Tuesday, August 7, 2018

मेलम्ची घ्याङमा एक रात

सयौँ वर्षदेखि नेपालमा भूमि सम्बन्ध राज्य र आमजनताबीचको मुख्य राजनीतिक द्वन्द्वका रूपमा रहेको छ । पछिल्लो समय सेवा क्षेत्र र औद्योगिक क्षेत्रले अर्थतन्त्रको ७३ प्रतिशत ओगट्न थालेको भए पनि अझै ६० प्रतिशत मानिसको आर्थिक जग कृषिसँगै जोडिएको छ । पछिल्लो समय परम्परागत प्रयोगका ठाउँमा सहरीकरण, रियलस्टेट, गैरकृषि क्षेत्रमा कृषिको प्रयोग बढ्दै जाँदा राज्य र कृषि पेसासँग जोडिएका किसान र निजी क्षेत्रबीच भूमिसँगको द्वन्द्वका अनेक आयाम विकास भएका छन् ।
नेपालमा भूमिका लागि भएका संघर्षकोे अध्ययन गर्ने सिलसिलामा ०७३ को एउटा जाडो हिउँदको दिन म मेलम्ची घ्याङ पुगेको थिएँ । हामी पुगेको साँझ झमझम पानी परेको थियोे । बाहिर ठिहि¥याउने चिसो थियो । हिउँ भने परेको थिएन । उत्तिखेरै उडिआउने र बिलाइजाने भुइँकुहिरो । तार्केघ्याङतिर फाट्टफुट्ट देखिने बस्तीमा पिलपिल टल्किरहेका बत्ती ।
हामी कामी शेर्पाले चलाएको अन्नपूर्ण लजमा बास बस्यौँ । वास्तवमा हाम्रो गन्तव्य उनैलाई लक्षित गरेर तय भएको थियो । हामी जाने दिन साँझ पाहुना टन्नै थिए । तीनजना अमेरिकी विद्यार्थीको टोली थियो । दिनभर हिँडेरै आएका रहेछन् उनीहरू । पुनर्निर्माण प्राधिकरणका कर्मचारी, एकजना इन्जिनियर र सब–इन्जिनियर पनि थिए । सिन्धुपाल्चोकका सरकारी अड्डामा काम गर्नेहरू बिदा मनाउन पुगेका रहेछन्, चौताराबाट मोटरसाइकलमा, आठ–दशजना जति ।
लामा बुढाबुढी अँगेनामा भरभराउँदो गरी दाउरा बालिरहेका थिए । लामाकी भतिजी उनीहरूलाई भान्सा तयार गर्न फुरफुर गर्दै सहयोग गरिरहेकी थिइन् । उनीहरूका आफ्नै सन्तान थिएनन् । त्यसैले सात कक्षामा पढ्दै गरेकी भतिजी उनीहरूको सहारा बनेर बसेकी थिइन् । ढल्कँदो उमेरमा पनि कामी बुढा र उनकी पत्नी उज्यालो हँसिलो अनुहारसहित आउने पाहुनाको सत्कार गरिरहेका थिए ।हाम्रो समूह चारजनाको थियो ।
हामीले पहिले त भोटेचिया पियौँ । झोलसहितको चाउचाउ खायौँ र अलिकति आङ तात्दै गएपछि ‘जलकारबाही’तिर लाग्यौंँ । वातावरण सहज बन्दै गएपछि मेलम्चीका मोही किसानलाई घ्याङको शासनबाट मुक्त गराउन अगुवाइ गरेका कामी लामालाई हामीले मेलम्ची घ्याङसँग जोडिएका किसानका कथा भन्न आग्रह ग-यौँ । यो मेलम्ची घ्याङ अर्थात् बौद्ध गुम्बाको इलाका हो ।
