Friday, September 27, 2013

आमसञ्चार र वर्चस्वको लडाइँ



संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा फेरि नेपाली समाज धेरैजसो पुराना मुद्दातर्फ केन्द्रित भएर वर्चस्वको लडाइँतिर मोर्चाबन्दी गर्न थालेको छ । यस्तो वर्चस्वको लडाइँ लड्ने विभिन्न माध्यम छन् । पार्टी र त्यसको विचारलाई निर्देशित गर्ने नेताहरू, तिनका संगठन सञ्जाल, तिनले गर्ने आमसभा, कोठे बैठक, साना ठूला भेला, भित्ते पोस्टर, पम्पलेट, पर्चा, भित्तामा लेखिने नारा, घरघरमा गएर गरिने कुराकानी, जुलुस, लगाइने नारा, त्यस्ता नारा लगाउँदा प्रयोग हुने प्लेकार्ड, देखाइने डन्डी र लठ्ठी घोचाहरू, प्रयोग हुने बस या सवारीका साधन, यता त्यता जम्मा हुने चुल्ठे मुन्द्रे, गाउँमा पुग्ने बाहिरका सुकिला मुकिलाले सुनाउने कुरा सबै यस्तो वर्चस्व निर्माणका माध्यम हुन् । पञ्चायतकालमा त उम्मेदवारले सर्वसाधारण किसान या गोठाला खेतालाको खुट्टा समातेर ढोग्ने, उसको हात समातेर आफ्नो निधार या थाप्लोमा राखेर आशीर्वाद माग्नेसमेत गर्ने गर्थे । आमा समूह, युवा क्लब, विद्यालय, मन्दिर या अन्य सार्वजनिक स्थलका लागि भनेर चन्दा या आर्थिक सहयोग दिने, मतदानका दिन मतदान स्थलमा नै नोट बाँड्ने, रक्सी या खाजा खुवाउने र त्यसअघि नै व्यक्ति या समूहलाई आर्थिक प्रलोभन दिने काम पनि हुन्थे/हुन्छन् । यस्ता घटना, नारा, पर्चा या मानिसको संगतमा आएको अर्को सर्वसाधारण मानिसले तिनैलाई हेरेर एउटा प्रतिक्रिया जनाउँछ । यही प्रतिक्रिया उत्पन्न गराउन सक्नु नै वर्चस्वको लडाइँको मुख्य काम हो । यस्ता प्रतिक्रियाहरूले नै विपक्षलाई कमजोर देखाउने, उसका विचारलाई काम नलाग्ने सावित गर्ने र आफ्ना पक्षमा मानिसलाई आकर्षित गर्दै पार्टीहरूको जनसमर्थनको स्तर निर्धारण गर्छन् । यसप्रकारको प्रचार अभियान एकप्रकारले परम्परागत अभियान शैली मान्न सकिन्छ ।

