Thursday, April 10, 2014

टेकनाथ बराल र कम्युनिस्ट संस्कृति


पीडीएफमुद्रणइमेल


केही महिनाअगाडि पोखराका वामपन्थी नेता तथा नागरिक समाजका अगुवा टेकनाथ बराल पारिवारिक जमघटमा भेट भए । उनैको परिवारका सदस्यको विवाह कार्यक्रम थियो । विवाह परम्परागत ढंगले सम्पन्न हुँदै थियो । बराललाई त्यति चित्त बुझिरहेको थिएन । त्यसमा हस्तक्षेप गर्न मिल्ने कुरा थिएन, गर्न हुँदैनथ्यो । बूढाले परम्परागत संस्कृतिको साटो नयाँ र समतापूर्ण संस्कृतिको स्थापना गर्ने आफ्नो प्रयास कतै नयाँ पुस्तामा हस्तान्तरण नै गर्न नसकिने पो हो कि भन्ने चिन्ता जाहेर गरे । पाँच दशकभन्दा बढी नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा लागेका, ७५ वर्षीय बराल लामो समयदेखि केही फरक अभ्यास गरी आएका छन् । उनी परम्परागत रूपमा हिन्दू परिवारले सम्पन्न गर्ने सांस्कृतिक या धार्मिक चाडपर्व या परम्परा मनाउँदैनन् । दसैँमा टीका लगाउने, दक्षिणा दिने, पितृश्राद्ध गर्ने परम्परा उनले त्यागेको दशकौँ भयो । पोखराको नुवारथोक, बैदामनजिक, एउटा सम्पन्न परिवारमा जन्मेका बराल जहिलेदेखि कम्युनिस्ट पार्टीमा लागे त्यतिवेलादेखि नै विद्रोही स्वभाव निरन्तर लिएर बसेका छन् । राजनीतिक कारणले निर्वासित भएर लामो समय बनारसमा बिताएका, संस्थापक नेता पुष्पलालको सान्निध्यमा बसेका बराल जनमतसंग्रहको खुकुलो वातावरणपछि पोखरा फर्केका थिए । त्यसयता यिनले स्थानीय पार्टी समर्थक र कार्यकर्तासँग मिलेर परम्परागत संस्कृतिले मानिसलाई समान हुनबाट छेक्छ भन्दै नयाँ संस्कृतिको अभ्यास गर्ने प्रायस गरे । उनले आफ्ना सन्तानको बिहेमा कहिल्यै पनि परम्परागत पिताको भूमिका खेलेनन् ।
तर, उनैको शब्दमा नयाँ पद्धति बसाल्न पनि सकेनन् । उनी भन्छन्, नयाँ पद्धति स्थापित नगरी पुरानो विस्थापित हुँदैन रहेछ । हरेक सामाजिक सांस्कृतिक कार्य (जन्मदेखि मृत्युसम्मका संस्कारलगायत) लाई परम्पराका नाममा अस्वीकार गर्न सके पनि नयाँ पद्धति के हो भन्नेबारे अहिलेसम्म नेपालका कम्युनिस्टले कुनै विकल्प नदिएकाले बिस्तारै कुनै समयका विद्रोही नेतासमेत पछि पूजाआजा र परम्परामा फर्केको देखिन्छ । उनको अनुभव यस मामिलामा निकै कटु छ । सुरुमा क्रान्तिकारी बनेर उनलाई साथ दिनेहरू बिस्तारै परम्परामा नै फर्के । उनका छोरा र छोरीहरूले पछि कम्युनिस्ट आन्दोलनमा सक्रिय भएर काम गरे । उनीहरूमा आफ्ना पिताले गरेको काम ठीक हो भन्ने पूरै विश्वास छ । तर पनि हरेक दसैँमा उनीहरूलाई कतै केही नमिलेको जस्तो भइरहन्छ । नातिनातिनालाई समेत केही नमिलेको र खल्लोजस्तो लाग्छ भन्ने बरालको अनुभव छ । तर, उनी अहिले पनि आफ्ना मान्यताबाट पछि हटेका छैनन् । आफ्नो पुख्र्यौली सम्पत्ति चारजना सन्तान (एक छोरा तीन छोरी, सबैलाई अंश भनेर दिएका) र बूढाबूढीका लागि अलग–अलग भाग लगाएर पुष्पलाल पार्कको ठीक पश्चिमपट्टिको एउटा भिरालो पाखामा रहेको पुरानो घरमा भैँसी पालेर बस्छन् । अहिले पनि उनी आन्दोलनमा नै छन् । उनको अनुभव भन्छ, उनी सांस्कृतिक रूपान्तरणको मामिलामा चाहिँ एक्लै हुँदै गएका छन् ।

