Thursday, April 9, 2015

रामनाथसंगका केहि सम्झना


चैत्र २३ गते विहान एमालेको केन्द्रीय कार्यालयको प्राङ्गण । रामनाथ ढकालको शव एक किनारमा राखिएको थियो । बल्खु दरवारको रंग उस्तै थियो, आँगनमा दक्षिणभिमुख कमरेड मदन भण्डारीको शालीक उसरी नै दक्षिणतिर हेरिरहेको थियो । परिसर भित्रको चौर चैत महिनामा पनि हरियो थियो । रामनाथको लास वरपर जम्मा भएका धेरैजसो मानिसहरु तीनै थिए जससंग जीवनको केहि हिस्सा हामीले संगै विताएका थियौं । मित्रता जता पनि हुनसक्छ, विद्यालय या कलेज पढ्दा, गोठालो जाँदा या जागिर पेशामा संलग्न हुँदा । तर राजनीतिक आन्दोलनमा लाग्दाको मित्रताको गाँठो धेरै ढंगले बलियो हुन्छ । कमसेकम हामी निरंकुश शासनलाई फाल्न संगठित प्रयासमा लागेकाहरुले व्यहोर्ने सत्य यहि हो । हरेक क्षण सत्ताको क्रुर पञ्जासंग पौंठेजारी खेल्दै संघर्ष गरिरहँदा एकाकार भएकाहरुको मित्रताको डोरी । यतिवेला राजनीतिक दल र तीनका नेता कार्यकर्ताहरुका तिक्ततापुर्ण घात अन्तर्घातलाई नियालेर ईतिहासको त्यस कालखण्डमा गरिएको संघर्षको उज्यालोलाई समेत निषेध गर्ने जनमत बलियो बन्दैछ । तर त्यतिवेला संघर्षमा होमिएकाहरुलाई मात्रै थाह छ, जेल पर्नेहरुका, कठोर यातना सहनेहरुका, सपनाहरु छिमलिएकाहरुका, मारिएकाहरुका मित्र र परिवारजनलाई मित्रताको तागत । आन्दोलनमा लाग्नेहरु, तीनलाई शेल्टर र भरोसा दिनेहरुको एउटा विशाल सञ्जाल नभएको भए, तिनमा मित्रता र आपसि विश्वास नभएको भए जनसंघर्षहरु कसरी उठ्थे र फालिन्थ्यो निरंकुशतन्त्र ? रामनाथसंगको मित्रता त्यहि समय गाँसिएको थियो र अहिले पनि कायम थियो । पछिल्ला बर्षहरुमा हाम्रो भेटघाट निकै पातलो थियो आक्कल झुक्कलकै तहमा । उनी शक्तिको खेलमा सहभागि थिए म त्यसमा सामेल थिईन, तर भेटघाटमा हाम्रो हार्दिकता उत्तिकै थियो । त्यसका केहि कारण थिए ।
पोखराको पृथ्विनारायण क्याम्पसमा अखिल र तत्कालीन नेकपा मालेको राजनीति गर्ने क्रममा हाम्रो भेट भएको थियो । ०३७ सालमा म आईएको पढाई सकेर गाउँमा फर्केपछि शिक्षक भएको थिएँ । दुईबर्ष पछि स्नातक पढ्न आएर फेरि अखिलको राजनीतिमा गाँसिए । त्यतिवेला प्रमणपत्र तहमा कानुन पढ्दै गरेका रामनाथ ढकाल जील्लास्तरीय नेता भैसकेका रहेछन् । २०३९ चैत्रमा तारकाङको ध्रुव निमाविमा भएको अखिलको जील्ला सम्मेलनबाट उनी अध्यक्ष भएका थिए, सचिवमा गणेश तिमिल्सीना, सदस्यमा म र सुमित्रा सुवेदी लगायत थियौं । पछि गएर रामनाथ र सुमित्राका विच प्रेम र विवाह भएको थियो ।
छुरी काण्ड
