पतञ्जलीको ‘घी’ र चैतन्य सरको माक्र्सवाद

भारतबाट प्रकाशित हुने क्याराभान जर्नलको अनलाइन संस्करणमा २ अगस्ट २०१७ मा प्रियंका पाठक नारायणको नाममा उनको पुस्तकको एउटा अंश छापिएको छ । शीर्षक छ ‘इज पतञ्जली’ज देसी काउ घी इभन काउ घी ?’ प्रियंकाको पुस्तक गडम्यान टु टाइकुन, दि अनटोल्ड स्टोरी अफ बाबा रामदेवबाट लिइएको सो पुस्तक अंशले रामदेवको विशाल पतञ्जली कर्पोरेसनमा उत्पादित शुद्ध देसी गाईको घिउ वास्तवमा गाईको दूधबाट मात्र बनेको नभई भैंसी या बाख्राको दूधबाट पनि बनेको हुन सक्ने पर्याप्त संकेत देखाइएको छ ।
नेपालमा नवोदित र परम्परागत धनाढ्य र मध्यम वर्गमा आफूलाई अरूभन्दा विशिष्ट देखाउन आजकल हर नयाँ कुरालाई भगवान्को प्रसादझैँ अँगाल्ने परम्परा नै बसेको छ । त्यही वर्गका केही अति चलाख पंक्तिमा रामदेव बाबाको आर्थिक साम्राज्यबाट उत्पादित हरेक वस्तुलाई विश्वास गर्ने र उपभोग गर्ने बानी बसेको छ । यता प्रियंका पाठकको अनुसन्धानमा पतञ्जली उद्योगमा घिउ बनाउन गाई त धेरै पालिन्न नै, किसानबाट दूध खरिद गरेर प्राकृतिक प्रक्रियाबाट घिउ बनाउने काम पनि कमै गरिन्छ । बरु महाराष्ट्र र कर्णाटकबाट नौनी किनेर ल्याउने र त्यसैलाई पगालेर ‘शुद्ध देशी गाय का घी’ बजारमा पठाइन्छ । उता नौनी उत्पादन गर्ने किसान भने गाईको मात्र दूध खरिद नगरेर वरपर किसानकहाँ जे–जेको दूध पाइन्छ त्यही खरिद गरेर ल्याउँछन् र नौनी बनाएर पतञ्जलीको माग पूरा गर्छन् । कर्णाटकको नन्दिनी दुग्ध सहकारीले मात्रै २२ हजार गाउँका २३ लाख दूध उत्पादक किसानबाट दूध संकलन गर्छ, जहाँ किसानले गाई पाल्छन् कि भैंसी भन्ने चासो राखिन्न ।
यसरी आएको पतञ्जलीको घिउ रामदेवप्रतिको विश्वासका कारण शुद्ध देसी गाय का घी मानेर खानेका लागि कुनै समस्या भएन, त्यसको गुणवत्तामाथि प्रश्न उठाउने कुरा पनि भएन । जसले विश्वास गर्छ, उसले प्रश्न पनि गर्दैन । वास्तविकता भने सो घिउ गाईको दूधबाट मात्र बनेको नभएर अन्य दूध दुहिने जनावर जेको पनि दूध मिसिएको घिउ हुन सक्ने भयो । अझ यो दूधमा भारतबाहिरबाट आयात गरिएको मिल्क पाउडर मिसाएको छैन भन्ने पनि केही निश्चित छैन । केही समयअघि नेपालको औषधि व्यवस्था विभागले रामदेवका केही आयुर्वेदिक औषधिको गुणस्तर नराम्रो भएको भन्दै नेपालमा प्रयोग र बिक्री वितरणमा रोक लगाएको सन्दर्भमा आएको यो खुलासाले पतञ्जलीको उत्पादनमा विश्वास गर्नेहरूमा अवश्य पनि संकट आइलागेको हुनुपर्छ । यिनीहरूमध्ये केहीले अबचाहिँ भन्न थाल्नेछन्, गाईको शुद्ध घिउ भन्दै भैँसी र बाख्राको घिउले पो पूजापाठ धूपदीप गरिएछ ।