पोखराका धेरैजसो कार्यक्रममा अतिथि बन्न पुग्ने यिनी हरेकजसो कार्यक्रममा संस्कृतिबारे कुरा उठाउँछन् । आफूलाई नास्तिक र मान्छेको जातको एउटा मान्छे मात्र भनेर परिचय दिन्छन् । केही दिन अघिमात्र उनले प्रगतिशील लेखक संघले पोखरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रगतिवादी भनिने साहित्यले समेत सांस्कृतिक रूपान्तरणमा खासै भूमिका खेल्न नसकेको भनेर आलोचना गरेका रहेछन् । यस्तै, ०५८ जेठतिर उनैको पहलमा काठमाडौंमा प्रगतिशील संस्कृति निर्माणबारे बृहत् बहस र छलफल भएको थियो । उक्त अभियानमा सबैजसो वामपन्थी या कम्युनिस्ट पार्टीका नेता तथा लेखकको उपस्थिति थियो । कुरा त सबैले क्रान्तिकारी गरे । तर, व्यवहारमा लागू गर्नेमा झन्डै बराल एक्ला रहे ।

नेपालमा ००७ सालपछिको वातावरणमा परम्परागत रुढीमाथि प्रहार गर्नेमा कांग्रेस अगाडि थिए । बिपी कोइराला समाजवादी थिए र भौतिकवादी पनि । आफ्नो आत्मसंस्मरणमा उनले त्यतिवेलाका रुढ समाजमा गुल्मीको रिडीमा नुहाउँदाको अप्ठेरोबारे उल्लेख गरेका छन् । उनी नुहाउन र पौडिन चाहन्थे । जनै लगाएका थिएनन् । रिडीका जस्ता कट्टर बाहुन भएको समाजमा एउटा बाहुनको छोरो र नेताले जनै नलगाई नुहाउँदा कांग्रेसबारे परम्परागत समाजले नराम्रो टिप्पणी गर्ला र निर्वाचन हारिएला भन्ने स्थानीय कार्यकर्तालाई चिन्ता थियो । तर, बिपीले अन्तमा आफैँलाई भनेछन्, मैले अहिले भोटका लागि जनै भिर्नु ढोंग हो । यसरी ढाँट्नुहुँदैन । उनले जनै नलगाईकनै पौडी खेलेछन् । तर, ०१७ सालपछि कांग्रेस बिस्तारै आफँैसँग पराजित भयो । समाज बदल्नेभन्दा परम्परागतअनुरूप हिँड्ने सहज वृत्तिमा लाग्यो । बिपीपछि उनले जन्ममृत्यु संस्कारमा ल्याउन खोजेको परम्परा धानिदिने कांग्रेसमा झन्डै कोही रहेनन् । हुँदाहुँदा त्यस समूहमा मुक्तिनाथ बाबा नामको कुनै पण्डाका अगाडि लम्पसार परेर उसको आर्शीवचन थाप्नेदेखि अनेक खालका पाखण्डी बाबा–माताका पछि लाग्नेहरूको बहुमत छ । त्रिवेणी बैठकका वेला एउटा बाबाले त मञ्चमा आसनग्रहणसहित कांग्रेसीजनलाई प्रवचन दिने मौकासमेत पाएको थियो ।

