Wednesday, April 15, 2015

पmुल कहाँ फुल्छर हाँगै भाँचेर
आसा छ यो आलेख छापिनु अगाडी नै डा. गोविन्द केसीको अनसन सकिने छ । तर उतिकै निस्चित भएर भन्न सकिन्छ ः उनले उठाएका प्रश्नहरुले अझै धेरैबर्ष नेपालको स्वास्थ्य शिक्षा र उपचार क्षेत्रमा विषद बहस र नीतिगत परिवर्तनको माग गरिरहने छन् । नयाँ नयाँ गोविन्द केसीहरुको आन्दोलन, हड्ताल या हस्तक्षेप विना स्वास्थ उपचार र स्वास्थ्य शिक्षालाई सर्वसाधारण मानिसहरुको पहुँचमा ल्याउन सकिने छैन । न त नाफामुलक स्वास्थ्य शिक्षाका अहिले रोपिएका झारहरु नै उखेलेर सकिने छ, बरु ती एकपटक रोपिएका झारहरु फुल्दै फल्दै फेरि झर्दै र उम्रदै गर्ने छन् फैलने छन् । जहाँको राजनीतिका मुल नीति बनाउनेहरु राज्यको उत्तरदायीत्व क्रमशः बजारलाई हस्तान्तरण गरेर आफ्नो खाईजीवीका चलाउनुलाई बहादुरी सम्झन्छन् त्यहाँ यो भन्दा बढि आसा पनि गर्न सकिन्न । तर यो साता जसरी केसीको अनसनले नेपालको राजनीति, बजारका पुजारी पण्डाहरु र भृत्यतन्त्रको सातो त्यो भने निकै उत्साहजनक छ, तारिफयोग्य छ र एउटा आसाको झिल्को उठाउने खालको छ । यसबारे पछि, अहिले प्रसंग हड्तालले सिर्जेको बहसको ।
एकजना व्यक्तिको सत्याग्रह या हठाग्रहको तागत कति हुन्छ ? त्यो सम्भवतः उसको नैतीक धरातलमा आधारित हुन्छ । मार्टिन लुथर किंगको अपिल किन शक्तिशाली थियो ? किनभने उनी न्यायका पक्षमा थिए र उनको आग्रहमा कुनै सत्तामोह या अन्तर्यमा स्वार्थ लुकेको थिएन । उनी पाखण्डी थिएनन् । यसपाली डा. केसीको अनसनका पक्षमा सडकमा, सामाजीक सञ्जालमा र पत्रपत्रिकामा जुन समर्थन देखियो यो अद्धितिय थियो । उनले निराश हुँदै गएको नेपाली जनमासमा एकप्रकारको आसा सञ्चार गरेजस्तो देखियो । यो निराशाको तारो अहिलेको नेतृत्ववृत्त थियो । यसको लक्षित बहसमा सामान्य जनलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने अपेक्षा थियो, भ्रष्ट र माफियाकरणको शिकार भएको स्वास्थ्य शिक्षाको चेपमा परेर निशासिएका आवाजहरुको ध्वनि थियो । संगसंगै पछिल्लो राजनीतिले समाजमा फैलाउँदो निराशा र आक्रोसको पनि यसमा समिश्रण थियो । धेरैले यसलाई धेरैतरिकाले बहसमा ल्याउने प्रयास गरे । डा. केसीको समर्थनमा रहेका डा. जीवन क्षेत्री देखि अहिलेको स्वास्थ्य शिक्षाको चरम व्यापारिकरणको वारेमा रिपोर्ताज लेख्ने पत्रकार अमित ढकालसम्मले बहसलाई सार्थक स्वरुप दिने प्रयास गरेका थिए । तर बहसको बैचारिक पक्षलाई सकारात्मक हस्तक्षेप गर्न भने डा. अर्जुन केसीको अन्तर्वाता सबैभन्दा सफल रह्यो ।
डा कार्कीका सिधा कुरा
