Sunday, July 20, 2014

महाधिवेशन पछिको एमाले


कमरेड ओलीलाई बधाई
लामो राजनीतिक यात्रामा निस्केका कमरेड केपी शर्मा ओली जीवनकै अग्लो भञ्ज्याङ् छिचोलेर नेकपा एमालेको अध्यक्षमा नीर्वाचीत भएका छन् । एउटा सामान्य किसान परिवारमा जन्मेर, सानै उमेरमा राजनीतिमा संलग्न हुँदा पाएका अकल्पनीय दुःख र त्यसैले दिलाएको सम्मान र परिचय सहित ओलीले नेपाली राजनीतिमा आफ्नो अलग व्यक्तित्व विकास गरेका थिए । राष्ट्रिय राजनीतिमा आफ्नो दलीय या संसदीय स्थान भन्दा माथिको चर्चा पाउने तथा हैसीयत राख्ने ओली यसपाली पहिलो पटक पार्टीगत हिसावले शिर्ष स्थानमा पुगेका छन् । गत माघमा भएको संसदीय दलको अध्यक्ष पदका लागि भएको नीर्वाचनमा उनले पार्टी अध्यक्षलाई पराजीत गरेका थिए । यसपाली पार्टी अध्यक्षका लागि भएको नीर्वाचनमा वरिष्ठ नेताको सम्मान प्राप्त गरेका र पार्टीलाई १५ बर्ष नेतृत्व गरेका सहकर्मी माधव कुमार नेपाललाई पराजीत गरेर पार्टी अध्यक्ष भएका छन् । उनको सफलताले एमालेमा पार्टी स्थापनाकालीन नेताहरुकै निरन्तरता कायम गरेको छ । त्यसभन्दा बढी झापा आन्दोलनको लिगेसीलाई स्थापीत गरेको छ । ०३९ पछि लगातार नेपथ्यमा धकेलीएको झापाली नेतृत्व पुनस्र्थापित भएको मान्न सकिन्छ । एमालेमा झलनाथ खनाल र माधव नेपालले लामो समय चलाएको नेतृत्वको पुस्तान्तरण होईन हस्तान्तरण प्रक्रिया आरम्भ भएको छ । यससंगै पार्टी अध्यक्ष र संसदीय दलका नेताका रुपमा कमरेड केपी ओलीको जीम्मेवारी बढेको छ ।  उनको वास्तवीक नेतृत्व क्षमताको परिक्षण पनि शुरु भएको छ । झापा आन्दोलनको उग्रवामपन्थी रुझानबाट थालीएको उनको राजनीतिक यात्राले ०५२ भदौै १२ को सर्वोच्च अदालतको फैसलापछि उग्र व्यबहारवादी रुप धारण गरेको हो । महाकाली सन्धी र त्यसपछि ओलीको छवि सामान्यतया नेपाली राजनीतिको सापेक्षतामा मध्य दक्षिणपन्थी धारतिर धकेलीएको हो । उनको जोडबलले नै सिंगै एमालेको मध्यमार्गबाट दक्षिण ढल्काई सम्भव भएको हो । स्वास्थ्यको प्रतिकुलताका बाबजुद एमालेका नेता कार्यकर्ताको बहुमतले ओलीलाई जुन जीम्मेवारी सुम्पेका छन् त्यसप्रति ओली कतिको खरो उत्रनेछन् भन्ने कुराको परिक्षण पनि समयक्रममा हुने छ । उनको जीवनयात्राको यो नै सबैभन्दा अग्लो भञ्ज्याङ् किनपनि हो भने उनका सामु अब प्रधानमन्त्री बनेर राष्ट्रको नेतृत्व गर्ने या पार्टीलाई त्यस हैसियतमा पुर्याउने कामको नेतृत्व गर्ने नयाँ अवसर मिलेको छ । पार्टी अध्यक्षमा भएको ओलीको चयनले राष्ट्रि«य राजनीतिमा राख्ने अलग अर्थहरु छन् । राष्ट्रिय राजनीतिको जटिल मोडमा पार्टीको भुमिकालाई प्रभावकारी बनाउने अवसर सहित अध्यक्षमा निर्वाचीत भएकोमा कमरेड ओलीलाई हार्दिक बधाई ।
