेर्न छाडेपछि १० महिना पूरा पनि प्राधानमन्त्री नहुँदै पद छाड्नुप¥यो । आफू प्रधानमन्त्री बनिरहन नसके अर्कालाई प्रधानमन्त्री बनाएर पनि आफ्नो दललाई सरकारको नेतृत्वमा राखिरहनुपर्नेमा उनी भने आफूले नपाए दलको अर्कोले पनि पाउँदैन भन्दै हिँडे । पछिल्लो समय त उनी यसरी बोल्छन् कि आज बोलेको कुरो भोलि लागू हुँदैन । पर्सि अर्को कुरो भन्छन् र त्यो पनि लागू हुँदैन । निर्वाचनको मितिबारे पनि त्यही ताल भो, बजेटबारे पनि बोलेपछि सोच्ने गर्न थाले । हुँदाहुँदा उनी यति धेरै कमजोर बन्न थालेछन् कि प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसदीय मर्यादाको पाठ पढाएको एक घन्टा नबित्दै उनी नयाँ प्रधानमन्त्रीलाई बधाई पनि नदिई संसद्बाट बाहिरिन पुगे ।
के ओलीमा अब पहिलेको जस्तो अडान लिने क्षमता घटेको, पराजयलाई पनि विजयझैँ देखाउने खुबी र राजनीतिको सही आँकलन गरेर आफ्ना कुरा पूरा गर्ने क्षमता निख्रिएको हो ? अन्यथा मंगलबारको संसद्मा उनी कमसेकम एकछिन बसेर प्रधानमन्त्रीलाई बधाई दिएर निस्कने धैर्य गुमाउँदैनथे ।
उनको अहिलेको ताउरमाउरले संकेत गर्छ यिनले अब आउने संसद्को निर्वाचनपछि पनि एमालेको नेतृत्वमा सरकार बन्ने बाटो बन्द गरिसके । एमालेका नेतालाई ओलीको यो हठवादले जनमतको एउटा हिस्सालाई त आकर्षित गर्यो तर एमालेलाई समग्रमा पछि धकेल्दै छ भन्ने प्रश्नले पिरोल्दो हो कि नाइँ ?
३. निवर्तमान बनेका प्रधानमन्त्री प्रचण्डको क्षमताबारे दुनियाँ जानकार छ । एउटा सानो समूहको नेतृत्व गरेर जनयुद्धमा होमिएका उनले १० वर्षमा गज्जब शक्ति आर्जन गरे । गणतन्त्र ल्याउने कामको नेतृत्व गरे । कहिले सबैभन्दा ठूलो दल, कहिले तेस्रो लिखुरे दलको नेताका रूपमा संसद् र सरकारमा पुगे । पछिल्लोपटक प्रधानमन्त्रीका रूपमा अलि गम्भीरतापूर्वक काम गर्ने प्रयास गरे । केही सफलता हातलागी पनि भए ।
उनले थालेको र नेतृत्व गरेको आन्दोलनका कारण १७ हजारजति मानिस मारिए, बेपत्ता भए, अरू हजारौँ घाइते भए । हजारौँ विस्थापित पनि भए । अहिले देशमा संघीयता, समावेशी र समानुपातिक लोकतन्त्रको जेजस्तो अभ्यासको संवैधानिक व्यवस्था आएको छ, त्यसको मुख्य जस पनि उनैलाई जान्छ । सबैभन्दा ठूलो दलको नेता हुँदा जबर्जस्ती प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य पारिएका उनले यसपालि भने खुसीले राजीनामा दिएको छवि बनाए । पछिल्लो नेपालको राजनीतिक कालखण्डमा सबैभन्दा बढी गाली खानेमा गिरिजाप्रसादपछि यिनैको नाम आउँछ । सम्भवतः प्रशंसाचाहिँ अलि कमै पाउनेमा पर्छन् ।
पछिल्लोपटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि उनका सार्वजनिक अभिव्यक्ति सुन्दा भने एउटा अनौठो तस्बिर आउँदो रहेछ— उनले जे–जति काम गरे या गरेनन्, त्यसको जस–अपजस आफैँ लिँदा रहेछन् । कहिल्यै उनी माओवादी नेतृत्वको सरकारले यसो गर्यो भन्दैनन्, प्रचण्डले यसो गर्यो, मैले यसो गरेँ भन्छन् । सबै कुरा प्रचण्डको हुन्छ, त्यो माओवादीको हुँदैन । त्यतिका नेता छन्, कार्यकर्ता छन्, भोटर छन्, हिजो मारिएका त्यतिका सहिद र तिनका परिवार छन्, बेपत्ताका परिवार छन्, पूूर्वजनमुक्ति सेनाका लडाकु छन् । भलै मुख्य नेता प्रचण्ड हुन्, तर योगदान त सबैको होला । यथास्थानविषे मान त सबैले पाउने नै होलान् । अनि सबैको प्रतिनिधित्व त पार्टीले नै गर्ने होला । जब अध्यक्ष नै आफ्ना काम र आफ्नो सरकारले गरेको कामको जस आफैँ पोको पार्छन् र पार्टीलाई दिँदैनन् अनि अरू नेता–कार्यकर्ता किन सक्रिय बन्लान् ? त्यत्रो सामूहिक आन्दोलनको नेतृत्व गरेको मान्छेमा यस्तो मनोगत चिन्तन किन ? पार्टी होइन म, मैले, मेरो ? माक्र्सवादी दर्शन बुझेका लेनिन र माओका अनुयायी दाबी गर्ने नेताको यो व्यक्तिकेन्द्रित अभिव्यक्तिको रहस्य के होला ?
