Wednesday, February 6, 2019

भेनेजुएलामा सिआइए अप्रेसन

अमेरिका विश्वका सबै देशलाई उपनिवेश बनाउन चाहन्छ, तिनको स्रोत लुट्न चाहन्छ, साधारण अमेरिकीसहित अरू देशका जनतालाई दासका रूपमा शोषण गर्न चाहन्छ । युद्ध या सैन्य विप्लवका माध्यमबाट जहाँकतैका सार्वभौम र स्वतन्त्र सरकारलाई ढाल्ने प्रयास गर्छ । साम्राज्यवाद भनेकै यस्तै हो । ...मानवीय आधारमा हस्तक्षेप, सुरक्षाप्रतिको जिम्मेवारी र प्रजातन्त्र स्थापना... अमेरिकाका दक्षिणपन्थीका कोड भाषा हुन्... ९/११ पछि मात्रै अमेरिकाले हैटी, होन्डुरस, पाराग्वे, युक्रेन, ब्राजिल, इजिप्टलगायत मध्यपूर्वका धेरै देशमा सैन्य विप्लव गराएको छ ।’ स्टेफन लेन्डम्यानले रसियाली सत्ताधारीको विचार बोक्ने पत्रिका प्राभ्दामा प्रकाशित गरेको यो टिप्पणी आजको अमेरिकाको साम्राज्यवादी चरित्रको सटिक झलक हो ।

विश्व जनमतलाई प्रभावित गर्न अमेरिका र उसका गुटका देशले फैलाएको प्रोपोगान्डामा जेसुकै भनिएको भए पनि भेनेजुएलामा अहिले गरिएको राजनीतिक हस्तक्षेपको भित्री कारण ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाका साम्राज्यवादी हस्तक्षेपविरुद्ध हुने सबैखाले प्रतिरोधलाई ध्वस्त पार्नु हो । नवउदारवादी विश्व व्यवस्थाका दलाललाई सत्ता सुम्पेर त्यहाँको स्रोतमा लुटखसोट मच्चाउनु हो । वर्किङ क्लासका मानिससम्म पुगेको राज्यको स्रोत फेरि खोसेर ओलिगार्कहरू र अमेरिकी बहुराष्ट्रिय निगमहरूलाई पोस्नु हो । 

