धिरेन्द्र शर्माका अनुत्तरित प्रश्नहरु


लेनीनको शालीक 
त्रिपुरामा २५ बर्षदेखि सरकार चलाईरहेको कम्युनिष्ट गठबन्धनले यसपाली नराम्रोसित हार्यो । साद्गीपूर्ण जिवन विताउने सरल र जनतासंग हेलमेल भएका, भारतका सबै सरकारप्रमुखहरु भन्दा गरिव (उनको सम्पत्ती जम्मा २६ लाख भारु बराबर रहेछ) मनिक सरकारको नेतृत्वले विजेपीको आक्रामक प्रचार र गरिएको खर्चको सामना गर्न सकेन । जनताकै लागि काम गरिरहँदा र भ्रष्टाचार तथा बुर्जुवावर्गसंगको साँठगाँठ दुवैसंग टाढा हुँदा पनि मनिक सरकार असफल भए । 
निर्वाचन जितेको विजेपी कार्यकर्ताको समुहले मंगलवार क्रेन लगाएर त्रिपुराको दक्षिणमा पर्ने वेलोनीया बजारमा रहेको लेनीनको शालीक ढाल्यो । यो दुई दिनमा ढालिएको लेनीनको दोस्रो सालिक थियो ।
भारतमा वामपन्थ लगातार ओरालो झरिरहेको छ । प्रकाश कारत र सिताराम यचुरीहरु एक अर्कालाई आरोप लगाईरहेका छन । 
सन् १९६७ बाट सुरु भएको नक्सलवादी ससस्त्र विद्रोह अहिले माओवादी विद्रोहका रुपमा भारतको आन्ध्रप्रदेश, छत्तिसगढ, उडिसा, महाराष्ट्र, झारखण्ड र विहारका केहि आदीवासी बहुल ईलाकामा सक्रिय छ । पचासबर्षसम्म चलेको गृहयुद्धको महान ईतिहास बनाउन बाहेक यसले के कति उपलब्धी हासील गर्ला त्यो विल्कुल अनिस्चित छ ।
नेपालमा एमालेको नेतृत्वमा माओवादी केन्द्र समेत सम्मिलित गठबन्धन संसदमा सहज बहुमतमा छ र सरकार बनाएर सम्वृद्धि ल्याउने नारा दिईरहेको छ । एमालेको ईतिहास २०२७ मा नक्सलवाडी विद्रोहको प्रभावसम्म विस्तारीत छ । २०४७ सम्म अझ जनताको बहुदलीय जनवादका नाममा संसदीय प्रजातन्त्रलाई स्विकार नगरुञ्जेल एमाले पनि क्रान्तीकारी मानिन्थ्यो । अझै पनि उसको व्यानर माक्र्सवाद लेनीनवादको छ र झण्डा हंसीया हथौडाको । 
माओवादी विद्रोहहरुको सबैभन्दा पछिल्लो शक्तिशाली प्रयोग नेपाली माओवादीहरुले गरेका थिए । उनै माओवादीहरु शान्ती सम्झौता हुँदै अहिले सुधारीएको उदारवादी प्रजातन्त्रको हिस्सा बन्न आईपुगका छन । दश बर्ष चलेको विद्रोहले के पायो के पाएन, के गर्न हुन्थ्यो के हुन्थेन भन्ने प्रश्न उठिरहेका छन । यी प्रश्नको जवाफ प्रचण्डले बाँचुञ्जेल मात्र होईन मृत्युपछि पनि ईतिहासका कठघरामा उभिएर दिईरहनु पर्नेछ । 
दुवै समुह (एमाले–माओवादी) एक समय क्रान्तीकारी कम्युनिष्ट समुह थिए, समाजमा रहेका विभेद र वर्गिय शोषणका विकल्पमा समानताका पक्षधर शक्तिका रुपमा चिनिन्थे । त्यसकालागि दुवै समुहका नेता तथा कार्यकर्ताले वलिदान गरेका थिए, त्याग गरेका थिए । आज तिनीहरु सत्तासिन छन र आफ्ना विगतका अभिव्यक्ति र व्यबहार तथा आजको अवस्थाका विच उत्पन्न अन्तरविरोधको सामना गरिरहेका छन । दुवैले आफुले आर्जन गरेको शक्तिलाई प्रयोग गरेर संसदीय प्रतिस्पर्धामा अरुलाई पछार्ने र आफ्नो औचित्य सावित गर्ने कोशीस गरिरहेका छन । हरेक क्रान्तीकारीहरुको अन्तिम गन्तव्य चैं सत्ता नै हो । सत्ताको प्रगतिशिलता सत्ताले नै कमजोर बनाउँछ ।
