Thursday, August 23, 2018

समीर अमिन र प्रतिरोधी विचार


हाम्रो समयका माक्र्सवादी अर्थशास्त्री, पुँजीवादका आलोचक र व्याख्याता, पुँजीवादविरोधी वैचारिक संघर्षका एकजना हस्ती र चिन्तक समीर अमिनको गतसाता मृत्यु भयो । ८६ वर्षसम्म सक्रिय जीवन बिताएका अमिन दोस्रो विश्वयुद्धलगत्तैको विश्व परिवेशमा हुर्केका थिए ।
उपनिवेशवादबाट स्वतन्त्रताका लागि दक्षिणी गोलार्धका देशका जनताले चलाएका संघर्षका एकजना साक्षी पनि थिए उनी । दोस्रो विश्वयुद्धलगत्तै तीव्र बनाइएको शीतयुद्धकालमा धुमिल हुँदै गएको सोभियत समाजवाद, तेस्रो विश्वमा उदाउँदो क्रान्तिको ज्वार, माओकालीन चिनियाँ समाजवाद, सोभियत संघलगायत पूर्वी युरोपेली समाजवादी खेमाको पतन, विचारको मृत्यु घोषणा गर्ने पुँजीवादको दुन्दुभी र पछिल्लो आर्थिक संकटसँगै आफ्नो नैतिक धरातल गुमाएको नवउदारवादका पनि उनी द्रष्टा र व्याख्याता थिए ।
उत्तर उपनिवेशकालीन बौद्धिक बहसमा माक्र्सेली हस्तक्षेप गर्ने विश्वमा ख्यातनाम सीमित बौद्धिकमा उनको नाम अग्रपंक्तिमा सामेल छ । उनी विश्वभर पढिने सीमित बौद्धिकमा पर्छन् ।
अमिन इजिप्टमा जन्मे–हुर्केका थिए । फ्रान्समा पढे (उनका बाबु इजिप्सियन थिए भने आमा फ्रेन्च थिइन्) पछि इजिप्टको आर्थिक विकास र योजनासम्बन्धी विभागमा काम गरे । तर, कम्युनिस्टमाथि सरकारको बढ्दो दमनपछि उनी माली गए र मालीका सरकारलाई आर्थिक योजनामा सहयोग गरे ।
अन्तिम ४० वर्षचाहिँ पश्चिम अफ्रिकाको एउटा सानो देश सेनेगलको राजधानी डकारमा बिताए, जहाँ उनले थर्डवल्र्ड नेटवर्कमा रहेर अध्येताका रूपमा काम गरे । उनी फ्रान्समा बसेर कम्युनिस्ट आन्दोलनसँग जोडिएकै समयमा इजिप्टमा सैनिक अधिकारीले एउटा विद्रोहमार्फत राजतन्त्र अन्त्य गरेर गणतन्त्र घोषणा गरेका थिए । अमिनले स्तालिन, ख्रुस्चेभ र गोर्वाचोभको सोभियत शासन, माओको नयाँ जनवादी क्रान्ति र सांस्कृतिक क्रान्ति, देङको बाजार समाजवादलाई नजिकबाट हेरे ।
यही सेरोफेरोमा उनले पुँजीवादको चिरफार गर्ने, पुँजीवादविरुद्ध वैचारिक अभियान चलाउने र समाजवादको पक्षमा उभिरहने अभियन्ता, चिन्तक र लेखकका रूपमा काम गरे । ०६५ मा नेपालमा माओवादी नेतृत्वमा सरकार बनेपछि यसको परख गर्न काठमाडौं आएका वेला उनले बागबजारको होटेल हार्दिकमा एउटा प्रवचन दिएका थिए ।
उनी निकै आशावादी देखिन्थे । वास्तवमा उनी नेपालमा माओवादीले एउटा समाजवादी बाटो लिइदेलान्, त्यसलाई हौसला दिन सकिएला भन्ने आशासहित आएको बुझ्न सकिन्थ्यो । उनले नेपालले भूमिसुधारका माध्यमबाट सामाजिक क्रान्तिलाई अघि बढाउन र आम आर्थिक विकासको स्वतन्त्र बाटो पहिल्याउँदै दलाल पुँजीवादबाट मुक्त हुन सक्छ भनेर जोड दिएका थिए ।