यो २०४१ सालको असौज महिनाको कुरा हो । रामनाथ अखिलको केन्द्रीय सदस्य थिए र धौलागिरी अञ्चल हेर्थे । म अखिलको कास्की जील्ला अध्यक्ष थिएँ । सविच थिए तारा पुन अनि सुमित्रा सुवेदी सहसचिवको जीम्मेवारीमा । धौलागिरी हेर्ने भएकोले रामनाथसंग कार्यक्रमिक जीम्मेवारीका हिसावले कम भेट हुन्थ्यो । उनी पोखरा आएको बेला होष्टलमा बढि बस्थे । म बगरको टुँडिखेल पुर्वको टोलमा एउटा पुरानो घरको माथिल्लो तलामा बस्थें (दुईबर्ष अगाडी घान्द्रुक जाँदा मैले त्यो घर आफ्नो सम्पुर्ण जीर्णतासहित उसरी नै उभिरहेको देखेको थिएँ ) । त्यो दिन विहानै म घरपछाडी रहेको धारामा झरेर ब्रस गर्दै थिएँ । घरको दक्षिणपट्टिबाट तलामा जाने सिंढी थिए र धारो ठिक सिंढि मुनी थियो । अचानक रामनाथ आएर सिंढीको बारमा अढेस लागे र भय तथा पिडामिश्रित स्वरमा मलाई बोलाए । मैले उनलाई देख्नासाथ लखकाटें जरुर केहि गडबढ छ । संधै हँसिलो र फुर्तिलो रामनाथले दयालाग्दो अनुहारले मलाई आफुतिर डाके । नजीक गए पछि उनले मेरो काँधमा हात राखेर अढेस लागे र माथि जान ईशारा गरे । कोठामा पुग्न उनलाई मुश्किल परिरहेको थियो । मैले के भयो भनेर सोधेको प्रश्नको उत्तर पनि दिईरहेका थिएनन् । कोठामा पुगेपछि आफैले ढोका लगाउँदै खाटमा बसे र भने “मलाई मण्डलेले छुरी हाने, हेर्नास् न किड्नीमा नै लाग्यो कि क्या हो । मलाई त मर्छु कि जस्तो लाग्यो ।” उनले आफ्नो दायाँ कोखो तर्फ ईशारा गरे । शर्टमा रगतको टाटो थियो र घाउ गहिरो छ जस्तो देखियो । संयोगवस उनले अन्तरपार्टि सर्कुलरको मोटो कपि पट्याएर पेटिभित्र घुसारेकै ठाउँमा छुरी धसिएको रहेछ । अनुहार पहेलो देखिन थालेको थियो । मसंग प्राक अध्यक्ष तथा स्ववियुका सहसचिव शिवपौडेल पनि संगै बस्थे । ढकालले घटनाको छोटो जानकारी दिदै भने “हिजो मात्रै चन्द्र पौडेलको कोठामा एकजना पार्टी कमरेडले पठाएको पत्र कसैले छाडेर गएको रहेछ । विहानै भेटघाटका लागि रानिपौवामा रहेको सेल्टरमा बोलाईएको थियो । म झिसमिसेमै एक्लै जाँदै थिएँ । नदिपुरको कर्नरमा पुग्दा कोही रुमालले मुख छोपेको मान्छे आयो र ‘साले क्याम्पसमा राजनीति गर्ने तँ ?’ भन्दै छुरी हान्यो र भाग्यो । मैले चिन्न सकिन । त्यसपछि म त बेहोस भएर कता कता अलमलिएँ पछि होस सम्हालेर यता आएको ।”
अलमलिने समय थिएन । शिवजी अरु साथिहरुलाई खबर गर्न गए म रामनाथलाई ट्याक्सीमा राखेर गण्डकी अस्पतालतिर गएँ । उनी धानिन सकिरहेका थिएनन टाउको मेरो काँधमा अडिएको थियो । म अनेक अनिष्टहरुको आशंका गर्दै भित्रभित्रै आतंकित भैरहेको थिएँ । केहि बेरमा नै साथिहरुको ठुलो संख्या अस्पतालमा जम्मा भयो । हामीले केहि समय पहिले मात्रै एउटा सामान्य दुर्घटनामा परेका कमरेड डिल्लीराम पौडेललाई यहि अस्पतालबाट गुमाएका थियौं । आपत्कालीन कक्षमा राखिएका रामनाथलाई हेरिसके पछि डाक्टरले उनलाई तत्काल काठमाण्डौ लैजान रिफर गरे । त्यतिवेला अहिलेजस्तो