भारतका भाकपा, भाकपा माक्र्सवादी, र भाकपा माओवादीहरुले लिएको बाटो र आर्जन गरेको गुमाएको हैसीयतसंग नेपालका कम्युनिष्टहरुले आर्जन गरेको शक्ति र गुमाएको परिचयका विच तुलना गर्नु निकै अप्ठेरो र जरुरी पनि छ ।
एउटा प्रश्न उठाउन सकिन्छ ः भारतीय कम्युनिष्टहरु झै सकिने या खिईने कि यता नेपालको झैं शक्ति आर्जन गर्ने ? यस्तो शक्ति आर्जन गर्दा आफ्ना सिद्धान्त, विचारधारा, कार्यशैली, जिवनशैली या वर्गप्रतिनिधित्वमा के कति सम्झौता गरुञ्जेल वामपन्थी या कम्युनिष्ट रहिरहन पाईने हो ? त्यसको कुनै मापदण्ड पनि छ कि ? आम वृत्तमा अनेक कोणबाट प्रश्न उठिरहेका छन ।
तिनसाता अघि मात्रै नारायण ढकालको उपन्यस हजार माईलको बाटो यी प्रश्नहरुको एउटा पोकोका रुपमा आएको छ । भाष्कर गौतम, राजेन्द्र महर्जन, सुरेश ढकाल (सोह्रसाँझको भूमिका) हरि रोका, आहुती, उज्वल प्रसाई, युग पाठक र खगेन्द्र संग्रौलाहरु नेपालको वामपन्थी आन्दोलनका नसुल्झिएका प्रश्नले रन्थनिएर लेखिरहेका छन । घनश्याम भुषाल आफै प्रश्न र आफै उत्तर लेखिरहेका छन । गठबन्धनको बचाउमा प्रदिप ज्ञवाली लगायतले केहि लेखेका थिए । प्रचण्ड,ओली र नेत्रविक्रम चन्दका पनि आफ्ना उत्तरहरु छन । 
यसपालीको मेरो आलेखको विषय भने हजारमाईलको बाटो उपन्यासका मुख्य पात्र धिरेन्द्र शर्माका प्रश्नहरुमै सिमित रहनेछ । म कसैका प्रश्नको उत्तर दिने हैसीयत र क्षमता पनि त राख्दिन । 
धिरेन्द्र शर्माले प्रश्न उठाएको मसंग पनि होईन, यो त स्वयं त्यसका लेखक नारायण ढकाल सहित हाम्रो र हामी भन्दा अघिल्लो पुस्तासंग पनि हो, नेतृत्वसंग हो ।  उनले मदन भण्डारी या प्रचण्डहरुसंग उठाएका प्रश्नको उत्तर दिने म को हुँर ? बरु म आफ्ना प्रश्नहरुबाटै धिरेन्द्र शर्मासंग सम्वाद मात्र गर्न चाहन्छु ।
हजार माईलको बाटो
उपन्यासमा भन्दा कथा र निवन्धमा बलशाली देखिने नारायण ढकाल यसपाली आफुलाई उपन्यासमा अब्बल देखाएका छन । यो उपन्यासको क्राफ्ट, कथा भन्ने शैली, कथामा निर्माण गरिएको नरेन्द्रनाथ र धिरेन्द्र (बाबुछोरा) विचको द्वन्दको उठान र वैठान, भाटभटेनी मन्दीरमा झुण्डिने पुत्लालाई प्रयोग गरेर बुनिएको म्याजिकल रियालिजमको प्रयोग, एउटा काल्पनीक साम्यवादी समाज अर्थात भूत–गणतन्त्रका रुपमा उभ्याईएको विराज निकुञ्ज जंगल र पुष्पलाल लगायतका असल नेता र शहिदहरुको उक्त जंगलमा भैरहेका सम्वादले यो उपन्यासलाई विशेष बनाएका छन । उनले पूर्विया दर्शनका प्रेत योनीका कुरा र भिन्न भिन्न योनीमा जन्मलिने मिथकीय मान्यताहरुलाई मिसामास गरेका छन । यसले उनको उपन्यासलाई अलग र सबल बनाएको छ ।