डा. अर्जुन कार्की नेपालमा स्वास्थ्य शिक्षा तथा उपचारलाई कसरी साधारण मानिसहरुको पहुँचमा पुर्याउन सकिन्छ तथा कसरी चिकित्स्कहरुलाई मुनाफामुखि हुनबाट बचाएर सेवामुखि बनाउन सकिन्छ भनेर भित्रै देखि चिन्तित र प्रयत्नशिल चिकित्सक हुन । उनले पाटनको टिचिङ् हस्पिटमा त्यसको प्रयोग गर्ने अथक प्रयत्न गरिरहेका छन् । डा. केसीको अनशन प्रकरण चलिरहेकै बेला उनले एउटा अन्तरवार्ता मार्फत दुईवटा महत्वपुर्ण हस्तक्षेप गरेका छन् । उनी भन्छन् “अहिले मेडिकल कलेज सेवाका लागि डाक्टर उत्पादन गरिरहेका छन् कि व्यापारी ? बैंकका सिईओसरह तलब खान डाक्टर बन्ने हैन उद्योगधन्दासरह नाफा कमाउन मेडिकल कलेज अस्पताल खोल्ने हैन । सेवाभाव बढाउने कुरामै हामी चुकेका छौं । नाफा गर्ने, अझ बढि नाफा गर्ने डाक्टर उत्पादन भैरहेका छन् ।” उनी अगाडी भन्छन् “हामी अमेरिकालाई नवउदारवादी अर्थतन्त्र अप्नाएको देश भन्छौं, त्यहाँ नाफामुखी मेडिकल कलेज खोल्न पाईन्न । खुलेपनि त्यहाँ पढेकाले बिरामी जाँच्न पाउँदैन । निजी क्षेत्रले लगानी गरेका कलेज÷विश्वविद्यालय छन् तर लाभांश वितरण गर्न पाईन्न । नाफा त्यही संस्थामा लगानी गर्नुपर्छ । क्यानाडामा निजी स्तरमा मेडिकल कलेज नै छैनन । बहुदलीय प्रजातन्त्रको युगमा प्रवेश गरेपछि खुलाबजार अर्थनीतिमा जाने भनियो । त्यतिबेला निर्णायक ठाउँमा बसेकाहरुको नियत खराब नहुन सक्छ । केहि नयाँ गर्नुपर्छ भन्ने थियो होला । तर जसले जेजे गनुपर्छ गर, सक्छौ गरेर आऊ नसके डुब शैलीमा सबैकुरा बजारलाई छाड्ने काम भयो ।” हो यहिनिरबाट समस्याको थालनी भएको छ र समाधानको खोजी पनि यहिँनिरबाट गरिनु पर्छ ।
शिक्षालाई र स्वास्थ्य उपचार सेवालाई बंैक या म्यानपावर कम्पनी या घरजग्गा कारोवारको जस्तो वेथीतीयुक्त व्यवसायमा बदलेर रातारात धनिहुन दिने तरिका नै अहिलेको समस्याको जरो हो । यसको थालनी नेपालमा सन् १९८५ पछि अप्नाईएको संरचनागत समायोजन कार्यक्रमबाट भएको हो । सन् १९९० को परिवर्तपछि यसले तिव्र गति लियो । मिनिमम स्टेट अर्थात राज्यले दिने सेवालाई समेत व्यापारको तहमा व्याख्या गरेर हात झिक्ने र निजी क्षेत्रलाई खुला आमन्त्रण गर्ने नीति लिइएपछि यो वेथिती थालीएको हो । यसैले हो एमविविएसको सर्टिफिकेट किनबेच गर्न मिल्ने बनाएको । यसैले हो एम्बुलेन्सबाट ल्याईने आकस्मीक उपचारमा लैजानुपर्ने विरामीलाई ओसार्ने चालकहरुलाई समेत खरिद गर्ने नयाँ संस्कृतीको विकास गरेको छ । यसैले हो सुविधाहरु काठमाण्डौ केन्द्रीत बनाउने, व्यापारी राजनीतिज्ञ, गुण्डा मवाली ठग लफंगा र कालोधनवालाहरुलाई समेत रातारात मेडिकल कलेजका संस्थापकमा बदल्ने कामको सैद्धान्तीक आधार तयार गरेको छ । डा. कार्कीका शब्दमा अमेरिकामा त निजी संस्थामा पढेका चिकित्सकले विरामीको