Wednesday, March 13, 2013

कुन्साङ्को छायामा सङ्ग्रौला

काठमाडौ, फाल्गुन २५ - 
२०३६ सालको विद्यार्थी आन्दोलनमा राजनीतिक पार्टी र विचारहरूका बारे बिनाज्ञान होमिएको र त्यस्तै पारामा अस्पष्ट वर्गचेतले माक्र्सवादी आन्दोलनतिर जोडिन पुगेपछि मभित्र दुनियालाई बुझ्ने ललसा या भोकले हुन्डरी मच्चाएको थियो । पोखरामा दुईवटा प्रगतिशील पुस्तक पाइने पसल सञ्चालनमा आए । पुरानै पुस्ताका कम्युनिस्ट सोमबहादुर बोगटीले बगरमा र बालकृष्ण सुवेदीले बिन्ध्यवासिनीमा सञ्चालन गरेका र क्रमशः मशाल र मालेका सम्पर्क कार्यालयजस्ता यी पसलले मलाई घरीघरी आफूतिर तानिरहन्थे । 

यस्तैमा एकपटक 'नलेखिएको इतिहास' नामक कथासङ्ग्रह हात लाग्यो । त्यसअगाडि मैले खगेन्द्र सङ्ग्रौलाका बारेमा सुनेको पनि थिइनँ । प्रगतिशील पुस्तक पाइने पसलमा देखा परेकाले यो पनि प्रगतिशील साहित्य नै होला भन्ने ठानेर मैले त्यो पुस्तक किनेर पढें । आफ्नो राजनीतिक यात्राका सुरुका दिनमा, सम्भवतः आफूले रोजको प्रगतिशील आन्दोलनको बाटोको पक्षमा जोडदार तर्कहरू चाहिएका बेला मलाई त्यस संकलनका कथाले ठूलो ऊर्जा प्रदान गरे । मेरो वर्गचेतलाई निखार्ने र विचारलाई अझ परिपक्व बनाउने काममा उनका 'नलेखिएको इतिहास', 'तमोर नदीको किनारै किनार' र 'खरानीमुनिको आगो' जस्ता कथाले उत्प्रेरणाको काम गरेको अहिले पनि म सम्झन्छु । 

केही महिनापहिले काठमाडांैमा भएको सहित्य महोत्सवका बेला 'कुन्साङ् काकाका कथा भाग १ र २' को नाममा खगेन्द्र सङ्ग्रौलाका कथाहरूको संगालो एकैपटक सार्वजनिक गरियो । उक्त समारोहमा आफ्नो लेखन यात्राबारे बोल्दै कथाकार आफैंले सङ्ग्रहको भूमिकामा लेखेका यी वाक्य भनेका थिए, 'नेपाली कम्युनिस्ट आन्दोलनको दोहोरिइरहने उकाली ओरालीको प्रवृत्ति देख्दा मलाई कामुको सिसिफसको कथाको विषादपूर्ण याद आउँछ । सुखानीको सहादतको रक्तबीजबाट झाँगिएको र फैलिएको पुरानो र ठूलो कम्युनिस्ट पार्टीको वैचारिक ह्रास र नैतिक क्षयीकरणको ऐनामा अहिलेको नयााँ र ठूलो कम्युनिस्ट पार्टीको अनुहार उत्रिन लागेको अपि्रय आभास हुन्छ । ...यो पुनरावृत्ति एक भयावह त्रासदी हो ।' यो भनाइको सान्दर्भिकता के हो भने उनको कथासंग्रहमा छापिएका कथाहरू सिलसिला मिलाएर पढ्यो भने नेपालको कम्युनिस्ट आन्दोलनको उतारचढावका इतिहास बुझ्न सकिन्छ । त्यसमा आएका वैचारिक परिवर्तनलाई पर्गेल्ने, देब्रे र दाहिने हिँडाइलाई खबरदारी गर्ने र माक्र्सवादी स्रष्टा र द्रष्टाका रूपमा कम्युनिस्ट पार्टीका गतिविधिलाई अवलोकन गरेर आलोचनात्मक समर्थन गर्ने निरन्तरको आग्रह पाइन्छ । खासगरी नेकपाको चौथो महाधिवेशन समूहको अलि निकट रहेका सङ्ग्रौलाका विचारहरू पनि त्यसका वरपरबाट प्रभावित पाइन्छन् । 

