Thursday, March 21, 2013

सी जिनपिङको 'चाइना ड्रिम’

सी जिनपिङको 'चाइना ड्रिम’ 

गतसाता सम्पन्न चीनको संसद अधिवेशनले कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङलाई राष्ट्रपतिमा र लि केछियाङलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेको छ । उनीहरूले क्रमशः हु जिन्ताओ र वेन जियाबाओको स्थान लिएका छन् । यससँगै जनगणतन्त्र चीनको स्थापनापछि जन्मे-हुर्केको तथा सांस्कृतिक क्रान्तिका उथलपुथलका वर्षहरूमा दमनको सिकार हुँदै राजनीतिक शिक्षा हासिल गरेको पहिलो पुस्ताका हातमा नेतृत्व पुगेको छ । त्यो पनि यस्तो बेलामा यो समूह -सि र लि)
चीनको नेतृत्व गर्दैछ, जतिबेला विश्वको शक्ति सन्तुलन क्रमशः बदलिँदैछ । विश्व रंगमञ्चमा चीनको भूमिका स्थापित हुने क्रममा छ । अमेरिकाले विश्वको एकल प्रभुका रूपमा आपmनो स्थान गुमाउन सुरु गरेको छ, जसकोे परिणामस्वरुप दुई विचारधारा, दुई विश्व दृष्टिकोणबीच टक्कर हुने संक्रमणकालीन हलचल अनुभव गरिँदैछ । पार्टीको महासचिव भएपछि सिले अगाडि सारेका दुइटा चर्चित भनाइहरू 'चीनको पुनरोदय' र 'चिनियाँ सपना'ले अहिले चीनभित्र र बाहिर एउटा तरंग ल्याएका छन् । मेरो विचारमा यसले चीनको आगामी बाटोका कुरामात्र गर्दैन, बरु यस शताव्दीका बाँकी समयका लागि विश्वको सम्भावित राजनीतिक खेलको चित्रसमेत प्रस्तुत गरेको छ । दुई विचारधारा र दुई विश्व दृष्टिकोणको टक्करका कुरा विचारधाराको मृत्युसम्बन्धी सिद्धान्तका पुजारीहरूका लागि एउटा बासी सन्दर्भजस्तो लाग्न सक्छ । तर नयाँ नेताका रूपमा सम्भवतः देङपछिको चीनमा आफ्नो अलग छाप छाड्ने संकेत गरिसकेका राष्ट्रपति सिका पछिल्ला भनाइहरूलाई हेर्दा जोकसैले अनुमान लगाउन सक्छ, चीनले एउटा कोल्टो फेर्दैछ र त्यसको कम्पन आगामी वर्षहरूमा तीव्रताका साथ अनुभव गरिनेछ । चीनका लागि रणनीतिक महत्त्वको कोखामा रहेको नेपालका लागि चीनको यस परिवर्तनलाई बुझ्नु आफ्नो अस्तित्वरक्षाका प्रश्नजस्तै महत्त्वपूर्ण छ । यस आलेखमा सिका ती भनाइका अर्थ खोतल्ने जमर्को गरिनेछ ।
चीनको पुनरोदय
चीन मामिलाका ज्ञाता हेनरी किसिञ्जरले आफ्नो पुस्तक 'अन चाइना'मा उल्लेख गरेको एउटा सन्दर्भअनुसार सन् १८२० मा अर्थात् झन्डै दुई सय वर्षअघि चीनले विश्वको कुल गार्हस्थ उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्थ्यो, जुन त्यतिबेलाको पूर्वी युरोप, पश्चिमी युरोप र अमेरिकाको कुल योगदानभन्दा बढी थियो । गएका दुई हजार वर्षमध्ये अठार सय वर्षसम्म चीनले समग्र पश्चिमी विश्वको भन्दा बढी उत्पादन गरिरहेको थियो । वास्तवमा औद्योगिक क्रान्तिसंँगै युरोपमा भएको आधुनिक प्रविधि र ज्ञानको विकासले पछिल्ला दुई सय वर्षमा पश्चिमले चीनलाई आर्थिक तथा सामरिक शक्ति दुवैका हिसाबले उछिनेको थियो । त्यसपछि त चीनका दुर्दिन सुरु भैहाले । १८४० तिरबाट पश्चिमाहरूले चीनमाथि हस्तक्षेप गर्न
