Saturday, March 9, 2013

ह्युगो चाभेजको विरासत




भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको निधनले बोलिभारान क्रान्ति र दक्षिण अमेरिकी मोडलको वामपन्थको भविष्यमाथि आशंका उब्जेका छन् ।

भेनेजुएलाका वामपन्थी राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा हिजो ५ मार्च २०१३ मा मृत्यु भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहेका चाभेज गत अक्टोबरमा चौथो कार्यकालका लागि ५६ प्रतिशत मत ल्याएर निर्वाचित भएका थिए । तर उनको क्यान्सर फेरि बल्झियो र क्युबामा उपचार गर्दागर्दै अन्तिम दिनहरू बिताउनमात्र भेनेजुएला फर्केका उनी आफ्नो पदको सपथ लिन नपाउँदै मरे । उपराष्ट्रपति निकोलस मादुरोले उनको मृत्युको घोषणा गर्दै भेनेजुएलावासीलाई शान्त रहन अपिल गरेका छन् । सेनापतिले उपराष्ट्रपतिलाई समर्थन गर्दै वक्तव्य जारी गरेका छन् । उनको मृत्युले भेनेजुएलामा एक प्रकारको राजनीतिक तथा संवैधानिक रिक्तता उत्पन्न भएको छ । तर योभन्दा ठूलो त उनले सुरु गरेको बोलिभारान क्रान्ति र दक्षिण अमेरिकी मोडलको वामपन्थको भविष्यमाथि आशंका उब्जेका छन् । उनको करिश्मासँग मेल खाने कुनै व्यक्तित्व स्वयम् भेनेजुएलामा नभएको तथा काराकासको बुर्जुवा वर्गले उनका कार्यक्रम र विचारहरूको तीव्र प्रतिरोध गरिरहेको सन्दर्भमा उनको क्रान्ति र विचारहरूको स्वयम् भेनेजुएलामा निरन्तरता हुनेबारे प्रश्न उठेको छ ।
उनको मृत्युको अनुमान गर्दै एक महिना पहिले नै 'फरियन पोलीसी'ले आफ्नो अनलाइन संस्करणमा अल्भारो भार्गास लोसाको टिप्पणी छापेको छः 'दि इन्ड अफ साउथ अमेरिकन लेफ्ट' । उनको मृत्युले दक्षिण अमेरिकी वामपन्थलाई पार्ने प्रभावको लेखाजोखा गर्नुभन्दा यसपटक उनको राजनीतिक मोडल र नेपाली वामपन्थले त्यसबाट लिने शिक्षाबारे सामान्य चर्चा गर्नु उपयुक्त हुनेछ ।
लोकपि्रय राजनीतिक यात्रा
दक्षिण अमेरिकाले सन् १९५० देखि १९९० सम्म नै सैन्य विप्लव, अमेरिका समर्थक तानाशाहहरूको हालिमुहाली, वामपन्थी विकल्पका आन्दोलन, सशस्त्र संघर्ष र जनविद्रोहका शृङखला व्यहोर्दै आएको हो । उन्नाइसौं शताब्दीदेखि नै वामपन्थीहरू दक्षिण अमेरिकाको राजनीतिमा प्रभावी थिए । स्पेनी साम्राज्यवादको भयानक दमन र उत्पीडन झेलेका आदिवासीहरूसँगै अमेरिकाको नवउपनिवेश झेलेका दक्षिण अमेरिकीहरूको संघर्षको इतिहास एसियाका देशहरूको मुक्ति आन्दोलनभन्दा भिन्न छ । ब्राजिल बाहेक मेक्सिकोदेखि चिले अर्जेन्टिनासम्म स्पेनिस भाषाको समान उपस्थिति रहेको यो क्षेत्रमा एउटा देशका आन्दोलनहरू पनि सिमाना पारि-पारिसम्म फैलने चरित्रका थिए । स्पेनिस साम्राज्यवादसँग लड्ने सिमोन बोलिभारदेखि कम्युनिष्ट क्रान्तिकारी चेग्वेभारासम्मका इतिहासबाट अलग्याएर चाभेजलाई पनि बुझ्न सकिन्न, जसरी क्याष्ट्रो, मार्खेज र मारियो भार्गास लोसा कहीं न कहीं दक्षिण अमेरिका क्षेत्रकै प्रतिनिधित्व गरिरहेका हुन्छन् । यही परम्परामा चाभेजले आफ्नो राजनीतिक जमिन तयार पारेका थिए । उनी कम्युनिष्ट पनि थिएनन्, नत पेसेवर क्रान्तिकारी नै हुन् । सिमोन बोलिभाराको जीवनी पढेर प्रभावित, १७ वर्षमा नै  सेनामा भर्ती भएका एकजना निम्न मध्यमवर्गीय परिवारका चाभेज सेनाको क्याप्टेन भएको बेला आफ्ना सपनाहरू र देशको बिग्रँदो आर्थिक अवस्थाबाट उत्पन्न असन्तोष बीचबाट सैन्य विप्लव गर्न पुगेका थिए, सन् १९९२ मा ।
