Thursday, April 27, 2017

नेपाली राजनीतिको पानीरङ

‘नाइदर राइट नर लेफ्ट’ फ्रान्समा यसै साता भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर दोस्रो चरणमा प्रवेश गरेका उम्मेदवार म्याक्रोंले आफू र आफ्नो दलको राजनीतिक दृष्टिकोणबारे भनेको भनाइ हो यो । एक वर्षपहिलेसम्म समाजवादी राष्ट्रपति होलन्दको क्याबिनेटमा अर्थमन्त्री रहेका म्याक्रोंले केही महिनापहिले मात्र आफ्नो पद र समाजवादी पार्टी दुवैबाट राजीनामा दिएर यस्तो अपरम्परावादी विचारसहित राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेका थिए । उनीबारे टिप्पणी गर्नेहरूले उनको विचारलाई सामाजवादी–उदारवादी या मध्यमार्गी भनेका छन् । र, कतिपयले टोनी ब्लेयर र ग्रेहार्ड स्रोडरको जस्तो मध्यवामपन्थी मानेका छन् । ६ महिनापहिले मात्र आफ्नो स्वतन्त्र विचारसहित अलग धारको राजनीति आरम्भ गरेका यिनै म्याक्रों अहिले फ्रान्समा सबैभन्दा बढी रुचाइएका छन् । सम्भवतः यिनैले त्यहाँ हुने दोस्रो चरणको निर्वाचनमार्फत दक्षिणपन्थी राजनीतिज्ञ मरिन ली पेनलाई सत्तामा जानबाट रोक्नेछन् ।
अचम्म के छ भने उनी धेरैजसो जल्दाबल्दा राजनीतिक मुद्दामा वामपन्थीहरूका नजिक छन् तर आर्थिक नीतिमा भने दाइने ढल्कुवा देखिन्छन् । उनका अडानलाई राजनीति शास्त्रहरूको परिभाषाको सापेक्षतामा जे रङ दिन सकिए पनि फ्रेन्च राजनीतिमा देखिँदै आएको परम्परागत वामपन्थ, मध्यपन्थ र दक्षिणपन्थमा ठ्याक्कै मेल खुवाउने कित्तामा धकेल्न भने असम्भव छ । यता मध्य दक्षिणपन्थी रिपब्लिकन पार्टी र समाजवादी पार्टीबीच लामो समय विभाजित फ्रेन्च राजनीतिमा यसपालि वामपन्थी र मध्यमार्गी दुवै कोणबाट भर्खर उदाएका राजनीतिक शक्तिले चुनौती दिए । समाजवादी उम्मेदवार पनि पराजित भए र रिपब्लिकन उम्मेदवार पनि पहिलो चरणबाटै बाहिरिए । अब दक्षिणपन्थी फासीवादी चरित्र बोेकेको ली पेनको नेसनल फ्रन्ट र नन कलरवाला म्याक्रों दोस्रो चरणको प्रतिस्पर्धामा छन् । लामो समयसम्म परम्परागत युरोपेली समाजवादी र दक्षिणपन्थीको प्रतिनिधित्व गर्ने दलहरू भने पाखा लागेका छन् ।
एउटा कुरा मात्र निश्चित छ— जब उनले निर्वाचन जितेर आफ्ना आर्थिक राजनीतिक दृष्टिकोणलाई सरकारका नीतिमा बदल्नेछन्, तब उनी परम्परागत परिभाषाका कुनै न कुनै कित्तामा अवश्य पर्नेछन् । जस्तो दुनियाँमा हुँदै आएको छ । नेपालको राजनीतिमा यतिवेला चुनावको रङ चढेको छ । जति–जति चुनावी रङ चढ्दै र फैलँदै छ, त्यति–त्यति दलहरूको राजनीतिक रङ भने पातलिँदै र हराउँदै गएको देखिँदै छ । अर्थात् यस्तो लाग्छ, नेपालका राजनीतिक दलहरू अचानक पानीरङमा बदलिएका छन् । केही दिनपहिले समाचार आएको थियो, गुल्मीमा एमाले र माओवादी केन्द्रबीच सम्पूर्ण गाउँ र नगरपालिकामा मिलेर निर्वाचन लड्ने सहमति भयो । त्यसको केही दिनमा समाचार आयो, सात नम्बर प्रदेश र धादिङमा कांग्रेस र माओवादी केन्द्र मिलेर निर्वाचन लड्ने समझदारी भइसकेको छ । गुल्मीमा माओवादी केन्द्र र एमालेको मिल्ती कांग्रेसविरुद्ध हो । यता सात नम्बर प्रदेश र धादिङमा कांग्रेस र माओवादीहरू एमालेविरुद्ध एकजुट भएका हुन् ।