यो उपन्यासमा पनि उनले आफु हुर्केको मुलपानी गाउँ र त्यसको सेरोफेरोलाई विम्वित गरेका छन । आनन्दपुर नाम दिईएको उक्त गाउँको २०१७ साल यता २०७२ सालसम्मको कथा यसमा सामेल छ । ढकाललाई नजिकबाट चिन्ने र उनलाई पढिरहेकाहरुका लागि उपन्यासको एकतिहाई खण्ड ध्रुवचन्द्रका उपन्यासमा जस्तो रिपिटेशन लाग्नसक्छ । कथामा दुई विपरित दिशामा हिँडिरहेका नरेन्द्रनाथ र उनको टुहुरो छोरो धिरेन्द्र दुवैमा नारायण ढकालका विपरित व्यक्तित्वको मिसमास देख्न सकिन्छ । कथामा दिलबहादुर नामक पात्रको प्रवेश पछि नै यसले नयाँपन दिन्छ जुन कथा नसकिउञ्जेल तन्किन्छ । उपन्यासमा अरु सहायक पात्र मात्रै हुन । मुख्य पात्र भने आनन्दपुरका प्रधानपञ्च नरेन्द्रनाथ, उनको जेठो छोरो धिरेन्द्र र नरेन्द्रनाथले आफ्नो आँगनमा पर्वत देखि भागेर वासवस्न आएकी दलित युवतीसंग गरेको अवैध सहवासबाट जन्मेको दिलबहादुर नै हुन । 
कथाले झापा आन्दोलन, तत्कालीन मालेको गठन र विस्तार, २०४७ पछि क्रमस त्यसले विसाएको क्रान्तीको झण्डा, र विगारेका विचारका मानकहरु, माओवादी जनयुद्ध र त्यसको विसर्जनसम्मको झण्डै ५० बर्ष भन्दा बढिको समय जोड्छ । संसदीय प्रजातन्त्रमा प्रवेश र दलाल पुँजीवादसंगको साँठगाठबाट एमालेको पतनवारे उपन्यास धेरै नवोली त्यसलाई दुत्कारेर जनयुद्धमा प्रवेश गरेको छ । जनयुद्ध भित्रका विसंगतीहरु र त्यसका त्याग वलिदानलाई संगै भन्दैगएको कथाले त्यतिवेला नाटकीय मोड लिन्छ जतिवेला जिवनभर आमाको हत्यारा मानेर नरेन्द्रनाथसंग बदला लिन हिँडेको धिरेन्द्रनाथ बाबुको बयानबाट आफ्नो आक्रोस भ्रममा आधारित थियो भन्ने थाहपाउँछ र आफै सेनाको पक्राउमा पर्न जानाजान मेलम्ची बजार पुगेपछि पक्राउ पर्छ र मारिन्छ । दिलबहादुरलाई सेनाले जिउँदै पुर्छ । त्यसपछि यता जनयुद्ध विसाईन्छ । माओवादी सत्तामा पुग्छ । मुखिया (प्रचण्ड) सम्पूर्ण रुपमा आफ्ना जनयुद्धकालिन मुल्य र नैतिक मापदण्ड विपरित दलाल पुँजीवादसंग साँठगाँठ गर्न पुगेको र जनयुद्धमाथि धोका दिएको निष्कर्षमा उपन्यास सकिएको छ ।
९ बर्ष ९ महिना र ६ दिनपछि चिहानबाट व्युझेको दिलबहादुर क्रान्तीको हिसाव खोज्न मुखियाकहाँ जाने सोचमा छ । बाटोमा भेटिएको धिरेन्द्र शर्माको प्रेतले उसलाई रौक्दै भन्छ ‘अहिले मुखिया धेरैबदलिईसकेका छन । उनको बर्ग बदलिया छ ।  ..मुख्यरुपमा क्रान्तीप्रति विश्वासघात । हजारौं मानिसको रगतमा टेकेर उनको वर्गोन्नती भईसक्याछ । अब उनको मित्रपंक्तिमा तिमी हैन राष्ट्रिय र अन्तरराष्ट्रिय दलाल र युद्धसरदारहरु छन । ’ उपन्यासको अन्तमा पुष्पलालले देखाएको बाटोमा फेरि क्रान्तीको लागि हजारमाईलको नयाँ यात्रामा दिलबहादुरहरु निस्केका छन । यात्रा गरिरहु अवस्य सपनाहरु पुरा हुनेछन भन्ने सन्देश दिएर सकिन्छ ।
जिज्ञासा
क्रान्ती या सामाजीक आन्दोलन स्थायी रुपमा क्रान्ती र आन्दोलन हुँदैनन । कुनै पनि आन्दोलन या क्रान्तीका विसौनीहरु हुन्छन । विसाउँदै अघि बढ्ने, तत्कालका लक्ष हासील गर्ने, विसाउने, शक्ति आर्जन गर्ने, अघि बढ्ने र बढिरहेने एउटा चक्रका रुपमा कम्युनिष्ट या वामपन्थीहरुले क्रान्तीलाई बुझ्छन । कुनै खास युग र समयका मुख्य अन्तरविरोध हल गरे पछि सहायक अन्तरविरोधहरु हल हुन्छन । र नयाँ अन्तरविरोध निस्कन्छन । क्रान्तीमा धोका, गद्धारी र हार मात्र हुँदैन, सम्झौता कार्यनीतिक रणनीतिक परिवर्तन, थकाई र उतारचढाव हुन्छन । यो बुझिएको कुरा ।
