Wednesday, February 18, 2015

एमालेको गाह्रो साह्रो

महाकाली सन्धी पछि राष्ट्रिय राजनीतिमा अनेक दुःख र अवरोहको सामना गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) यतिखेर निकै चर्चामा छ । संविधान सभाको दोस्रो ठुलो दल र सरकारको मुख्य सहयोगी दलका साथै चुस्त दुरुस्त मानिने आन्तरिक व्यवस्थापन र संगठन सहितको यो दल चर्चामा आउनुलाई सामान्य मान्दा हुने हो । तर वास्तविकता भने अलि फरक छ । यतिवेला ‘पार्टी’ एमाले भन्दा त्यसका अध्यक्षको चर्चा बढि भएको छ । जुन पार्टीका अध्यक्ष चर्चामा छन् त्यो अध्यक्षको मात्र चर्चा नभएर पार्टीको पनि चर्चा मानिने हुँदा एमाले चर्चामा देखिएको हो । धेरैबर्ष पछि उक्त पार्टीको लिंग छुटिन लागेको भनेर एमाले जनहरु खुशि छन । स्तब्ध छन् प्रतिपक्षीय मोर्चाका नेताहरु । र प्रफुल्ल छन मुख्य प्रतिद्धन्दी पार्टीका कार्यकर्ताहरु ।
जब कमरेड ओली पार्टी अध्यक्ष भए तवदेखि ओली र एमालेको व्यक्तित्वको ओभरल्यापिङ् भएको छ (यसबारे मित्र वसन्त वस्नेतको बालकोट पुराण चर्चामा छ) । अर्थात कमरेड ओलीलाई हेर्दा एमाले एमाले जस्तो अनि स्वयं एमाले हेर्यो ओली ओलीजस्तो देखिएर द्धिविधा उत्पन्न हुने अवस्था सिर्जना भएको छ । यसले कैलैकाहि यो टिप्पणीकारका आँखा समेत तिरमिराउने गरेका छन् । महाधिवेशन भन्दा पहिले एमाले वृत्तमा खुव सुनिने नामहरु बामदेव गौतम, ईश्वर पोखरेल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, शंकर पोखरेल र कमरेड प्रदिप ज्ञवालीहरु अहिले एकाएक कतै नेपथ्यमा हराएका छन् । पत्रत्रिकाका सम्वाददाताहरुले टिप्पणी या समाचारलाई प्रामाणीक बनाउन कहिलेकाँहि उध्दृत गर्दा मात्र केहि नामहरु सार्वजनिक जीवनमा रहेको देखिन आउँछन् । कहिलेकाँहि कमरेड योगेश भट्टराई टेलीभिजन या सामाजीक सञ्जालहरुमा देखापर्छन र पार्टीभित्रको संस्थापन र विपक्षको अस्तित्व प्रमाणीत गर्छन । कमरेड माधव नेपाल छन् वेलावखत ओली कमरेडको निगरानी छलेर हतारमा बोल्छन् र आप्mनो भुमिका अझै बाँकी रहेको दावि गरिरहन्छन् । अन्यथा उनको धेरै समय पार्टीका नेताका रुमपा भन्दा भद्धा पुँजीवादको पाखण्डी आध्यात्म व्यापारिले आयोजना गर्ने युवायुवतीको सामुहिक विवाहमा पुग्न र प्रशंसा पत्र ग्रहण गर्नमा व्यतित हुन थालेको छ ।
जेहोस् एमालेका नाममा कमरेड ओली एकछत्र छाएका छन्  । समकालीन नेपाली नेताहरु मध्यका एकजना पाका र जेल नेल हण्डर ठक्कर खाएका नेता ओलीमा यहि खुवी छ ः उनी जे छैन त्यसलाई पनि छ जस्तो र जे होईन त्यसलाई पनि हो जस्तो देखाउन खप्पिस छन् । यो एकप्रकारको भर्चुअल रियालीटि सिर्जना गर्नमा उनी माहिर रहेछन् । कमसेकम गएको एकबर्ष यताको एमाले र त्यसको संसदीय दलको भुमिकालाई नजिकबाट अध्ययन गर्दा देखिने चित्र यहि हो । भर्चुअल पपुलारिटिमा सिंढी चढ्दै गरेका अध्यक्ष कमरेडको वास्तविक कार्यक्षमतामा भने प्रश्न उठ्न थालेको छ । गएको बर्षका तिन वटा घटना हेरौं ः