छ्यास्छयास्ती जहाज या हेलिकप्टरको व्यबस्था थिएन । दिनको एक पटक शानेवानीको जहाज पोखरा काठमाण्डौ गथ्र्यो र टिकट एकसाता दश दिन पहिले नै बुकिंग हुन्थ्यो । साथिहरुको विचमा आसंका र भय थपिदो थियो । मण्डलेहरुको आक्रमणको जवाफ दिन आक्रोस बढ्दो थियो । तर पहिलो सर्त रामनाथलाई बचाउनु थियो । हामीले त्यहिँबाट क्याम्पस चिफलाई फोन गरेर बोलायौं । स्ववियुका सभापति खगराज अधिकारी, म र फणिन्द्र क्षेत्री क्याम्पस चिफसंगै अञ्चलाधिश क्वार्टरतिर गयौं । अञ्चलाधिश थिए खड्गबहादुर जीसी । हामीले उनलाई घटनाको वेलीविस्तार लगायौं । अनि जहाजमा सरकारी सिट मिलाईदिन अनुरोध गर्यौं । जीसीले हाम्रो भनाई गम्भिरतापुर्वक लिए र तत्काल जहाजमा दुई सिटको व्यबस्था मिलाईदिए । हामीले मण्डलेहरुको हर्कत बढेको, स्वयं प्रशासनले नै दमन बढाएर विद्यार्थी नेतामाथि आक्रमण गराएको भन्दै उनलाई तत्काल अपराधीलाई कार्वाहि गर्न चेतावनी पनि दियौं । अञ्चलाधिशले भने ‘यो घटनामा प्रशासनको कुनै संलग्नता छैन । जसले गरेको भएपनि म कार्वाहि गर्छु तपाईहरु जानोस् र रामनाथको उपचार गर्नुस् ।’ दिउसोको उडानबाट तुलबहादुर गुरुङ्ले रामनाथलाई काठमाण्डौ लिएर गए । हामीले त्यहि राती पोखरामा मण्डले दमनका विरोधमा भित्तेलेखन र  पोष्टरिंग गर्यौं । भोलीपल्ट क्याम्पसमा हड्ताल र विरोध सभाको आयोजना गर्यौं (घटनामा मण्डले र प्रशासनको संलग्नता नभएको कुरा धेरैपछि मात्र खुल्यो) । केहि साताको उपचार पछि तङ्ग्रिएर रामनाथ काममा फर्के ।
त्यसको एकबर्षपछि म स्नातक तहको पढाई सकेर फेरि गाउँमा नै शिक्षण पेशामा लागें । त्यहिबेला अनुशासन सम्वन्धी कार्वाहिमा परेका रामनाथ फेरि पृथ्विनारायण क्याम्पसमा नै फर्केर काममा सक्रिय भए । स्ववियुको सचिव र अखिलको कास्की जील्ला अध्यक्षका रुपमा उनी २०४४ कार्तिक ३ गते साँझ केन्द्रीय सदस्य लक्ष्मी कार्कीसंगै मेरो घर मकैखोला आईपुगे । भोलीपल्टका लागि अखिलको ईलाका सम्मेलन आयोजना गरिएको थियो ।
दशैं २०४५
पृथ्विनारायण क्याम्पस त्यस क्षेत्रको वामपन्थी किल्ला थियो । स्ववियुमा संधै अखिलले जीत्ने । त्यसमाथि माले अखिल र पर्दापछाडी नेकपा मालेको राजनीतिक गतिविधिको केन्द्र नै बनेको थियो । यसबाट स्थानीय प्रशासन, पञ्चहरु र दरवारसम्म चिढिएका थिए । यहि वर्चस्व तोड्न २०४४ मंसिर १३ गते तत्कालीन प्रशासनले स्थानीय पञ्च, मण्डले र प्रहरीका मानिसहरु समेत मिलाएर क्याम्पसमा आक्रमण गर्यो । आक्रमण अचानक भएको थियो, प्रतिरोध गर्न नपाउँदै तुलबहादुर गुरुङ, रामनाथ ढकाल र विजय गुरुङ्लाई अपहरण गरि प्रहरी भ्यानमा राखेर डिएसपी कार्यालय लगियो । दमनको प्रतिरोध गर्नुपर्ने भयो । भोलीपल्टै मलाई पार्टीले क्याम्पस आउन र