अमिनले अर्थशास्त्रको क्षेत्रमा पु-याएको एउटा महत्वपूर्ण योगदान उनले गरेको असमान विकाससम्बन्धी पुँजीवादी नियमको व्याख्या हो । पुँजीवादी अर्थशास्त्रीको विकाससम्बन्धी प्रचलित सिद्धान्तलाई चुनौती दिँदै उनले कसरी पुँजीवादी केन्द्रले श्रमको विशिष्टीकरण (अन्तर्राष्ट्रिय श्रम विभाजन) वित्तीय पुँजी र प्रविधिमाथि नियन्त्रणका माध्यमबाट पेरिफेरिका देशलाई अविकासमा धकेल्छ, केन्द्र निर्भर बनाउँदै जान्छ, भन्नेबारे १९७६ मा प्रकाशित आफ्नो पुस्तक ‘अनइक्वयल डेभलपमेन्ट’मा जमेर बहस गरेका छन् ।
पौल वारान, एन्ड्रे गुन्डर फ्यान्कलगायत समकालीन माक्र्सवादी अर्थशास्त्रीकै प्रस्थापनाको निरन्तरताका रूपमा अमिनले यो सिद्धान्तको विस्तारमा व्याख्या गरेका हुन् । विकास अर्थशास्त्रको आलोचनात्मक अध्ययनका क्रममा आफू सो निष्कर्षमा पुगेको बताउँदै उनले पुँजीवादी अर्थतन्त्रमा नियमित आइरहने संकट टार्न पहिले मुनाफा घटाइन्थ्यो, तर पछि आएर यस्तो संकट पेरिफेरीका सीमान्त क्षेत्रमा धकेलिन्छ र पुँजीवादका केन्द्र टिकिरहन्छन् भन्ने प्रस्थापनालाई पुष्टि गरेका छन् ।
नेपाल र अरू अविकासले ग्रस्त देशको आजको अविकासको कारण बुझ्न उनको सिद्धान्तले हामीलाई मद्दत गर्छ । पुँजीवादी विकासको प्रारम्भिक चरणमा रहेको नेपालजस्तो देशले समेत केन्द्र र वृत्तका अनेक पत्र तयार पारेको छ ।
गाउँ र सहरबीच, साना सहर र ठूला सहरबीच, कृषि क्षेत्र र औद्योगिक क्षेत्रबीच, परम्परागत क्षेत्र र आधुनिक क्षेत्रबीच, सुदूर दुर्गम क्षेत्र र काठमाडौं (या पोखरा, विराटनगर, नेपालगन्ज, बुटवल, भैरहवा…) का सम्बन्ध हेर्दा देशभित्रै पनि पुँजीवादका असमान विकास र निर्भरताका अर्थ पाउन सकिन्छ ।
नेपालबाट मात्र कसरी भारतले वार्षिक चार खर्बजति व्यापारबाहेकको आम्दानी लान्छ, कसरी हाम्रो व्यापार घाटा भारतसँग मात्रै सात खर्ब पुग्दै छ भनेर खोतल्यो भने हाम्रो असमान विकासमा कसरी नेपाल वृत्ततिर धकेलिएको छ भन्ने जान्न सहयोग पुग्छ ।
समीर अमिन लगातारजसो पुँजीवादी उत्पादन प्रणाली र पुँजीवादी केन्द्रहरूको विश्वव्यापी आर्थिक शोषणको चरित्रको व्याख्या गर्दै रहे । पुँजीवादी देशभित्र उत्पन्न अन्तरविरोधकै कारण पुँजीवाद कसरी ओरालो लाग्ला, कस्ता अन्तरविरोध र संघर्ष उत्पन्न होलान् भनेर निरन्तर चिन्तन गरिरहे । सधैँ तेस्रो विश्वका देशको पक्षमा उभिए । पुँजीवादी केन्द्रले थोपरेका विश्व आर्थिक प्राणालीका विपक्षमा उभिइरहे ।
समीर अमिनको अर्को प्रयास समाजवाद कसरी अघि बढ्ला भन्ने विषयमा गरिएका अध्ययन र व्याख्यामा केन्द्रित छ । त्यस सम्बन्धमा अमिनले आफ्ना निबन्ध, अन्तर्वार्ता र कैयन् पुस्तकमार्फत विचार व्यक्त गरेका छन् । सारमा चाहिँ उनको पुस्तक ‘फ्युचर अफ माओइज्म’ र एउटा निबन्ध ‘दि अक्टोबर १९१७ रिभोल्युसन स्टार्टेड अफ दि ट्रान्सफर्मेसन अफ दि वल्र्ड’ले उनको विचारलाई निकै प्रखरसँग व्यक्त गर्छन् ।