यता, वामपन्थी र कम्युनिस्टहरूको कुरा पनि त्योभन्दा खासै भिन्न छैन । मदन भण्डारी र जीवराज आश्रित मरेको स्थानमा सप्ताह पुराण लगाउने, विद्या भण्डारीलाई सेतो सारीमा चुनाव लडाउने, मदन–आश्रितको अस्तु देशका सबै नदी र खोलामा बगाउन पठाउने अनेक काम गरेर एमालले मालेकालीन सांस्कृतिक आन्दोलनलाई खोलामा बगायो । केही समय पहिले सार्वजनिक गरिएको आफ्नो पुस्तकमा त्रिलोचन ढकालले लेखेअनुसार वामदेव गौतमको घरको छतमा शिवजीको पूजा गरिन्छ । यी गौतम कान्ची कामाकोठी मठका मठाधीश शंकराचार्यको नेपाल भ्रमणका क्रममा सवारीमन्त्री बनेर उसैसँग डुलेका थिए, पछि अनेक खाले बाबा र लुठाहरूसँग यिनको उठबस छ भनिन्छ । झलनाथ खनालले ६ महिने प्रधानमन्त्री बनेर बालुवाटार छिर्दा गरेको पूजा अर्चना, कमरेड माधव नेपालले आफू प्रधानमन्त्री बनेका वेला दसैँमा श्रीमतीलाई टीका लगाइदिएर आफ्ना दुवै खुट्टामा ढोगाएको चलदृश्यको टेलिभिजनहरूमा प्रसारण, अनेक कामका लागि नेताकै संलग्नतामा भएका सप्ताह–पुराण, डा. भट्टराईले दसैँको टीका ग्रहण गर्दै पितालाई ढोगेको टिभी पर्दाका दृश्य, कम्युनिस्ट पार्टीका भ्रातृभगिनी संगठनले दसैँ–तिहार, तिजजस्ता चाडमा गर्ने कार्यक्रम आदिले नेपालमा वामपन्थीका संस्कृतिसम्बन्धी नीति र दृष्टिकोण जहिले पनि प्रश्नको घेरामा पर्ने गरेको छ । केही समय पहिले एमाओवादी अध्यक्ष प्रचण्डले भैँसीपूजा गरेको चर्चा चलेको भए पनि उनले आफ्ना पिताको मृत्युका वेला परम्परागत भूमिका निर्वाह गरेनन्् । श्रद्धाञ्जलीसभाको माध्यमबाटै आफ्नो कर्तव्य निर्वाह गरेको देखियो । तर, उनले यति गरेर न त उनको कर्तव्य सकिन्छ । न त सांस्कृतिक रूपान्तरण नै हुन्छ । हिजो जनयुद्धका क्रममा चलेको दलित, गैरदलितबीचको विवाह, छुवाछुतको अस्वीकृति, छुई र छाउगोठको विरोध, अन्धविश्वास र कर्मकाण्डको विरोध बिसाइएका हतियारसँग मलिनो र धुमिल भएर बिस्तारै मेटिन खोज्दै छ । उनले त त्यस्ता राम्रा परम्पराको जगेर्ना गर्न सांस्कृतिक आन्दोलन पो थाल्नुपथ्र्यो ।

मलाई अहिले यी प्रश्नतिर फर्कन लगाएको भने केही निजी समस्याले हो । यतिवेला देशमा वामपन्थ या समाजवादका सन्दर्भमा नयाँ बहस आरम्भ भएको छ । हाम्रो अर्थतन्त्र पुँजीवादी भयो भनेर ठोकुवा गरिसकिएको छ : समाजशास्त्री र कम्युनिस्ट पार्टीहरू यस मामिलामा लगभग सहमत छन् । देशमा कम्युनिस्ट समर्थक मतदाता या नागरिकको जमात आधाभन्दा बढी छ । तर, हाम्रो संस्कार र संस्कृतिमा भने नकारात्मक परिवर्तन धेरै देखिन थालेका छन् । मठमन्दिरहरूको संख्या बढेको बढ्यै छ । सप्ताह पुराणका संख्या बढेका बढ्यै छन् । विवाहमा भोजभतेरका लागि लाखौँ खर्च नगरी नेता नबनिने विश्वासमा कम्युनिस्ट पार्टीका नेता पनि सामेल छन् । समाज प्रस्टसँग सामन्ती संस्कृतिसहित पुँजीवादी खर्च या तडकभडकको जालोमा परेको छ । खासगरी जन्मदेखि मृत्युसम्मका संस्कारमा यस्तो तडकभडक भयानकसँग फैलिएको छ ।

म जब कुनै केटीपट्टिको बिहेमा जान्छु, तब त्यहाँ दक्षिणा टक्र्याउने बाध्यताले आतंकित हुन्छु । दुई–अढाई सय खर्च गर्न नसकेर होइन, बरु यस्तो अपमानजनक कार्यमा संलग्न हुनुपरेकोमा आत्मग्लानि हुन्छ । नदिउँ के के नमिलेको जस्तो, दिउँ मनले मान्दै मान्दैन । जब केटा पक्षका बिहेमा जान्छु, तब टीकाका लागि निधार थाप्ने र केही दक्षिणा भएको खाम हातमा थाप्ने लाजमर्दो अवस्थामा पर्छु । केही वर्षअगाडि एकजना निकटका भाइको बिहेमा गएको थिएँ । केटी पक्षकाले त मलाई चिन्ने कुरा भएन, केटा पक्षकाले टीका लगाउन हिँड भनेर तान्न आए । मलाई जान मन छैन भनेर के सुनाएको थिएँ, ती आफन्त त सबै जन्ती र घरपटिकाले समेत सुन्ने गरी तँ टीका लगाउँदैनस् भने तेरो र मेरो साइनो आजैदेखि टुट्यो भनेर हल्ला गर्न थाले । झगडा गर्नु कि भाग्नु भयो । हुन त मेरो गाउँका मेरो गोलका सबैलाई मैले जनै लगाउँदिनँ, धर्मकर्म र देवीदेवतामा विश्वास गर्दिनँ भन्ने थाहा छ । तर, आमा–बाका करले काकाकाकी र भाउजुदाइहरूलाई लिएर गयाँ काशीमै जानुपर्‍यो । कसैले पनि मलाई नुहाउन, पूजा गर्न र टीका अक्षता गर्न कर लगाएनन् । म मेरो कर्तव्य पूरा गरेर फर्केको थिएँ, विनासमस्या । कतिपय पारिवारिक उत्तरदायित्व निर्वाह गर्दा दान–दक्षिणाका लफडामा सहमति दिनुपरेको छ । दसैँ आउँदा त्यस्तै समस्या पर्छ, पारिवारिक कर्तव्य निर्वाह गर्नुपर्ने । अन्य चाडले भने त्यस्तो अप्ठेरो पार्दैनन् । हामीले (पतिपत्नीले) सन्तानको न्वारनमा पनि परम्परा तोडेका थियौँ । आफ्नो निर्णय आफ्नै हातमा थियो । तर, समाजसँग गाँसिएका कुरा जब आउँछन्, तब के गर्नु र के नगर्नु हुन्छ ।

