Wednesday, April 15, 2015

डाँडा पारिको गाउँमा देवताको शासन

“हरेक महिना शुक्लपक्षको द्धादशीको दिन पुग्ने गरि फटकशिलामा रहेको महास्नान गुठिको जमिनमा कमाई गर्ने मोहिहरुले मिलेर
२७ पाथि गाईको दुधबाट बनेको  दहि
२२ मुरि धानको चामल
३६ भारि दाउरा
१० पाथी मकै
२ वटा बोका
१२ पेरुङ्गा माछा
११ भारि सालको पात, घ्यु, मौसम अनुसारको फलफुल, सहित ८४ व्यञ्जनका लागि आवस्यक पर्ने सम्पुर्ण सामाग्री पशुपति गुठिमा लानुपथ्र्यो । यस्तो जीन्सी जम्मा जम्मी हरेक महिना ९६ भारिका दरले लागिन्थ्यो । पहिलो दिन साँखु पुगेर बास बस्यो । दोस्रो दिन पशुपति पुगेर सामाज बुझायो र फर्केर फेरी साँखुमा बास बस्यो । तेस्रो दिनमा घर आईपुग्यो । त्यसमाथि सालका लिंगा समेत यतैबाट पुर्याउनु पथ्र्यो ।” – रामभक्त दनुवार (५९),  शम्भुप्रसाद घोरसाईने (५९),  हस्तविर लामा (७०) र अरुहरु । मेलम्ची नगरपालीका, फटकशिला, सिन्धुपाल्चोक ।

२०७१ चैत्र २७ गते । दिनको १२ बज्दै छ । फटकशिलाको यो दक्षिण मोहडामा ढल्केको गाउँमा गर्मि चढ्दै छ । वरपर हरिया र भरखर पालुवाहालेका रुखहरुले सितल छर्न खोजेपनि बाँझा गरा र खाली कान्लाबाट निस्केको रातोमाटोको ताप निकै बढि छ । मेलम्ची खानेपानि आयोजनाको सहयोगमा बनेको सामुदायीक भवनमा किसानहरु आईरहेका छन् । कसैले ४ नम्वर फारम ल्याएका छन् कसैले कुत बुझाएको रसिद या मोहिको निस्सा कायम भएको पुर्जा । देशमा गणतन्त्र आएको सातबर्ष पछि जम्मा भएका किसानको अनुहारमा कौतुहलता छ, निराशा छ र आक्रोस पनि । कतिपयको अनुहारमा हाम्रो उपस्थितीप्रतिको गलत बुझाईले जन्माएको तटस्थता पनि म देख्दैछु । मेलम्ची हेलम्बुतिर घुम्न हिँडेको म स्थानीय साथिहरुको संगतमा मिसिएर त्यो कार्यक्रममा पुगेको छु । मनमा गुठि जग्गा र किसानका विचको सम्वन्धबारे केहि जान्ने उत्सुकता छ । एउटा निवन्ध या आर्टिकलका लागि सामल हातलाग्ने आशा त लेखकहरुका लागि जता गए पनि लागिरहन्छ । यता जम्मा भएका किसानहरुमा भने कुनै आयोगबाटै मानिसहरु आएको जस्तो केहि आशाका झिल्काहरु थिए । अरु गाउँमा भन्दा भिन्न यहाँ युवा किसानहरुको पनि राम्रै संख्यामा उपस्थिती देखियो ।
यो ठाउँ चर्चित पर्यटकिय हव नगरकोटबाट ४ घण्टा जतिको पैदल दुरीमा पर्छ । काठमाण्डौ जील्लासंग सिधा सिमाना जोडिएको छ । गाउँको पुर्वमा पर्ने ईन्द्रावति उसरी नै वगिरहेको छ जसरी केहि दशक पहिले कथाकार रमेश विकलले वगेको देखेका थिए । त्यसलाई अहिले केवल विगारेको छ ठाउँ कुठाउँ राखिएका ठेकेदारहरुका क्रसर उद्योगले । गाउँको दक्षिण पस्चिम वेसीमा बग्ने खोला कलकल गरेकै छ र त्यसले सिचाई गर्ने खेतमा चैते धान हरियो हुँदै गएको छ । ईन्द्रावति किनारको सिपाघाट बजार विस्तार हुँदै गएको छ । खेत र टारीहरु उतिकै उप्जाउ छन् तर किसानहरु भन्छन् हामीले खानसम्म पेटभरि पाउन थालेको १५ बर्ष जति मात्र भयो । हस्तवीर लामाले भने ‘पशुपति महास्नान गुठिका द्वारे, जीम्मवाल र तीनका पिउनले शासन गरेर किसानलाई लुटेको गाउँ हो यो । यहि खुलेको स्कुलमा पढ्न भनेर क्लासमा जाँदा तँ भोटेको छाउरो बाउनसंग पढ्न आउने ? भन्दै शिक्षकले गलहत्याईकाले पढ्न नपाएको किसान मै हुँ । पढ्न नजानेकैले नापि आएको वेला आफ््नो बाबु बाजेदेखिको नीजि जमिन पनि गुठिका नमामा पुर्जा बनाईएर अहिलेसम्म ठगिने पनि मै हुँ । ’ मैले सोधें यो गाउँमा पनि अव त कोहि सरकारी कार्यालयमा उच्चस्तरको हाकीम भएको होला नी ? उनीहरुले एक मुखले भने ‘के हुनु गाउँका सबैभन्दा बढि पढेका र माथि पुगेका मानिस नै अहिलेको मेलम्ची नगरपालिकाका प्रमुख हुन जो प्रोमशन पछि सुब्बा सरहको तहमा छन् ।’