त्यस अगाडि नै उनले एउटा गोप्य र सानो संगठन 'दि रिभोल्युसनरी बोलिभारान मुभमेन्ट'को पनि गठन गरेका थिए । विद्रोह असफल भएपछि बन्दी बनाइएका उनी त्यसको दुई वर्षपछि नै उनी आममाफी पाएर छुटे । सन् १९९८ मा राष्ट्रपतिका उम्मेदवार बने, कुनै संगठन या पुरानो पार्टी नभए पनि उनी अत्यधिक मतले निर्वाचित भए । २००२ मा उनका विरुद्ध कू भयो, तर केही घन्टामा नै उनी फर्किए । चिलीका समाजवादी राष्ट्रपति सल्भाडोर एलेन्दको सीआईएको संलग्नतामा भएको हत्या र सत्तापलटपछि पनि लोकपि्रय मतद्वारा पनि समाजका तल्लो वर्गको प्रतिनिधित्व गर्दै, तिनका आन्दोलन र संघर्षका बलमा समाज परिवर्तन गर्न सकिन्छ, श्रमजीवी वर्गका पक्षमा राज्यसत्ताको परिवर्तन सम्भव छ भन्ने कुरामा दक्षिण अमेरिकी वामपन्थीहरूले विश्वास गरिरहेका थिए । चाभेज त्यसकै एकजना प्रतिनिधि बन्न पुगे । र लोकपि्रय कार्यक्रमहरू सञ्चालन गर्दै तल्लो वर्गका पक्षमा राज्यका स्रोत र साधनहरूको निर्धक्क प्रयोग गर्दै रहे ।
उनले आफ्नो देशमा मात्र होइन, समग्र दक्षिण अमेरिकामा नै वामपन्थी विकल्पहरूको पक्षमा आवाज उठाए, अल्बा (बोलिभारान एलाएन्स फर दि अमेरिका) का नाममा दक्षिण अमेरिकीहरूलाई संयुक्त राज्य अमेरिकाको छायाबाट स्वतन्त्र संगठनमा ल्याउन पहल गरे तथा दक्षिण अमेरिकीहरूको साझा बैंक स्थापना गर्न पहल गरे । यसमा उनले आफ्नो देशको खनिज तेलबाट हुने आयलाई प्रयोग गरे । त्यससँगै उनले क्युबा लगायतका कतिपय देशहरूलाई त सहुलियतमा तेल उपलब्ध गराएर अमेरिकाको नाकाबन्दी या नवउदारवाद या अमेरिकी नियन्त्रणको विश्व व्यवस्थासँग जुध्न पर्याप्त सहयोगसमेत पुर्‍याए । यही कारण थियो, उनलाई असफल बनाउन, निर्वाचनमा पराजित गराउन अमेरिकाले राज्यकोषबाट लगानी गरेको, पश्चिमा प्रेसहरूले लगातार खेदो खनेको र उनको बद्ख्वाइँ गरेको । यही कारण थियो, उनको लोकपि्रयता दक्षिण अमेरिकाको सिमाना नाघेर अपि|mका र एसियासम्म पुगेको । र थप कारणचाहिं उनले भेनेजुएलामा आर्थिक अवस्थाको तल्लो श्रेणीमा रहेका र गरिबीको परिभाषित रेखामुनिका ५० प्रतिशत जनताको पक्षमा गरेको काम नै हो ।
बोलिभारान समाजवादको कार्यक्रम
कम्युनिष्टहरूको सनातन मत राज्यसत्तामा कब्जा गरेर निजी पुँजीको सार्वजनिक स्वामित्व कायम गरेपछि मात्रै (समिर अमिनका शब्दमा जमिन र श्रमलाई वस्तुका रूपमा खरिद गर्ने पुँजीवादी विधान अन्त्य गरेर) समाजवाद निर्माण गर्न सकिन्छ । तर सोभियत समाजवादको अभ्यासमा अपनाइएको जोरजबर्जस्ती या अधिनायकवादको प्रयोग देखेर वाक्क भएका माक्र्सवादी या कम्युनिष्टहरूले शान्तिपूर्ण रूपमा जनतालाई संगठित गर्न पाइयो र प्रतिस्पर्धा गर्न पाइने संवैधानिक हक कायम भयो भने उदार लोकतन्त्रका कतिपय विधिहरूलाई प्रयोग गरेर या निर्वाचनमार्फत सत्ता हासिल गरेर पनि राज्यसँग भएका स्रोतहरूको पुनर्वितरणमार्फत गरिबहरूको राज्यमा अंशियारी बढाएर समाजवादतिर जान सकिन्छ भन्ने अवधारणालाई स्विकार गर्न थालेका थिए ।