पहिलो हो कमरेड ओलीले पार्टी संसदीय दलका नेताका रुपमा एमालेका तर्फबाट नेतृत्व गर्दै झलनाथ कमरेडलाई साथमा लिएर काँग्रेससंग गरेको सहमतीको कार्यान्वयन । उनी नेता हुनु अगाडी धेरैलाई जस्तै यो पंक्तिकारलाई पनि विश्वास थियो कमरेड ओली बोलेको पुरा गर्ने अलि कडा मिजासका नेता हुन् (हेर्नुहोस रंगमञ्चमा कमरेड ओली शिर्षकको यसै स्तम्भको आलेख) । हुन त उनलाई ३१ बर्ष अगाडी पोखराको जेलमा गरिएका भेटघाटमा म ओली कमरेडलाई नरम मिजासका हंसमुख र सबैसंग मिल्नसक्ने नेताका रुपमा लिन्थें । २०५३ को महाकाली सन्धी प्रकरण पछि उनी अलि चर्को मिजासका, कडा टिप्पणी गर्ने र आफ्ना मान्यताबाट हत्तपत्त टसमस नहुने नेताको पहिचान बनाउन सफल भए । गतबर्ष काँग्रेस सभापति शुसिल कोईरालालाई प्रधानमन्त्री बनाउँदा गरिएका सहमतीहरु मध्ये संयुक्त सरकार गठन र प्रधानमन्त्रीमा कोईरालालाई समर्थन गर्ने बाहेक अन्य बुँदा कार्यान्वयन नहुँदा पनि ओली कमरेड चुप छन् । एमालेभित्र ओली कमरेडका भनाईहरुको रफु पर्ने मेरा मित्रहरु धेरै छन् तर यसमामिलामा तिनीहरु पनि चुप देखिन्छन् । राष्ट्रपति र उपराष्ट्रपतिलाई यो संसदले चिन्दैन भनेर निकै चर्को खरो बोलेका कमरेडले त्यो सवाल काँग्रेससंगको सहमतीमा घुसाएका त थिए तर त्यसलाई कार्यान्वय गर्न काँग्रेसले ठाडै ईन्कार गर्दा पनि ओली मौन छन् । र छन् एमालेजनहरु ओलीसंगै मौन ।
दोस्रो हो पार्टी घोषणापत्र भन्दा बाहिर गएर काँग्रेसको अडानमा सोत्र्याम्मै लत्रिनु । एमालेको निर्वाचन घोषणापत्र २०७० मा प्रतिवद्धता तथा नीतिगत अडान व्याख्या गरिएका बुँदामा भनिएको छ ः “ठ) शासकीय स्वरुप ः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपति रहेको मिश्रित शासकीय स्वरुप अवलम्वन गरिने छ ।” यसैगरि बहुपहिचन सहितका सातवट सङघीय प्रदेश हुनेछन् भनेर त्यसैको बुँदा नम्वर ‘न’ मा प्रष्टसंग लेखिएको छ । तर फलाम झैं दरो अडान राख्ने र पार्टीको लिंग प्रष्ट पार्ने भनेर नाम चलेका अध्यक्षको कार्यकालमा पार्टीका औपचारिक निर्णय गर्ने संस्था या मञ्चहरुलाई जानकारी समेत नदिई काँग्रेसको कथित सुधारिएको (कथित किन भनिएको भने हामीले २०३७ मा सुधरिएको पञ्चायतको रमिता पनि देखेको हौं) संसदीय या वेष्टमिनिष्टर मोडलको शासकीय स्वरुपमा जाने प्रस्तावमा पो समर्थन गर्न पुग्यो ! अर्काको विचार र सिद्धान्तको पक्षमा दृढ अडान ! (कि विचारधारात्मक रुपले समर्पण ?)
पार्टीलाई सिद्धान्त र विचारमा अर्काको कित्तामा सुम्पेर वाहिर भने एमालेले गजबको भर्चुअल पपुलारिटी कमाईरहेको छ । उ अर्काको अडानका पक्षमा विपक्षीहरुसंग कस्सिएर जुधेको छ । जस्तो काँग्रेसको शासकीय स्वरुपको प्रस्तावका पक्षमा काँग्रेस भन्दा माथि उफ्रेर बचाउ गर्नु । आफ्नो पार्टीको बहुपहिचानको नाराको ठाउँमा खस पहाडे तथा हिन्दुहरुको एकलजातीय पहिचान खुल्ने नामहरुकै प्रदेश चाहिन्छ, बहु पहिचान खुल्ने नाम राखे देश विखण्डीत हुने अड्को थापेर एमालेका कमरेडहरु चिच्याईरहेका छन् । हरेक भाषणमा हिमाल पहाड तराई मिसिएका प्रदेशमात्र मान्य हुन्छ भन्दै एउटा उट्पट्याङ अर्धराजनीतिक समुहलाई उराल्छन् तर मधेशी भुभाग मात्र भएका दुई प्रदेशको पक्षमा संविधान बनाउन आधिकारीक प्रस्ताव पेश गर्न चुक्दैनन । अर्थात आफ्नो घोषणापत्रको होईन अर्कैको घोषणापत्रको पक्षमा उभिएपछि पो पार्टी लिंग खुल्ने अवस्थामा पुग्दो रहेछ ! यसरी पहिचान खुल्ने नाम सहितको अधिकार सम्पन्न प्रादेशिक विभाजनले देशको राज्य संरचनालाई प्रगतिशिल ढंगले रुपान्तरण गर्न सहयोग पुग्छ भन्ने मान्यताका विपक्षमा चर्कोसंग बोलेर प्रकारान्तरले आफ्नै मान्यतावाट पस्चगमन गर्दा समेत एमालेजनहरु कमरेड ओलीतिर आखाँ उठाएर हेर्न र प्रतिवाद गर्न नसक्ने निम्छरो हालतमा पुगेपछि मात्रै एमाले चर्चामा आएको छ । जनजाती र मधेसीको अपमान हुनेगरि ओली भाषण गर्दै हिँड्छन् र पनि एमालेका वैकल्पीक नेताहरु चुप छन् ।