लाङटाङ शृंखलाको सीधै मुनि भित्तामा एउटा सानो खर्क जस्तो यो ठाउँमा केही सय वर्षपहिले तिब्बतको केरुङबाट रसुवागढी हुँदै ह्योल्मोहरूको एउटा समूह जीविकाको खोजीमा आएको थियो । काठमाडौंमा सरकारसँग साधना गर्ने ठाउँका रूपमा यसैलाई रोजेर एकजना लामा आएका थिए । उनैले स्थापना गरेको घ्याङ यहाँको जमिनको मालिक बन्यो । यहाँ जोजो बसे, तिनीहरू घ्याङका रैती बने ।
लामा भने घ्याङका नाममा स्थानीय जनतामाथि शासन चलाउँथे । सबैजसो काठमाडौंको बौद्धमा बसोवास गर्थे । उनीहरूका लागि जमिन खनजोत, भोजभतेरको व्यवस्था, पूजाआजाका लागि चाहिने सामग्रीको व्यवस्था, सिकार खेलिदिने, सामान बोकेर बौद्धसम्म पु¥याइदिने गर्दैमा यहाँका साधारण मानिसको जीवन बित्थ्यो ।
यहाँका लामा पहिल्यैदेखि शासनसत्ताको नजिक । कहिले राजाको नजिक, कहिले दलहरूको नजिक । अहिले पाको भएको पुस्ताले चाहिँ पशुपतिशमशेरनिकट रहेर सत्ताको अभ्यास गर्ने गणेशवज्र लामाको शासन खेप्यो । सबैले उनको काम गर्नुपथ्र्यो । राम्रोे फल भए उनैलाई । राम्रो खसी कुखुरा उनैलाई । उनलाई बोेकेर काठमाडौं पु¥याउनुपर्ने । काठमाडौंबाट बोकेर ल्याउनुपर्ने ।
गाउँका महिला पालो गरेर उनको घरको कामधन्दा गर्न जानुपर्ने । उनी ६ महिना काठमाडौं, ६ महिना गाउँ बस्थे । जमिन उनको नियन्त्रणमा भएकाले जे–जति उनलाई दिएर बच्थ्यो, त्यसका लागि किसान मरीमरी काम गर्थे । कसैले उनको आदेश मानेन भने त आफ्ना दलाल लगाएर समातेर ल्याउँथे र बाँधेर यातना दिन्थे । उनी कानुनभन्दा माथि थिए । अर्थात्, यो मेलम्ची गाउँमा राज्यको कानुन लाग्दैनथ्यो ।
अँगेनामा दाउरा थप्दै कामी लामाले हामीलाई सुनाए– हेलम्बु क्षेत्र लामो समयदेखि पर्यटकको आकर्षणको केन्द्र रहिआएको छ । हेलम्बुमा पर्यटक तान्ने दुइटा गाउँ तार्केघ्याङ र मेलम्ची घ्याङ नै हुन् । तर, यहाँका धेरैजसो बासिन्दा जीविकाका लागि भारतका कालापहाड, हिमाञ्चल, कस्मिर या लद्दाखदेखि अनेक ठाउँमा मजदुरी गर्न, ठेकेदारी गर्न जान्थे । परिवारै उतै जाँदा तिनका सन्तानले पढ्न पाउने कुरै भएन ।
यसरी पुस्तौँ गलेपछि भूमि अधिकार मञ्चको सम्पर्कमा पुगेका कामी लामाले गुठी जमिन मोहीका नाममा दर्ता गर्ने कामको नेतृत्व गरे । भूमि अधिकार मञ्च सिन्धुपाल्चोकमा रहेको गुठी र मोही लागेको जग्गामा किसानको स्वामित्व स्थापना गर्न सक्रिय थियो । मञ्चको सम्पर्कमा पुगेपछि नै कामी लामाले मेलम्ची घ्याङका मोहीले कमाउने जमिन उनै मोहीको नाममा दर्ता गराउन सकिन्छ, गर्नुपर्छ भन्ने सहास बटुलेका थिए ।
