Tuesday, July 29, 2014

आफ्नो समयका किशोर नेपाल

किशोर नेपालका बारेमा केहि लेख्नु जोखिमपुर्ण छ । उनी अझैपनि सक्रिय लेखनमा छन् र अझ अखवारी लेखनमा उनि आफ्नो उमेर समुहबाट धेरैपछिका सक्रिय र उदीयमान लेखकलाई पछि पार्ने गरि लेख्छन् । उनी कवेल उहिल्यै विताएका जीवनका वासी सम्झनाहरु उग्राएर दिन विताउने अल्छे अधेडावस्थाका गफाडी पनि होईनन् । अहिले पनि देशका कुनाकाप्चा पुग्छन्, शहर र गाउँ, तराई र पहाड जताततै पुग्छन् र साधारण मानिसहरुका सामयीक चिन्ताहरु अनुभव गर्छन अनि त्यसैलाई आफ्नो भाषिक चातुर्य सहति पाठकहरुकहाँ पुर्याउँछन् । दुरदराजका साधारण मानिसहरु र काठमाण्डौका कुलिनहरुका कक्टेल पार्टीहरुसम्म समान पहुँच राख्ने, सत्तावृत्तका घरेलु तथा आयातीत षडयन्त्रका तानावाना बुन्नेहरुसंग एकैपटकमा सम्वाद स्थापना गर्ने सम्भवतः उनी पहिलो नम्वरका नेपाली पत्रकार हुन । उनका विचार र उनका राजनीतिक अर्थबोक्ने टिप्पणीहरुमा सहमत या असहमत हुन सकिन्छ तर केदारभक्त माथेमाले भनेजस्तै तीनको लेखनलाई वेवास्ता गर्न सकिन्न । यस्तो लेखकका बारेमा अर्को लेखकले टिप्पणी गर्नु सहज हुँदैन (थोरै तलमाथि भयो र उनलाई चित्त बुझेन भने उल्टो झापड खाईन्छ भनेर चैं होईन) । त्यसमाथि आफु परियो दर्तावाला वामपन्थी । किशोर नेपाल अर्कै कित्ताका (केहि समय पछि प्रजातन्त्रलाई आफ्नो जिजुवाजे देखिको वपौती ठान्ने एउटा पंक्तिले उनलाई पनि धकेलेर वामपन्थी कित्तामा पछार्ने प्रयास गरेको पनि हेरिएकै हो, तर कित्ता त कित्तै हो अरुले जे भनेपनि ) । कुनै समय छोटो समयका लागि नेपाल साप्ताहिकमा रहँदा म उनी मातहतको कामचलाउ पत्रकार थिएँ र उनी थिए मेरा सम्पादक । त्यसबेला देखि नै व्यक्तिगत रुपमा उनीसंग सम्वन्ध रह्यो । अघिल्लो पुस्ताका पत्रकार र लेखकका रुपमा, पत्रकार महासंघको सभापति, प््रधानमन्त्रीका प्रेस सल्लाहकार र अनेक दैनिक साप्ताहिक पत्रिकाका सम्पादक तथा कतिपय विदेशी समाचार संस्थाका सम्वाददाता भैसकेका उनीसंग संगत केहि दुरी र केहि निकटताको मोहसहित अघि बढेको छ । यसअगाडी उनका केहि थान उपन्यास र कथा पढिसेको र कतिपय स्तम्भहरुको नियमीत पाठक रहेकोले धरै चिनेको झै लागेका तर पुरा भने नचिनिएका उनी हाम्रा सामु नखुलेका जीन्दगिका अनेक पाटा खुलाउँदै संस्मराणत्मक पुस्तक लिएर आएका छन् । उनको पुस्तक मेरो समय हात परेर पढेको पनि कैयन साता वितेपछि म यो सानो टिप्पणी लेख्न बसेको छु (वास्तवमा म अलिअलि आग्रहबाट पिडित पनि थिएँ, नियमित स्तम्भका लागि अर्को सहज विषय