महाधिवेशनमा जे देखियो
एमालेको महाधिवेशनले उक्त पार्टी भित्र रहेका केहि संकक्रमणकालिन छटपटिहरु देखाउँछन् । पहिलो त यो एउटा कार्यकर्ता आधारित पार्टीबाट मास पार्टीमा तिव्र ढंगले रुपान्तरित भैरहेको छ । तर नेतृत्वमा रहेका अधिकाँश नेताहरु पञ्चायतकालमा राजनीति गरेर हुर्केकाहरु रहेको र तीनीहरुमा कार्यकर्ता आधारीत पार्टीको जस्तो मिलिट्यान्सी या अनुशासन खोज्ने धंगधङ्गी बाँकी रहेकाले पार्टीका कार्यक्रमहरुको व्यबस्थापन अत्यन्त भद्धा र अमिल्दा देखिए । पहिले पहिले आन्तरिक व्यबस्थापनमा कुशल रहेको भन्ने एमालेको छवि यो महाधविशेनले वर्खाको खहरेले लेउ पखाले झैं पखालेर बगाईदियो । अब एमालले कार्यक्रमहरुको सञ्चालन आफ्नो व्यबस्थापनमा होईन शहरमा ईभेन्ट्स म्यानेजमेण्टस्को काम गर्ने व्यावसायीक संस्थाहरुलाई दिने अवस्था आईसकेको जस्तो छ । उद्घाटन कार्यक्रमका वेला आफ्नै पार्टीका झण्डा र स्वागत तुलहरु जलाउने, अतिथिहरुलाई समेत वोतलले प्रहार गर्ने कार्यकर्ता समेलेर लाने काम कमसेकम क्याडर वेस्ड पार्टी मनोविज्ञानमा हुर्केका नेताले गर्न सक्दैनन् । उद्घाटन सत्रदेखि मतगणना सम्म, प्रविधिको प्रयोगमा देखिएको हिच्किचाहट देखि एक आपसमा लगाईएका निकृष्ट दर्जाका आरोपहरुसम्म हेर्दा यो पार्टी अव पार्टी हो कि भिड भनेर छुट्याउन समेत मुश्किल पारेका थिए ।
एमालेको अर्को संक्रमणकालीन छटपटि उसको विचारधारात्मक संक्रमण संग सम्वन्धीत छ । पार्टी भित्र आफ्नो स्थान पक्का गर्न र स्तरोन्नती गर्न कस्सिएर लागि परेका केहि युवाहरुले महाधिवेशन अगाडी पार्टीमा वैचारिक बहस सञ्चालन गर्ने गर्न लगाउने जवर्जस्त प्रयास गरेका थिए । घनश्याम भुसालहरुको यो प्रयास पार्टीको सहमतीय दस्तावेजसंगै कमजोर बन्यो । आएकै प्रस्तावमा फलानो ‘शब्द मेरै भनाई अनुसारको भएकोले दस्तावेजले मेरो विचार वोक्छ’ भन्ने दावि गर्न भुसाल र शंकर पोखरेलहरुलाई छाडेर पार्टीका मुख्य नेताहरु नेपाल र ओली पार्टी नेतृत्व कब्जा गर्ने अभियानमा लागे । ओली स्वास्थ्यका कारणले देशका विभिन्न भागमा डुल्न नसकेको भएपनि माधव नेपालले पुर्व पस्चिम हिमाल पहाड र तराई जताततै कुद्न भ्याए । महाधिवेशन उद्घाटन भैसके पछि त विचारका बारेमा एमालेहरुले उच्चारण सम्म गरेनन् । यसको एउटै कारण थियो ः एमाले परम्परागत साम्यवादी दलका रुपमा आफ्नो ईतिहास र नामबाट मुक्त हुन त चाहन्थ्यो तर नेतृत्वमा यस्तो प्रस्ताव अगाडी बढाउने सहास थिएन् । त्यस कुरालाई माक्र्स र लेनीनको तस्विर सजाउने कुरामा देखिएको छलकपट देखि प्रतिवेदनमा उल्लेखीत राजनीतिक