Friday, September 13, 2013

उचनिचको अपसंस्कृति र भुइँ मान्छेहरू

झलक सुवेदी



राजनीतिक विषयमा टिप्पणी गर्ने भएकाले होला मलाई कहिलेकाहीँ केही फोरममा जाने काम आइलाग्छ । यसैक्रममा राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्म र भोटरदेखि छेउबाट टिप्पणी गर्नेसँग भेटघाटको अवसर जुर्छ । आफ्नो राजनीतिक पृष्ठभूमिका कारण मेरो सबैभन्दा बढी भेटघाट जता गए पनि एमालेका साथीसँगै हुन्छ । कहिलेकाहीँ नेपाली कांग्रेस र एमाओवादीका मित्रहरू पनि भेट हुन्छन् । यस्तो भेटमा जब पार्टी संरचनामा ‘माथिका’ जसमा काठमाडौंमा बसेर राजनीति गर्नेहरू अथवा केन्द्रीय समितिमा बस्नेहरू र ‘तलका’ अर्थात् जिल्ला या क्षेत्रस्तरमा बसेर काम गर्ने भेट हुन्छन्, तब तिनको सम्बन्धमा रहेको असमानता झल्किने गतिविधि देखापर्छन् । म हाम्रो राजनीतिको केन्द्रवादको भर्सेलामा पर्नुपर्ने यस्तो पाटो देखेर बिरक्तिन्छु । यस्तो सम्बन्ध नेपाली कांग्रेसमा सबैभन्दा बढी असमानतापूर्ण र हाइरार्कियल देखिन्छ मेरो अनुभवमा ।

यसै साता धनगढी गएका वेला एमालेका एकजना केन्द्रीयस्तरका नेता हवाई अड्डामा ओर्लंदै गर्दा उनीभन्दा पाका र शालीन तथा स्थानीय एमाले वृत्तमा लोकप्रिय भएर पनि पार्टीको गुटगत उचनिचका कारण सिमान्तीकरणमा धकेलिएका नेता स्वागत गर्न पुगेको देखेर मलाई अलिअलि असजिलो बोध भयो । शिष्टाचारवश यस्तो स्वागत गर्नु र आफ्नो पार्टीको नेतालाई सम्मान गर्नु स्वाभाविक पनि होला तर त्यसमा देखिने शक्ति सम्बन्धले प्रस्ट्याउने कुरा के थियो भने हामीकहाँ राजनीतिक दलहरूको सांस्कृतिक पक्ष सामन्तवादमा झैँ उचनिचको सम्बन्धलाई लोकतन्त्रको पाइनले छोपेर हुर्काइँदै छ । यसले समाजको लोकतान्त्रीकरणलाई धेरै पछि धकेल्ने निश्चित छ । त्यो दृश्य देखेपछि मलाई पार्टीभित्रको शक्ति सम्बन्धको सिकार भएका गण्डकी क्षेत्रका त्यसमा पनि कास्कीका मेरा केही अगुवा नेता तथा तत्कालीन गण्डकी धवलागिरि क्रान्तिकारी दल मालेका नेताको अवस्थाबारे केलाउन मन लाग्यो । उनीहरूको राजनीतिक हैसियतको सम्मान नभएकै कारण अहिले पनि त्यस भेगको प्रतिनिधित्व एमालेमा कमजोर छ । सम्भवत: एमालेले त्यसबाट अहिले पनि नोक्सान व्यहोरिरहेको छ ।

