Tuesday, February 16, 2016

सुशील कोइरालाको बिरासत

०६३ वैशाख ८ गते साँझ । राजा ज्ञानेन्द्रले जनताको नासो सुम्पने भन्दै एउटा गोलमटोल सम्बोधन गरेका थिए । काठमाडौंमा कफ्र्यु थियो । देशैभर जनता सडकमा थिए । राजनीति कस्तो अप्ठेरोमा थियो भने सबैका स्वार्थ अत्यन्त जेलिएका थिए । संसद्वाद र राजतन्त्रबीच, हिंसात्मक विद्रोह र शान्तिपूर्ण आन्दोलनबीच, समस्याको गैरमाओवादी समाधान कि गैरराजतन्त्रीय समाधान भन्नेबीच देशभित्र र बाहिर पनि अनेक बहस थिए । यस्तो बहसमा भारतीयहरूको दुईखम्बे नीति पनि परीक्षणमा थियो, अमेरिकीहरूको गैरमाओवादी समाधानको नीति पनि । राजाको घोषणापछि दलहरूले के गर्लान् भन्ने कुतूहलसहित म बबरमहलस्थित आफ्नो डेराबाट रेडियो कानमा राखी बानेश्वरतिर जुलुस छ भन्ने हल्ला सुनेर गइरहेको थिएँ । हिँड्दै गर्दा बिबिसी नेपाली सेवाले दुईजना नेताको अन्तर्वार्ता सुनायो । पहिलो एमाले नेता अमृतकुमार बोहराको थियो र दोस्रो नेपालगन्जमा रहेका कांग्रेस नेता सुशील कोइरालाको । अमृत बोहराले पार्टीमा छलफल हुँदै गरेको भन्दै राजाको घोषणाको स्वागत र विरोध दुवै गरेनन् । अर्थात् सम्झौताको भाषा बोले । कोइरालाले सीधै ज्ञानेन्द्रको घोषणा खारेज गरिदिए । हामी मान्दैनौँ भन्ने प्रस्ट सन्देश दिए । तत्कालीन नारा संसद्को पुनस्र्थापना र लोकतन्त्रप्रतिको अडानमा कोइरालाको प्रस्टता झल्कन्थ्यो । मलाई सुशील कोइरालाप्रति पहिलोपटक सम्मान जागेर आयो । उनका अनेक कमजोरी र ‘ल्याङल्याङ’का बाबजुद त्यस दिनयता मेरो मनमा सुशीलप्रति एउटा सम्मान सधैँ कायम रह्यो, डेमोक्रेसीमाथिको उनको निष्ठाप्रति । त्यसभन्दा पहिलेसम्म मलाई उनी गिरिजाप्रसादका छायाजस्ता मात्र लाग्थे, किचन क्याबिनेटका सहयोगी । उनको जीवनको सारा त्याग र समर्पण लोकतन्त्रका लागि या कांग्रेसका लागि भन्दा पनि कोइराला परिवारप्रति समर्पणजस्तो मात्र लाग्थ्यो ।
अचानक अस्ति उनको निधन भयो । उनको अन्तिम अवस्था आएकोबारे कांग्रेसमा कसैलाई जानकारी नै थिएन या लुकाइएको थियो, अनुमान गर्नसमेत पाइएन । केही दिनपहिले त उनले आफूलाई सभापति बनाउने तर्कका रूपमा ‘ओल्ड इज गोल्ड’ भन्दै आफू सक्षम र स्वस्थ रहेको समेत सार्वजनिक रूपमा दाबी गर्दै थिए । तर, उनी सभापतिमा फेरि लड्ने र कोइराला परिवारको बिरासत कुनै नयाँ कोइरालालाई सुम्पेर जाने आफ्ना आकांक्षा थाती राखेर अचानकजस्तै अस्ताए । वास्तवमा उनी मृत्युसँगै लडिरहेका छन् भन्ने त स्वयं उनका चिकित्सक डा. योगीलाई पनि र कांग्रेस संस्थापन पक्षका नेताहरूले समेत अनुमान गरेका रहेनछन् । अब सुशील रहेनन् र रह्यो भने केवल उनले गरेका कामको स्मृति । एउटा कांग्रेस कार्यकर्ताका रूपमा, लोकतन्त्रका लागि संघर्षरत व्यक्तिका रूपमा, कांग्रेस सभापति र देशको प्रधानमन्त्रीका रूपमा उनको योगदान के थियो र उनले के बिरासत छाडे भन्ने आधारमा । प्रधानमन्त्री नबनेका हुँदा हुन् त उनको मूल्यांकन एकजना त्यागी कांग्रेस र लोकतन्त्रवादीका रूपमा हुन्थ्यो र सकिन्थ्यो । तर, एकजना प्रधानमन्त्रीका रूपमा चाहिँ अहिले उनका बिरासत के छन् भन्ने चर्चा हुनु स्वाभाविक हो । किनभने, भविष्यमा अरूजसरी नै उनी पनि मानिसहरूको दैनिक चर्चाबाट बिस्तारै हराउनेछन् र केही अभिलिखित कर्मका लागि मात्र सम्झिइनेछन्, जो सबै मानिसको नियति नै हो ।
