Thursday, August 31, 2017

नपुरिएका घाउ, कविता र नाटक


झस्कनु पनि कत्तिसम्म …
ढोकाबाहिरबाट कुनै पुरुष आवाजले मेरो नाम बोलाउँदा
डिलमुनिबाट गाउँतिर आउँदै गरेको यात्रुबस देख्दा
तिम्रोजस्तै कपडा लगाएको अर्को कोही मानिस देख्दा
गाउँमै कसैको विवाह उत्सवमा जाँदा
वर्षगाँठको हरेक दिन दियोभरि तेल थपिरहँदा
झस्कनु पनि कत्तिसम्म ?
– सौरभ कार्की
शाही सेनाबाट वेपत्ता बनाइएका कमरेड तेजबहादुर भण्डारीसँग त्यसरी भेट नभएको भए यसपटकको बेपत्ता दिवससम्बन्धी कार्यक्रममा सायद म जाने थिइनँ र सुन्ने थिइनँ यो कविता पनि । कार्यक्रम ९ बजे नै सुरु भए पनि म साढे दश बजेतिर मात्र रसियन कल्चरल सेन्टर पुगेको थिएँ । स्टेजमा केही अतिथि थिए । एकजना युवा गिटारबाट विरह धुन निकालिरहेका थिए । यसअघि मैले कतै नसुनेका खिरिलो ज्यानका एकजना युवा कविता सुनाइरहेका थिए । कविताका शब्द नरम थिए तर तिनका भाव र वाचनमा ठूलो शक्ति थियो । बेपत्ता परिवारका सदस्य दर्शक दीर्घामा थिए । जसका पति, पत्नी, आमा, बाबु, दाजु, दिदी या भाइ र सन्तान सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका थिए ।युद्धबाट देशले शान्तितर्फ कोल्टे फेरेको पनि अब त १२ वर्ष हुन लाग्यो । तर, यी द्वन्द्वका घाउ आलै बोकेर आफ्ना प्रियजनको खुटखबर खोज्दै भौँतारिँदै गरेका साधारण मानिसले न्याय पाएका छैनन् । तिनका मनमा भएको वह यी सानो–सानो कदका कविले कस्तरी आफ्नै बनाएर सुनाइरहेका थिए भने !
यिनै बेपत्ता बनाइएका परिवारको भिडमा पसेपछि मान्छेहरू यतिका वर्ष आफन्तलाई कसरी पर्खेर बसिरहेका होलान् भन्ने सम्झँदा पनि कहाली लागेर आयो । र, तेजबहादुर भण्डारीसँगका केही सम्झना ताजा भएर आए । ०४६ वैशाखको तेस्रो सातातिर हुनुपर्छ, भारतले लगाएको आर्थिक नाकाबन्दीको चपेटामा परेर देश लड्खडाइरहेको थियो । पञ्चायतका नाममा राजाले चलाएको शासनले देश झन्–झन् पराधीन र गरिब बन्दै गएको थियो । मरिचमानका मुखबाट निस्कने राष्ट्रवादका नसुहाउँदा वाणीले मान्छेका साना–साना सपनामाथि व्यंग्य गरिरहेझैँ लाग्थ्यो । राजाको तानाशाही व्यवस्था सबै प्रकारले स्याचुरेसनतिर पुगेको वेला थियो । अखिलले देशव्यापी आन्दोलनको कार्यक्रम आह्वान गरेको थियो । म लमजुङमा अखिलको संगठन विस्तारको योजना बनाएर बेसीसहरतिर गएको थिएँ । त्यसैपटक मैले लमजुङका भोटेओडार, बेसीसहर, गाउँसहर, खुदी भुलभुले, सिम्पानी, दुराडाँडा, भोर्लेटार घुमेर विद्यार्थी संगठन विस्तार गर्ने काम गरेको थिएँ । बेसीसहरमा पुगेपछि त्यता पार्टीका जिल्ला नेता कमरेड विनय उर्फ शारदाप्रसाद सुवेदीले सिम्पानी बोलाएका थिए । खुदी हुँदै म सिम्पानी पुगेको थिएँ, स्थानीय शिक्षक तेजबहादुर भण्डारीको घरमा ।