आन्दोलन सम्हाल्न भनेर बोलायो । विद्यार्थी नेताहरु जेलमा थिए र नेतृत्व खाली भएको थियो । हामीले आन्दोलन चर्कायौं । पैतिस दिन कष्टडीमा राखेर विजयलाई छाडे, स्ववियु सभापति तुलबहादुर र सविच रामनाथलाई जेल चलान गरे (तिनैजना यसपाली एमाले केन्द्रीय कमिटिमा थिए) । क्याम्पसमा चर्केको आन्दोलनपछि प्रशासनले तुलबहादुरलाई फागुन ३ गते सामान्य कागज गरेर छोड्यो । उक्त कागजको मस्यौदा मैले मस्यौदा गरेको थिएँ । रामनाथ त्यतिवेला पनि छाडिएनन् । जेलबाट छुटेका तुलबहादुर एकमहिना पछि अखिलको केन्द्रीय अध्यक्ष भए । केहि दिनका लागि आन्दोलनको नेतृत्व सम्हाल्न भनेर आएको म ‘घटनाले मागेपछि’ स्ववियुको सभापति र अखिलको केन्द्रीय सदस्य दुवै हुनपुगेको थिएँ ।
२०४५ असौजमा रामनाथलाई दिईएको शान्ती सुरक्षाको पुर्जीको म्याद सकिनेवाला थियो । म्याद थप्न सिडियो कार्यालयमा ल्याउँथे, जेलबाट छोडिएको भन्ने रेकर्ड बनाउँथे र गेटैबाट समातेर फेरि पक्राउ गरेको पुर्जी थमाउँथे । पार्टीमा उनलाई प्रहरीबाट खोस्ने सल्लाह भयो । बगरका आनन्द श्रेष्ठको नेतृत्वमा रविन्द्र अधिकारी लगायतका साथिहरु खटिए । प्रहरीले हत्कडी झिकेर छाडेको अभिनय पुरा गर्न खोज्दा उनलाई ट्याक्सीमा राखेर कुदाईयो । उनी पार्टी सम्पर्कमा आईपुगे ।
दशैंको फुलपातीका दिन मेरै पहलमा मकैखोलाको जनकल्याण माविमा एउटा ईलाकास्तरिय साहित्य गोष्ठि आयोजना गरिएको थियो । पोखराबाट नुमराज बराल र रविलाल अधिकारी आएका थिए । जनपक्षीय रापंस सोमनाथ प्यासी पनि आउनु भएको थियो । आउनेहरुमा रामनाथ ढकाल पनि थिए । मकैखोलामा भएको त्यो पहिलो र अहिलेसम्मको अन्तिम साहित्यीक जमघट भव्य रुपमा सम्पन्न भयो । साँझ अरु पाहुना घरतिर फर्के रामनाथ ढकाल अब मेरो जीम्मेवारीमा थिए । साँझको खानापछि मैले गाउँकै एकलासमा भएको घरमा हामी दुवैलाई सुत्ने व्यबस्था मिलाएँ । भोलीपल्ट दशैंको अष्टमी थियो । विहानै मेरो घरमा भाउजुले एउटी राम्री छोरी जन्माउनु भयो । हाम्रो घरमा उ पहिलो छोरी सन्तान थिई । बाले ठुलै खसी पालिराख्नु भएको थियो । खसी काटियो । रामनाथ आफै कोदाली लिएर खसी खुर्किन तम्सीए । खुब रमाईलोसंग काम गरियो । मासुभात खाईयो र दिउसो खोलातिर नुहाउन गैयो । साँझका लागि हामीले कालिकासम्म जाने योजना बनायौं । संधै खुलेर एकैठाउँ बस्नु उचित हुन्थेन । साँझ अष्टमीको आधा खप्पेलो जुन झलमल लागेको थियो । गाउँलेहरु पिङ् खेल्न जाँदै थिए । मैले बा आमासंग यसपालि हाम्रा लागि दशैं यतिकै सकियो भन्दै विदा मागें । हामी साप्लेतिर उकालो लाग्यौं । घरबाट पाँचसात मिनट हिडेका मात्र के थियौं रामनाथको गोडा मर्कियो । त्यो सामान्य मर्काई रहेनछ, लिगामेण्ट च्यातिएकै रहेछ । अलिअलि दुख्दै