Tuesday, May 8, 2018

५ मेको सेरोफेरो



१. मे दिवस र ५ मे
अस्ति १ मेका दिन विश्वभर मे दिवस मनाइयो । पर्सि ५ मेका दिन कार्लमार्क्सको जन्म भएको दुई सय वर्ष पुग्दै छ । यी दुवै सन्दर्भ एक–अर्कासँग अभिन्न रूपमा गाँँसिएका छन् । आफ्नो समयको मजदुर आन्दोलनका जगमा कार्लमाक्र्सले साम्यवादी दर्शनको परिकल्पना गरेका थिए ।
मार्क्सका शिक्षाबाट विश्वका कामदार वर्गले राजनीतिमा सहभागिता जनाउँदै बुर्जुवा सत्ताका विकल्पमा आफूलाई उभ्याएका थिए । समग्र मजदुर आन्दोलनलाई नै दुई भागमा बाँड्न सकिन्छः मार्क्सअघि र मार्क्सपछि । सन् १८४८ मा मार्क्स र एंगेल्सबाट लेखिएको कम्युनिस्ट घोषणापत्र नै इतिहासको यो विभाजन रेखा हो ।
एउटा विचारक र क्रान्तिकारीका रूपमा मार्क्सका काम र विचारले अहिले पनि दुनियाँलाई प्रभावित गरिरहेका छन् । जर्मन दर्शनको आलोचना गर्ने क्रममै उनले आफूलाई ऐतिहासिक भौतिकवादका प्रवर्तक बनाएका थिए । उनको समयमा युरोपभर पुँजीवादी क्रान्तिको जगजगी थियो ।
पुँजीवादी उत्पादन पद्धतिले सामन्तवादको मुलोच्छेदन गरिसकेको भए पनि राज्यसत्तामा सामन्तवादकोे उच्छेदन भइसकेको थिएन । सन् १७८९ को फ्रेन्चक्रान्ति र प्रतिक्रान्ति, सन् १८३० को क्रान्ति, पुँजीवादको निर्मम शोषणमा परेको सर्वहारा वर्गको छटपटी र साना–ठूला विद्रोहको एउटा शृंखला चलिरहेको थियो ।
मार्क्सले इतिहासका शिक्षाको समीक्षा गर्दै पुुँजीवादका विनाश र साम्यवाद स्थापनाको अनिवार्यता घोषणा गरिरहेको समय सन् १८४८ युरोपेली क्रान्तिमा बुर्जुवा र सर्वहारा वर्गको सहकार्य र अलग मागबीच द्वन्द्व मुखर भएको समय थियो, जुन क्रान्तिपछि बुर्जुवा वर्गले मजदुर वर्गलाई अपमानजनक रूपमा धोका दिएको थियो ।
समाजको गर्भमा चलिरहेको यो छटपटी नजिकबाट नियालिरहेका मार्क्सले पुँजीवादी विकासका आधारभूत चरित्रको निरुपण गर्ने र यसको ऐतिहासिकता पर्गेल्ने प्रयास थालिसकेका थिए । यसैको उन्नत अभिव्यक्तिका रूपमा उनले पुँजीको पहिलो खण्ड लेखे, जुन १८६७ मा पहिलोपटक प्रकाशित भयो ।
पुँजी समग्र पुँजीवादी उत्पादन पद्धतिको चिरफार हो । कसरी पुँजीवादी समाजको उत्पादन प्रक्रिया चल्छ, उत्पादन सम्बन्ध कसरी स्थापित हुन्छ, कसरी पुँजीवादी राज्यव्यवस्था पुँजपतिको हित व्यवस्थापन गर्ने कमिटीमा बदलिन्छ, कसरी निरन्तर यो संकटमा धकेलिन्छ अनि आफ्नो गर्भबाट आफ्नै चिहान खन्ने वर्ग जन्माउँदै हुर्काउँदै जान्छ भन्ने प्रश्नको  ऐतिहासिक  विवेचना   यसमा गरिएको छ ।