स्वास्थ्य परिक्षण समेत गर्न पाउँदैन । तर नेपालमा विस्तारै राज्यको लगानी भएका मेडिकल कलेजमा पढ्ने विद्यार्थीको संख्या अल्पमतमा पर्न थालेको छ । पैसा भएकाले पढ्न पाउने, विना पुर्वाधारका कलेमा पढेर बजारमा प्रवेश गरेपछि साधारण मानिसहरुको स्वास्थ्यमा मज्जाले खेलबाड गर्ने तथा साधारण आयस्तरका मानिसहरुलाई जो दिल्ली पुग्न पनि सक्दैनन्, आर्थिक रुपले टाट उल्टाउने यो अवस्था तत्काल रोक्न आवस्यक छ । यो काम सरकार या राज्यको हो, डा केसीको अनसन या डा. कार्कीको बहसले शक्ति आर्जन नगरुञ्जेल नेपालका सबैखाले सत्ताधारीहरु माफियाको घेराबाट बाहिर आउन सक्ने छैनन् । राज्यको नीति नबदलीएसम्म देशको आवस्यकताका अनुपातमा मेडिकल कलेज खोल्ने, विकेन्द्रीत रुपमा कलेजहरु विस्तार गर्ने र चिकित्सा सेवालाई गैर नाफामुलक व्यबसायका रुपमा स्थापित गर्ने सम्भावना रहन्न । यसका लागि पहिलो शर्त ससक्त आन्दोलन र बहस नै हो ।
डा. भटट्राईको छल
डा. केसीको अनशन पछि नेपालका वामपन्थी भनिने राजनीतिक दलहरुको नैतीक धरातल नराम्रोसग खस्किएको छ । नेकपा एमालेका नेता देखि समर्थकसम्म केसीको अनशनलाई एमालेको विरुद्ध सिण्डिकेटको या माफियाको अभियान भनेर सावित गर्न लागिपरेका छन् । यद्यपी केहि नेताहरु उनलाई भेटेर नैतीक समर्थन जनाउन पुगेका थिए, तर एमालेका सम्पुर्ण ध्यान भने मनमोहन मेडिकल कलेजमा आफ्नो पार्टी कार्यकर्ता र समर्थकको लगानी भएकोले त्यसले सम्वन्धन पाउनुपर्ने र मनमोहनको नाम भएकैले सम्वन्धन दिन रोक्न काँग्रेसले चाल चलेको प्रमाणित गर्नमा गएको देखिन्छ । यहाँ प्रश्न मनमोहन मेडिकल कलेजले सम्वन्धन पाउनुहुन्न भन्नेसंग सरोकार राख्दैन । त्यस्तो सरोकार प्रकारान्तरले मात्र जोडिने हो । वास्तविकता चैं नेपालको मेडिकल शिक्षालाई कस्तो बनाउने ः पैसावालको लागि उपचार त्यो पनि कमजोर र कामचोर उपचार या समग्र जनताका लागि सहज सुलभ र गुणस्तरिय उपचार भन्ने प्रश्नमा यो आन्दोलन भैरहेको छ । तर सन् १९९० मा काँग्रेसका केहि पस्चिम दिक्षीत चहेताहरुले थालेको निजीकरणको अभियानबाट सानो तिनो पेटी फायीदा लिएको एमालेवृत्तले आफ्ना सारा सैद्धान्तीक वैचारिक प्रस्थापनाहरुलाई वाग्मतीमा सेलाएर काँग्रस भन्दा अघि बढेर निजीकरणको डंका पिट्न थाल्यो । उसले सनातान सत्ताधारी विचारमाथि हस्तक्षेपको प्रयास नगरेको मात्र होईन त्यसमा बग्नुमा आफ्नो हित देख्यो । पुँजीवादी क्रान्ती पुरा गर्न लागि परेको उक्त पार्टीको पंक्ति समग्ररुपमा नै शिक्षा र स्वास्थ्य सेवालाई समेत रक्सीभट्टी झै रातारात नाफा कमाउने धन्दामा रुपान्तरित गर्नमा दत्तचित्त छ । अहिलेको अनौठो दृष्य के भयो भने उदारीकरणको नीति लागु गर्ने काँग्रेस चैं हाईसञ्चोले बस्ने र अनशनबाट आफुलाई अव्वल दर्जाको वामपन्थी समाजवादी दावि गर्ने एमाले तर्सेर भाग्नुपर्ने अवस्था आईलागेको छ ।
