Thursday, February 5, 2015

त्यो फुत्केको कत्ले माछो

नीयमित स्तम्भ लेखन पनि जागिरकै हिस्सा हुँदैनथ्यो भने म यो घिसेपिटे निवन्ध लेख्नेबारे सोच्ने पनि थिईन । दालभात, ग्याँस, आलु, प्याज, लसुन, जीरा, जुत्ता, मोजा या मोवाईलको रिचार्ज कार्ड जस्ता कुराका लागि दिनदिनै केहि न केहि  खर्च गर्नै पर्ने नहुँदो हो त यो जागिर अवस्य खाईने थिएन । मलाई त के लाग्छ भने हामीकहाँका अधिकाङ्स लेखकहरु मेरै जस्तो कारणले लेख्छन र बाहिर बाहिर चंंैं के के न गरेको देखाई टोपल्छन् । यस्तो भ्रममा बस्न कहिलकहिले मलाई पनि मनपर्छ । म यता लेख्न वसिरहेको छु र उता भित्ताको र्याकमा राखिएका पुस्तकको चाङवाट चिमामान्दा अदिचि या गाव्रियल गार्सिया मार्खेज, प्लेखानोभ या फुकुयामा, किसिञ्जर या लियो रोज, हर्क गुरुङ् या महेशचन्द्र रेग्मी, खगेन्द्र संग्रौला या देवेन्द्रराज पाण्डे, किशोर नेपाल अथवा डा. बाबुराम भट्टराई, रामचन्द्र गुहा या अमत्र्य सेन अथवा समकालीन या पुराना अनेकवली लेखकका पुस्तकले चीयाईरहेका छन् । मलाई तीनले गिज्याईरहे झैं लाज लाग्छ । उसो त म कुनै निवन्ध लेखक पनि होईन । राजनीतिक टिप्पणीका सनातन शब्दहरुलाई उल्टाईपल्टाई खेल्ने औसत लेखनी भएको म जस्तोले निवन्ध लेख्ने शिप फेरि लक्ष्मीप्रसाद देवकोटा या शंकर लामिछाने पढ्न कलेज तिर फर्केर सिक्ने विषय पनि परेन ।
आज नीयमित स्तम्भ लेखनको विषयको संकटले मलाई अघिपछि भन्दा सवेरै विस्तारावाट उठाउँछ । दक्षिण तर्फको झ्यालबाट चन्द्रागिरी तर्फ आँखा फाल्छु । केहि दिन पहिले पत्रकार मित्र सिताराम वरालको उक्साहटमा चन्द्रागिरीको पदयात्रामा निस्केका थियौं सपिरिवार । हिजो साँझको पानीले त्यसको मोहकता बढाएको छ । केहिबर्ष पहिलेसम्म आफनो प्राकृतीक सौन्दर्यताले गजक्क परेको चन्द्रागिरीमा अहिले सरकार लागेको छ पर्यटकीय पदमार्ग बनाउन । बजार प्रवेश गरेको छ ‘केवल कार’ र पाँचतारे रिसोर्ट बनाउन । चन्द्रागिरीको सबैभन्दा उच्च चुचुरोमा धमाधम जंगल फाँडेर पहरा र भिर भत्काईदै छ । सम्याईदै छ र बन्दै छन् टावर र घरहरु । पुँजीवादी बजारले पृथ्विीका भित्री ईलाकाहरुमा सुँड घुसार्छ, सबै पुराना अक्षत मानिएका या पवित्र मानिएका वस्तु र सेवाहरुलाई समेत पैसाका सामुन्ने तुच्छ बनाउँछ भनेर कम्युनिष्ट घोषणापत्रले भनेका सन्दर्भहरुलाई चन्द्रागिरीमा बन्दै गरेको संरचनासंग भिडाई हेर्छु । उहिले त्यहाँबाट काठमाण्डौ नियालेका पृथ्विनारायण शाह र त्यहि डाँडालाई सम्वोधन गरेर कविता लेख्दा मारिएका कवि कृष्णसेन सम्झन्छु । सम्झिईन्छन् भिमफेदीवाट लामा लामा गरालामा बाँधेर मानिसहरुको काँध चढि आएका महाराजहरु चढ्ने मोटर र लगौटी लगाएका भरियाका व्ल्याक एण्ड ह्वाईट फोटाहरु । त्यसले नेपालको ईतिहास भन्छ कि वर्तमान भनेर एकछिन अलमलमा पर्छु ।