थियो । घर फर्कौंकी जाउँ भन्ने दोधारका विच हामी सैमराङ् पुगिसकेका थियौं । हामीले जाने निर्णय गर्यौं । ईँदीखोलासम्म पुग्दा नपुग्दै रामनाथलाई निकै गारो भयो । त्यहिँ कृष्ण सापकोटाको घरथियो, उनलाई बोलाएर एकएकओटा लौराको ब्यवस्था गर्न लगायौं । उनले एकजना साथि सहित हामीलाई मादि नदिको किनार हुँदै भकिम्लोसम्म साथ दिए । त्यहाँबाट भैंसे निस्केर कालिकातिर लाग्दा १२ बजिसकेको थियो । केहि मानिसहरु बाटोमा भेटिन्थे । हामी छलिएर हिंड्दै उकालोमा पुग्यौ । रामनाथको गोडा सुनिएर जुत्ता लगाउन पनि समस्या पर्न थाल्यो । लाईट थिएन । ठाडो उकालो, पहिले म एकपटक मात्र यो बाटो हिँडेको थिएँ । पचास पाईला हिँड्दै बस्दै, दस पाईला हिँड्दै बस्दै । केहिठाउँमा बोक्दै, काँध थाप्दै, ठट्टा र रमाईलो गर्दै रुञ्चे हाँसो हास्दै झण्डै विहान २ बजेतिर हामी मानवहादुर जीसीको घर पुग्यौं । यो घरबारे मैले आफ्नो उपन्यासमा विस्तारमा चर्चा गरेको छु । दशैं सकिएपछि एकादशिको दिन पोखरा जान भनेर साँझतिर निस्क्यौं । तर दुईसय मिटरजति हिँडेपछि उनलाई निकै मुश्किल भयो । फेरि फर्केर जीसीकै घरमा बस्यौं । भोलीपल्ट राती त्यसरी नै निस्क्यौं । हिन्दै हिन्दै झण्डै १२ बजेतिर हामी बाटुलेचौरमा रहेको सोमनाथ प्यासीका भाई कृष्णअधिकारीको घरमा पुग्यौं । रामनाथ उपचारतिर लाग्नु भयो । म फेरि काममा फर्कें ।
काठमाण्डौतिर
२०४५ फागुनको अन्तिम साता काठमाण्डौमा अखिलको केन्द्रीय कमिटिको बैठक थियो । बैठकको सिलसिलामा महासचिव घनश्याम भुषालले मसंग केन्द्रीय समितिमा अलि गतिशिल ढंगले काम गर्ने एकदुईजना साथिको खाँचो रहेको भन्दै त्यस्तो को होला भनेर जीज्ञासा राख्नुभयो । मैले रामनाथलाई सम्झें । पहिले केन्द्रीय सदस्य भैसकेका उनी यतिवेला पोखरामा विना जीम्मेवारी यसै दिन विताईरहेका थिए । सुमित्रा विएड पढ्दै अखिलको प्रारम्भीक कमिटिमा काम गर्दै हुनुहुन्थ्यो । वहाँहरुको छोरा भरखर तिनबर्ष जतिको थियो । राजनीतिमा जीम्मेवारी विहिन भएपछि कार्यकर्ताको जीवन कति अत्यासलाग्दो हुन्छ भन्नेकुरा त्यस्तो आन्दोलनमा लाग्नेलाई मात्र थाहा हुन्छ । घनश्यामले कुरा उप्काएपछि मैले रामनाथलाई बोलाएर यो काममा लगाउन प्रस्ताव गरें । वहाँले हुन्छ एकपटक काठमाण्डौ पठाइदिनुस भन्नुभयो । पोखराको पार्टी यस्तो पक्षमा थिएन । मैले पोखरा फर्कनेवित्तिकै रामनाथलाई भेटें र पार्टीवालालाई कुनै जानकारी नै नदिई तत्काल काठमाण्डौ जान सुझाव दिएँ । एकजना व्यबहारकुशल नेताका रुपमा रामनाथले काठमाण्डौ आएपछि जे हासील गरे त्यो सबैले देखेकै कुरा हो ।
एसिड एशिया