सम्वत १८५६ अर्थात सन् १७९९÷१८०० । महाराज रणबहादुर शाह बहुलाई वक्सेको समय थियो । आफ्नी कान्छी स्वास्नीको मायाले उसैको सन्तानलाई आफु जीवीत छँदै राजा बनाईवस्केपछि महाराजले स्वामि महाराजको पद्वी धारण गरिवक्सेको थियो । कतैबाट महाराज एकदिन नगरकोट सवारी भएछ । कुनै चाटुकारले पशुपतिका लागि महास्नान गर्न खर्चपर्चको जोहो गर्न निवेदन चढाएछ । महाराजले नगरकोटबाट हातैले इशारा गरेर फटकशिलाको जमिन सबै पशुपति महास्नान गुठिका नाममा तोकिदिईवक्स्यो । महाराजकी दुहाई ! हुकुम जो बक्स्यो त बक्स्यो । केहि बाउन सन्यासीहरु फटकशिलामा पनि विर्तावाल रहेछन् । तिनले महाराजको पाउ समातेछन् । महाराजले आफ्नो हुकुम सच्याउँदै भनिसिएछ ‘बाउन र सन्यासीका नाममा विर्ता कायम भएको जमिन बाहेक सबै जमिन पशुपतिको गुठि भो । सोहि अनुसार गर्नु गराउनु ।’ त्यसदेखि यता २१५ बर्ष वितेर गए । त्यसको छ बर्ष पुग्दा नपुग्दै रणबहादुर शाह आफ्नै भाईद्वारा मारिए । भिमसेन थापाले ३२ बर्ष शासन गरे । अरु थापाहरु, वस्न्यातहरु र राणाहरुले शासन चलाए, प्रजातन्त्र आयो गयो, माटो सुहाउँदो पञ्चायत आयो गयो, फेरि प्रजातन्त्र आयो र आयो भनिएको छ लोकतान्त्रिक गणतन्त्र । तर यस ठाउँका किसानको जीवनले आफ्नो काँधमा जर्वजस्ती लादिएको जुवा फाल्न सकेको छैन । यसका अनेक कथा विस्तारै खुल्दै जाँदा छन् । कथा सुनाउनेहरु ७० कटेका वृद्धि पनि छन् पैंतिस चालिसका अधवैंशे महिला र तिसको सेरोफेरोका युवा पनि । मलाई किसानको व्यथा सुन्दा भाउन्न होलाजस्तो हुन्छ ।
पशुपतिको महास्नान के कसरी गरिन्छ र किसानहरुले ल्याएका भारीहरुको प्रयोग कसरी गरिन्थ्यो भन्ने मलाई जानकारी छैन । तर त्यहाँका किसानहरुको बयान यस्तो छ ः महास्नान गुठिका लागि फटकशिलाका किसानहरुले हरेक महिना माथि थालनीमा उल्लेख भएको जस्तै ९६ भारी सामल बोकेर पशुपतिसम्म पुर्याउनु पथ्र्यो । जसजसले गुठिको जमिन कामाएका थिए तीनका हिस्सामा कसले कति सामल तयार पार्ने र कसले बोकेर लैजाने भन्ने तय हुन्थ्यो जसको व्यबस्था गर्न गाउँमा गुठिका प्रतिनिधिहरु रहन्थे । यीनै प्रतिनिधहरुको भयानक मध्ययुगिन शोषण नै त्यहाँ राज्यको उपस्थिती मानिन्थ्यो ।
गुठिकै जग्गामा बाबु बाजेका हाड खिईए, सन्तानहरु मोहि बन्दै गए र बाबुले गरेको कामलाई निरन्तरता दिए । बसाईसर्न समेत चारपैसा कतै न कतैबाट जोड्नु पथ्र्यो । कमाई सबै महादेवका नाममा चढाउनु परेपछि जहान के ले पाल्ने, के ले ओखती मुलो, केले चाड पर्व वडापैरी ?केले चारपैसा जोड्ने र बसाई हिँड्ने ? तिनको ढाड संधै कुप्रो हुन्थ्यो । २०४६ पछि विस्तारै किसानहरुमा बढ्दो चेतनाले विद्रोह गर्न थालेको थियो । यो क्रम २०५२ पछि रोकियो । “त्यसपछि मात्रै हो हामीले पेट भरेर खानसम्म पाएको । बाँकी हाम्रो जीवन त नरकै समान भएर वित्यो ।” उपस्थित सबैले एकैस्वरमा भने ।