एउटा सानो परिवार थियो । साना नानीहरू थिए । त्यो परिवार पार्टीको सेल्टरदाता थियो । भण्डारी सर शिक्षक र स्थानीय पार्टी कार्यकर्ताका रूपमा सक्रिय थिए । म एक रात बसेर भोलिपल्ट बिहानको पनि खाना खाएर खुदीतिर झरेको थिएँ । साना–साना नानीहरू झोला बोकेर विद्यालय जान निस्केका, बाबु शिक्षकका रूपमा पढाउन हिँडेका, घरमा शिक्षककी कृषक पत्नीले सबैलाई खाना खुवाएर बिदा गरेको । यो रामाइलो खुसी र सुखी परिवारको तस्बिर आँखामा राखेर म फर्केको थिएँ । त्यो घर त्यस्तै छ कि फेरियो थाहा छैन, तर त्यो खुसी र रमाइलो भने सदाका लागि सकियो संकटकालका वेला ।
बेपत्ता परिवारको संगठनका अध्यक्षका रूपमा अस्तिको कार्यक्रमको नेतृत्व गर्ने सक्रिय अभियन्ता राम भण्डारी मैले त्यतिवेला देख्दा एकजना जिज्ञासु बालक थिए भनेर आफैँलाई पत्याउन मन लागेको थिएन ।
पहिलोपटक त्यही वेला भण्डारी कमरेडसँग मेरो चिनजान भएको थियो । पछि एमाले र फेरि ०५४ मा एमाले विभाजित भएर बनेको मालेकालमा पनि हामी सँगै काम गरेका थियौँ । सायद त्यतिवेला भण्डारी गाउँ पार्टी कमिटीका सचिव थिए । म ०५५ पुसको पहिलो साता जिल्लास्तरको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रूपमा बेसीसहर पुगेका वेला उनीसँग भेट भएको थियो । प्रशिक्षणका क्रममा लामो कुराकानी भएका थिए । मालेको भविष्य, एमालेले लिँदै गरेको गलत बाटो र नेपालको कम्युनिस्ट आन्दोलनको भविष्यका बारेमा । बमबहादुर थापा, गुमानसिंह अर्याल, बालकृष्ण बराल, महेन्द्रलाल श्रेष्ठलगायत साथी पनि थिए । त्यतिवेलासम्म माओवादीले शक्ति आर्जन गर्छन् कि दमनमा परेर सकिन्छन् भन्ने अनिश्चितता थियो । त्यस आन्दोलनका बारेमा पनि चर्चा भएका थिए । संयोग, प्रशिक्षण दिन जानेमा शारदा सुवेदी पनि थिए ।
माले ०५६ को निर्वाचनमा शून्य सिटमा झरेपछि एमालेमा मिल्ने स्वर उठ्न थाले । राजनीतिमा एकपटक जितेपछि, एकपटक शक्ति आर्जन गरेर सत्तामा पुगेपछि ओर्लन मन लाग्दैन । मालेमा त्यस्तै भएको थियो (यद्यपि मलाई एक दिन पनि मालेले गरिखान्छ भन्ने लागेको होइन, साथीभाइको संगत र आफ्नै बेरोजगार अवस्थाका निराशाबाट धकेलिएर म पनि म्यादी माले बनेर कास्कीको जिल्ला सचिवका रूपमा काम गर्दै थिएँ) । वामदेवले जुन हतारोमा पार्टी विभाजन गरेका थिए, त्यही हतारोमा पार्टी मिसाए । मालेको एउटा पंक्ति एमालेमा गएन । जो एमालेमा गए, तिनलाई पनि र जो गएनन्, तिनलाई पनि एमालेको पंक्तिले खेदो खन्न पनि छाडेन । केही माओवादीमा गए । केही जो गएनन्, तिनीहरूलाई पनि माओवादीको आरोप लगाइन्थ्यो । संकटकाल लागू भएपछिको यस्तै राजनीतिक सन्ध्याकालमा माओवादीतिर झुकाब राख्न थालेका तेजबहादुर भण्डारी सेनाबाट समातिए र कहिल्यै फर्केनन् । यो ०५८ साल पुसको कुरा थियो ।
त्यो निस्पट्ट अन्धकारको पहिलो प्रहर
हाम्रो ओछ्यानमा 
आकाश र धर्तीले भर्खरै निश्वास श्वास बिसाएको थियो । 
त्यही वेला खट्खटायो कसैले ढोका
पहिला कहिल्यै नसुनेको एउटा स्वरले बोलायो तिम्रो नाम ।
र मुर्झायो एउटा फक्रिन लागेको फूल ।