यसपटकको उनको प्रधानमन्त्रीत्व धेरै हिसाबले कम विवादास्पद रह्यो । छवि पनि सुध्रियो । काम पनि भयो । जस पनि पाए । नेताका रूपमा अब उनी अरूका लागि पनि स्वीकार्य हुँदै गए । तर, बुझ्न नसकेको कुरोचाहिँ, आफ्ना पुत्र प्रकाश दाहाललाई नै सचिवालयमा ल्याउन किन प¥या होला ? अब प्रकाश कुनै नाबालिग त छैनन् । आफ्नै व्यक्तित्व बनाउने र अरूसँग स्वच्छ प्रतिस्पर्धा गरेर राजनीतिमा माथि उठ्न प्रयास गर्न दियो भने प्रचण्डबाहिर पनि त उनको जीवन बन्दो हो । नसके किनारा लाग्थे । आफ्नो धन्दा गरेर खान्थे । जनयुद्ध कालमा सँगै हिँडेकाले अहिले पनि सँगै हिँडाउनुपर्ने तर्क अब मरिसक्यो । उनले पनि यसअघि बाबुलाई सहयोग गरेर बसेकै थिए । त्यसमाथि पिताको क्याबिनेटले पुत्रलाई पदक विभूषण दिनुपर्ने त्यस्तो के विशिष्ट योगदान प्रचण्डले देखे होलान् ? प्रकाशजत्तिकै तर दुःखमा रहेका पार्टीप्रति इमानदार अरू कार्यकर्तालाई सो जिम्मेवारी दिँदा के बिग्रने रहेछ ? आफ्नै सचिवालयमा भाइ नारायण दाहाललाई ल्याउनैपर्ने कारणबारे कमरेड बादल या नारायणकाजीले सोध्दा होलान् कि नाइँ ? प्रचण्डले यत्रो उथलपुथलको नेतृत्व गरेपछि परिवारका सदस्यबारे यति आशक्ति देखाउन किन परेको होला ?
पछिल्लो समय प्रचण्डलाई खेद्नेहरूले एउटा हतियार रेणु दाहालको उम्मेदवारीलाई बनाए । उनी किन त्यता उठ्न गइन् या प्रचण्डले किन पठाए भन्ने मेरो चासो होइन । बरु यस मामिलामा उम्मेदवार बनेपछि रेणु दाहाललाई जसरी लखेट्ने प्रयास भयो, त्यो निकै दिक्कलाग्दो छ । यस मानेमा रेणु दाहालप्रति मेरो सहानुभूति पनि छ, शुभकामना पनि ।
तर, भरतपुरमा जुन तालमेल भयो, त्यसले भने प्रचण्डलाई कत्ति राम्रो गरेन । उनले आफ्नी छोरीकै लागि यस्तो तालमेल गरेको भन्ने सन्देश गयो । अरू कुनै माओवादी उम्मेदवारका पक्षमा तालमेल गरेको भए प्रचण्डको यति बद्ख्वाइँ पनि हुन्थेन सम्भवतः । सजिलै निर्वाचन पनि जित्दा हुन् । यसबारे प्रचण्ड के सोच्दा हुन् ? हत्तेरी यस्तो नगरेको भए हुने रहेछ, अफ्नै राजनीतिक उचाइ केही सेन्टिमिटर घट्यो भन्ने लाग्दो हो कि नाइँ उनलाई ? कस्ता वाहियातका प्रश्न आउँछन् र हैरान पार्छन् भने !
नयाँ पत्रिका   |   जेठ २५, २०७४

No comments:

Post a Comment