क्रान्ती पुरा भएको भन्ने वाक्यासंले समेत जनाईसकेको थियो । तर त्यसलाई खुला रुपमा भन्न नसक्ने कमजोर नेतृत्वका कारण एमालेमा संक्रमणकालीन छट्पटी र हतासा छताछुल्ल मात्र भायो । यसले गर्दा एमाले पुँजीपतिवर्गको काम गर्ने तर नामले माक्र्सवादी लेनीनवादी जनाउने अचम्मको धर्मसंकट सहित यात्रारत रहन अभिशप्त भयो । महाधिवेशनको सबैभन्दा कमजोर कडि पनि यहि बन्यो ।
ओलीको सम्भावित भुमिका
कमरेड केपी ओली नेपालका समकालीन नेताहरुमा उच्च स्थान र मान प्राप्त गर्नेहरुको लाईनमा छन् । यस अगाडी उनले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयाका मन्त्रीका रुपमा अनुभव सम्हालेका छन् । पार्टी र सरकारको प्रमुखको रुपमा काम नगरेकाले उनले देशलाई नै नयाँ दिशा दिने गरि केहि विचार र योजना सोचेका छन् भन्ने प्रष्ट नभएपनि अहिले सम्मका उनका अभिव्यक्ति हेर्दा उनी कुनै जण्ड सुधारवादी या क्रान्तीकारी कार्यनीति लागु गर्ने खालका नेता होईनन् बरु भैरहेको स्थिती र चलिरहेको यात्रामा रमाउने नेता हुन भन्ने देखाउँछन् । अध्यक्षमा निर्वाचीत भएपछि प्रतिक्रिया दिने क्रममा उनको वोली अलि शिथिल र अनुहार चमक नभएको चित्र सार्वजनिक भएपछि मानिसहरुले उनका बारेमा केहि अड्कल अवस्य गरेका हुनसक्छन् । उनले रोगसंग प्रतिरोध गरे र आफ्नो टिमलाई सक्रिय बनाए भने नेतृत्वमा कमजोरी प्रदर्शन नगरीकनै भुमिका निर्वाह गर्न सक्नेछन् । तर उनका लागि स्वास्थ्य र आफ्नो प्रधानमन्त्री बन्ने आकाँक्षाविच तालमेल मिलाउन कठिन पर्ने देखिन्छ । अब उनको सबै लक्ष सिंहदरवार हुने कुरामा कुनै शंका छैन । वर्तमान प्रधानमन्त्रीको स्वास्थ्य स्थिती पनि खराव रहेको, अहिलेकै गठबन्धनले संविधान जारि गर्ने सम्भावना कमजोर रहेको अवस्थामा यो गठबन्धनलाई नै कायम राखेर आफु प्रधानमन्त्री बन्ने योजना ओलीले कसरी सफल पार्नेछन् भनि अनुमान लगाउन निकै कठिन छ । उनको परिक्षण हुन वाँकी नेतृत्व र खासगरि दक्षिणका क्षिमेकीको दृष्टिकोण यसमा सहायकसम्म हुनसक्छ । तर खेल उनैले खेल्नुपर्ने छ तथा आफ्ना लागि संसदीय समर्थनको जोहो आफैले गर्नुपर्ने छ । जे होस् उनको अध्यक्षमा चयन अहिलेको गठबन्धन या शुसिल कोईरालाको सरकारको दिनगन्तीका रुपमा लिनु अन्यथा हुने छैन ।
उनको अर्को परिक्षा भने अव एमालेले संविधान निर्माणको सन्दर्भमा उत्पन्न हुने सम्भावित विवादका सम्बन्धमा लिने अडानमा हुनेछ । खासगरि पहिचानको खोजी गरिरहेका समुहहरु, पहिचानले देशै डुब्छ भनि विश्वास गर्ने समुहहरु, संघियता र शासकीय स्वरुपमा रहेका विवादहरु र उठिरहेका समावेशी प्रतिनिधित्व र वर्गिय प्रश्नको हल खोज्ने सवालमा एमाले जुन कित्तामा उभिएको छ त्यसैलाई बोकि बसे र सम्झौताको प्रयास गरेनन् भने संविधान सभाबाट संविधान निर्माण हुन असम्भव देखिन्छ । सरकारमा बराबरीको साझेदार र दोस्रो ठुलो दलको हैसीयतले संविधान निर्माण नहुँदाको अपजस पनि एमालेले लिनुपर्ने छ । ओली कतिको लचकदार र जीम्मेवार बन्नेछन् भन्ने कुरा अब बल्ल खरोसंग परिक्षण हुनेछ ।