१० जनवरीमा मात्रै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो दोस्रो कार्यकालका लागि शपथ खाएका थिए । १९९८ यता बोलीभारान क्रान्तिका नेता ह्युगो चाभेज र उनी पछि मदुरोले भेनेजुएलामा आफ्नै खालको समाजवादी सत्ता चलाउँदै आएका छन् । यसले राज्यको मुख्य आर्थिक स्रोतका रूपमा रहेको खनिज तेल र ग्यास भण्डारमा नियन्त्रण गरिआएको राजनीतिक–व्यावसायिक साँठगाँठको ओलिगार्कीबाट खोसेर आयलाई आमगरिबको पहुँचमा पु-याउने कार्यक्रम लागू गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि यो वितरणमुखी कार्यक्रममा संकट आएको छ । तर, आमवर्किङ क्लास मदुरोकै पक्षमा छ र उच्चवर्ग र व्यावसायिक घराना मदुरोविरुद्ध सक्रिय छ । चाभेजको सत्तारोहणदेखि नै उनलाई उखेलेर फ्याँक्न र आफ्नो पक्षधर सत्ता स्थापित गर्न अमेरिकाले गरिरहेको प्रयत्न असफल हुँदै आएको छ । 
तर, अमेरिकी रणनीतिका दुई मोर्चा भने निरन्तर मदुरो सरकार असफल बनाउन प्रयत्नरत छन् । एउटा अमेरिकी गुप्तचर संस्था सिआइए र अर्को रंग क्रान्तिहरूको सर्जक ‘नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसी’मातहतको कोष । नागरिक समाज, प्रेस र प्रोपोगान्डामा यो फन्डको प्रयोग र लगानी हुने गरेको छ, जसले एक समय पूर्वी युरोपका देशमा रंग क्रान्तिहरू जन्माएको थियो ।
यसका लागि आफूले हटाउनुपर्ने सरकारविरुद्ध भ्रष्टाचार गरेको या अटोक्रेटिक भएको भनेर सञ्चारका मुख्य माध्यमबाट विश्वस्तरमा प्रचारप्रसार गर्न लगानी जुटाइन्छ, नागरिक समाजको लुज नेटवर्क बनाइन्छ र ससाना प्रदर्शनलाई एकीकृत गरिन्छ । शान्तिपूर्ण आन्दोलन असफल भएका ठाउँमा अस्तव्यस्त अवस्था सिर्जना भएपछि सिआइएले सशस्त्र समूहलाई तालिम र हतियार दिएर सहयोग गर्छ । एउटा लामो नटुंगिने प्रोट्र्याक्टेड वार सुरु गराइन्छ र अन्त्यमा प्रजातन्त्र बचाउन या साधारण नागरिकको ज्यान जोखिममा परेकाले भन्दै अमेरिकी सेना सिधै प्रवेश गरेर युद्ध गर्छ । भेनेजुएला यस्तै हस्तक्षेपको अन्तिम कडी बन्ने सम्भावना छ ।
यसै साता भेनेजुएलाको नेसनल एसेम्ब्लीका प्रमुख तथा विपक्षी दलका एकजना नेता हुवाँ गुएइदोले एउटा जनप्रदर्शनका क्रममा आफूलाई भेनेजुएलाका राष्ट्रपति घोषणा गरेका छन् । उनको घोषणालाई तत्काल अमेरिका र उससँग सम्बद्ध राष्ट्रहरू क्यानडालगायतले समर्थन गरेका छन् । अमेरिकाले त आफ्नो देशमा भएको भेनेजुएली सरकारको कोष र खाता सञ्चालनको अधिकारसमेत गुएइदोलाई दिएको छ । साथै विश्वलाई आफ्नो कदमको समर्थन गर्न आह्वान गरेको छ ।
ल्याटिन अमेरिकाका दक्षिणपन्थी सरकारले अमेरिकाको प्रस्तावलाई समर्थन गरेका छन् । मेक्सिको, क्युबालगायत देश भने मदुरोको पक्षमा छन् । स्पेन, बेलायत र फ्रान्सलगायत देशले विद्रोहलाई समर्थन गरेका छन् भने चीन, रसिया, भारत, टर्कीलगायतले मदुुरो सरकारको समर्थन गरेका छन् । यसले विश्व जनमतलाई नै विभाजित गरिदिएको छ । 
कोलम्बियाको शान्ति–प्रक्रिया भाँड्ने, युद्धविराम भंग गराउने, भेनेजुएलासँगको सीमाक्षेत्रमा दुवैतर्फ अशान्ति मच्चाउने र त्यही निहुँमा लडाकु र हतियार भेनेजुएलाभित्र छिराएर सिआइएले ‘कभर्ट अपरेसन’ गरिरहेको छ । वित्तीय तथा व्यापारिक घरानालाई प्रयोग गरेर भेनेजुएलाको आर्थिक स्थिति डाँवाडोल बनाउन प्रयास गरिएको त सन् २००० देखि नै हो । वर्तमान अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले २०१७ को जुलाईमै सिआइएको निर्देशक रहेका वेला भनेका थिए, सिआइए भेनेजुएलामा सत्ता परिवर्तनका लागि सक्रिय रूपमा काम गरिरहेको छ । मन्थ्ली रिभ्युका अनुसार पम्पेओले त्यतिवेला भनेका थिए– भर्खरै म मेक्सिको सिटी र बोगोटा पुगेर भेनेजुएलामा सत्ता परिवर्तनका सम्भावनाबारे कुरा गरेर फर्केको छु । मैले त्यहाँ उनीहरूले यसमा केकसरी काम गर्न सक्छन् भन्ने विषयमा कुरा गरेको छु ।
