Wednesday, February 25, 2015

मेल गराउँछन् धर्मशाला !


प्रसिद्ध भारतीय कवि हरिवंश राय बच्चनको चर्चित काव्य छ मधुशाला । श्रव्य स्वरुपमा समेत उपलब्ध यो कविता नेपालका साहित्य अनुरागीका विचमा मात्र होईन अमिताभका फ्यानहरुका विचमा पनि चर्चामा रहन्छ । यसको सस्वर वाचन पनि अमिताभले गरेका छन् । त्यसैको एउटा पंक्तिको सार छ मन्दिर मस्जिदका नाममा झगडा गर्नेहरुको मेल मधुशालाले गराउँछ । राजनीतिक, साँस्कृतीक या आर्थिक मुद्धामा दिनभर एकअर्काको विरोध गर्ने र उस्तैपरे काटमार गर्नेहरु साँझपख एउटै मदिरालयमा मदिरापान गर्न पुग्छन् । यसरी मदिरालय एकताको एउटा शुत्र बन्छ ।
मुसलमान औ हिन्दु है दो, एक, मगर, उनका प्याला,
एक, मगर, उनका मदिरालय, एक, मगर, उनकी हाला,
दोनों रहते एक न जब तक मस्जिद मन्दिर में जाते,
बैर बढाते मस्जिद मन्दिर मेल कराते मधुशाला !
नेपालमा भने अलि गोलमाल र उल्टोपाल्टो दृष्य उपस्थित छ । केहि स्थान छन् जसले एकअर्काको विपरित दिशामा यात्रा गरिरहेका देशका बडे बडे नेताहरुलाई एकैठाउँमा चाकडी गराउन पुर्याउँछन् । केहि बर्ष यता देशको राज्यकोष देखि सर्वसाधारणको थैलीसम्म अतिक्रमण गर्दै अनेकानेक मठ मन्दिर बनाउँने, आश्रम निर्माण गर्ने र अनेकानेक यज्ञ महायज्ञहरु आयोजना गर्ने ‘बाबा’हरु या ‘आचार्य’ ‘महाराज’हरुको विगविगी बढ्न थालेको छ । यी पण्डाहरु यस्तो शक्तिशाली बन्दै गएका छन् कि केहि नेता, मन्त्री र मन्त्रालयका सचिवसम्मलाई लठ्याएर राज्यकोषबाट मज्जाले फायीदा लिन सक्ने भएका छन् । केहि अर्ध शिक्षित आचार्यहरुले नेताहरुलाई लठ्याएका छन् । यसरी फायीदा लिनेमा एकजना कमलनयनाचार्य भन्ने छन् जसका लागि तत्कालीन अर्थमन्त्री शंकर कोईरालाले आर्थिक नीयम समेत मिचेर राज्यकोषबाट पैसा दिएका थिए । काँग्रेसका नेताहरुले त उनलाई आध्यात्म गुरुका रुपमा आफ्ना महासमिति वैठकमा नै प्रवचन गराउन लगेका थिए । देशको एउटा संवैधानिक निकायका प्रमुख अहिले यीनका ठुला भक्त छन् भन्ने पनि सुनिन्छ । केहि महिना पहिले यो स्वामिका पछाडी माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेताहरु झलनाथ तथा माधव नेपाल सहित देशको प्रधानमन्त्री बनेका शुसिल कोईराला पनि आशिर्वाद लिन पुगेका दृष्यहरु टेलीभिजन र सामाजीक सञ्जालहरुमा फैलीएका थिए । राजनीतिले यो पण्डागीरीको दास बन्न थालेको, राज्यसंयन्त्रले यसप्रकारको खास समुदाय या सम्प्रदाय विशेषको दलाली गर्न थालेको दृष्य कलिलो धर्मनिरपेक्ष गणतन्त्रका लागि भयानक व्यंग्य बाहेक के हुन सक्छ ?