ओलीका लागि पार्टी संयन्त्रलाई आफ्ना अनुकुल हिँडाउन पनि अप्ठेरो पर्नेगरि माधव नेपाल समुह ससक्त रुपमा केन्द्रीय समितिमा उपस्थित भएको छ भने यस अगाडीको केन्द्रीय नेतृत्वलाई असहयोग गरेर या झलनाथ खनालको सरकार समेत गिराउन भुमिका खेलेको भनेर एउटा परम्परा कायम गरेको आरोप पनि छ । पदाधिकारीहरुको वैठकमा नै ओलीले समन्वयकारी भुमिका खेल्दै सहमती र सम्झौतामा निर्णयहरु गर्ने वाध्यता छ । झलनाथ खनाल समेत गन्दा गणितीय आधारमा पदाधिकारीमा ओली गुट बाहिरबाट बहुमत छ । उनले एक्लै लम्कने अवस्था छैन । सिंगो एमालेका लागि यो पक्ष निकै सकारात्मक भएपनि ओलीका लागि भने निकै जटिल सावित हुनेछ ।
युवा नेताहरुलाई बधाई
यो महाधिवेशनले एमालेका लागि सबैभन्दा सकारात्मक उपलब्धी दिएको उसको नेतृत्वको सोपान निर्माणमा हो । अहिलेको महाधिवेशनबाट भिन्न भिन्न गुटमा रहेका या पराजीत भएका भएपनि विष्णु पौडेल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, शंकर पोखरेल, पृथ्वि सुव्वा गुरुङ्, भिम रावल, गोकर्ण विष्ट, रविन्द्र अधिकारी, टंक कार्की, यामलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल, ठाकुर गैरे तथा अग्नि खरेल जस्ता केहि युवाहरुलाई पार्टीका भावि नेताका रुपमा स्थापित गरिदिएको छ । आगामी एक कार्यकाल नयाँ र पुराना पुस्ताका विच संक्रमणकालको एउटा अवधि रहेपनि त्यसपछि नेतृत्व गर्ने यीनिहरुनै हुन भन्नेमा शंका छैन । यो भावि चित्र देखा पर्नु पार्टीको भविष्यका लागि निकै महत्वको कुरा हो । विचारका दृष्टिले विस्तारै पुँजीवादी उदारवादको बाटोमा लम्किरहेको पार्टी विस्तारै विचारले होईन नेताहरुको व्यक्तित्व र अल्पकालीन दृष्टिकोणहरुको लोकप्रियता या अलोकप्रियताका कारणले स्थापित र विस्थापित हुनपुग्छ । एमालेका लागि अव विचार र नीति भन्दा नेतृत्व प्रधान बन्ने दिन निकट आएका छन् । यस्तो वेला आशालाग्दा अनुहारहरु लाममा देखा पर्नु पार्टीका लागि निकै राम्रो संकेत हो । अध्यक्षमा निर्वाचित कमरेड ओली, उपाध्यक्ष वामदेव गौतम, महासचिव कमरेड ईश्वर पोखरेल जस्ता पहिलो पुस्ताका नेताहरु र माथि नाम लिईएका युवा पुस्ताका उदियमान नेताहरु सबैलाई यस अवसरमा शुभकामना र बधाई ।

No comments:

Post a Comment