केही दिनपहिले मात्र ६ वटा मधेसवादी दलहरू आफ्नो क्षेत्रीय पहिचान त्यागेर राष्ट्रिय जनता दलका नाममा संगठित भएका छन् । अघिल्लो दिनसम्म तिनीहरू किन विभाजित थिए र किन अचानक एकतामा आए भन्ने उत्तर त तिनले दिएका छैनन्, तर सहजै जान्न सकिने कुरा हो कि निर्वाचन आउँदै गर्दा आफ्नो अस्तित्व रक्षा गर्न र नयाँ परिवेशमा आफ्नो सान्दर्भिकता कायमै राख्ने दबाबमा यो एकता भएको हो । यसै साता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एउटै चिह्न लिएर निर्वाचन लड्ने सहमति भएको छ । उनीहरूले यससम्बन्धी जानकारी निर्वाचन आयोगलाई दिइसकेका छन् । केही दिनपहिले मात्र एकीकरणको नजिक पुगेका यी दुई दलबीच तत्काल एकता नभए पनि अब निर्वाचनचाहिँ साझा उम्मेदवार खडा गरेर लड्ने निश्चित भएको छ ।
यसैगरी, परम्परागत राजनीतिक विचारधाराबारे चुइँक्क नबोली या सामयिक राजनीतिक मुद्दामा समेत आफ्नो राय नदिई केही नयाँ राजनीतिक दल पनि निर्वाचनमा उम्मेदवार घोषणा गरिरहेका छन् । रवीन्द्र मिश्रको साझा पार्टी र विवेकशील नेपाली भनिने दलले काठमाडौं महानगरका लागि आआफ्ना दलको उम्मेदवारी घोषणा गरेका छन् । उनीहरू केबल सुशासन र विकासको मुद्दालाई आधार बनाएर राजनीति गर्न सकिन्छ भन्ने सन्देश लिएर हिँडिरहेका छन् । सामयिक राजनीतिबारे टिप्पणी नगर्ने हुनाले यिनीहरू मध्यमार्गी, वामपन्थी या दक्षिणपन्थी के हुन् भन्न अहिले नै हतारो हुनेछ । अर्थात् यी सबै पानीरङका राजनीतिक दलहरूजस्ता देखिन्छन् ।
अब पानीरङको हुन नपाइने भन्ने त होइन । सबैलाई आआफ्ना गन्तव्य तय गर्न र जनमत प्राप्त गर्ने स्वतन्त्रता छ । तर, राजनीतिक दलहरूको विचारधारात्मक आधार या उनीहरूले लिने दृष्टिकोण जनताका लागि महत्वपूर्ण बन्छ । राजनीतिक दलहरूमध्येबाट नै उम्मेदवारहरू छनोट हुने र निर्वाचित हुने भएकाले सरकार तिनैले बनाउँछन् र हाम्रो दैनिक जीवनमा तिनले हस्तक्षेप गर्छन् । यस उसले यस्तो विषय सार्वजनिक चासोको हुने हो । दलहरू पानीरङका हुनुको अर्थ हो, उनीहरू आफ्नो राजनीतिक यात्राका लागि कुनै विचारधारात्मक या सैद्धान्तिक सोचले भन्दा तत्काल सत्तामा पुग्नका लागि उपलब्ध अवसरको पहिचान गरी त्यसैअनुरूप रङ बदल्छन् । हरेक साना–ठूला दल यसरी मिल्नुको अर्थ उनीहरू आफ्ना घोषित विचारधारामा जहिले जता पनि सम्झौता गर्न तयार रहन्छन् भन्ने नै हो ।
अब राप्रपा र माओवादी या माओवादी र कांग्रेसका बीच सँगै अघि बढ्ने सम्झौता हुँदा माओवादी केन्द्रले राप्रपाको हिन्दूवादी राजावादी कार्यसूचीको कति विरोध गर्न सक्छ ? कांग्रेससँग सँगै हिँड्ने माओवादीले नवउदारवादको विरोध कति वेला कसरी गर्छ र त्यो मओवादी या वामपन्थी बनिरहन्छ ? यहाँ प्रश्न कांग्रेसतिर किन तेर्सिन्न भने कांग्रेस माओवादीका आर्थिक कार्यसूचीमा होइन कि माओवादीले कांग्रेसका आर्थिक कार्यसूचीमा समाहित भएको देखिन्छ । जस्तो नवउदारवादले नेपालमा विकास गरेको शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको प्रभावकारी भूमिकाले जुन वर्गीय खाडल आरम्भमा नै सिर्जना गर्छ, त्यसमा माओवादी आफैँ सामेल हुँदै गएपछि कहाँनेर ऊ वामपन्थी या माओवादी रहन्छ ? माओवादी हुन त कमसेकम सबैलाई तत्काल समान बनाउनेतिर नलागे पनि सबैलाई समान अवसर दिनेतिर त लाग्नुपर्ने हुन्छ । कांग्रेसको नीतिमातहत जाने माओवादीले त्यो कसरी हल गर्छ र ऊ वामपन्थी बनिरहन्छ ? अब साधारण जनताका प्रश्नहरू यिनै हुनेछन् : माओवादीले आफ्ना कार्यसूचीमा कांग्रेसलाई हिँडाएको हो कि कांग्रेसका कार्यसूचीमा ऊ हिँडेको ? उसले एमाले या राप्रपा या कांग्रेससँग चुनावी तालमेल गरिरहँदा यसको जवाफ दिन पर्दैन ?