मदन भण्डारी र प्रचण्डले गद्धारी गरेका हुन कि होईनन ? एमालेले जुन बाटो हिँडको छ त्यसविपरित बाटोमा लागेको भए जाने ठाउँ त जनयुद्ध नै हुँदो हो । मदन भण्डारीले गद्धारी गरेको मान्दा त्यसको जवाफ प्रचण्डले खोजेको मान्न सकिएला । प्रचण्डले क्रान्ती या ससस्त्र विद्रोहलाई त्यहि निर नविसाएको भए के हुन्थ्यो ? नक्सलवारीको अर्को संस्करण ? फार्क विद्रोहीहरुको नयाँ नियती ? फिलिपिनो कम्युनिष्टहरुको या थाई मलयन कम्युनिष्ट विद्रोहको बाटो ? परिवर्तीत नभएको एमाले भाकपा या भाकपा माक्र्सवादी हुने सम्भावना कति थियो ? प्रचण्डले गरेको सम्झौता र जनयुद्धको अवतरण खराव हो भने विप्लवको बाटो ठिक हुने भो । प्राणभन्दा प्यारो एसएलआर वान ए वान ७.६२ एमएम । 
विपरित तर्कहरु ः समस्या क्रान्ती या हतियार विसाउनुमा होईन । माओवादी जनयुद्ध जितेर बिसाएको होईन हारेर सकिएको पनि । जित्ने भन्दा सकिने सम्भावना भएपछि गरेको सम्झौता हो त्यसपछिको राजनीति । त्यो त विसाउनु पथ्र्यो । जे पाईएको छ त्यसलाई बचाउन पनि । त्यसपछि बदलीएको नेतृत्वको जिवनशैली, सरसंगत र जनतासंग काटिएको सम्वन्ध मात्र अहिलेको समस्या हो । फेरि पनि भाकपा माओवादीको बाटो भन्दा, भाकपा माक्र्सवादी र भाकपाको बाटो भन्दा तुलनात्मक रुपमा अहिलेको गठबन्धन सहि हो ।
भनिन्छ ईतिहासको खास समयप्रतिको मोह डिप्रेसनको मनोदशामा बढि हुन्छ । त्यहि युद्ध, त्यहि सहादत, त्यहि बलिदानतिर फर्केर र त्यसका पात्रहरुको दुःखमा रोएर वामपन्थी बनिने होईन ।
तर यो वामपन्थ हो कि होईन, कम्युनिष्ट बाटोमा छ कि छैन भन्ने प्रश्नको उत्तर होईन ।
नारायण ढकालको प्रस्तुती जनयुद्धको जयगान हो । तर त्यसले दुईटा महत्वपूर्ण कमजोरी बोकेको छ । पहिलो जनयुद्धमा सहभागितालाई राजनीतिक औचित्यका आधारमा भन्दा व्यक्तिका अहँ व्यबस्थापन र स्वार्थहरुका लागि बनाईनु । जनयुद्धको उत्कर्षका समयमा धिरेन्द्र जिवनभर व्यभिचारी र अवसरवादी देखिएको नरेन्द्रनाथलाई सहि ठहर्याउँदै आफ्नो क्रान्तीकारी नैतिक धरातलको विसर्जन गर्न पुग्छ । अर्थात वैयक्तिक अहँको शमन या हत्या भएपछि क्रान्ती फगत वच्चाको खेल । दोस्रो भने उनले जनयुद्धको वैठानलाई अनुचित ठहर्याएर अनुत्तरित छाडेका अनेक प्रश्नहरु । ईतिहासप्रतिको यो भत्र्सना भावनात्मक बढि भएन ? चरैवती चरैवती त ठिक हो तर ईतिहासबाट शिक्षा लिने हो भत्र्सना गरेर कहिँ पुगिन्न । 
आफ्ना अरु सबै उपन्यास भन्दा हाजार माईलको यात्रामा ढकाल उत्कृष्ट लाग्छन ।..........
Nayapatrika, faguna, 2018

Comments

Popular posts from this blog

खेर गएको एउटा लेख

‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’