थाले । चीन आर्थिक राजनीतिक दृष्टिले कमजोर र अलग-थलग भयो । सन् १९४९ मा माओको नेतृत्वमा भएको क्रान्तिले चीनलाई बाह्य हस्तक्षेपबाट स्वतन्त्र त बनायो, तर अझै पनि आर्थिक रूपले चीन दुई सय वर्ष पहिलेको स्थानमा पुगेको छैन ।
अहिले चीनले विश्वको गार्हस्थ उत्पादनमा १६ प्रतिशतभन्दा अलि कम योगदान गर्छ । २०१२ मा अमेरिकाले विश्वको कुल गार्हस्थ उत्पादनमा २४.३५ प्रतिशत योगदान गरेको थियो । त्यसअघि झन्डै ४० वर्षसम्म उसको योगदान २६ प्रतिशतभन्दा बढी थियो । सिको नेतृत्वकालमा अर्थात् सन् २०२० -१८२० को ठ्याक्कै २०० वर्षपछि) चीनले अमेरिकालाई उछिन्नेगरी २०१० को तुलनामा दुई गुणा जीडीपी बनाउने लक्ष्य घोषणा गरिएकोे छ । उसको विकासको अहिलेको गतिले चीनलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनाउने पक्का छ ।
सम्भवतः सि जिनपिङको 'चीनको पुनरोदय'को नाराको अर्थ चीनको त्यो पुरानो शान, वैभव र शक्तिको पुनःस्थापना भन्ने लाग्छ । अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीनले अमेरिकालाई उछिन्न अझै दशकभन्दा बढी समय लाग्नेछ । तर विश्वमा मुख्य अर्थतन्त्रका रूपमा चीनको विकास हुनु अनिवार्य छ । आधुनिक चीनले दिने यो नाराले चीनको शक्तिको पुनःस्थापनाको मात्र अर्थ दिँदैन, बरु यसले विस्तारै विश्वको आर्थिक गतिविधिको केन्द्र न्युयोर्कबाट साङ्घाईतिर सर्नेछ भनेर संकेत गर्छ, जसरी एक शताव्दी अगाडि त्यो लन्डनबाट न्युयोर्क सरेको थियो । त्यससंँगैै विश्वको अर्थतन्त्रका चालक विचारहरू पनि युरो-सेन्टि्रक या अमेरिकाका स्वार्थरक्षा गर्ने उद्देश्यले बनाइएका नभएर चीन या उसका मित्रहरूका हितरक्षा गर्ने खाले हुनेछन् । यसले विस्तारै अहिलेको विश्व व्यवस्थालाई बदल्नेछ । यसरी बदलिने क्रममाः किसिञ्जर महोदयकै भाषामा 'आफ्नो मूल्य प्रणाली र विचारधारालाई विश्वभर प्रचार र स्थापित गर्ने विदेश नीति भएको' अमेरिकी सिद्धान्तका कारण विश्वले बीसौं शताव्दीमा जुनस्तरका क्षेत्रीय तथा राष्ट्रिय तनावहरू, युद्ध र गृहयुद्धहरू तथा तानाशाहहरूको उत्थान र पतनको शृङखला ब्यहोरेको थियो, त्यसको पुनरावृत्ति चीनको उदयसंँग पनि गाँसिनेछ कि यसले शान्तिपूर्ण उदयको मार्ग लिनेछ भन्ने प्रश्न उठ्न थालेको छ ।
सिको भनाइले चिनियाँ शासकहरूको कम्तीमा दुई हजार वर्ष पुरानो परम्परागत सोचाइलाई आधार बनाएको देखिन्छ । अर्थात् चीन शक्तिशाली मुलुक हो, विश्वको केन्द्रमा चीन छ, चीनका शासक ठूला हुन््, बाँकी विश्वका देशहरूले चीनको नेतृत्व मानेर शान्तिपूर्ण रूपले बस्नुपर्छ भन्ने चिनियाँ शासकहरूको दुई सय वर्ष पहिलेसम्मको सोचाइ र कन्फुसियसको सद्भावपूर्ण सम्बन्धको सिद्धान्तलाई अहिलेको नेतृत्वले आफ्नो शासनको निरन्तरताका लागिमात्र पछ्याएका होइनन् भने चीनको शान्तिपूर्ण उदय सम्भव छ । तर सामन्ती युगका ती विचारहरू विश्व बजार कब्जा नगरी टिक्न नसक्ने निरन्तर नाफाको सिद्धान्त बोकेको पुँजीवादी युगमा कसरी मेल खाने हुन् तथा समाजवादप्रतिको अहिलेको नेतृत्वको निष्ठाका कुुरासँग यसले कसरी तालमेल गर्ने हो भन्नेचाहिं प्रस्ट