चीनको सांस्कृतिक क्रान्ति, सोभियत धुरी र चिनियाँ धुरीका बीचको द्वन्द्व र क्रान्तिकारी धारको निर्माणमा माओको पहल, भारतको नक्सालवारी विद्रोहकै सेरोफेरोमा नेपालमा पुष्पलालको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीले पनि क्रान्ति गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेर सो समूहका गण्डकी धवलागिरि क्षेत्रका क्रान्तिकारीले गण्डकी धौलागिरी क्रान्तिकारी कम्युनिस्ट दल माले गठन गरेका थिए । त्यसको अगुवाइ गरेका थिए, कास्की हेम्जाका जयप्रकाश बास्तोलाले । त्यसका शक्तिशाली र प्रभावशाली नेता भने हंसपुरका पुष्पकमल सुवेदी थिए । पुष्पकमल पृथ्वीनारायण क्याम्पसको विद्यार्थी युनियनको सभापति चुनिएका थिए । यो समूहमा पर्वतका कृष्णप्रसाद भट्टराई, म्याग्दीका सोमबहादुर बोगटी, कास्कीका रामचन्द्र अधिकारी, मोदनाथ रेग्मी, दामोदर रेग्मी, रामराज रेग्मी, सोमनाथ प्यासीलगायत क्रान्तिकारी थिए । यो दलको गठन र झापा आन्दोलनको थालनी पनि एकै समयमा भएको थियो । यसको संगठन कास्की, लमजुङ, पर्वत र म्याग्दी र मुस्ताङमा फैलिएको थियो । समूहका नेतामध्येका सोमनाथ प्यासीले मुस्ताङको एउटा गाउँ पञ्चायतलाई गणतन्त्र घोषणा गराएका थिए । यसै आरोपमा त्यहाँ भएको दमनपछि कैयन भारत पलायन भए भने प्यासी स्वयं तीन वर्षका लागि जेल परे । संगठनमा केही अस्तव्यस्तता आएको भए पनि पोखरामा ०३६ को आन्दोलनमा यही समूहले नेतृत्व गरेको थियो । तर, जब तत्कालीन माले र गण्डकी धौलागिरि क्रान्तिकारी दलबीच एकीकरणको कुरो चल्यो, तब मालेवालाले दलवालालाई आफूमा बिलय जस्तै गराए । जिल्लास्तरमा मात्र जयप्रकाश बास्तोलालाई समावेश गरियो, जो पछि पेसेवर राजनीतिमा टिकेनन् । त्यसका कसैलाई पनि पार्टीको माथिल्लो निकायमा लगिएन, जसले गर्दा अहिले पनि त्यो पंक्ति पार्टी संरचनामा तलको तलै बिलाएर गयो । एउटा दुर्घटनामा परेर मरेका पुष्पकमल सुवेदी पनि उनका बैनीज्वाइँ तथा सहकर्मी रामराज रेग्मी (हाल एमाओवादीका केन्द्रीय सल्लाहकार)को सक्रियतामा बनेको प्रतिष्ठानका नाममा मात्र जीवित छन् । लामो समय शिक्षक आन्दोलनको नेतृत्व गरेका रामचन्द्र अधिकारी, दामोदर रेग्मी, मोदनाथ रेग्मी, कृष्णप्रसाद भट्टराईहरू राजनीतिक दृश्यमा कतै भेटिन्नन् ।

सोमनाथ प्यासीले पछि राष्ट्रिय पञ्चायतको सदस्य र सांसदको रूपमा केन्द्रीय राजनीतिमा उपस्थिति जनाएको भए पनि पार्टी केन्द्रको निर्णायक हैसियतमा कहिल्यै पुगेनन् । जबकि उनीसरहका तर अन्य समूहबाट आएका भने पार्टीको निर्णायक तहमा रहिरहे । एकपटक माथि पुगेपछि तल ओर्लन नपर्ने पार्टीको नोकरशाही संरचनालाई तोड्न नसकेपछि तलबाट माथि पुग्ने भनेको गुट या नेताको फेर समातेर मात्र सम्भव हुन्छ ।

केही महिनाअघि ज्ञानेश्वर चोकस्थित नाक, कान, घाँटी विशेषज्ञ डा. सोमनाथ शर्माको क्लिनिकमा भेट भए हाल बर्दिया निवासी निर्मल सुवेदी । अहिले कास्की जिल्लाको मिजुरेडाँडा गाविस तत्कालीन लमजुङ जिल्लाको गोर्जे गाउँको शिरानमा रहेको छ रखालगाउँ । त्यहीँको एउटा धनी किसान परिवारमा जन्मेका निर्मल सुवेदी वनारसबाट कम्युनिस्ट पार्टीको सम्पर्कमा पुगेर गाउँ फर्केका रघुनाथ अधिकारीको प्रभावमा कम्युनिस्ट बनेका थिए । आइए पढ्न पृथ्वीनारायण कलेज पुगेपछि तत्कालीन गण्डकी धवलागिरि क्रान्तिकारी दलको कार्यकता बनेर काम गरे । बिए पढ्न थालेकै वेला पार्टीको आदेश आयो, ‘अब बुर्जुवा शिक्षा बहिष्कार गर्नुपर्छ । गाउँमा गएर शिक्षक हुने र पार्टी संगठन गर्ने ।’ उनी पुष्पकमल सुवेदीले पढाइरहेको भाचोकको सेवामिलन निमाविमा पुगे र प्रअ भएर पढाउने र गाउँ भेकमा पार्टी संगठन पनि गर्न थाले । पछि पार्टीसँगकै सल्लाहमा नवलपरासीको रजहर झरेर शिक्षक भएका उनी गोपाल शाक्यको सम्पर्कबाट तत्कालीन कोके र पछि मालेका कार्यकर्ता भए । ०३६ सालको आन्दोलनका वेला स्थायी शिक्षक जागिर पनि खोसियो । बिस्तारै राजनीति र परिवार धान्न गाह्रो हुन थाल्यो र उनी पार्टीकै सल्लाहमा बर्दियातिर पुगे । सुरुमा मालेको बाँके बर्दियामा पार्टी कमिटी र पछि बर्दियाको पहिलो पार्टी कमिटीमा रहेर काम गरेका निर्मल त्यस भेगका जिल्लाजिल्ला घुमेका छन् र पार्टीकै लागि अहिलेसम्म खटिएका छन् । अल्सरलगायत रोगबाट ग्रस्त उनी पनि पार्टीमा माथितिर उक्लिन सकेनन् । सधैँ पिँधमा रहे । जीवनको उत्तरार्धमा पार्टीले कुनै जिम्मेवारी दिए आफ्नो जीवनभरको निरन्तरको यात्राको सम्मान हुन्थ्यो भन्ने आशा मनमा पालेर पनि नेताहरू र शक्तिकेन्द्रमा धाउन धकाउने उनी आफ्नो क्षमता, निरन्तरता र योग्यताका बाबजुद शक्ति संरचनाले थिचिएको देखिन्छन् । अन्यथा उनले अहिले पनि आफ्ना लागि संविधानसभाको समानुपातिकतर्फको टिकट पाउने नपाउने निर्णय अर्कैले गरिदिनुपर्ने अवस्थामा पर्ने थिएनन् । आफैँ निर्णायक स्थानमा रहेका हुन्थे । उनको योगदान, योग्यता र क्षमता तथा पार्टीप्रतिको निष्ठा एमालेका पोलिटब्युरोका कसैको भन्दा कम छैन ।