फ्युचर अफ माओइज्ममा उनले माओको मृत्युपछि चीनमा आउँदै गरेको परिवर्तनलाई समेत समेटेर चीनमा माओको नेतृत्वमा भएको जनवादी क्रान्तिपछि कस्तो समाजवादी मोडलको अभ्यास गरियो भन्नेबारे विस्तारमा चर्चा गरेका छन् । यसमा प्रवेश गर्नुअघि उनले राज्य नियन्त्रित स्टाटिस्ट मोडल, समाजवादी मोडल र पुँजीवादी मोडलका रूपमा उत्पादन र वितरणका प्रक्रियाले कसरी काम गर्छन् भन्नेबारे चर्चा गरेका छन् ।
समाजवादी उत्पादन मोडल कस्तो हुनुपर्छ भन्नेबारेका उनका चिन्तन त्यति वेलाको सोभियत मोडल र चिनियाँ मोडलबीच तुलनामा आधारित छ । चीनको मोडलमा कसरी आम्दानीको वितरणमा किसानले पाउने आम्दानी, मजदुरले पाउने ज्याला र तलबी कर्मचारी या प्रोफेसनलले पाउने तलबमा समानता कायम गरिएको थियो भन्ने चित्र दिएर समतामूलक समाजको परिकल्पनालाई साकार पारिएको थियो भन्ने व्याख्या गरेका छन् । उनी माओकालीन चिनियाँ समाजवादको मोडलप्रति सकारात्मक धारणा राख्थे ।
माओकालीन चीनले लिएको बाटोलाई माओवादका रूपमा व्याख्या गर्दै माओपछि माओवादको सम्भावना केलाएका छन् । यससँगै चीनको आर्थिक विकासको मोडलसँग सोभियत मोडल र तेस्रो विश्वको विकास मोडलको तुलनात्मक व्याख्या पनि गरेका छन् । सोभियत मोडल र चिनियाँ मोडलमा रहेको एउटा समस्याप्रति उनले गम्भीरतापूर्वक आलोचना गरेका थिए । त्यो हो, दुवै मोडलका समाजवादमा राज्य र पार्टीचाहिँ एउटै रूपमा काम गरिरहेका छन्, तर त्यहाँ आमजनसमुदायको हस्तक्षेप या सहभागिताका लागि कुनै स्थान छैन ।
त्यसो भनिरहँदा पनि उनले सन् ८० को दशकमा भर्खर देङको नेतृत्वमा बजार समाजवादतिर लागेको चीनमा बुर्जुवा वर्गले सत्ता हत्याउँछ कि समाजवाद कायमै रहन्छ भन्ने प्रश्नमा चाहिँ पुँजीवादभित्रैबाट समाजवाद विकास हुने कुरा सोझो रेखामा हिँड्ने होइन, बरु अनेकौँ अन्तरविरोध र संकट पार गर्दै पुग्ने हो भन्ने बताएर आशावाद जीवितै राखेका थिए । यो सन् १९८९ को तियनमेन चोकको घटनाभन्दा केही पहिलेको प्रक्षेपण थियो ।तर, यी व्याख्यामा अघि सारिएका कतिपय हाइपोथेसिस त्यतिवेलाका विश्व प्रणालीका मूल अन्तरविरोधका प्रकृतिमा आधारित थिए । चीनले माओपछि लिएको बाटोमा माओवादको भविष्य अस्पष्ट छ । सोभियत संघको विघटनपछिको विश्वमा समाजवाद आफैँमा एउटा ‘नरो वा कुञ्जरो वा’ बन्न गएको छ । उनका विचारमा पनि सन् १९९० पछि केही परिमार्जन भएको छ ।
यी सबै कालखण्डमा अमिनले भने माक्र्सवाद र समाजवादको बचाउ गर्ने, त्यसका लागि सैद्धान्तिक वैचारिक बहस आलोचनात्मक अध्ययन गर्ने आफ्नो प्रयास जारी राखेका थिए । माक्र्सवादी अर्थशास्त्रीका रूपमा समाजको व्याख्या, पुनव्र्याख्या गर्ने काम अस्ति भर्खरसम्म पनि जारी राखेका थिए । निरन्तर साम्राज्यवादको विरोध, निरन्तर पुँजीवादको आलोचना र निरन्तर समाजवादप्रतिको निष्ठा उनको परिचय बनेको छ ।