यता यही साता कान्तिपुरका पत्रकार वसन्त बस्नेतले समाजशास्त्री प्राध्यापक चैतन्य मिश्रस“गको अन्तरसंवादका आधारमा तयार पारेको एउटा लेख छापिएको छ । त्यसमा प्राध्यापक तथा समाजशास्त्री चैतन्य मिश्रले बढो दुःखमनाउ र पछुतो मान्दै भनेका छन् ः ‘नभएको माक्र्सवाद पो पढिएछ ।’ क्याराभानमा प्रियंकाको माथि उद्धृत लेख छापिएको ४ दिनपछि कान्तिपुरमा छापिएको चैतन्य मिश्रको आलेखले पनि ती रामदेवका चेलाको झैँ पीडा बोलेको छ, जो पहिले त पतञ्जलीको उत्पादन भनेपछि पूरा विश्वास गरेर प्रयोग गर्थे, प्रश्न गर्दैनथे । अबचाहिँ अरूले त्यसको भण्डाफोर गरेपछि पछुताउन थालेका छन् । छलफल भने चैतन्य सरको पछुतोको वरपर नै गरौँ ।
चैतन्य मिश्र नेपालका जानेमाने समाजशास्त्री, सम्भवतः बढी कोट गरिएका या पढिएका या सुनिएका बौद्धिकमध्येका एक हुन् । नेपाली समाजको चरित्र निरूपणका विषयमा उनले माक्र्सवादी कोणबाट निकै बहस गरेका छन् । थुप्रै पुस्तक र लेख रचना या आर्टिकल प्रकाशित छन् । उनका रचना र प्रवचन सुनेर उनका विद्यार्थी माक्र्सवादी विश्व दृष्टिकोणका आधारमा संसारलाई चिन्ने, बुझ्ने र व्याख्या गर्ने भएका छन् । अहिले पनि माक्र्सलाई पढिरहन्छन् । तर, सन् २००० देखि मिश्रले क्रमशः आफूलाई माक्र्सवादी स्कुलभन्दा फरक विश्वदृष्टितर्फ ढाल्दै लगेका हुन् कि जस्तो देखिन्छ । उनकै भाषामा यसो भन्न सकिन्छ, मस्को र पेकिंगबाट छापिएका या तिनका धारणाअनुरूप बनाइएको माक्र्सवादमा विश्वास गरेर लामो समय आफ्नो धारणा तय गरेका चैतन्य सर पछि आएर लेनिन र माओका आँखाको माक्र्सवादी भ्रमबाट मुक्त भए र आफैँ अर्गानिक माक्र्स पढ्न थाले ।
सन् १९७८ मा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा विश्वविद्यालयमा पिएचडी गर्न पुगेका चैतन्य मिश्रका लागि माक्र्ससम्म पुग्ने बाटो किन पेकिंग र मस्को भएरै गयो होला ? माक्र्स पढ्न माओ र लेनिनकै चस्मा चाहिने किन भयो होला भनेर प्रश्न गर्न त सकिएला, तर यता नेपालको सन्दर्भमा माक्र्सवादी ज्ञान र आन्दोलनको पृष्ठभूमि हेर्दा भने यस्ता प्रश्न गर्न अलि अप्ठेरो हुन्छ ।
नेपालमा माक्र्सवाद पेकिंग या मस्कोबाट सीधा प्रवेश गरेको होइन । यो कलकत्ता र वनारस हुँदै भारतीय बाटोबाट आएको हो । तर, माओकालीन चीनले पेकिंगबाट पनि माक्र्सवादी साहित्य, रचना या विचार तथा आकर्षण नेपालसम्म पठाउन थाल्यो । केशरजंग रायमाझीको पछिल्लो स्कुललाई छाडेर पुष्पलाल, मनमोहन, मोहनविक्रम, मोहनचन्द्र, चन्द्रप्रकाश, झलनाथ, पुष्पकमलसम्म सबैले पेकिंगबाट शिक्षा ग्रहण गर्दै गए । माक्र्स त्यतैबाट बुझे । लेनिन र अक्टोबर क्रान्तिलाई पनि त्यतैबाट बुझे । यस्तो वातावरण थियो कि नेपालमा कम्युनिस्ट या माक्र्सवादी विचारका स्रोत नै पेकिंग या मस्को बनेका थिए । हाम्रो पुस्ता, तत्कालीन माले या मशाल या पुष्पलालको स्कुलिङबाट हुर्केको पुस्ताले त्यही माक्र्सवादलाई समाज बुझ्ने विधिका रूपमा होइन, धेरै हदसम्म विश्वासका रूपमा ग्रहण गर्यो ।