एमालेका एकजना पोलिटब्युरो सदस्य तथा मधेसी नेता रामचन्द्र झा र महिला नेतृ उर्मिला अर्याल केही महिनापहिले एमाओवादीमा प्रवेश गरे । उनीहरूको प्रवेशका स्वार्थ के थिए भनेर एकछिन छाड्ने हो भने पनि एमाओवादीले उनीहरू दुवैलाई दिएको जिम्मेवारी हेर्दा त्यहाँ शक्ति सम्बन्धमा उचनिच गरेको भन्ने देखिन्न । उनीहरूका सम्भावनालाई पुरै उपयोग गर्नेगरी जिम्मेवारी र सम्मान दिएर उसले निर्वाचन अभियानमा खटाएको सुनिएको छ । यस्तो जिम्मेवारी दिने कार्यले माओवादीलाई अवश्य फाइदा पुगेको हुनुपर्छ । माओवादीका लागि मधेसमा देखाउने एउटा राजनीतिक चेहरा झाले दिएका छन् । यसलाई एकप्रकारले समानताका आधारमा शक्ति सम्बन्ध परिभाषित गर्ने प्रयासका रूपमा लिएको भन्न सकिन्छ । यसमा माओवादी अध्यक्ष प्रचण्ड या स्वयं माओवादीका स्वार्थले अवश्य काम गरेको छ तर जे कारणले भए पनि व्यक्तिलाई उसको योग्यता र क्षमताअनुसारको जिम्मेवारी दिइयो भने मात्र त्यसले आत्मसम्मानका साथ काम गर्न सक्छ तथा त्यस्तो कार्यकर्ता या नेताले मात्र पार्टीलाई उचित योगदान गर्न सक्छ । यो मामिलामा जे जस्तो भए पनि माओवादीभित्र उचनिचको सम्बन्ध जबर्जस्त रहेको त्यसका उपल्लो कमिटीमा रहेका र तल्लो कमिटीमा रहेकाहरूको आपसी व्यवहारमा झल्कन्छ ।

नेपालका राजनीतिक दल आन्दोलन र विद्रोहका क्रममा निर्माण भएका हुन् । प्रायजसो पार्टीको निर्माण केन्द्रबाट तलतिर सर्दै हुने गरेकाले एकपटक केन्द्रमा पुगेकोले शक्ति र सूचनामा कब्जा जमाएर बस्छ । तलतिर पर्नेहरू यस्तो सूचनाको शक्ति र संरचनागत शक्ति दुवैबाट वञ्चित बनाइन्छन् । अनेक हथकण्डा अपनाएर प्रतिस्पर्धीलाई सधँै तलै धकेल्न सक्ने हैसियत केन्द्रमा बस्नेले बनाउँछन् । यो असमानतापूर्ण सम्बन्ध र उचनिचको हाइरार्कियल सम्बन्धमा जबसम्म पूर्णविराम लगाइन्न, तबसम्म लोकतान्त्रिक संस्कृति र संस्कारको विकास हुँदैन । स्वयं अलोकतान्त्रिक सम्बन्धमा टिकेको पार्टीबाट कसरी लोकतान्त्रिक समाज बन्न सक्छ ?

No comments:

Post a Comment