यो प्रसंग भने यहि शनिवार बाग्लुङ् नगरपालिकाको पञ्चकोटमा नीज स्वामीको नेतृत्वमा हुनलागेको महायज्ञमा नेताहरुको सहभागिताको हो । सबैलाई थाह छ महायज्ञ एकजना अर्धपठित जोगीको नेतृत्वमा चल्दैछ । देशमा फैलदो पहिचानजन्य चेतनाको आगोले धु्रविकृत मनोदशाले परम्परागत वर्चस्वशाली वर्गलाई झन बढि पिरोलेको छ । यहि भयमिश्रीत जागरणसंगै अनेक दलका नेताहरु एकाएक धर्मभिरु बन्दै गएका छन् । तीनले देशमा विद्यमान व्यापक सामाजिक समस्याहरु, बढ्दा हत्या, बलात्कारका घटना, घरेलु हिँसा, महिलामाथिको उत्पीडन, दलितमाथिको उत्पिडनका मुख्य कारक मानिने हिन्दु धर्मको छायाँमा मौलाएको पुरुषप्रधान परम्परालाई समर्थन पुग्ने यी समाजका भारहरुको पक्षमा वकालत गर्न, तिनलाई चौतारीमा बसाउन प्रयास गर्न थालेका छन् ।
बाग्लुङ् पञ्चकोटका स्थानीय मानिसहरुले पर्यटकीय महत्वको धाम बनाउन गरेको सकारात्मक अभिप्रायमा टेकेर उक्त पण्डितका पछाडी प्रधानमन्त्री, उपप्रधानमन्त्री, काँग्रेस र एमालेका पार्टी सभापति तथा अध्यक्षहरु, मुख्य विपक्षी दलका प्रवक्ता तिन जना बहालवाला मन्त्रीहरु, योजना आयोगका उपाध्यक्ष सहितका बरिष्ठहरु एउटै थलोमा काठमाण्डौ देखि हेलीकप्टरमा चढेर पुगेका छन् । यो एउटा धर्म निरपेक्ष गणतन्त्रका लागि निकै टिठलाग्दो परिदृष्य हो । यसले हाम्रो शासन सत्ता सञ्चालन गर्नेहरुको विश्व दृष्टि नै मध्ययुगिन रहेकोतर्फ संकेत गर्छ । तीनले अब आफ्ना विचारधारामा, आफ्ना कार्यक्रममा, आफ्ना मतदातामा भविष्य देख्न छाडेर एउटा पण्डाको आशिर्वावादमा भविष्य देख्न थालेका छन् । अर्थात बाहिर सत्ता संघर्षमा लिप्त, एक अर्काको सास गन्हाउने र संवाद गर्नबाट भाग्ने, राष्ट्रिय समस्याहरुको पहिचान र त्यसको सम्वोधनका सम्बन्धमा मिल्न सल्लाह गर्न या समान धारणा विकास गर्न नसकेर निषेधको बाटो अवलम्वन गर्नेहरु एउटा पण्डा पुजारीको दालाली गर्न भने एकैठाउँमा भेला हुन तयार हुँदा रहेछन् । हरिवंश राय बच्चनले मधुशालामा देखेको मित्रमिलाप, यता धर्मशालाहरुमा देखिदै रहेछ । भन्नलाई त भनियो यसपालिको हेलीकोप्टर चार्टर स्वयं आयोजकले गरेका थिए । तर प्रधानमन्त्री, सत्तारुढ गठबन्धन दलका मुख्य नेताहरु, बहालवाला मन्त्रीहरु, उच्चपदस्थ अधिकारीहरुलाई हेलीकोप्टर चार्टर गर्दा लाग्ने खर्चको दश गुणा उनीहरुबाटै निर्णय गराएर भोली राज्यको ढुकुटी फुकाउन सकिन्छ भन्ने मनसुवा त्यसमा लुकेको छ भन्ने अनुमान कसले गर्न सक्दैन ?
अर्थतन्त्रमा नवउदारवाद, राजनीतिमा अनेक आवरणमा उदाउँदो फासीवाद र यहि फासीवादलाई सहयोग पुर्याउने खस जागरणको पस्चगामी अभियान अहिले देशको सबैभन्दा ठुलो चुनौती बन्दै गएको छ । यो कतिसम्म शक्तिशाली छ भने यसले स्थापित राष्ट्रिय विचारधाराको रुप ग्रहण गर्दै छ । यसप्रकारको प्रवृर्तीका विपक्षमा तर्क गर्नु या प्रश्न उठाउनु समेत खतरनाक हुन थालेको छ । हाम्रो देशको सेक्युलर वौद्धिक बहसबाट एकाएक जनैधारी र दौरासुरुवालधारीहरु अलगिदै छन् र ती विस्तारै जटाधारीहरुका पुजारी हुन थालेका छन् । उदार लोकतन्त्रको विचार बोक्नेहरु, कथित प्रजातान्त्रिक समाजवादी या कथित माक्र्सवादी या प्रगतिवादीहरुमा देखापरेको यो परम्परा मोहले समाजमा सेक्युलर बहसको स्थान खुम्च्याईन थालेको छ ।
यता संविधान निर्माणका आधारभुत समस्याहरुमा बसेर सल्लाह समेत गर्न नसक्नेहरु उता भने एउटै मञ्चमा सामेल भएर स्वामी भक्ति प्रदर्शन गर्न पुगेका छन् । यो राज्यको समय र स्रोतको भयानक दुरुपयोग हो । अक्षम्य गल्ती हो प्रधानमन्त्रीको । मधुशाला भन्दा शक्तिशाली बन्न थालेका यी यज्ञशालाहरुबाट सतर्क बन्ने बेला आएको छ । जव राज्यको नीति निर्माण गर्ने शक्तिले आफ्ना असली शक्तिको स्रोत जनतालाई र तीनको मतादेशलाई होईन कुनै अत्याधुनिक सुविधासम्पन्न पण्डाहरुको आशिर्वादालाई मान्न थाल्छन् तव साधारण जनताको सार्वभौम शक्ति खुम्चिन्छ, पण्डा, प्रशासक र नेताहरुको साँठगाँठ भाविष्यका निम्ति ठुलो खतराको सुचक बन्छ । एउटा विद्रुप हास्यरस पैदा गर्दै धर्मशालाहरु हाम्रा भिन्न विचारधारा, भिन्न राजनीतिक कार्यसुचि बोकेर सडकदेखि सदनसम्म एकअर्कालाई निषेध गर्दै भिड्न तमतयारहरुका विच यहि एउटा विन्दु भएको छ मिलनको । चाहे संविधान बनोस या नबनोस्, चाहे गणतन्त्र भँडुवातन्त्रमा फेरियोस, चाहे देशको आर्थिक सम्वृद्धि होस नहोस तर एउटा कुरा भने तिव्र रुपमा फैलिने भएको छ ः मन्दिर, मस्जिद, चर्च र गुम्वा जता गएपनि भेटिने छन् ।

No comments:

Post a Comment