अर्कातिर एमाओवादी नेता तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केसीको अनशनलाई समर्थन गर्दै आएका छन् । उनले केसीलाई भेटेर ऐक्यवद्धता जनाए (यसो त उनका पार्टी अध्यक्ष प्रचण्डले पनि यस्तो ऐक्यवद्धता जनाउँदै केसीलाई भेटेका थिए), सामाजीक सञ्जालहरुमा उनको समर्थनमा लेखे तथा नयाँपत्रिका दैनिकमा आफ््नो नियमीत सोमवारे स्तम्भमा लेखै लेखेर आन्दोलनको समर्थन गरे । यसो गरेर उनले र माओवादीले काम त विल्कुल ठिक गरेका हुन । तर उनीहरुको विचार पनि एमालेकै जस्तो छलकपटपुर्ण देखिन्छ । पहिलो त एमाओवादी सरकारमा पुगेका वेला (डा. भट्टराई एकपटक अर्थमन्त्री र अर्कोपटक प्रधानमन्त्रीका रुपमा नीतिगत हस्तक्षेप गर्न मिल्ने स्थानमा विराजमान थिए) नेपालमा मेडिकल शिक्षाको क्षेत्रमा तत्काल विद्यमान वेथिती र भ्रष्टचार तथा माफियाहरुको चलखेल नियन्त्रण गर्ने कुनै प्रयास नै गरेनन् । बरु कतिपय निजी मेडिकल कलेजलाई सम्वन्धन दिन एमाओवादी नेताहरु नै कुदेका समाचारहरु आईरहे (यसबारे भट्टराईले आफ्नो .आलेखमा आत्मालोचना पनि गरेका छन्) । दोस्रो कुरा डा. भट्टराई र एमाओवादीले अनशनरत केसीको समर्थन जनाईरहँदा आफ्नो पार्टीले यस अगाडी जेसुकै गरेको भएपनि नेपालमा मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई नाफामुखि र व्यापारीकरण हुन दिनेछैन भनेर आफ्नो मत सार्वजनिक गर्न सकेका छैनन् । गरेका छैनन् । यसको अर्थ हो उनीहरु फेरी सत्तामा पुगेको अवस्थामा पनि आधारभुत रुपमा अहिलेको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा नीतिमा परिवर्तन गरिने छैन । डा. भट्टराई यो छल हो । तपाईको काम अनशनको समर्थन गर्ने मात्र होईन नागरिकहरुका अगाडी आफ्नो भावि वैकल्पीक नीतिहरुको वारेमा प्रष्टाप्रष्टी बताउनु हो । तपाईले अहिलेका वेथीतीलाई केवल भ्रष्टाचार या माफियाका कारणले भएको भनेर छली तर्क गर्न मिल्दैन । प्रष्ट भन्नोस तपाईहरु मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई राज्यको आधारभुत दायीत्व र जनताका अधिकारका रुपमा व्याख्या गर्दै नाफाखोरी र सबै नीजी क्षेत्रलाई नियन्त्रण गर्ने कि नगर्ने ?
अन्तमा ः अहिलेको समस्याको उपचार मेडिकल शिक्षाको राष्ट्रियकरण र सरकारी स्वास्थ्य उपचार प्रणालीको स्तरिकरण मात्रै हो । त्यति नगरि गरिने सबै वाचा प्रतिवद्धता र आज्ञप्तीहरु ढोंग र बकवास मात्रै हुन । केसीको अनशन अधुरो नरहोस् । मेरो पनि उनलाई समर्थन छ ।


No comments:

Post a Comment