नेपालका प्रधानमन्त्री बन्ने अवसर कोइरालालाई उनले लोकतान्त्रिक आन्दोलनमा देखाएको निष्ठापूर्ण संलग्नता र कोइराला परिवारको सदस्यका रूपमा आफ्नो पारिवारिक बिरासतबाट प्राप्त उचाइको मिसमासबाट प्राप्त भएको हो । उनको जीवन सरल र सादगीपूर्ण रहेको र निजी सम्पत्तिप्रति मोह नदेखाएको कुराले उनलाई अरू समकालीन राजनीतिज्ञभन्दा अलग अवश्य देखाउँछ । तर, उनलाई लोभ र मोहबाट मुक्त योगी बनाउने प्रयास आफैँमा हास्यास्पद हो । नेपालको राजनीतिक इतिहासको पछिल्लो पच्चीस वर्षमा सबैभन्दा भ्रष्ट देखिएका केही राजनीतिक नेता उनको किचनकै सदस्य थिए । उनको पार्टी पनि कमिसन र चन्दाबाटै चल्थ्यो भन्ने सबैलाई थाहा छ । यस्तो कमिसन र चन्दाका स्रोत राज्यमा निहित शक्तिको प्रत्यक्ष अप्रत्यक्ष दोहनबाटै प्राप्त भएको थियो । उनको जीवनबाट यो पक्षलाई पुछपाछ पारेर उनलाई असल योगी बनाउने या झन्डै कृष्णप्रसाद र मनमोहन अधिकारीको समकक्षमा उचाल्ने काम आफ्नै जीवित इतिहासप्रतिको अनादरबाहेक केही हुँदैन ।
गिरिजाप्रसादबाट उनको हातमा कांग्रेसको नेतृत्व आएपछि कांग्रेस दोस्रो दलबाट संसद्मा पहिलो दलका रूपमा पुनस्र्थापित भयो । यसको जस उनका भागमा पर्छ । त्यसभन्दा बढी कांग्रेसलाई उनले केही दिन सकेका होइनन्, सभापतिका रूपमा । बाँकी त बरु दललाई नै लथालिंगजस्तो बनाएर निर्णय क्षमताको नितान्त अभाव देखाएरै उनको कार्यकाल सकिएको हो । जे उनले दिएका हुन्, त्योचाहिँ प्रधानमन्त्रीका रूपमा संविधान निर्माणका क्रममा उनले खेलेको भूमिकाबाटै प्राप्त भएको हो । पहिलो संविधानसभाको अन्तिम समयमा संविधानसभाको म्याद तीन महिना थप्ने गरी उनको दलका तर्फबाट मन्त्री रहेका कृष्णप्रसाद सिटौलाले नै संविधानसभामा राखेको प्रस्ताव झोक्किएर खारेज गर्न लगाएका उनको उक्त दोष तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको कमजोरीमा परी छोपिए पनि इतिहासको खाताबाट चाहिँ मेटिएको छैन । तर, उनैको प्रधानमन्त्रीत्व कालमा गत असोज ३ गते संविधान जारी भयो । अनेक अवरोध र मधेसमा उठेको तुफानका बाबजुद देशलाई संक्रमणकालबाट पार लगाउने उक्त दस्ताबेज जारी नभएको भए नेपालले आफ्नै सार्वभौमसत्ताको अभ्यास गर्नसमेत हात कमाउनैपर्ने बाध्यताले निकै लामो इतिहाससम्म हामीलाई पछ्याउँथ्यो भन्ने त पछिल्ला पाँच महिनाको नाकाबन्दीलगायतको सन्दर्भले पुष्टि गरिसकेकै छ । यसका लागि उनको भूमिकाले काम गरेको थियो । सारालाई थाहा छ, कुनै राजनीतिक मुद्दामा सहमति जुटाउन उनकै भाषामा ‘विन विन’ प्रस्ताव उनले कहिल्यै पेस गरेनन् । तर, उनले कृष्ण सिटौला, नरहरि आचार्य, महेश आचार्य, मीनेन्द्र रिजाल, रमेश लेखकहरूको टिममाथि विश्वास गरे । उनीहरूले गरेका मोलतोल र अरूसँग मिलेर तयार पारेका प्रस्तावको बचाउ गरे । एकदमै ‘अडियल’ स्वभावका उनले पछिल्लो समय देखाएको यही सहयोगी भूमिकालाई एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीको गतिलो आड–भरोसा र साथ रह्यो । उनीहरूले आफ्ना तर्फबाट संविधानका विवादित विषयलाई एउटा निष्कर्षमा पुर्‍याउन अनेक दाउपेच गरे । संविधानमा अवश्य त्रुटि छन्, तर त्यसलाई सर्वस्वीकार्य दस्ताबेज बनाउन भने असम्भव नै थियो । यस्तो जटिलतालाई थप जटिल नबनाउन उनले देखाएको समझदारी नै उनको राजनीतिक जीवनको महत्त्वपूर्ण देन रह्यो ।