उनको पहलमा एक सय २० मोहीले मालपोतमा निवेदन दिए । जिल्लामा यस्तो जमिन दर्ता गर्ने समिति बनेको थियो । मोहीका पक्षमा समितिले निर्णय ग-यो । नापी विभागले आएर नापी ग¥यो । अन्त्यमा ०६६ सालमा ९० जनाजति किसानले आफूले कमाई आएको सबै जमिन आफ्ना नाममा दर्ता गराए र लालपुर्जा पाए । यी लालपुर्जा पनि बौद्धबाट वितरण गरिएको थियो ।
यसरी लामाविरुद्ध जानु र जमिन दर्ताका लागि किसानलाई तयार पार्नु सजिलो थिएन । मञ्चले लामाकै घरमा किसानालाई तालिमको व्यवस्था ग-यो । तालिममा भूमिसम्बन्धी ऐनको व्यवस्था र कसरी जमिन दर्ता गर्न सकिन्छ भन्नेबारे विस्तारमा सिकाइएको थियो । ‘मलाई बोलाउन टिकामाधव आएका थिए । हामीसँग जमिन कमाएका केही प्रमाण छन् कि भनेर सोधे ।
गणेशवज्रले जमिन कमाएर खाऊ भनेर दिएको लिखत थियो । यही प्रमाणका आधारमा अहिले बनेको समितिमा निवेदन दियो भने जमिन दर्ता गरिदिन्छ भनेर विस्तारमा बताए । मैले पनि आफ्ना कुरा मान्नेलाई घरघरमा गएर भित्रभित्र सम्झाएँ । पन्ध्र–बीसजना तयार भए । हामी यस्तो निवदेन लिएर जाँदा चौताराको एउटा लजमा बसेका थियौँ ।
यता लामाको परिवारले यो कुरो थाहा पाएछ । एउटा जिप लिएर दलबलसहित चौतारा आए ।’ कामी लामा ट्वाइलेटमा लुकेछन् । वज्रको समूहले मालपोतका हाकिमलाई सबै जमिन आफ्नो नाममा दर्ता गर्न धम्की दिइरहेको थियो । तर, हाकिमले यसो गर्न मिल्दैन भनेर पठाइदिए । ‘पछि बौद्धमा म गएका वेला उसको भाइसँग कुटाकुट नै भयो ।
तर, मेरा साथीले जोगाए ।’ लालपुर्जा वितरणपछि बौद्धमा कामीलाई गाउँलेले सम्मान गरे । खादा र तीन हजार रुपैयाँको फूल लगाइदिए । कामका सिलसिलामा एउटा लेखनदासले गाउँलेको एक लाख रुपैयाँ पनि यो काम, त्यो काम भन्दै खाइदिएको रहेछ । जे होस यहाँका किसान अब लामाको शासनबाट मुक्त भए । ‘यो ठउँमा स्कुल ल्याउने पनि मै हुँ । ०४५ सालमा पशुपति राजाको घरमै गएर कुरा भयो । उसले सहयोग ग-यो । आनी स्कुल बनायो नि यता । पहिले त कोले पढ्ने आबो ।’
‘म १५ वर्षको हुँदा बाउले भारतको आसामतिर लगेर जानुभयो । म सानो भयो भनेर कुल्ली काम गर्न दिएन । एउटा आसामतिरको मन्छे रहेछ, लेखपढ गर्नु सक्ने । उसलाई ल्याएर घरमै राखेर मलाई पढाउन लगायो । अलिअलि अंग्रेजी र नेपाली लेखपढ गर्न आउँथ्यो । यता फर्केपछि मेरो यो बुढीसँग बिहे भयो । त्यसपछि हामी दुवै १३ वर्ष त चौँरीगोठमा बस्यो लेकमा । गाउँमा कोही पनि लेखपढ गर्न नजान्ने । अनि मैले मेरो काकासँग सल्लाह गरेर स्कुल खोल्यो ।’ हामीसँगै अलिअलि पिउने कर्ममा सामेल भएका लामाले भने ।