तेस्रो भने पार्टी अध्यक्षका रुपमा उनको भुमिका हो । पार्टीभित्र पनि उनको अडान र प्रष्टताले खासै गरिखाने छाँट देखिन्न । पार्टी महाधिवेशन भएको आठ महिना सकिन लाग्दा समेत पार्टीका नेताहरुले कुनै जीम्मेवारी पाएका छैनन् । अध्यक्ष कमरेडले केहि महिना त पार्टीलाई गुटगत आधारमा चलाउन दिन्न भन्दै निकै चर्को कुरा गरेका थिए । तर पछि उनी आफ्नो गुट, माधव गुट र वामदेव गुटका विच नेतृत्वका सिटहरु वाँडफाँट गर्न तयार भए । पार्टी भित्रका विभाग र जील्ला ईन्चार्जहरुको वारेमा अनि केन्द्रमा मनोनयन गर्ने सदस्यहरुका वारेमा पार्टीमा महाभारत चलेको छ र निर्णयमा पुग्न कुनै हल निस्केको छैन । अहिलेसम्म पार्टी संसदीय दलको उपनेता चुन्न सकेका छैनन् । संविधान सभामा प्रक्रियाको चर्को कुरा गर्ने अध्यक्ष कमरेड पार्टीभित्र भने प्रक्रियामा प्रवेश गर्नबाट भागिरहेका छन् ।
पछिल्लो समय शुसिल कोईराला संविधान निर्माणमा भन्दा आफ्नो पोजीशनको निरन्तरतामा चिन्तित बन्दै संविधान निर्माणका विषयमा चर्का कुरा गर्ने र सहमती भाँड्ने गर्दै हिँडेका छन् । माघ आठ पछि अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र राष्ट्रपति उपराष्ट्रपतिको समेत निर्वाचिन गर्ने एमालेका सपनाहरु बरालिएका छन् । कोईराला सहज ढंगले एउटा भ्रष्ट असक्षम र दिशाहिन सरकारको नेतृत्व गरिरहेका छन् (उनका लागि त संसदीय प्रतिपक्षको भुमिकामा प्रवेशै नगर्ने यसै त नुहेको डाली वाला एमाओवादी र एमाले सहयोगी हुने गजवको अवसर प्राप्त छ ) । तर बाहिर भने सत्तारुढ गठबन्धनको नेतृत्व वास्तवमा ओली कमरेडले नै गरका छन् भन्ने सन्देश प्रवाहित भएको छ । समाज भित्रको खस पहाडे उग्रवाद कमरेड ओलीको नेतृत्व पाएर गर्माएको छ र ओलीको जयजयकार पनि गरेको छ । तर ओली भने पार्टी चलाउन मात्र असफल देखीएका होईनन् यता माघ आठमै संविधान जसरी पनि जारि गरिन्छ संविधान जारि भएपनि नभएपनि प्रधानमन्त्री भईन्छ, मधेसलाई पहाडबाट अलग्याउन दिईन्न भन्दै चर्का कुरा गर्ने, पार्टीका पक्षमा होईन अर्कैका पक्षमा राजनीतिक फायीदा हुनेगरि चिच्याउनमा आराम मानिरहेका छन् । संसदमा तेस्रो र सापेक्षीक रुपमा कमजोर राजनीतिक शक्तिका विरोधमा पहिलो शक्ति र मुख्य प्रतिद्वन्दीको लागि शिखण्डीको काम गरिरहेका छन् । मलाई अहिलेको एमालेको अवस्था देख्दा कवि श्यामलको लुतो कविताको याद आईरहेको छ ः
बस, एउटै कुरामा छ आनन्द
कन्याईरहनुमा ........
लुतो एक विचार रहेछ
मानिसलाई विचारशून्य बनाउने
आद्यबिम्बसहितको उत्तर—आधुनिक विचार
रोग र औषधी दुवै बेच्ने
नाफाखोर बजारजस्तो लुतो
जहाँ रहँदैन मानिस मानिसझैं
बस, कन्याईरहन्छ आफ्नो आङ
तृप्त, आनन्दविभोर र बिलकुल एक्लो
मजा लिईरहन्छ आफ्नो आङ कन्याईरहनुमा ।

No comments:

Post a Comment