हात परेको भए आज पनि लेख्ने थिईन होला) । उनको पुस्तक र किशोर नेपालको जीवन सार्वजनिक छ, मैले त्यसबाट खोट र गुण केलाउने जमर्को गर्नु नै व्यर्थ हुने छ । उनले हकदावी गरेर मेरो भनेको समयको पछिल्लो हिस्सा मेरो पनि हो, हाम्रो पनि हो । त्यहि उनीसंग शेयर भएको समयका सेरोफेरोमा उनको लेखनको छिद्रान्वेषण गर्दै उनीसंग अलिकति यात्रा गर्नु यो आलेखको प्रयास हुनेछ (पाठकहरुलाई भ्रम नहोस यो कुनैपनि दृष्टिले पुस्तकको समिक्षा होईन, यति सानो आलेखमा ४७६ पृष्ठको मोटो तथा झण्डै ४५ बर्षको नेपाली समाज र राजनीतिका उहापोहहरुको ईतिहास समेटिएको पुस्तकको समिक्षा गर्नु सम्भव पनि छैन ) ।
किशोर नेपालको संस्मरण मेरो समयमा समानान्तर दुईवटा समय छन् ः पहिलो हो किशोर नेपालले भोगे र गुजारेको नीतान्त वैयक्तिक जीवन र दोस्रो हो उनी हुर्केको, उनले सम्वन्ध राखेको नेपाली समाज र राजनीति र उनले भोगेको, पढेर या सुनेर जानेको विश्व राजनीतिको समय । उनकै कथालाई आधार बनाउँदा यो समयले सन् १९६० को वरपरबाट अगाडी पछाडी गर्दै झण्डै उनको उमेर भन्दा लामो कथा भन्छ । विषयका दृष्टिले यसमा राजनीति, पत्रकारीता र काठमाण्डौको समाजका पत्रहरु पाईन्छन् । उनले आफ्नो लेखन आफ्ना जीवनको आँखीझ्यालबाट नियालेर विश्भर छरेका छन्, कहिँ कतै पारिवारीक सम्वन्धहरु, नीजी सम्वन्धहरुका वरपर, घरपरीवार र विस्ताराका वरपर रुमल्याएका छैनन् । हरेक मानिसको झैं उनको पनि निजी जीवन छ, परिवारका दुःख सुःख, आरोह अवरोह छन्, स्त्रि पुरुष सम्वन्धका पत्रहरु छन् र यो पुस्तकमा कतै साँकेतीक रुपमा कतै अलि विस्तारमा ती सन्दर्भहरु छन् । तर लेखकले चलाखीपुर्वक पाठकलाई आफ्नो परिवारभित्र सिधा प्रवेश गराउने र अल्झाउने काम गर्दैनन् बरु समय र आफ्नो जीवनका विच अनिवार्य देखापर्ने सन्दर्भ सामग्रीका रुपमा मात्रै पारिवारीक जीवनलाई प्रस्तुत गरेका छन् ।
किशोरको नीजी कथा प्रारम्भमा त्यति स्वादिलो र लोभलाग्दो छैन । पिता सानैमा वितेपछि समाजले दुःख दिएकी विधवा माता र राणाहरुले वृद्धावस्था विताउनका लागि दिएको खान्की र आवास पाएकी फुपुको लालन पालनमा हुर्केका किशोर नेपाल दश बाह्र बर्षको उमेरमा नै आफ्ना लागि स्कुले खर्च जुटाउन पत्रिकाको हकर बन्छन् । दुःख गरेरै विद्यालयस्तरको पढाई सक्छन् । पढाई सक्दा नसक्दा खलासी बनेर विरगञ्जतिर थोत्रो वसमा ढ्याकढ्याक गर्छन । सरकारी अड्डाको सहायकस्तरको कर्मचारी बनेर बुटवल भैरहवामा काम गर्छन । ग्वालियरकी महारानीको सेवामा पुगेकी उनकी आमा उतै थलापर्छिन र