यस क्रममा उनले देशलाई लगाएको सबैभन्दा ठूलो गुण भने संविधान जारी गर्ने वेलामा र पहिले पनि भारतसँग र भारतीय कथित दूतहरूसँग कायम राखेको दूरी नै हो । भारतीय प्रधानमन्त्री मोदी, उनका स्थायी दूत रञ्जित रे तथा संविधान जारी गर्ने पूर्वसन्ध्यामा आएर हलो अड्काउन कस्सिएका विदेश–सचिव जयशंकरका दबाबलाई संविधान निर्माणको प्रक्रियामा प्रवेश गर्न नदिएर कोइरालाले देशलाई महत्त्वपूर्ण योगदान गरेका हुन् । नेपालले सुशील कोइरालाको नाम सम्झिइरहने अध्याय पनि यही हो । उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण पनि यही हो । अरू कमजोरीलाई जितेको यही गुणले उनी सम्झिइनेछन् ।
त्यतिवेला उनलाई पाठ पढाउन नाकाबन्दी गरेको भारतले उनको मृत्युमा शोक व्यक्त गर्न विदेशमन्त्रीसहित संसदीय टोली पठाएर प्रायश्चित पनि गर्न खोजेको देखियो । सम्भवत: यसमा पछिल्लो प्रधानमन्त्री निर्वाचन प्रकरणमा कोइरालाले भारतीय भूमिका स्वीकार गरेर गरेको एक प्रकारको समर्पणप्रति मान राख्ने भारतीय एजेन्सीहरूको चाह पनि लुकेको हुन सक्छ । तर, जुन संकटको घडीमा कोइरालाले भारतीय दबाब झेले, त्योचाहिँ हाम्रो राजनीतिका पछिल्लो पुस्ताले पनि सिक्नुपर्ने विषय अवश्य हो ।
उनको मृत्यु देशका लागि र महाधिवेशनका मुखमा रहेको कांग्रेसका लागि निकै असामयिक हो । तर, यो मृत्यु, जो टर्ने विषय रहेन, कांग्रेसलाई पारिवारिक बिरासतबाट मुक्त गरेर संस्थागत बन्ने, बनाउने अवसर पनि हो । यतिवेला पनि, प्रधानमन्त्रीमा उमेदवार भएजस्तै उनले सभापतिमा उठ्ने जुन कसरत गरेका थिए, त्यसले उनको छवि अझ धमिलो बनाउँथ्यो । त्यस अपगालबाट पनि उनी जोगिए । यता अब तत्काल कोइराला परिवारबाटै पार्टी सभापति बन्ने अवस्था देखिन्न । कोइराला परिवारबाट नेतृत्व बाहिरिएपछि, पछि कोही कोइराला सभापति भयो नै भने पनि, कांग्रेस पारिवारिक बिरासतबाट मुक्त हुनेछ । यो कांग्रेसलाई नेतामुखी दलबाट ‘मेरिटोक्रेसी’मा आधारित संस्थागत दलका रूपमा परिवर्तन गर्ने महत्त्वपूर्ण अवसर पनि हो । यस अर्थमा कोइरालाको सभापतित्वको कार्यकाल कांग्रेसमा पहिलो पुस्ताका नेता र सातसाले नेतृत्वबाट पञ्चायतकालमा देशभित्रै संघर्ष गरेर हुर्केको पुस्तामा लैजाने संक्रमणकालीन कार्यकाल भन्न मिल्नेछ ।
कोइरालाको सार्वजनिक व्यक्तित्व, विचारधारा, देश विकासका तत्कालीन खाका र दृष्टिकोण आदिमा पकडको अभाव रहेको अडियल स्वभावका बाबजुद कांग्रेसमा उनको अभिभावकत्व निकै बलशाली रहेको थियो । दाजु गिरिजाप्रसाद कोइरालाका निकटमा रहेर उनले देशभरका नेता, कार्यकर्ताको संरक्षण गर्ने काम गरेका रहेछन्, जसको भावनात्मक अभावबाट कांग्रेसको खासगरी संस्थापन पक्ष मुक्त हुन निकै समय लाग्नेछ । उनको क्याबिनेटमा मन्त्री रहेका तर विचारधारात्मक रूपमा भिन्न कित्तामा सधैँ उभिएका नरहरि आचार्यलाई समेत जुन धक्का सुशीलको मृत्युले पुर्‍यायो (म नरहरिजीको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु), त्यसलाई पनि कोइरालाको अभिभावकत्वको मूल्य कति थियो भन्ने मूल्यांकनको आधार मान्न सकिएला ।
कोइराला सन्त र योगी थिएनन् । बिहे नगरे पनि पार्टीलाई परिवार मानेका उनका लोभ, मोह र क्रोधका अनेक सीमा थिए, जसलाई संविधान घोषणापछि उनले गरेका कतिपय निर्णयले छरपष्ट पारेका छन् । अरू सांसारिक व्यक्तिसरहकै गुण (दोष) भएकाले यी क्षमायोग्य पनि छन् । कोइरालालाई श्रद्धाञ्जली ।
by: nayapatrika February 11, 2016

No comments:

Post a Comment