माक्र्सवादी आन्दोलनभित्रैको यो प्रयोग युरोपमा असफल भएको थियो । त्यहाँ समाजवादीहरूले यसलाई हत्याएका थिए । तर दक्षिण अमेरिकामा भने सशस्त्र विद्रोहमार्फत सत्तामा पुगेका निकारागुआका नेता ड्यानियल ओर्टेगाले समेत यसलाई विश्वास गरे । ब्राजिलका लुला र उनका समर्थकहरू, बोलिभियाका इभो मोरालेस, अर्जेन्टिनाका किचनर र उनकी उत्तराधिकारी तथा पत्नी क्रिष्टिना, इक्वेडरका कोरियासमेत यस्तै विचारहरूको प्रतिनिधित्व गर्ने धेरैजसो गैरकम्युनिष्ट वामपन्थीहरू हुन् । चाभेजले बोलिभारान समाजवादको नाम दिएको कार्यक्रमले गरेका मुख्य काम यस्ता थिएः (क) गरिब र कामदार वर्गका लागि टोलटोलमा सस्तोमा खाना खान पाइने रेष्टुरेन्ट या सामान बेच्ने पसलहरूको व्यवस्था (ख) क्युबाबाट वर्षको झन्डै ४५ हजार शिक्षक र डाक्टरहरूलाई बोलाएर गाउँ-गाउँसम्म प्रौढशिक्षा र निःशुल्क तथा सस्ता स्वास्थ्य उपचारको व्यवस्था । (ग) नयाँ दर्जनजति विश्वविद्यालयको स्थापना र गरिबहरूका लागि निःशुल्क शिक्षाको सुनिश्चितता । तेल तथा अन्य केही ठूला उद्योग व्यवसायको राष्ट्रियकरण तथा त्यसबाट हुने आयको माथि उल्लेखित कामका लागि गरिबहरूबीच पुनर्वितरण (घ) र सबैभन्दा महत्त्वपूर्ण कुरा गाउँ र टोलस्तरमा कम्युनिटी काउन्सिलहरूको स्थापना र त्यसको निर्णय प्रक्रियामा आम जनताको प्रत्यक्ष सहभागितामा निश्चितता । राज्यका स्रोतहरूको वितरण तल्ला समुदायका हितमा प्रयोग गर्ने संयन्त्रका रूपमा यस्ता सामुदायिक काउन्सिलहरूको प्रयोग । राज्य र आफ्नो पार्टी सोसलिष्ट पार्टी अफ भेनेजुएलाको पनि नेतृत्व छनोट तलबाट माथितिर हुने कुराको व्यवस्था ।
मूलतः यत्ति कुरा गरेर उनले भेनेजुएलाका गरिबहरूका लागि देवदूत र दक्षिण अमेरिकी श्रमजीवी तथा आदिवासीहरूका लागि प्रेरणाको स्रोत बनेर विश्वभर आफ्नो ताकतवर उपस्थिति जनाएका थिए । यद्यपि भेनेजुएलाको अर्थतन्त्रमा, विश्व बैंक र उदारवादीहरूको दृष्टिमा तथा भेनेजुएलाको पुँजीपति वर्गका विचारमा समेत समस्याहरू थपिएका छन्, तर उनका नीतिहरूका दूरगामी प्रभाव अब विस्तारै देखिनेछ । जब तल्लो वर्गका मानिसहरू अर्थतन्त्रमा योगदान दिन दक्ष श्रमशक्ति र व्यवस्थापकका रूपमा विकास हुन्छन्, शिक्षित हुन्छन् र काम गर्न थाल्छन्, अर्थतन्त्रले ह्वात्तै नयाँ फड्को मार्छ । चीन र केरलाको विकासबारे अमत्र्य सेनका अध्ययनहरूलाई आधार बनाउने हो भने भेनेजुएलाको अनुहार चाभेजको मृत्युको केही वर्षमा नै बदलिने निश्चित छ । उतार-चढावका सम्भावना भए पनि चाभेजको उत्तराधिकार या उनका कार्यक्रमिक दृष्टिहरूको विरासत दक्षिण अमेरिकामा रहिरहने पक्का छ ।
चाभेज र नेपाली वामपन्थी