मार्क्सका विचारबारे लेनिनले आफ्नो रचना मार्क्सवादका तीन स्रोत र तीन संघटक अंगमा विस्तारमा चर्चा गरेका छन् । मार्क्स आफैँ कुनै अलौकिक व्यक्ति नभएर यही समाजको ऐतिहासिक विकास क्रमका उपज हुन् ।
उनको हुर्काइको समयको भौतिक परिवेशले नै उनको निर्माण गरेको थियो भन्दै लेनिनले जर्मन दर्शन, फ्रान्सेली समाजवादी राजनीति तथा बेलायतमा आकार लिएको राजनीतिक अर्थशास्त्रबाट सिकेर मार्क्सले आफ्ना वैचारिक प्रस्थापना अघि सारेका हुन् भन्ने प्रस्ट पारेका छन् ।
२. आन्दोलनमा मार्क्स
मार्क्स आफ्नो विचारको सत्यताको पुष्टि आन्दोलनमा सक्रिय सहभागिता र प्रयोगबाट गरिरहन्थे । युरोपेली मजदुर आन्दोलनकै संगठित अभिव्यक्तिका रूपमा कम्युनिस्ट लिगका लागि लेखिएको थियोे, कम्युनिस्ट घोषणापत्र ।
पहिलो अन्तर्राष्ट्रियका रूपमा इतिहासमा आफ्नो भूमिका खेलेको कम्युनिस्ट तथा मजदुर संगठनको पहिलो सम्मेलन र संगठन निर्माणमा मार्क्सले सक्रिय भूमिका खेलेका साथै नेतृत्वसमेत गरेका थिए । त्यसको दुरुपयोग हुने सम्भावना देखेपछि विघटन गरेका थिए ।
जहाँ मजदुर आन्दोलन हुन्छ, त्यहाँ वैचारिक सहयोग गर्न मार्क्स क्रियाशील भइहाल्थे । सन् १८७१ को पेरिसका मजदुर आन्दोलनको आरम्भमा आलोचना गरेका माक्र्स पछि त्यसको बचाउमा लागेका थिए । अर्थात् उनी केवल लेखक, विचारक, दार्शनिक प्रवचक थिएनन्, एक क्रान्तिकारी अभियन्ता पनि थिए ।
आफ्ना मित्र एंगेल्ससँग मिलेर मार्क्सले केवल मजदुर वर्गको मुक्तिको अपिल मात्र गरेका थिएनन्, बरु सिंगो मानव समुदाय अर्थात् हरेक व्यक्ति कसरी मुक्त र स्वतन्त्र हुन सक्छ भन्ने चिन्तन गरेका थिए । मानिस आफ्ना आवश्यकताका लागि समाजसँग अन्तरक्रिया गर्दै जाँदा विश्वबजारको दास भएको या विश्वबजारको नियन्त्रणमा पुगेको अनुभूति गर्छ ।
उसको सारा स्वतन्त्रता यही विश्वबजारसँग ठेस लागेपछि समाप्त हुन्छ । निजी पुँजीमा आधारित अहिलेको विश्वबजार या विश्व व्यवस्थाको अन्त्यपछि मात्रै हरेक व्यक्ति स्वतन्त्र हुन सक्छ भन्ने परिकल्पना माक्र्सका शिक्षाको सबैभन्दा महत्वपूर्ण पाटो हो ।
यसका लागि खास कालसम्म समाजवादी व्यवस्था या सर्वहारा वर्गको अधिनायकत्वको बाटो भएर जानुपर्छ भन्ने उनको शिक्षाको भने सबैभन्दा बढी दुरुपयोग भएको छ ।
३. मार्क्सपछिको राजनीति
एउटा ‘खातापिता’ परिवारमा जन्मेर आफ्ना विचारकै कारण निर्वासन र गरिबीको जीवन बिताउँदै जाँदा उनी रोगको सिकार भएका थिए । केही वर्ष पेरिसलगायत सहरमा यताउता गर्दै बिताएपछि उनी लन्डनमा स्थायी रूपमा निर्वासित भए, जहाँ उनका लागि आवश्यक अध्ययन सामग्री उपलब्ध थियोः उन्नत मजदुर आन्दोलन र पुस्तकालयसहित अपेक्षाकृत स्वतन्त्र वातावरण ।