छैन । एउटै कुरा प्रस्ट छ, चिनियाँ नयाँ नेतृत्व आफ्नो विगतको गौरव पुनःस्थापना गर्नेगरी चीनको आर्थिक तथा सामाजिक कायापलट गर्न प्रतिबद्ध छ र त्यसका पक्षमा आन्तरिक जनमत पनि तयार पारिसकेको छ ।
चाइना डि्रम सिको अर्को नारा 'चिनियाँ सपना'ले चीनको त्यही पुरानो शान या वैभवको पुनःस्थापनाको मात्र अर्थ बोकेको छैन, बरु यसले नयाँ चीनको विश्वदृष्टि या विचारधारात्मक प्रश्नतिर संकेत गर्छ । अहिले पनि विश्वव्यापी रूपमा चीनको आर्थिक तथा राजनीतिक प्रणालीलाई समाजवादी मान्ने कि पुँजीवादी भन्ने विवाद छ । राजनीतिक रूपमा कम्युनिष्ट पार्टीको एकलौटी नेतृत्व रहेको तर अर्थतन्त्रमा पर्याप्त पुँजीवादी चरित्र बोकेको चीन कता जाला ? समाजवादी बाटोमा कि पुँजीवादी बाटोमा ?
आर्थिक उन्नतिसँंगै गाँसिएर आएका प्रतिस्पर्धात्मक बजार र मध्यमवर्गको उदयले स्वतन्त्र छनोटका अवसरहरूको माग गर्छ, आर्थिक मामिला र राजनीति दुवैमा । देङको पालामा कुँदिएको चिनियाँ चरित्रको समाजवाद या समाजवादी बजार अर्थतन्त्रको सिद्धान्त पछ्याउँदै चीनले अहिलेको फड्को मारेको हो । तर चीनको समग्र बजार पश्चिमाहरूको परिभाषाका आँखाले हेर्दा स्वतन्त्र छैन । राज्य नियन्त्रित बजार, योजनाबद्ध विकास र पहिले उत्पादन वृद्धिपछि न्यायपूर्ण आर्थिक वितरणका सिद्धान्तहरू पछ्याएको अहिलेका चीनलाई पुरा पुँजीवादी भएन भन्ने पश्चिमा दाबी र चीनभित्र-बाहिरका वामपन्थीहरूले 'पुँजीवादमा पतन' भैसेकेको कुरा गरिरहेका बेला सिले दुइटा महत्त्वपूर्ण कुरा गरेका छन् । राष्ट्रपतिका रूपमा संसदलाई गरेको पहिलो सम्बोधनका क्रममा आफूले केही महिना पहिले भनेको चिनियाँ सपनाको कुरालाई व्याख्या गर्दै उनले भनेका थिए, 'हाम्रो व्यवस्थामा सुधार हुनेछ र हाम्रो समाजवादी व्यवस्थाको सर्वोच्चता हाम्रो उज्यालो भविष्यमा पूर्ण प्रतिविम्बित हुनेछ । हामीमा हाम्रो बाटो, हाम्रो सिद्धान्त र व्यवस्थामाथि पूर्ण विश्वास हुनैपर्छ । बाटोको छनोट चिनियाँ कम्युनिष्ट पार्टीको भविष्यका लागि जीवन र मृत्युको सवाल हो, हामीले पूर्ण निष्ठाका साथ चिनियाँ चरित्रको समाजवादी विचारलाई माथि उठाउनैपर्छ । चिनियाँ जनताको सम्पन्नता नै चिनियाँ सपना हो ।'