२०४८ को निर्वाचनपछि मैले सक्रिय राजनीति छाडें । केहिमहिना पोखरामा पत्रकारिता गरेपछि गणेश तीमील्सीनाको प्रस्तावमा म पर्वतको तिलाहारमा रहेको सरस्वति क्याम्पसमा पढाउन गएँ । अर्थशास्त्र, राजनीतिशास्त्र र ईतिहास पढाउँथे । दिन त चल्दै थिए तर आन्दोलनको नेतृत्व गरेको र त्यत्रो जनसमुदायका विचमा काम गरेको मान्छे तिलाहारको साँघुरो संसारमा अटाउन मुश्किल परिरहेको थियो । न पत्रपत्रिका, न सञ्चार न साथिभाई न यातायात । जिवन दिनदिनै उराठलाग्दो बन्दै थियो । २०४९ भदौ महिनाको कुनै साँझ मेरो मित्र शिव पौडेल रुझदै रुझ्दै टुप्लुक्क म बसेको डेरामा आईपुग्यो । उसले काठमाण्डौबाट रामनाथले पठाएको एउटा पत्र ल्याएको थियो जसमा मलाई एशियाली विद्यार्थी सघको एउटा विभागमा कामगर्न प्रस्ताव गरिएको थियो । अध्यक्ष शंकर पोखरेल र राजन भट्टराईहरुको सहमती सल्लाहमा मलाई बोलाईएको थियो । म अलिअलि उत्तेजना मिश्रीत जीज्ञासा र अनिस्चितता बोकेर काठमाण्डौ आएँ ।
केहि महिना म रामनाथकै कोठामा बसें । उनी अखिलको महासचिव थिए । कुपण्डोलमा डेरा थियो । किरण गुरुङ्, तुलबहादुर गुरुङ्, योगश भट्टराई, कोष गुरुङ् लगायत हामी सबै संगै बस्थ्यौं । त्यहाँ बसुञ्जेल मैले खर्चपर्चको कहिल्यै चिन्ता गरिन । खानापिनाको जीम्मा त रामनाथहरुकै भैहाल्यो । विन्दास रमाईलो जीन्दगी थियो ।  एशिड एशियाको काम गैससवाला काम रहेछ । प्रपोजल तयार पार, पेश गर दाता खोज र काम गर । म यसकामका निम्ति पुरै उल्लु सावित भएँ । मेरो रुची र दृष्टिकोण तथा व्यावासायीक दक्षता पनि यसकामका लागि मेल नखाने खालको । मैले आफुलाई त्यस अनुकुल ढाल्न पनि पटक्कै प्रयास गरिन । अहिले पनि म यसमामिलामा पुरै निकम्मा छु । आठ महिना जति काठमाण्डौमा विताएपछि म आफ्नो असफलताबाट पाठ सिक्दै कुम्लो पोको पारेर परिवारसंग बस्न चितवनतिर झरें ।
यसरी रामनाथसंग मेरो जीवनका केहि रोमाञ्चकारी दुःखसुखका क्षण वितेका छन् । नौबर्ष जति अगाडी म उनको घर पुगेको थिएँ टोखा जानेबाटो तिर । सुमित्राले मिठो खाना बनाएर खुवाउनुभयो । रामनाथले भरखर बनाईसकेको घर देखाए, हामीले पारिवारीक राजनीतिक कुरा गरेर विहान वितायौं । अनौपचारिक र पारिवारिक वातावरणमा विताएको त्यहि क्षण नै उनीसंगको लामो बसाईको अन्तिम क्षण बन्न पुग्यो । पछि त कहिलेकाँहि मात्र छोटो भेट हुन्थ्यो, सञ्चोविसञ्चो र मोवाईल नम्वर साटासाट । उनलाई ग्राण्डीमा भर्ना गरेको सुनेदेखि नै व्यथा गम्भिर छ भन्ने लागेको त हो तर यति छिटै हातै नहल्लाई बोल्दै नबोली संधैका लागि विदा होलान भन्ने चैं लागेकै थिएन । बल्खुमा अन्तिम विदाई गर्नेेबेलामा उनको लास एक छेउमा सुताईएको थियो मेरो आँखाले भने साथिहरुको विचमा आफ्ना अगाडी छिद्रापरेका दाँत देखएर हाँस्दै गफिएको रामनाथलाई खोजीरहेका थिए ।

No comments:

Post a Comment