खस्यो एउटा तारा । 
कार्यक्रममा माओवादी या राज्यपक्षबाट बेपत्ता भएका अनेक परिवारका अनेक व्यथा । संक्रमणकालीन न्यायप्रति बेवास्ता गरिँदा लामो सशस्त्र द्वन्द्वका अनेक घाउ बोकेर मान्छेहरू आशाका त्यान्द्रोको सहारामा यतासम्म आइपुगेका थिए । केही राजनीतिक लाग्थे, केहीचाहिँ राजनीति नजानेका सीधासाधा पीडित । काभ्रेबाट तत्कालीन विद्रोही पक्षबाट बेपत्ता बनाइएका अर्जुन लामाकी पत्नी आफ्नो श्रीमान्को लास र सासमध्ये एउटा देखाऊ भन्दै सरकारी अधिकारीप्रति आक्रोश पोखिरहेकी थिइन् । उनी आफैँ आँखाबाट पोखिइरहेकी थिइन् । तिनले कसरी बिर्सून् आफन्तको अज्ञात अवस्थाको वियोग ?
झुक्किएँ कैयौँपटक चिया पकाउँदा
बेसुरमै पस्किएँ खाना तिमीलाई पनि
फुटेँ धेरैपटक मिलाइरहँदा दराजमा तिम्रा कपडा
तिम्रो लामो आयुको कामना गर्दै व्रत बसेँ हरेकपटक तिजमा
हरेक हप्ता तिम्रो ठेगाना खोज्न सदरमुकामसम्म धाएँ
नाठो खेलाउन गएकी– खपेँ गाउँलेका अनेकौँ लाञ्छना । 
भो ती पुराना दिनको कुरा नगर
सम्झनाका कुरा नगर ।
काभ्रेबाट आएकी लामाकी पत्नी पूर्णिमाको खस नेपाली भाषामाथि पकड थिएन । तामाङ भाषामा संक्रमणकालीन न्याय, मानव अधिकार, यो बेपत्ता छानबिन आयोग, न्यायलाई व्यक्त गर्ने के कति शब्द छन् उनलाई थाहा छैन । उनी जे बोल्थिन्, शब्दमा भन्दा बढी शक्ति उनको भावमा थियो । मलाई भाषामा जसको नियन्त्रण छ, त्यो शासक र शक्तिशाली हुन्छ र भाषामा पकड नहुने कमजोर हुन्छ भन्ने प्रत्यक्ष अनुभव त्यही कार्यक्रममा भयो ।
बेपत्ता परिवारका एकजना नेता पनि बोले । उनले संक्रमणकालभरिको सत्ता राजनीतिका पात्रमाथि अविश्वास व्यक्त मात्र गरेनन्, पीडालाई राजनीतिक हतियार बनाउन सकिन्छ कि भनेर बल पनि गरे । त्यसले पीडितहरूले लामो समयसम्म न्याय पाएनन् भने बदलाको भावना बढ्दै गएर हिंसा–प्रतिहिंसाको पुनरावृत्ति हुन सक्ने र त्यसका लागि मनोवैज्ञानिक आधार तयार पार्नेहरू पनि सक्रिय नै रहेकोतिर संकेत गथ्र्यो ।
समग्रमा ०५२ बाट थालनी भएर ०६३ मा सकियो भनिएको सशस्त्र द्वन्द्वको राजनीतिक व्यवस्थापन भएको र प्रत्यक्ष संघर्ष सकिएको ११ वर्षपछि पनि त्यसकालका घटनाबाट पीडितले न्यायचाहिँ नपाउने तर संघर्षकालका विपरीत ध्रुवका राजनीतिक नेतृत्व अहिले अँगालो मारेर शासन गरिरहने अवस्था कायम रहनु उदेकलाग्ने कुरा नै हो । झन्डै १७ सयको हाराहारीमा मानिस बेपत्ता भएका भनिएको छ । यो संख्या समग्र जनसंंख्याको तुलनामा सानो भएको र यसले दलहरूको राजनीतिक शक्तिको खेललाई कुनै प्रभाव पार्न नसक्ने भएकाले बेपत्ता परिवारका आवाज सिमान्तीकरणमा परेको हुन सक्छ ।
अचम्म त त्यसवेला लाग्छ
जब कोल्टे फेरेरै पनि त बिहान हुँदो रहेछ ।
मुठ्ठी कसेरै मात्र पनि त कट्दो रहेछ प्रहर ।
न आक्रोश आउँछ, न कुनै क्रोध
लाग्छ मुर्दा शान्ति भरिएको छ मभित्र
योजत्तिको लाचारी अर्को के हुन्छ होला ?