सिको चिनियाँ सपनाको कुरालाई लामो समय विश्वलाई लोभ्याइरहेको अमेरिकी सपनाको व्यक्तिवादी उन्नतिको प्रयोगको समाजवादी विकल्पका रूपमा व्याख्या गरिएको छ । यससंँगै सिले गत डिसेम्बरमा पार्टी महासचिवका रूपमा दक्षिण चीनको भ्रमण गरेका बेला दिएको एउटा भाषण पनि उल्लेख्य छ । उनले चीनमा कम्युनिष्ट पार्टीले उदारवादी व्यवस्थालाई कहिल्यै स्विकार नगर्ने कुरामा जोड दिंदै भनेका थिए, 'सोभियत युनियन किन छिन्नभिन्न भयो ? सोभियत कम्युनिष्ट पार्टी किन ढल्यो ? एउटा महत्त्वपूर्ण कारण के भने तिनीहरूको आदर्श र विश्वासमा खिया लागेको थियो । गोर्भाचोभको एउटा शब्दका भरमा सोभियत कम्युनिष्ट पार्टी भङ्ग भयो, एउटा महान पार्टी समाप्त भयो । अन्त्यमा कोही पनि यसको बचाउ गर्न आएनन्, कसैले प्रतिरोध गर्ने साहस गरेनन् ।'
यो भनाइले चिनियाँ नेताहरूको पछिल्लो राजनीतिक विश्वास र चीनले आगामी वर्षहरूमा लिने बाटोबारे प्रस्ट पार्छ । अर्थात् आर्थिक विकासको मोडल जेजस्तोे अपनाएको भए पनि कम्युनिष्ट पार्टीको शासनलाई निरन्तरता दिने, समाजवादी सामाजिक व्यवस्थालाई बलियो बनाउने तथा सामाजिक न्यायका आधारमा सबै जनताको उन्नति हुने सामूहिक हितलाई बढावा दिने तथा राजनीतिमा उदारवाद होइन, चिनियाँ शैलीको सामूहिक नेतृत्व प्रणालीलाई मजबुत बनाउने बाटो चीनको बाटो हुनेछ । यसमा जनताको सहभागिता र सञ्चारमाध्यमहरूबाट राज्यका दैनिक गतिविधिमा जनताले राय दिने र 'वाच' गर्ने खुला वातारणको निर्माण गर्नेतिर सिको नेतृत्वले पहल गरिसकेको साउथ चाइना मर्निङ पोष्टमा आएको विचारलाई आधार मान्ने हो भने पनि चीनले लिने बाटो खुला समाजको चिनियाँ परिभाषासहित समाजवादी बाटो नै हुने अनुमान गर्न सकिन्छ ।
यही विन्दु हो, जसले एउटा शक्तिशाली या विश्व महाशक्तिका रूपमा चीनको उदयले विश्वमा विचारधारात्मक संघर्षलाई अप्रत्यक्ष रूपमा बल मिल्नेतिर संकेत गर्छ । यदि चिनियाँ समाजमा मजदुर या श्रमिक वर्गको अवस्थामा उल्लेख्य सुधार देखापर्‍यो र सामाजिक रूपमा अहिलेको तीव्र वर्ग विभेदलाई यही व्यवस्था अन्तर्गत न्युनीकरण गरियो भने चिनियाँ सपना अमेरिकी सपनाको विकल्पका रूपमा तेस्रो विश्व र पहिलो विश्वका पनि श्रमजीवी वर्गमा स्थापित हुनेछ । 'चाइना आफ्टर माओ'का लेखक समीर आमिन अहिलेको चीनलाई समाजवादी नै भनेर ठोकुवा गर्छन् ।
अपेक्षाकृत खुला, सिद्धान्तप्रति दृढ, प्रभावशाली व्यक्तित्वका रूपमा पश्चिमा प्रेस र खासगरी अमेरिकी उपराष्ट्रपति जोन विदेन र किसिञ्जरबाट समेत प्रशंसित सि र उनको टिमका नेताहरूले देङपछि पहिलोपटक चीनमा नेतृत्वप्रति एउटा आकर्षण स्थापित गरेका छन् । उनीहरूको यो प्रभाव आगामी वर्षहरूमा विश्व राजनीतिलाई विस्तारै चीनको प्रभावमा ल्याउने 'सपmट पावर'का रूपमा समेत विकास हुने अनुमान गर्न सकिन्छ । यही विन्दुवाट प्रक्षेपण गर्दा नेपालको आगामी राजनीतिलाई चीनको नयाँ नेतृत्व र त्यसले लिने बाटोलाई बेवास्ता गर्नु असम्भवजस्तै हुनजाने देखिन्छ । अर्थात् चीनको बढ्दो आर्थिक विकासबाट हामीले फाइदा लिन नसक्ने र चीनको रणनीतिक भूमिकामा आउने वृद्धिसँगै हामीले आफ्ना सुरक्षाका परिभाषाहरूलाई पुनःपुष्टि गर्न नसक्ने हो भने थप चुनौतीहरू आउने निश्चित छ ।
Kantipur, 21 march 2013

No comments:

Post a Comment