यो त थाहा छ, धर्म परम्परा र रीतिरिवाज मान्नु/नमान्नु नितान्त निजी कुरा हो । कम्युनिस्ट पार्टीकै नेता कार्यकर्ता हो भने ऊ भौतिकवादमा विश्वास गर्ने नै हुनुपर्छ भन्ने मान्यता छ । यसैले एउटा कम्युनिस्टले धर्मकर्ममा विश्वास गर्दैन । व्यक्ति सामाजिकतामा बाँच्नुपर्ने भएकाले समाजबाट अलग हुन पनि मुस्किल पर्छ । तर, जब कुनै संस्कार परम्परा र मान्यताले विज्ञान र तर्कभन्दा पर व्यवहार गर्न कर गर्छ, तब त्यसलाई अस्वीकार गर्नैपर्ने हुन्छ । यसो गर्दा पनि समाजलाई सँगै हिँडाउनुपर्ने अन्यथा समाजबाट एक्लिनुपर्ने भएकाले यो समस्याबारे कमसे कम वामपन्थीका बीचमा एउटा सहमतिको खोजी हुनु जरुरी छ ।

मैले यो कुरा उठाउनुको अर्को कारण अहिले वामपन्थीका बीच चलिरहेको बहसका सन्दर्भमा पनि हो । कम्युनिस्टले लोकतन्त्र र सामाजिक न्याय प्राप्तिका लागि, जनवाद र समाजवाद प्राप्तिका लागि यतिको बलिदान गर्दा पनि उनीहरू निर्णायक तहमा स्थापित हुन नसक्नुका पछि, हरेक मोड र गौँडामा आउने विभाजनका पछि, नेता र सर्वसाधारण जनताबीचको सम्बन्धको डोरी खुकुलिनुका पछि, नेतामा छिटो–छिटो वैयक्तिक उन्नतिको खोजी हुने सरुवा रोगको महामारी फैलनुका पछि, बुर्जुवा वर्गसँग लिपिक्कै टाँसिने तर श्रमजीवीसँग टाढा हुँदै जानुका पछि समग्रमा सम्पूर्ण समाजवादी परियोजना जाग्दै हराउँदै जाने महारोगका पछि सांस्कृतिक परम्पराको ठूलो योगदान छ । परम्परा र संस्कृतिले मानिसलाई व्यक्तिवादी बनाउन सहयोग पुर्‍याएको छ, सामूहिक भावना र समानता हाम्रो संस्कार र संस्कृतिविपरीत मूल्य हुन् । यसलाई सामूहिक रूपमा तोड्ने प्रयास नगरीकन नेपाललाई समतामूलक र न्यायपूर्ण समाजका रूपमा विकास गर्नु असम्भव छ । समाजवादका या बहुदलीय र २१औँ शताब्दीका जनवादका ठूला शब्दभन्दा समाजमा हस्तक्षेप गर्ने सांस्कृतिक रूपान्तरणले मात्रै हाम्रो पुँजीवादी विकास र समाजवादी लक्ष्य हासिल गर्न सहयोग पुग्ला । जब परम्पराको पछि लागिन्छ, तब सबै कुरा गोलमाल हुन्छ । एक्ला टेकनाथहरूको समर्पणले के थेग्ला र ?

1 comment:

  1. राम्रो छ दाइ । यस्तो विसयमा त छलफल नै हुन छाड्यो । मैले आजको नेपाल पत्रिकामा बामदेवका बारेमा सामान्य समाजशास्त्रीय विश्लेषण गरेको छु । मिल्यो भने हेर्नु होला ।

    ReplyDelete