मैले पढेको उनको सबैभन्दा पछिल्लो लेखचाहिँ अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा इन्टरनेसनल क्रिटिकल थटमा प्रकाशित रचना हो । आफ्नो जीवनकालमा जहिले पनि क्रान्ति र विद्रोहका पक्षमा रहेका, पुँजीवादविरुद्ध, साम्राज्यवाद र उपनिवेशवादविरुद्ध, सबैखाले शोषण र थिचोमिचोविरुद्ध रहेका समीर अमिनको समाजवादप्रतिको विश्वास, माक्र्सवादप्रतिको विश्वास केवल राजनीतिक शक्ति आर्जनको विषय मात्र थिएन ।
व्यवस्था पल्टाएपछि सब ठीक हुन्छ भन्ने पनि थिएन । बरु उनको विश्वासचाहिँ एउटा वैकल्पिक समाज व्यवस्था सम्भव छ भन्नेतिर लक्षित थियो । सो आलेखमा अमिन भन्छन्— मेरा लागि समाजवादको अर्थ निजी पुँजी उन्मूलन (नकारात्मक चरित्रका रूपमा) भन्दा धेरै बढी हो । यसको अर्थ ज्यालाको अवस्थाको व्याख्यामा होइन, बरु वैकल्पिक श्रम सम्बन्धमा छ । सम्पूर्ण समाजलाई नै समाजको भविष्य नियन्त्रण गर्न दिने वैकल्पिक सामाजिक सम्बन्धसँग छ । यस्तो समाज बुर्जुवा लोकतन्त्रभन्दा धेरै उन्नत लोकतान्त्रिक हुनेछ ।
आफ्ना कुनै पनि चरित्रमा सोभियत समाज औद्योगिक बुर्जुवा समाजभन्दा भिन्न थिएन । जब यो आफ्ना आधारभूत लक्ष्यबाट टाढा हुँदै गयो अनि त यो विद्यमान पेरिफेरियल पुँजीवादको मोडलनजिक गयो र सम्पूर्ण नियन्त्रणकारी अभ्यासका कारण झन् खराब हुन गयो ।

अर्थात् सोभियत समाज र अन्य देशमा अपनाइएका समाजवादी मोडलमा लोकतन्त्रको नितान्त अभाव, आमजनताको राजनीतिमा सहभागिताको अभाव उनलाई खट्केको विषय थियो । माक्र्सको मास डेमोक्रोसीको प्रस्थापनालाई व्यवहारमा उल्ट्याइएको र सीमित नेता र नोकरशाहीमा अडिएको समाजवादको अभ्यासलाई उनी गलत मान्थे ।
सो आलेखमा उनी भन्छन– … सोभियत संघमा पुँजीवादको पुनस्र्थापना भएको छ । १९१७ को क्रान्तिको पाना पल्टिसकेको छ । त्यसले मानवजाति र समाजको मुक्तिका लागि देखाएको सम्भावना पनि वाष्पीकृत भएको छ । …तर के मानव सभ्यताको उच्च तहको रूपमा परिकल्पना गरिएको साम्यवादको खोजी एकपछि अर्को क्रान्तिकारी उभारसँगै अघि नआउला त ? आफ्ना अन्तिम वर्षमा उनमा माक्र्सवादप्रति अगाध आस्था थियो भन्ने देखिन्छ । पुँजीवादी शोषणको दाम्लो काटेर मानव जातिलाई स्वतन्त्रताको यात्रामा लाने माक्र्सवादी विचारको दियोमा उनले थपेको तेल सकिनेछैन ।
नेपालमा आफूलाई साम्यवादी र मक्र्सवादका अनुयायी भन्नेहरू सरकारमा छन् । माक्र्स, लेनिन र माओका नाममा राजनीति गर्नेहरू नै समाजको नेतृत्व गरिरहेका छन् । तर, माक्र्सवादका आधारभूत मान्यताअनुरूप समाजलाई थप लोकतान्त्रिक बनाउने, श्रम सम्बन्ध बदल्ने र समाजको भविष्यको निर्माण गर्ने जिम्मा आममानिसले लिन सक्छन् भन्ने बुझाइमा भने समस्या देखिन्छ । अमिनलाई एकपटक अध्ययनको विषय बनाउन सके वैकल्पिक विचारलाई अवश्य पनि सहयोग पुग्नेछ ।
Nayapatrika, bhadau 7, 2075

No comments:

Post a Comment