उनको कथा सङ्ग्रहमा संकलित लामो समयका कथाहरू पढिसक्दा नेपाली जनताले ०७ सालदेखि २०४७ सम्म गरेका सशस्त्र निशस्त्र विद्रोह, आन्दोलन र सङ्घर्षहरूको गाथा पाइन्छ । खासगरी वामपन्थी या कम्युनिस्ट आन्दोलनका उकाली ओराली, त्यसमा लागेका सर्वसाधारण कार्यकर्ता र समर्थकका आशा र निराशाका कथा, दलका नाइकेहरूका छद्मभेषी अवसरवादको भण्डाफोर उनको कथाको मूल चरित्र हो । सडक र गल्लीमा अरूको सेपमा जीजीवीषाको मेलो गरिरहेका सर्वसाधारण मान्छेहरूलाई टपक्क टिपेर, यत्रो विशाल संसारका मानवीय मूल्य र स्वतन्त्रताका लागि भएका सङ्घर्षमा सामेल गराउँदै तीनमा ७ पाने रक्सी लागेजस्तो रमरम क्रान्तिकारी पाइन हालेर सामन्त, पुँजीपति, ठेकेदार र राज्यका शोषण र दमनका माखेसाङ्लाविरुद्ध विद्रोह गर्न लगाइदिनु उनको कथाकारिताको वैचारिक पक्ष देखिन्छ । गरिखाने वर्गको मुक्तिका पक्षमा उसलाई सचेत गराउनु, संगठित हुन र आन्दोलित हुन प्रेरित गर्नु, बस उनको लेखकीय प्रतिबद्धता सबैजसो कथामा निरन्तर देखा पर्छ । यो माक्र्सेली परम्परा या प्रगतिवादी सिर्जनाको धर्मबाट उनी 'तमोर नदीको किनारै किनार'बाट थालिएको आफ्नो आख्यान यात्राबाट पछिल्लो कथा 'लीला'सम्म आइपुग्दा पनि थाकेका देखिन्नन् । 

मलाई उनका कथामा रहेको सत्ताको विरोध या मानवीय श्रमको महानताको पक्षपोषण पढ्दा कवि विमल निभाका कविता या जीवन शर्मा, रामेश र खुशीराम पाखि्रनका गीतहरूको झल्को आयो । आख्यानका सन्दर्भमा उनका दुइटै उपन्यास मैले अझसम्म पढेको छैन, 'पहिलो डाँक' र 'जूनकीरीको संगीत' । यसमध्य 'जूनकीरीको संगीत'को प्रगतिवादी क्षेत्रमा आलोचना बढी भएको मैले सुनेको छु । आफूले नपढेको हुनाले यसबारे मैले टिप्पणी गर्नु अनर्थकारी हुन्छ । तर जहाँसम्म कथाको कुरा छ त्यसमा मैले एकाध कथामा देखिएको पोलिटिकल्ली इन्करेक्ट -उनकै भनाइमा नालापानीदेखि समरबहादुरसम्म र नकटो दोर्जेको सालिक) मिमांशाबाहेक कथा एउटै भाव र लयमा नेपाली समाजको उनले बेहोरेको समयको कथा, नेपाली जनताले उज्यालोको खोजीका लागि गरेको विद्रोहको लय पाइन्छ । निम्छरा भनिने, हेेपिएका, समाजको पिँधमा परेका दलित, महिला, श्रमिक, गोठाला खेतालालाई यति धेरै माया गरेर तिनका पसिनाको सुगन्धलाई साहित्यमा टाँसेर नेपाली समाजको चरित्र चित्रण गर्ने उनको प्रयास नेपाली साहित्यमा विरलाकोटीको छ । 

भाग १ मा २६ वटा कथा समावेश गरिएको छ । यसमा २०२५ मा लेखिएको 'तमोर नदीको किनारै किनार' शीर्षकको कथादेखि -यही कथाले उनलाई प्रगतिवादी फाँटका अब्बल कथाकारका रूपमा चिनारी दिएको थियो) २०४३ मा लेखिएको 'लीला'कथासम्मका झन्डै १८ वर्षभित्र लेखिएका कथा सामेल छन् । दोस्रो खण्डमा २०४४ मा लेखिएको 'निकाला' देखि, 'चिहानबाट श्यालको घोषणा' -यसमा मिति उल्लेख छैन, तर यो २०६० वरपरको नेपाली समाजको द्वन्द्व र संकटकालीन दमनका सन्दर्भमा लेखिएको छ) समेतका २२ वटा कथा संग्रहित छन् ।