किशोरले आमाका ईच्छाहरु पुरा गराउने क्रममा काशीमा आमाको देहान्त हुन्छ । उनको पारिवारीक जीवन कुनैपनि मानेमा लोभलाग्दो छैन बरु औसत नेपालीको भन्दा भिन्दै दुःखहरुले जेलीएको छ । उनी मुलतः आप्mनै वलवुतामा धुलोबाट उठेर त्यसलाई टक्टकाउँदै आफ्नो बाटो पहिल्याउने यात्री देखिन्छन् । मजस्तो मध्यमवर्गिय किसान परिवारमा जन्मीहुर्केर गाउँमा सामान्य जीवन विताएको नेपालीका लागि किशोरको जीवन अकल्पनीय हो । किशोरको कथा उनको निजीजीवनको कथा भनिदा पनि त्यतिवेलाको नेपाली समाजको एउटा चित्र हो, त्यतिवेलाको भरखर आधुनिकतामा प्रवेश गर्न थालेको काठमाण्डौलाई चियाउने एउटा आँखि झ्याल हो ।
बाबुको लाडप्यार या हप्कीदप्की दुवै विना हुर्केका आफ्ना लागि आफैले जोहो गर्नुपर्ने आर्थिक अवस्थाका उनको जीवनको धेरैजसो समय यायावरीजस्तो लाग्छ । कतै स्थिर भएर नअडिएको । धेरै तानावानाले नजेलीएको । कसैको नियन्त्रण नभएको । उनी आफ्नै रुचीले भारतीय पुस्तकालयसम्म पुग्छन् र ज्ञानको भोक मेटाउने प्रयास गर्छन । त्यहि पुस्तकालयमा पढ्दा पढ्दै भारतीय समाजवादी नेता राम मनोहर लोहियालाई पत्र लेख्छन् । यो पत्र नै उनको जीवनलाई मोड दिने महत्वपुर्ण दस्तावेज बन्छ । उक्त पत्र पुग्नु अगाडी नै लोहियाको मृत्यु भैसकेको हुन्छ । नेताका सहयोगीले उनको पत्र प्रदिप गीरी समक्ष पठाईदिन्छ । उनको पत्र पनि साथमै भएका गीरी काठमाण्डौ आईपुग्छन् र किशोरलाई भेट्छन् । यतिनै कारण बन्छ उनको जेल यात्रा प्रारम्भ हुनुको । जेलबाट निस्केपछि राजनीति र पत्रकारिता फेरी सुरु हुन्छ । उनको जीवनलाई अव प्रभावित गरिदिन्छन् कृष्णप्रसाद भट्टराई, दमन ढुंगाना, प्रदिप गिरी र सबैभन्दा बढि सरोज कोईराला । माथि नाम लिईएका सबै नेपालको प्रपिपक्षीय राजनीतिका हस्तीहरु थिए । दमन ढुंगाना बाहेक अरु सबै पेशेवर राजनीतिज्ञहरु । उनीहरुको सान्निध्य र संगत, पछि सुर्यप्रसाद उपाध्यायहरुको संगत, चन्द्रकिशोर झाजस्ता पत्रकारहरु मातहतको पत्रकारिता, दिनमानको सम्वाददाता, गोर्खापत्रमा भारतदत्त कोईरालाका मातहत ग्रामिण तथा विकासे पत्रकारीता, जनमत संग्रहकालमा विपिको प्रेस सहयोगीका रुपमा सक्रिय, देशान्तर लगायतका पत्रिकाहरुको आफ्नै पहलमा पकाशन, रोयटर्सको सम्वाददाता तथा स्ट्यानफोर्ड युनिभर्सीटीमा छात्रवृती सहित आमसञ्चारको अध्ययन । यी सबै यस्ता कुरा थिए जसले उनलाई तत्कालीन नेपाली राजनीतिका सबैजसो खेल र खेलाडीसंग प्रत्यक्ष रुपमा गाँसिदिएको थियो । काँग्रेसमा उनको संलग्नता र सम्वन्धले निकैपछि उनलाई प्रधानमन्त्री