उत्तरतर्फ फर्केर झ्यालको पर्दा खोल्छु । हिजो साँझ अचानक परेको सिमसिमे वर्षाको प्रभाव त्यता गणेश हिमालतिर थपिएको सेताम्मे हिउँले देखाउँछ र लोभ्याउँछ । तल गहुँका खेत आज झन सुन्दर र लोभलाग्दा देखिन्छन् । तर गहुँवालीबाट अलि पर नैकाप र किर्तिपुरको दक्षिण पस्चिम पाटोलाई विहानै ईटाभट्टाबाट निस्केको धुवाँ र अलिअलि मिसिएको विहानी भुँईकुहिरोले पर्दा हालेको छ । नैकाप देखि वाणभञ्ज्याङ् नागढुंगा सम्म राजमार्गमाथि एकपत्र धुवाँ जमिसकेको छ । अहिले संविधान सभा र देशको राजनीतिमा देखिएको धमिलो र त्यसलाई झन घना बनाउँदै लगेको पुरातन विचारको कुईरो सम्झन्छु । अलिकति विरक्त लागेर आउँछ ।
लेख्ने विषय केहि हात लाग्दैन । भान्सा कोठामा ओर्लन्छु । चिसो भएकोले परिवारका सदस्यहरु सबै अझै आफ्ना विस्तारमा गुडुल्कीरहेका छन् । कालो चिया बनाउँछु र सुरुप्प सुक्र्याउन थाल्छु । मन विस्तारै यसै घुम्दै किशोर वयतिर फर्कन्छ । फर्केर फेरि किशोर दिन तिर जान नमिल्ने भएपनि सम्झी ल्याउँदा त्यतिवेलाका कतिपय उट्पट्याङ् विचार र कामहरुले अलिकति उर्जा थप्छन् । एकप्रकारको विगत मोहले सम्मोहनको तहमा मन फुरुङ् पार्न आउँछ । पुष पन्ध्र लमायो माघ पन्ध्र घमायो भन्थे बुढाबुढीहरु । घमाउन थालेको छ दिन । अव गाउँका वारीका पाटामा प्याउली फुल्न थाल्यो होला । आरुका बोटहरु फुलले रंगिन भए होलान । आरु फुल्यो बर्षा लाग्यो भन्ने गरिन्छ । पारि भाचोक र माथि वार्चोकतिरका वारीमा लहरै मलका थुप्रा फोर्दै वारी जोत्न थाल्नेछन् । फागुनमा त कागुनो र मकै लगाईहाल्छन् । गाउँका वस्तुहरु पाखाबाट खोलातिर या वेसितिर झर्न रुचाउँछन् । विहान सखारै अव न्याउलीले विरह गाएको सुन्नु पर्छ । विस्तारै गोठहरु वेसी झारिन्छन् । सिमलका बोटहरु पहिले कोपिलाले रातै फुल्छन् । विस्तारै तीनका कोया फुटेर उडेका भुवाले किशोर वयमा वेसरी मन उडाउँछ । कोईलीले बाटोघाटोमा हिँड्दा हिँड्दै को हो को हो भनेर वोलाउन थाल्छन् । पालुवा पलाउँछ र वसन्तले वोलाउँछ वैंशका खुट्कीला चढ्न सिकाउँछ ।
बैशाख जेठ महिनाको धुप । मकैखोलाको किनारमा खेत छ । माथि काउरेबाट वेसी झर्नुपर्छ खेतमा आउन । अर्थात गाम वेसी छ । जनकल्याण हाईस्कुल पनि वेसीमा नै छ । प्राय विद्यालय विहानमा चल्छन् यो मौसममा । दिनभर हामीलाई फुर्सद । खाडीको पहिरो र खोलाको बगर घाममा टिलीक्क टल्कीन्छन आँखा तिरमिराउने गरि । हामी भरखरको किशोर वयमा लागेका केटाहरु गाई भैंसी खेत या खोला किनार तिर चराउन लैजान्छौं । मध्यम किसान परिवारका सिमाहरुमा वाँधिनु पर्छ । गाईवस्तु चर्न थाल्छन् । हामी खोलामा पौडीन । वरपर महिलाहरु नभए नाङ्गै पस्छौं । महिलाहरु या केटीहरुले देख्ने भए भने जाँगेसंगै हेलिन्छौं ।