दक्षिण अमेरिकापछि वामपन्थीहरू सबैभन्दा प्रभावशाली रहेको नेपालमा नै हो । एउटा माक्र्सवादी स्कुलको विद्यार्थी र अर्थराजनीतिकोे विद्यार्थीका नाताले म नेपाली वामपन्थीहरूले जनतालाई दिएका विकल्पहरू के हुन् भनेर निकै चासो राखिरहन्छु । तर उनीहरू प्रायःश उदारवादीहरूकै अर्थतन्त्रको वरपर चक्कर लगाइरहेको पाउँछु । २०४६ को आन्दोलनपछि नेपालको संसदमा वामपन्थीहरूको बलियो उपस्थिति रहेको हो । अहिलेसम्म पनि वामपन्थीहरूले एक्लै बनाएको सरकार भने २०५१ को मनमोहन अधिकारीको ९ महिने सरकारमात्र हो । त्यसयता माले, एमाले, माओवादी सम्मिलित या नेतृत्वको सरकार बने पनि उनीहरू एक्लै आफ्ना नीति तथा कार्यक्रम लागु गर्ने हैसियतमा सरकारमा पुगेका छैनन् । मनमोहन अधिकारी सरकारका बेलामा दुईवटा महत्त्वपूर्ण काम थालिएको थियोः गाउँमा ठूलो मात्रामा बजेट सिधै पठाउने काम 'आगाआव' र वृद्धवृद्धा र विधवाहरूका लागि सांकेतिक रूपमा भए पनि वृद्धभत्ता । गाउँमा पुगेको बजेटले पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भए पनि त्यसलाई समग्र राजनीतिक अभियानको अंग बनाउन नसक्दा खेरजाने पोखिने पनि भयो तथा त्यसको प्रयोग गरिब र श्रमजीवी वर्गको उत्थानका पक्षमा हुनसकेन ।
संविधानसभाको निर्वाचनलगत्तै प्रचण्ड र पछि बाबुराम भट्टराई -अहिलेको सन्दर्भमा एमालेले आफूलाई वामपन्थीका रूपमा दाबी गरेजस्तो नलागेकोले कमरेड माधव नेपाल र झलनाथ खनालको सरकार समावेश गर्नु आवश्यक ठानिएन) प्रधानमन्त्री हुँदाः ३० हजारसम्म ऋण लिने किसानको ऋण मिनाहा कार्यक्रम, सहकारी कार्यक्रम र युवा स्वरोजगार कार्यक्रम ल्याउने प्रयास भयो । तर युवा स्वरोजगार र सहकारी कार्यक्रम राजनीतिक प्रतिरोधका कारणले सफल भएको देखिएन । त्यस बाहेक केही बन्द सार्वजनिक संस्थान या उद्योगहरू सञ्चालन गर्ने प्रयास भएका भए पनि तिनको परिणाम आएको छैन । यसरी हेर्दा नेपालका वामपन्थीहरूले दक्षिण अमेरिकीहरूको जस्तो निर्वाचनबाट सरकारमा गएर (समग्रमा उदारवादी लोकतन्त्रको सीमाभित्र) सुधारात्मक कार्यक्रम या राज्यबाट हस्तक्षेपको उपायबाट समाजवादतिर जाने, श्रमजीवी वर्गलाई राज्यका निर्णय प्रक्रिया र स्रोतमा अंशियार बनाउने काममा खासै सफलता हात नपारेको मात्र होइन, कसरी ती उद्देश्यहरू हासिल हुनेहुन् भन्नेबारे समेत प्रस्ट दृष्टिकोण राखेको पाइँदैन ।
हालै एमाओवादीले आफ्नो महाधिवेशनमा ल्याएको उत्पादन क्रान्तिका कुरा र पुँजीवादी क्रान्ति पुरा गर्दै समाजवादतिर जाने कुराले अझै पनि शास्त्रीय अथवा रूस र चीनका समाजवादी क्रान्तिका उपायहरूतिर नै झुकाव रहेको देखाउँछन् । त्यसको साटो भेनेजुएला या दक्षिण अमेरिकी वामपन्थका झैं सिधै जनतालाई अपिल गर्ने र उनीहरूको दैनिक जीवनका कष्टहरूलाई तत्काल कम गर्नेगरी उत्पादन, वितरण र सहभागिताका उपायहरूको खोजी तथा लागु गर्ने प्रतिबद्धता आउनु आवश्यक देखिन्छ । २०६३ सालपछि राष्ट्रिय कार्यसूची तय गर्ने स्थानमा पुगेका नेपालका वामपन्थीहरूले रातो सर्टवाला समाजवादी या वामपन्थी ह्युगो चाभेजबाट सिक्न मिल्ने र सिक्दा फलदायी हुने कुरा पनि यही हो ।
kantipur, 7 March, 2013

No comments:

Post a Comment