सरकारले बेपत्ता छानबिन आयोग बनाएको र द्वन्द्वकालका विपरीत ध्रुवका शक्ति दुवै सरकारमा रहेका वेला आवश्यक कानुन बनाएर या संयन्त्र निर्माण गरेर यस्तो कामलाई गति दिन नसकिने होइन । तर, कार्यक्रममा बोल्ने क्रममा बेपत्ता छानबिन गर्न बनेको आयोगका अध्यक्षले अझै पनि बेपत्ता पार्ने कामलाई अपराध घोषित गर्ने कानुन नै नबनेकाले समस्या रहेको बताएर पीडितलाई निराश पारेका थिए।
टोलाइरहन्छु
रेडियोले तिम्रो नाम फुक्छ कि समाचारमा डराइरहन्छु ।
तर, सायद रेडियो तिमी भए ठाउँसम्म पुग्नै सकेन
आजकाल त रेडियोमा समाचारलगत्तै गीत बज्छ
‘कुरा सुन्छु नानाथरी, गाँठो पर्छ छात्तीभरि
बह पोख्ने ठाउँ छैन, बसेकी छु बाटो हेरी
लैजा चरी … ’
यी कवि भर्खरका युवा हुन् । उनलाई व्यक्तिगत रूपमा बेपत्ताजनका पीडा परेको हुन सक्छ या नपरेको पनि । तर, उनले जुन अग्र्यानिक सिर्जना गरेका छन्, त्यो बेजोड छ । सोही कार्यक्रममा पछि कुमार नगरकोटी लिखित नाटक अभिनय गरिएको थियो । निर्देशक र अभिनयकर्ताको भूमिका प्रभावशाली थियो । तर, पुँजीवादको अर्थराजनीतिक तथा मनोसामाजिक अवस्थाका कारण एक्लिएको मान्छेका निराशा र एक्लाएक्लै त्यसबाट भाग्दै गरेका असफल पात्रका कथा बुन्ने गरेका नगरकोटीको नाटकको सम्प्रेषणीयता कमजोर थियो । अहिलेको राजनीतिले सम्बोधन गर्न नसकेका बेपत्ता परिवारका पीडा र परिवर्तनका लागि आन्दोलनमा सहभागी भएकाहरूले जे–जस्तो अमूर्त सत्यको सामना गरिरहेका छन्, त्यस्तै लाग्थ्यो नगरकोटीको नाटक पनि । जतिसुकै कठिन लागोस् सत्यको सामना गर्ने भनेको अधिकार पाउन गरिने संघर्षबाटै हो ।
तिमी गएको त्यो कालो औंसीको रात थियो
सायद मेरो पूर्ण चन्द्रमा उदाउन अझै बाँकी छ । 
(कविताका लागि सौरभलाई धन्यवाद)
naya patrika, 15 bhadau 2017

No comments:

Post a Comment