‘अहिले यति राम्रो स्कुल चलेको छ । पहिले त गुम्बाको आँगनमा पढाउँथ्यो । भवन थिएन । पहिले पाँचसम्म थियो । आठसम्म बनायो । अहिले १० सम्म हुन्छ । आब प्लस टु बनाउनुपर्छ ।’ हामीलाई खाजाचिया दिँदै आगोको रापमा बसेर कुरा गरिरहेका कामी लामाको अनुहार चम्किलो देखियो गर्वले । पछि जगत बस्नेतले सुनाए कि यहाँको मावि जिल्लाकै नमुना विद्यालय हो । प्रअ भएर आएपछि यसैका लािग आफ्नो जीवन समर्पण गरेका पूर्णबहादुर सरले आफ्नो सम्पूर्ण क्षमता र शक्ति यसैमा पोखेर राम्रो बनाएका रहेछन् । भोलिपल्ट हेर्दा विद्यालयको पुरानो भवन भत्केकोे थियो र नयाँ बनाउने तरखर हुँदै थियो ।
लामाले चौँरीगोठ छाडेको चार दशक पार भइसक्यो । अहिले त गाउँलेका चौँरीगोठ पनि छैनन् । गाउँमा हुने खेती पनि लाङटाङ निकुञ्जका जन्तु आएर खाने हुँदा लगाउनै छाड्न थालेका छन् । करेसाबारी र तरकारी खेती अलिअलि हुन्छ ।

पुसको मेलम्ची, हिउँ नपरेको भए पनि चिसो थियो । राति ११ बजेसम्म उनीसँग गफ गरियो । टिनको छानोमुनि, स्लिपिङ ब्यागले ज्यान तताउन अटेरी गरेपछि अर्धनिद्राको रात बिताउनुपरेकाले छिटै उठ्न सकियो । उठ्दा लामा पत्नीले ढुंग्रोमा भोटे चिया बनाइसकेकी थिइन् ।
फेरि एकछिन कुरा गरेर हामी हिँड्दा पूर्वबाट घामका किरण तिरिर गरेर आएका थिए । गाउँको पश्चिमपट्टि नजिकै रहेको अग्लो पहाड, अलि माथि हिमालको फेदीजस्तो कतैकतै हिउँका ढिस्का देखिने चट्टान, पूर्वतिर तार्केघ्याङ । कामी लामाले मलाई मेलम्चीबारे लेखिएको एउटा पुस्तक पढ्न दिएका थिए । उनले गतवर्ष भुइँचालोले भत्काएर खण्डहर बनेको गुम्बा र त्यहाँ सही–सलामत रहेको बुद्धको मूर्ति देखाए ।
उत्तरतिर गाउँ लाम्चो परेर फैलिएको थियो । गाउँभन्दा तल पहरो थियो । पहाडको काख भन्छन् नि, हो यस्तैलाई भन्न मिल्छ होला । २० महिनापहिले गएको भुइँचालोका चिह्न गाउँभरि व्याप्त थिए र पनि मानिस आफ्नो दैनिकी गरिरहेका थिए । माथि–माथि बादलले ढाकेको बस्ती अहिले सडक यातायातले जोडिएको छ । स्थानीय उत्पादन एकदम कम हुन्छ ।
पैसा कमाउन अहिले पनि कालापार या भारतका अनेक ठाउँमा जाने चलन छ । पैसा विदेशबाट, मालसामान काठमाडाैं तिरबाट आउँछ । र पनि कामी लामालाई आफ्नो गाउँको पहिचान प्यारो छ । माटो प्यारो छ । आफ्नो आर्जन प्यारो छ ।
भूमि अधिकार मञ्चको सहयोगमा गाउँलेलाई लामा र गुम्बाको शासनबाट मुक्त गर्ने कामी लामालाई सलाम गर्दै हामीले बिदाको हात हल्लायौँ । हामी भन्नाले सोम भण्डारी, जगत बस्नेत र धु्रवजी र मसहितको सानो समूह ।

No comments:

Post a Comment