पछिल्लो समय उनी कथाकारिता या आख्यानमा भन्दा अखबारी लेखनबाट चिनिन्छन् । ०५८ सालमा संकटकाल लागेपछि भएका दमनका बेला कुन्साङ् काकाका नाममा स्तम्भ लेख्न थालेपछि इतिहासका ३५ वर्षसम्म उनले लेखेका कथालाई छोप्दै, सेप या छायामा पार्दै उनको परिचय बदलियो । राजनीतिक टिप्पणी, निबन्ध र संस्मरणहरूमा बराबर कलम चलाउने उनका आफ्नै 'आँखाको लयमा' निबन्धसङ्ग्रह पछिल्लो समयको चर्चित बन्यो । तर पनि आम पाठकले उनलाई चिन्ने माध्यम भने कान्तिपुर, नयाँ पत्रिका र नागरिकलगायतका दैनिकहरूमा छापिने राजनीतिक टिप्पणी नै भएको छ । दैनिक राजनीतिका रूखा विषयहरूलाई टिपेर प्रायशः त्यसका पात्रहरूको चरित्र र भूमिकालाई आधार बनाएर खरो र झर्रो भाषामा प्रहार गर्ने उनको शैलीले उनका जति मित्र र समर्थक बनेका छन् मेरो विचारमा त्यति नै विरोधी र आलोचक पनि तयार पारेको छ । कुनै पार्टीका कार्यकर्ता नभएका र कसैका प्रति भक्तिभाव नराख्ने भएकाले होला उनी राजालाई श्रीपेच फुकाल्न लल्कार गर्ने मदनमदन भण्डारीदेखि ज्ञानेन्द्रको शासनका विरोधमा सडकमा प्रहरीको लाठी खाने गिरिजाप्रसाद या मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको प्राप्तिसम्म पुर्‍याउने प्रचण्डसम्म उनका प्रशंसाका पात्र बने । सम्भवतः यी सबैलाई यिनले गर्नु आलोचना पनि गरे । 

म सडक या चियापसल या बस माइक्रोबसहरूमा यिनका लेखनमाथि भएका टिप्पणी सुन्छु र हैरान हुन्छु । पाठकहरू सबै कुनै न कुनै सन्दर्भमा यिनका ठूला फ्यान बनेका र तिनै अर्को सन्दर्भमा घोर आलोचक बनेको मैले पाएको छु । कहिलेकाहीं यी राजनीतिका नाङ्गा तथ्यहरूभन्दा आम मान्छेले बुझेको या ग्रहण गरेको सत्यलाई अखबारमा स्थान दिँदा विवादमा पनि परेका छन् । गगन थापा र रामकुमारीहरूको उचाइ बढाउन अथवा ज्ञानेन्द्र, माधव नेपाल, गिरिजा अथवा प्रचण्ड बाबुरामहरूको कद छटनी गर्न पनि उनको लेखनले निकै काम गरेको हामीले अनुभव गरेकै हो । यही यस्तो कर्म हो जसका कारण उनलाई आज मन पराउने भोलि गाली गर्दै गरेको भेटिन्छ । अनि आजको आलोचकले भोलि प्रशंसा गरेको । उनको अखबारी लेखनको सबभन्दा महत्त्वपूर्ण योगदान भने संकटकालीन समयमा सत्ताको हिंस्रक दमनमा परेका निर्दोष र निम्छरा नेपालीहरूको उद्धार र रक्षा गर्न या ज्यान जोगाउन तथा नरभक्षी संकटकालका चालकहरूको निद हराम गर्दै आममानिसहरूमा निरंकुशताका विरोधमा लड्ने साहस जगाउनमा रहेको छ ।

यहीँनिरबाट खगेन्द्र सङ्ग्रौला कुन्साङ् काकाको छायामा परेका हुन् । २०१७ पछिको नेपाली प्रगतिवादी साहित्यिक लेखनमा एउटा यस्तो कालखण्ड थियो जहाँ पहिलेका जानेमानेका प्रगतिवादीहरू महेन्द्रको राष्ट्रवादलाई छाँद हाल्दै विकासको गीत गाउन पुगेका थिए । कति महेन्द्रको दमनको प्रतिरोध गर्न नसकेर कुना पसेका थिए तथा कतिले तीव्र क्रान्तिवादी विचारको आवश्यकता बोध गर्न नसकेर या हस्तक्षेप गर्न नसकेर बरालिएर बसेका थिए । यस्तो कालखण्डमा गधापच्चिसे उमेरका यी सङ्ग्रौला प्रगतिवादी लेखनको बिँडो थाम्न आइपुगेका थिए । उनको यो सक्रियता उनको कथाकारिताका माध्यमबाट व्यक्त भएको हो । अर्थात् मजस्ता पाठकहरूका लागि कुन्साङ् काका दोस्रो नम्बरको र खगेन्द्र सङ्ग्रौला पहिलो नम्बरको स्रष्टा हुन् । उनले आफ्नो पुस्तकको नाम कुन्साङ् काकाका कथा नराखेर सङ्ग्रौलाका कथा राखेको भए उनलाई र उनको योगदानलाई पनि न्याय हुन्थ्यो । उनको कथासङ्ग्रह नेपाली समाजको झन्डै ६० वर्षको यात्रा, दुःख, पीडा, सङ्घर्ष र स्वतन्त्रताको खोजीमा भएका बलिदानका कथा बुझ्न खोज्ने र नेपालको वामपन्थी आन्दोलनलाई अध्ययन गर्न चाहनेहरूका लागि निकै काम लाग्ने आख्यानहरूको सङ्कलन हो ।

प्रकाशित मिति: २०६९ फाल्गुन २६ १०:१४

No comments:

Post a Comment