यहीँ सन् १८८३ मा ६१ वर्षकै उमेरमा उनको निधन भयो । निधनपछि मार्क्स झन् बढी पढिए, जहाँ–जहाँ पुँजीवादले आफ्नो बजार र उद्योग विस्तार गर्दै गयो, त्यहाँ मजदुर वर्ग र पुँजीपतिका बीचको द्वन्द्व उत्पन्न भयो ।
जहाँ यस्ता द्वन्द्व भए त्यहाँ मजदुर वर्गले आफ्नो मुक्तिको हतियारका रूपमा मार्क्सवादलाई स्वीकार गर्न थाल्यो । उपनिवेशका जनता, उत्पीडित राष्ट्र र जाति पनि मुक्तिको हतियार खोजी गर्दै मार्क्सका शिक्षा ग्रहण गर्थे ।
मार्क्सका अनुमानभन्दा भिन्न ढंगले रसियाली मजदुरले विश्वमा पहिलो समाजवादी सत्ता स्थापना गरे । लेनिनको नेतृत्वमा रसियाली कम्युनिस्टले साम्यवादी विद्रोहको झन्डा उठाए, अक्टोबर क्रान्ति सम्पन्न भयो । मार्क्सको मृत्युको ३५ वर्षपछि भएको यो घटनाले समग्र बीसौँ शताब्दीलाई आफ्नो प्रभावमा राखिरह्यो ।
यस्तो समय आयो, जहाँ विश्व समाजवादी शिविर थियो, पुँजीवादका विकल्पमा समाजवाद, मजदुरको रोजीरोटी र तिनका आवासको समस्या, केटाकेटीको पढाइ र स्वास्थ्योपचारको समस्या समाधान, साँचो अर्थमा आठ घन्टा कार्यदिन, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम गर्न पाउने राजनीतिक तथा कानुनी अधिकार स्थापना ।
तर, यो समाजवादी शिविरबाट अचानक केही तारा झरे । सोभियत समाजवाद ढल्यो । मार्क्सका शिक्षालाई गतिका रूपमा नभएर स्थिरतामा बुझियो, आम सर्वसाधारण मानिसको सक्रियता र इच्छामा मात्र समाजवाद स्थापना हुने तथ्यलाई अस्वीकार गरियो ।
सीमित महान् व्यक्ति या नोकरशाही यन्त्रका बलमा समाजवाद स्थापन गर्ने भनियो, जसले समाजवाद स्थापना गर्न भूमिका खेल्नुपर्ने हो, उसलाई राजनीतिमा चासो राख्नबाट समेत वञ्चित गरियो । मजदुर आफैँ राजनीतिक शक्तिका रूपमा संगठित हुन नपाउने भयो । नेताले चलाएको समाजवाद मासले आफ्नो स्वामित्व ग्रहण गर्न नचाहनेबित्तिकै ढल्यो ।
समाजवाद ढले पनि पुँजीवादभित्रको आधारभूत अन्तरविरोध हल भएको छैन, हुन सक्दैन । माक्र्सका शिक्षाको अहिले पनि अर्थ र महत्व उत्तिकै छ, जति उनको समयमा थियो । नेपालमा माक्र्सप्रति, समाजवादप्रतिको जनसमूहको रुझान आशालाग्दो छ ।
तर, यहाँ पनि जनता, कार्यकर्ता, मजदुर, पार्टी सदस्यहरूले होइन, सीमित व्यक्तिले समाजवाद निर्माणको ठेक्का लिने र बाँकी मासलाई केवल उपभोक्ता बनाउने खालको दृष्टिकोण बलशाली देखिन्छ । यो उल्टो बाटो नहिँड्ने हो भने माक्र्सका शिक्षाले हामीलाई मार्गदर्शन गरिरहनेछन् ।
बैशाख २०, २०७५

No comments:

Post a Comment