त्यसपछि पनि शोषणको तरिका त बदलियो तर शोषण निरन्तर रह्यो । जीन्सीको स्थान नगदले लियो । २०५६ सम्म सबैले गुठिलाई जीन्सीको साटो तोकिएको नगद बुझाए । त्यसपछि काम पर्नेले मात्रै बुझाउँदैछन् । फटकशिला गाविस अर्थात भरखरै बनेको मेलम्ची नगरपालिकाको यो गाउँका दुईवटा वडामा बसोबास गर्ने झण्डै ९५४ घरधुरी मध्य रैकर जमिनमात्र हुने बढिमा २० परिवार होलान बाँकी सबैले केहि न केहि गुठिको मोहि बनेर खेतीपाति गरिरहेका छन् । मेलम्ची परियोजनाको सडक यहि गाउँ भएर जान्छ । आयोजनाले सडक खन्दा जमिन पर्नेका लागि मुवाबजा दिने भयो । त्यस्तो मुआवजाको ६७ प्रतिशत गुठिले लियो अर्थात भगवान ‘पशुपतिनाथ भोलेवावा’को बैंक खातमा जम्मा भयो र बाँकी ३३ प्रतिशत मात्रै किसानले पाए ।
‘मेरो परिवारले ११ रोपनी सिम खेत कमाउँछौं । गतबर्ष पारिवारीक रुपमा मोहिको नामसारी गर्नुपर्ने भयो । २०५६ देखि २०७० सम्मको तिरो १ लाख ८ हजार भएको रहेछ । ५० प्रतिशत छुट दियो र ५४ हजार रुपैयाँ बुझाएपछि रसिद पाईयो । यस्तो रसिद नभै बाबुको नामबाट सन्तानमा मोहिको नामसारी समेत हुँदैन’ – हरिवल्लभ घोरसाईनेको गुनासो थियो । गतबर्ष नै विदुर घोरसाईनेले १७ रोपनि पाखोको १५ बर्षको कुत या तिरो ४६ हजार बुझाएर रसिद लिए र पुर्खादेखि आफैले कमाई आएको जमिनमा भएको काठ विक्रि गर्ने  अनुमति पाए । जवकी अहिले नेपालका कतिपय गाउँहरुमा रैकर जमिनको तिरो प्रति रोपनि १ रुपैंया मात्र पनि कायम गरिएको छ ।
देशमा किसान र जमिनका विचको परम्परागत सम्वन्ध बदलिन थालेको भनिएको धेरै भयो । यहाँको गुठिमा मात्र किन यस्तो जोरजुलुम कायम छ ? मेरो प्रश्नको जवाफमा मेलम्ची नगरपालिकाका प्रमुखले भने ‘यो देशमा मानिस भन्दा मानिसले बनाएको देवता निकै बलिया रहेछन् ।’ भुमि अधिकारका लागि लडिरेहका किउलका किसान सोम भण्डारीको अनुभव भन्छ जव देवताको नाम आउँछ तव किन हो सबै दलका नेताहरु समेत डराउँछन् र त्यसबारे कुरा गर्न तर्सिन्छन् ।
यसरी यो लोकतान्त्रीक गणतन्त्रमा काठमाण्डौ उपत्यकाबाट जम्मा एकै डाँडो पारि किसानहरुमाथि देवताहरु शासन गर्दैछन् । जसका अनगिन्ती उदाहरण सिन्धुपाल्चोक भर छरिएका छन् । यता संविधान सभामा भने २०५२ सालसम्मको नेपाल स्वर्गजस्तो थियो, अहिले अनेकवली परिवर्तनका कुरा गरेर देश विग्रयो भन्नेहरुको विगविगि छ । जो परिवर्तनका लागि भनेर हिँडेका थिए तिनले सतहका कुरा बदल्ने चर्को कुरा गरे तर खुट्टा मात्र भारमा राखिएका त्यस्ता नाराले जमिनमा चैं धुलो चाटिरहेका छन् । फटकशिलाका किसानको जीवनमा सार्थक परिवर्तन ल्याउन सबै जमिन गुठियारबाट खोसेर मोहिका नाममा रैकर सरह कायम गर्नु पहिलो शर्त हो । के हाम्रो देशका सत्ताधारिहरु यसका लागि पशुपतिनाथको शासनमा पनि लोकतन्त्र बहाल गराउन तयार होलान् ?

No comments:

Post a Comment