चाभेजले निर्वाचन र जनमतसंग्रहका माध्यमबाट जनताको अनुमोदन लिएर भेनेजुएलामा सरकार बनाउने र संविधानलाई समेत परिवर्तन गरेर बोलिभारान क्रान्तिलाई निरन्तरता दिने काम गरेसँगै एकातिर उनको अमेरिकीसँगको सम्बन्ध भत्केको थियो । अर्कातिर त्यही वेलादेखि चीन र रसियाले भेनेजुएलामा आफ्नो लगानी बढाउँदै लगेका थिए । बितेका वर्षमा त्यहाँको अर्थतन्त्र र समाजका विभिन्न क्षेत्रमा चीनले मात्रै ७० अर्ब डलर र रसियाले झन्डै २० अर्ब डलर लगानी गरिसकेका छन् । यता क्युबाले भेनेजुएलालाई शिक्षक र चिकित्सकहरू आपूर्ति गरिरहेको छ भने भेनेजुएलाले कच्चा तेल उपलब्ध गराएर क्युबालाई भरथेग गरेको छ । यी कारणले यतिवेला चीन र रसिया तथा क्युबालगायत देश भेनेजुएलामा कुनै हालतमा अमेरिकी स्वार्थको सत्ता कु हुन नदिने पक्षमा सक्रिय भएका छन् । सिआइएको मिसन ल्याटिन अमेरिकामा बढ्दो चिनियाँ लगानी रोक्नु र बजार एकलौटी नियन्त्रणमा राख्नु पनि हो ।
उता गत वर्षको निर्वाचन जितेर सत्तारुढ भएका कोलम्बिया र ब्राजिलका दक्षिणपन्थी सरकार सिआइएकै डिजाइनमा भेनेजुएलाको सत्ता परिवर्तनका लागि जेसुकै सहयोग गर्न तयार भएर बसेका छन् । कोलम्बियासँगको सीमा जोडिएका क्षेत्रमा एकातिर वामपन्थी छापामारको गतिविधि नियन्त्रण गर्ने नाममा कोलम्बियाली सैन्य गतिविधि चलिरहेको छ, अर्कातिर भेनेजुएलाको राजनीतिक संकटबाट भागिरहेका नागरिक यही बाटो कोलम्बिया प्रवेश गरिरहेका छन् । यसको अर्थ हो, कोलम्बिया र भेनेजुएलाको सिमाना त्यस्तो हटस्पट हो, जहाँबाट सिआइएले आफ्नो अपरेशन सञ्चालन गर्ने धमिलो पानी भेटेको छ । 
अमेरिकामा दक्षिणपन्थी उरन्ठेउलो राजनीतिज्ञ ट्रम्प र उनको टिम सत्तामा आएपछि उसले लगातार आन्तरिक राजनीतिक संकट झेल्दै आएको छ । यो संकटलाई आर्थिक वृद्धि, रोजगारी र सेयर बजारका राम्रा सूचकले छोपेको देखिए पनि गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा रिपब्लिकनले प्रतिनिधिसभामा बहुमत गुमाएपछि अर्को निर्वाचनमा कडा चुनौती थपिएको अनुभव गरेका ट्रम्प र उनको मण्डली आन्तरिक संकटलाई बाह्य रणनीतिक दाउपेचमार्फत छोपछाप पार्ने र ध्यान अन्यत्र मोड्ने प्रपञ्चमा लागेका छन् ।
यसै साता मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट नदिएपछि पाँच हप्तासम्म सरकारका कामै बन्द हुने अवस्थामा पुगेर पछारिएपछि ट्रम्प थप छटपटीमा परेको हुनुपर्छ । यसले गर्दा जहाँ सुँड घुसार्न सकिन्छ, त्यतै प्रवेश गर्ने उनको योजनाभित्र भेनेजुएलामाथि सैन्य हस्तक्षेप पनि पर्न सक्छ । यद्यपि भेनेजुएलाको सेना दक्षिण अमेरिकी क्षेत्रकै शक्तिशाली मानिन्छ र उसलाई चीन र रुसको साथ प्राप्त छ । यसले गर्दा यतिखेर एउटा लामो गृहयुद्धतिर भेनेजुएलालाई घचेट्ने र सिरियाको जस्तो अवस्थामा लैजाने सिआइएको योजना रहेको अनुमान गरिँदै छ ।
नेपालमा नेकपा अध्यक्ष प्रचण्डले मदुरोको समर्थनमा वक्तव्य जारी गरेपछि यो विषय चासो र चर्चामा रहेको छ । एकातिर नेपाली कांग्रेसनिकट बुद्धिजीवीहरू ओली सरकारलाई नै चाभेजवादी भएको उट्पट्याङ र अराजनीतिक आरोप लगाएर पश्चिमालाई उक्साउन खोजिरहेका छन् भने अर्कातिर सानो देश भएकाले हेपेर अमेरिकी दूतावासले भेनेजुएलाका घटनाबारे नेपाल सरकारको आधिकारिक धारणा माग्ने धृष्टता गरेको छ । यता नेपाल सरकारले पनि मदुरोको सीधा समर्थन या विरोध नगरी त्यहाँका जनतालाई आफ्नो सरकार छान्ने र आफ्नो संकटको आफैँ समाधान गर्ने अधिकार भएको धारणा सार्वजनिक गरेको छ । यसले अघोषित रूपमा अमेरिका र उसको गुटका देशसँग यस विषयमा नेपालको धारणा बाझिन पुगेको छ । 
भेनेजुएलाको वर्तमान सरकारका नीति कति दोषी छन् तथा त्यहाँ कस्तो सरकार बनाउने भन्ने जस्ता विषयमाथि निर्णय गर्ने अधिकार भेनेजुएलाका नागरिकलाई मात्र छ, अरूलाई होइन । आफूलाई मन नपर्नेबित्तिकै शक्तिशाली देशले कमजोर देशमा सरकार परिवर्तन गराउँदै हिँड्ने हो भने हाम्रो जस्तो देशले आफ्नो सार्वभौम अधिकार गुमाउँछ । स्वतन्त्र देश भन्नुको अर्थ गुम्छ । नेपाल आफैँ दुई ठुला शक्ति राष्ट्रबीच रहेकाले यसको भूराजनीतिक जोखिम सधैँ झेलिरहेको देश हो । यसैले पनि सरकारले दिएको वक्तव्य र प्रचण्डको भनाइ दुवैले नेपालका चिन्ताको प्रतिनिधित्व गर्छन् । अहिले चुप लाग्नुको अर्थ आउन सक्ने संकटबारे वेलैमा सचेत नहुनु पनि हो । 

No comments:

Post a Comment