भट्टराईको प्रेस सल्लाहकार बनाएको थियो । यस्ता अवसर र तिनका जोखिमहरुसंग खेल्ने उनको लतले नै सायद नेपाली राजनीतिक टिप्पणीकारहरुको बजारमा किशोर नेपाल अहिलेसम्म टिकेका मात्र छैनन् बरु त्यसमा आफ्नो अलग स्थान र परिचय कायम राखेका छन् । यहि राजनीतिसंग गाँसिएको उनको जीवनका कालखण्डहरु, जेल जीवन र सङ्घर्ष यसका पठनीय पक्ष पनि हुन ।
उनको यो पुस्तक उनको मात्र कथा र उनको मात्र समय भने होईन । यो अलिकति समाजशास्त्र, अलिकति राजनीतिक ईतिहास, अलिकति साहित्य, अलिकति पत्रकारीता र अलिकति उमेर गुज्रीसकेका मानिसहरुले स्वभाविक रुपमा पाल्ने आग्रहहरु समेटीएको समयको अभिलेखन हो । यसमा उनी कति ईमान्दार रहेका छन् भन्ने मुल्याँकन तत् तत् समय र सन्दर्भ बुझेका पात्रहरुले भन्न सक्लान, त्यहि समय उनको नीकट रहेका पाठकले ठम्याउलान । वामपन्थीहरुका बारेमा भने उनी अलीकति आग्रह पालेका र अलिकति कम सुचित रहेको देखिन्छ । उनले २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा माले पार्टीले भाग लिएको र सुर्यवहादुर थापाको सहयोगमा केहि सिट जीतेको भन्ने उनको लेखाई (पेज २०९) तथ्य र ईतिहास दुवै हिसावले गलत छ । मालेले २०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचनमा आफ्ना उमेद्वार उठाएको हो तर त्यो कुनै अर्थमा पनि थापासंग साँठगाँठमा आधारित थिएन । उनी वामपन्थीप्रतिको आग्रह कत्ति लुकाउँदैनन् पनि । लेख्छन् “वामपन्थीहरुसंग बसेर रक्सी पिउन जति रमाईलो हुन्छ, बौद्धिक संसर्ग गर्न त्यति नै कठिन ।” (पेज २१४) हेर न कति हेपेका वामपन्थीहरुलाई । यति त दाविसाथ भन्न सकिन्छ कि समकालिन सन्दर्भमा वौद्धिक विमर्स वामपन्थीहरुले नै गरिरहेका छन् । कसले कति सुचना र विचारमा दखल राख्छ त्यो भने असमान हुनसक्छ ।
 “मस्र्याङ्दी भेगमा सक्रिय रहेका वामपन्थीहरु जनपक्षीय उमेद्वारको पक्षमा बुथ लुट्ने तरखरमा लागेका थिए ।” (पेज २५४) यो भनाई पनि ईतिहासको कुनै सन्दर्भसंग मेल खाँदैन कतैपनि । “मलाई वामपन्थीहरुको डबल स्ट्याण्डर्ड देखेर उदेक लाग्थ्यो । लेख्ने र बोल्ने एउटा गर्ने अर्कै । खास गरेर, लेखक साहित्यकार, कवि, कलाकार र पत्रकार जातिका वामपन्थीहरुको दरिद्र मासिकता निकै टिठलाग्दो देखिन्थ्यो । राम्रो लगाउने, राम्रो खाने, राम्रो हेर्ने कसैप्रति पनि उनीहरु राम्रो धारणा राख्नै नसक्ने ।” –पेज ३०३) । यो पनि अर्धसत्य मात्रै हो । त्यतिका धेरै मानिसको संगत गरेका किशोर नेपालले कस्ता वामपन्थी भेटेछन् कुन्नी ?

No comments:

Post a Comment