दिनभर खोलामा खेल्ने भएपछि माछा मार्ने रहर लागिहाल्ने भयो । देखेर । सायद माछा मासु कम खान पाईने भएकाले अलिकति लोभ पनि थपिदो हो । परियो बाउन परिवारको । गुरुङ्हरु र तामाङ् छीमेकीहरु त गाउँ नै जम्मा भएर मकैखोला या मादी खोलातिर दुवाली फर्काएर माछा मार्थे । दमाईहरु तिप थाप्थे । हामीलाई रहर लाग्थ्यो । तर बाउनहरु यस्ता काममा लाग्दैनथे । उतीवेला जनजाती र संस्कृती भन्ने कुराको केहि जानकारी थिएन । अलिकति भिन्न संस्कृती रहेछ । शिकार र खेतीमा बाँडिएको । हामीपनि साना साना भंगाला यता उता फर्काएर माछा मार्ने गथ्र्यौैं नै । यस्तैमा एकदिन हामी तिन चार जना भएर दुवाली फर्कायौं । दाई थियो, टंके र विष्णे थिए । छोटो दुवाली थियो । माछा समात्ने या छोप्ने कुनै डोको पनि थिएन । दुवाली थुनिएपट्टि माछा अलिअलि छट्पटिन थाले । हामीले भेटेजति समात्न थाल्यौं । यस्तैमा एउटा त्यताका खोलामा कमै पाईने मुठिभरिको कत्ले माछो तलतिर जान थाल्यो मैले हत्तपत्त समातें । तर त्यसले गरेको हलचल र चिप्लो पनाले त्यो त कसैगरि फुत्केर भंगालो मिसिएको ठुलो पानी तिर गै नै हाल्यो । हत्तेरी ! दुई चारवटा बुदुना र गड्यौरा मात्र हात लागे । साँझको छाक टर्ने ठुलो माछो भने यसै फुत्क्यो । भन्न त फुत्केको माछो ठुलो भन्ने उखान प्रचलीत छ । तर त्यो मलाई अहिलेपनि सम्झना छ ठुलै थियो त्यता पाईने माछाको सापेक्षतामा ।
मलाई झण्डै चालिस बर्षपछि त्यो माछाको सम्झना किन आउँछ ? किन त्यो यसरी मनभित्र गढेर बसेको छ ? त्यहि दुवाली थुनेर नाङ्गै खोलामा हेलिएको याद आयो र आयो याद माछाको पछि लाग्दा विर्सिईएका भैंसीले धानको विउ राखेको व्याडमा हिडिदिएपछि पाईएको गालीको । मलाई अहिलेको राजनीतिक निराशाका कारणहरुका विच त्यै माछोको याद किन आयो ? त्यतिवेला फुत्केको माछो त्यसका लागि गरिएको परिश्रम र अतिशय आशक्तीका कारण अहिले पनि मेरो मनमा बसिरहेको होला । यता संविधान सभामा लिईएको हुर्मत र देशमा बढ्दो खसआर्य जागरणको तल दव्दै गएका सिमान्तीकृतहरुका आवाजलाई हेरेर सम्भवतः त्यस यात्राको लागि संघर्ष गरेकाहरुलाई पिडा हुँदो हो । अर्थात जे पाउन भनेर संविधान सभामा गएको हो त्यो गुम्ने, साना साना भुरा हात लाग्ने तर पुनसंरचनाको ठुलो माछो फुत्कने जोखिमको डिलमा एउटा विरक्ती र अलिअलि आक्रोस उत्पन्न गर्दो हो । यसले देशको निकट भविष्यलाई पार्न सक्ने नकारात्मक प्रभावको आँकलन गर्न केहि समय अझै पर्खनु पर्ने छ । तर एउटा भय उत्पन्न भएको छ देशलाई अहिलेको बहुबललाई बाहुबलका रुपमा प्रयोग गर्नेहरुले कुन भिरबाट लडाएपछि विश्राम लिने हुन भन्ने प्रश्नबाट ।
यता सामायीक विषयमा लेख्नुपर्ने राजनीतिक टिप्पणी मेरो साप्ताहिकी हो । नयाँ पत्रिकामा आजै निस्केको छ प्रदिप गिरीको लेख । तीनले अहिलेको राजनीति वैश्य युगको अन्त र शुद्र युगको थालनीका लागि संकेत बन्न लागेको त हैन भनेर एउटा प्रश्न उठाएका छन् । उनको आसय तत्काल शुद्र युग आउँछ भन्नेमा छैन । बरु अहिलेको सत्तारुढ गठबन्धनको नेतृत्वमा देखा परेको दुरदृष्टिको अभाव र दुर्योधनजन्य हठका प्रति गहिरो वितृष्णा व्यक्त हुन्छ । यो लेख पढि सकेपछि र त्यसको अन्तर्यमा प्रवेश गरेपछि अर्को राजनीतिक टिप्पणीका लागि कुनै सामल या उत्साह बाँकी रहन्न । म निवन्धको विषय खोज्दै छु । आजै नलेखी भएको छैन ।

No comments:

Post a Comment