हामी मालेका विद्यार्थीमा त कस्तो भयो भने पहिले माओलाई प्राधिकार मान्ने विचार पनि ठीक, सांस्कृतिक क्रान्ति पनि ठीक, चिनियाँ कम्युनिस्ट पार्टीले सांस्कृतिक क्रान्तिको आलोचना गरेको पनि ठीक र देङले लागू गरेको बजार समाजवाद पनि ठीक देख्ने अन्धतासमेत थियो । जब बजार समाजवादका नाममा देङले राम्रै छ भनेको कालो बिरालो बलियो भयो र सोभियत समाजवादको पतन भयो, अनि हाम्रा आफ्नै विश्वासका धरहरालाई भुइ“चालोले हल्लायो । अहिले पनि कोही त्यही धरहरा निर्माणको सपना देख्ने होलान् । अन्यथा, आमरूपमा माक्र्सलाई अर्गानिक रूपमा बुझ्ने, लेनिनलाई अक्टोबर क्रान्तिको सापेक्षतामा चिन्ने, चीनको माक्र्सवादलाई चिनियाँ स्वार्थसहितको शासकीय मूल्यमा पनि खोज्ने र नेपालमा आफ्ना विकल्प के हुन सक्छ भनेर मन्थन गर्ने अभ्यास आरम्भ भयो ।
जनताको बहुदलीय जनवादका नाममा मदन भण्डारीसहित उनको टिमले गर्न खोजेको अभ्यास पनि त्यही क्रममा उब्जेको प्रतिक्रिया थियो, जसलाई अहिले एमालेले नै पुस्तकको माछो मात्र बनाएको छ । यता माओको मृत्युको २० वर्षपछि नेपालमा चीनको भन्दा बढी शुद्ध माओवादको अभ्यास गर्ने भन्दै नेकपा माओवादीले दश वर्ष जनयुद्ध ग¥यो । जनयुद्धको उत्कर्षपछि त्यसले पनि पेकिंग या मस्कोका शिक्षाले आफूलाई बाटो देखाउन नसक्ने अनुभव ग¥यो र संसदीय बुर्जुवा व्यवस्थालाई थोरै परिमार्जन गर्दै पोस्ट माक्र्सियन अवधारणामा गएर टुंगियो ।
यसरी चैतन्य मिश्रले जस्तै हामीले पनि झन्डै शुद्ध देसी गाय का घी खाने रामदेव भक्तहरूले झैँ मस्को र पेकिंगको माक्र्सवादमा लामो समय विश्वास ग¥यौँ । तर, यो जडताबाट या रामदेव भक्तजस्तो विश्वासमा मात्र आधारित या परिचालित भने पक्कै पनि थिएन । जसरी देसी गाय का घी गाईको मात्र नभएर बाख्रा या भैंसीको दूधबाट पनि बनेको हुन सक्छ र पनि आधारभूत गुणका हिसाबले त्यो घिउ नै हो । त्यसरी नै लेनिन र माओ मिसाइएका माक्र्स पनि आधारभूत रूपमा चाहिँ माक्र्स नै थिए, त्यो पनि माक्र्सवाद नै थियो भन्ने बुझाइचाहिँ यता जीवित छ । चैतन्य मिश्रले अब आफू भ्रममा नपरेको भने पनि इतिहासमा लेनिन र माओलाई पन्छाएर शुद्ध माक्र्स खोज्नु या अक्टोबर क्रान्ति र चिनियाँ क्रान्तिलाई पन्छाएर माक्र्सवादी आन्दोलन खोज्नु सम्भव छैन । जसरी बाख्रा वा भैंसीको दूधबाट बने पनि घिउ घिउ नै बन्छ, त्यसरी नै लेनिन र माओबाट पनि विश्वको श्रमजीवी वर्गको मुक्तिका आधारभूत कुरा नै भेटिन्छन् । गाईको घिउ चाहिने अन्य दैनिक प्रयोगका लागि होइन, शुद्ध पूजापाठ या धूपदीपका लागि हुन सक्छ या यसो मर्केको दुखेको ठाउँमा मालिस गर्न पनि काम लाग्न सक्छ । समाज विज्ञानमा शुद्धताको खोजी अहिलेसम्म त्यति सफल मानिएको छैन । अग्र्यानिक माक्र्स पढ्ने चैतन्य सरको यात्राचाहिँ जारी रहोस् 
नयाँ पत्रिका 3 August, 2017

Comments

Popular posts from this blog

पृथ्वीनारायण कलेजका दिनहरु ! Our College day's. Struggle against Monarchy.

these Photos were taken in Qinghai lake China last year.