राष्ट्रिय पञ्चायतको अन्तिम निर्वाचनका वेला पद्मरत्न तुलाधरले काठमाडौंको वसन्तपुरमा गरेको भाषणको रेकर्ड बनाएर तत्कालीन मालेले देशभर आफ्ना उम्मेदवारको प्रचारमा प्रयोग गरेको थियो । त्यो एकदम प्रभावकारी भएको पनि थियो । त्यसले केवल निर्वाचनमा मतदातालाई आफ्ना पक्षमा आकर्षित गर्ने काम मात्रै नगरेर सिंगै पञ्चायती व्यवस्थाको भण्डाफोर गर्न महत्त्वपूर्ण प्रचार सामग्रीको काम पनि गरेको थियो । यसो भन्न सकिन्छ– उक्त भाषणको रेकर्डको प्रचारले पञ्चायतको राजनीतिक वर्चस्व ध्वस्त पार्न र बहुदलीय व्यवस्थाको पक्षमा जनाधार तयार पार्न सहयोग गर्‍यो । समाजमा तत्कालीन मालेको वैचारिक र सांगठनिक प्रभाव विस्तारमा पनि यसले उल्लेख्य काम गरेको थियो । पछि ०४८ सालको निर्वाचनका वेला एमालेका महासचिव मदन भण्डारीका भाषणका रेकर्ड देशभर प्रचार अभियानमा प्रभावकारी रूपमा प्रयोग भएका थिए । त्यस्ता रेकर्ड सुन्न मानिस एकैठाउँमा भेला हुने, सुनेपछि प्रतिक्रिया दिने तथा स्थानीय तहको कार्यकर्ताले महिनौं लगाएर बुझाउन नसकेका कुरा एकाध घन्टाका बीचमा बुझाउन सक्ने भएर पनि यसको प्रभाव बढी थियो । संसदीय कालको पहिलो निर्वाचन र ०४९ को स्थानीय निर्वाचनका वेला त्यतिवेला रेडियो नेपालले सञ्चालन गरेको घटना र विचार कार्यक्रमले राजनीतिमा नेपाली कांग्रेसको वर्चस्व स्थापित गर्न निकै महत्त्वपूर्ण काम गरेको थियो । कार्यक्रम सञ्चालक पुरुषोत्तम दाहाल निकै लोकप्रिय भएका थिए । साँझ सबैजसोले यो कार्यक्रम सुन्थे । उनले खासगरी कम्युनिस्टहरू र त्यसमा पनि तत्कालीन नेकपा एमालेको विपक्षमा मन्द विषझैँ अनेक नकारात्मक प्रचारका लागि सरकारी लगानीको त्यो साधनको दुरुपयोग गरे । एमालेका नेता झलनाथ खनाल अन्तरिम सरकारमा मन्त्री त थिए तर उनले रेडियो नेपालको एकोहोरो आक्रमणलाई रोक्न सकेनन् । घटना र विचार कार्यक्रमको जबर्जस्त प्रभाव कसरी चिर्ने भन्ने पिरलोले एमालेलाई हैरान पारेको थियो । हामीले आफ्नो सांगठनिक सञ्जाल, सक्रियता र घरदैलोलगायत प्रचारका शैलीबाट त्यसलाई एक 
हदसम्म चिरेका थियौँ ।

वर्चस्वको लडाइँलाई अहिले पनि संगठनको सञ्जाल र उसको इतिहास या नाराले मुख्य रूपले नियन्त्रित गरिरहेको भए पनि आजभोलि सञ्चारका माध्यमको प्रयोग महत्त्वपूर्ण बन्दै गएको छ । यसले हरेक वर्ष आफ्नो प्रभावको घेरो बढाउँदै लगेको छ । अहिले पत्रपत्रिका, रेडियो, टेलिभिजन, भिडियो, एसएमएस, मोबाइल, फेसबुक, युट्युब, ट्विटर, अनलाइन ब्लगजस्ता माध्यम यस्ता निर्वाचन प्रचारका सशक्त माध्यम बन्न थालेका छन् । गएको मार्चसम्मको रिपोर्टअनुसार नेपालमा एनसेल र नेपाल टेलिकमको गरी एक करोड ८० लाख मोबाइल प्रयोग भएका छन् । जनसंख्याको झन्डै ६५ प्रतिशतले मोबाइल प्रयोग गर्छ । २३ प्रतिशत जनतासँग इन्टरनेटको पहुँच छ । २५ लाख बढीले फेसबुक अकाउन्ट खोलेका छन् । तीन लाखजतिले ट्विटर प्रयोग गर्छन् । दैनिक पत्रपत्रिका र अनलाइन खबर साइट सर्च गर्ने पनि १ लाखभन्दा बढी छन् । एक करोड जनसंख्याले टिभीमा पहुँच राख्छ । टेलिभिजन च्यानलको संख्या बढ्दै गएको छ । केवल टिभीको प्रसारण लाइन र डिस होमहरूले टिभीलाई धेरैको नजिक पुर्‍याइदिएका छन् । सयौंको संख्यामा एफएम छन् । मोबाइलले एफएम रेडियो सबैको पहँुचमा चौबीसै घन्टाका लागि पुर्‍याइदिएको छ ।

यी यस्ता माध्यम हुन्, जसले नेपालको मात्रै नभएर दुनियाँकै वर्चस्व निर्माण उद्योगलाई चुनौतीपूर्ण पनि बनाइदिएको छ । बजारमा सीमित संख्याका मात्र खेलाडी छैनन् । एउटाले भनेको विचार मात्र प्रसारित हुने होइन । पहिले एउटै सरकारी रेडियो सुनेर या छरछिमेकका टाठाबाठाले भनेर मात्र थाहा पाइने कुरा सर्वसाधारणले घट्टमा मकै पिन्दै, बारीमा हलो जौत्दै या वनमा गाईवस्तु चराउँदै गर्दासमेत थाहा पाउँछन् । सूचनामा सीमित व्यक्तिको नियन्त्रण समाप्त भएको छ । प्रतिविचार या खण्डनमण्डन र आलोचनाको ओइरो तत्काल लाग्छ । यो विचार निर्माण र प्रसारको उद्योगमा यसको उत्पादन, प्रसारण, समयको निर्धारण, विभिन्न दलका विचार या त्यसको आलोचनाका लागि दिइने स्थानमा भने सीमित मानिसको हात हुन्छ । अहिले पनि ठूला सञ्चारका माध्यममा समाचार या विचारको उत्पादन र प्रसारण गर्ने काममा निश्चित वर्ग या समुदायको बढी नियन्त्रण छ । लगानीकर्ताले विचारलाई नियन्त्रण गर्ने र श्रम गरीकन जीविका गर्नेले आफ्नो जागिर या रोजीरोटीकै लागि सम्झौता नगरी नहुने बजारशास्त्रको नियम यसमा पनि लागु हुन्छ । यस्ता सञ्चारका साधन जतिसुकै व्यावसायिक भएको भनेर चिच्याए पनि स्वभावैले कसैको पक्ष या विपक्षमा समाचार दिन्छन् । कसैले घुमाएर दिन्छन् कसैले सीधा ।

अबको निर्वाचनमा पार्टीको विचारका पक्षमा वर्चस्वको निर्माण गर्न यस्ता माध्यम नेता या संगठनको सञ्जालभन्दा बढी प्रभावकारी भएर आउनेछन् । सञ्चार माध्यमले कांग्रेसमा टिकटका लागि मारामार भनेर सामान्य विवादलाई उचाल्यो भने या केपी ओली पक्षले नेपाल खनाल पक्षलाई असहयोग गर्‍यो भनेर प्रचार गर्‍यो भने अथवा एमाओवादीमा प्रचण्ड र नारायणकाजीका बीच बोलचालै बन्द भनेर प्रचार गर्‍यो भने त्यसले मतदाताको मनोविज्ञानमा पार्ने प्रभाव निकै बलशाली हुन्छ । अहिले नै दलहरूले या तिनका समर्थकले सामाजिक सञ्जालमा एक–अर्कालाई बदनाम गर्ने या कमजोर देखाउने सामग्री प्रचुर मात्रामा प्रयोग गर्न थालेका छन् । भारतदेखि अमेरिकासम्मका निर्वाचनमा अहिले सामाजिक सञ्जालका साथै अर्बौं खर्चेर टेलिभिजनमा विज्ञापन दिएर प्रसारण गर्ने चलन छ । यसले मानिसको कोठा चोटामा पार्टीको भिजन र उम्मेदवारको व्यक्तित्वको एकैपटक प्रचार गर्छ । एकपटक लाखौँ, करोडौँ मतदातासमक्ष कुरा पुग्छ ।

फेसबुक या अनलाइन खबरका माध्यमबाट विचार बनाइरहेको कुनै दुबई या मलेसिया बस्ने युवाले आफ्ना परिवारलाई कुन पार्टीमा मत दिने भन्ने सल्लाह दिनसक्ने भएकाले पनि अनलाइन पोर्टलहरू, पत्रपत्रिका र टेलिभिजनहरू, युट्युब र फेसबुक या ट्विटर अकाउन्टहरूले महत्त्वपूर्ण प्रभाव छाड्दै छन् । निजी क्षेत्रको पहलमा रातोपाटी डटकम, सेतोपाटी डटकम जस्ता न्युज पोर्टल सञ्चालनमा छन् । यिनले निर्वाचनमा पनि निश्चित मतको पक्ष या विपक्षमा प्रभाव सिर्जना गर्ने प्रयास गर्नेछन् । यस्तै यसै साताबाट एमालेले निर्वाचनलाई लक्षित गरेर रातो सूर्य डटकम सञ्चालनमा ल्याएको छ । तत्काल यस्ता सञ्चारका माध्यमले नीति निर्माण तहका कार्यसूचीलाई धेरै प्रभाव नपारे पनि निर्वाचनमा मत माग्न, मतदाता र उम्मेदवारका बीचमा सम्बन्ध स्थापित गर्न र खासगरी निर्वाचनका वेला बहकिने मतलाई प्रभावित गर्न अहिले नै धेरै हदसम्म प्रभावकारी हुने देखिन्छ ।

No comments:

Post a Comment