कांग्रेस त्यसमाथि शेरबहादुर देउवाले नेतृत्व गरेपछि उसले सैद्धान्तिक प्रश्नको निरूपण गर्ने काम गर्ने लेठो गर्दैन । तैपनि केही त्यस्ता कार्यसूची छन्, जसमा कांग्रेसका कार्यसूचीमा अरू मिसिन आएका छन् । आर्थिक क्षेत्रमा नवउदारवाद र राजनीतिमा उदारवादी लोकतन्त्रको आधारभूत मोडल नेपालका सन्दर्भमा कांग्रेसका कार्यसूची हुन् । राजनीतिक कार्यसूचीका केही खास मुद्दामा (गणतन्त्र, संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली) कांग्रेस माओवादीका कार्यसूचीमा गएको साँचो हो । अब ती विषय संविधानमा समावेश भइसकेकाले साधारण जनताको चासो आर्थिक अवसरको वितरणमा केन्द्रित हुनेछ । यसका लागि सबै दल पानीरङका हुनुको अर्थ हुन्छ, यी सबैले सोलोडोलो रूपमा उदारवादी आर्थिक मोडललाई स्वीकार गरिसकेका छन् । यस्तो अवस्थामा साधारण मतदातालाई आफ्नो भलो गर्ने को हो र कसका पक्षमा लाग्ने हो भन्ने अन्योल उत्पन्न हुन्छ । त्यसपछि त जसले पैसा खर्च गर्यो, तामझाम गर्यो या बतासे सपना बाँड्यो, उसैले निर्वाचन जित्छ र समाजको राजनीतिक दिशा नै गञ्जागोल हुन्छ ।
विचारधाराका दृष्टिले पानीरङमा पहिले प्रवेश गरेको एमाले हो, त्यसैले पानीरङ एमाले पथ हो । जुन भाँडोमा राख्यो सोहीअनुसारको रङ परिवर्तन हुने यो पथ विचलनमार्गी पथ हो । अहिलेको राजनीतिमा कांग्रेस, एमाले र माओवादीहरू सबै यो विचलनमार्गी अपशकुनको पथमा लम्किरहेको देखिन्छ । राप्रपाकोे या राजपा या गच्छदारको के कुरा ? भूतपूर्व माक्र्सवादी डा. भट्टराईको नयाँ शक्तिको यति छिटै यस्तो हविगत होला भनेर त सोचिएको पनि थिएन । कमसेकम तत्काल शक्ति आर्जन गर्न नसके पनि यिनले एउटा वैकल्पिक शक्तिका रूपमा आफ्नो पहिचान बनाउने धैर्य गर्लान् भन्ने अपेक्षा गर्नु स्वाभाविक पनि थियो । तर, उनी यति तीव्र ढंगले पानीरङको पथमा लागे कि यो लोकमा यस्तो तीव्रगतिको उदाहरण कमै होला । उनले वैकल्पिक नयाँ शक्ति निर्माणका लागि समाजमा के राम्रो, के नराम्रो भनेर भेद देख्न छाडेजस्तो देखिँदै छ । उपेन्द्र यादवको दलसँग मिलेर कस्तो वैकल्पिक नयाँ शक्ति बन्छ भन्ने विषयमा उनले कमसेकम आफ्नै दलका साथीसँग गम्भीर छलफल गरे हुन्थ्यो ।
पानीरङ रोजेपछि मानिसहरूमा विचारधारात्मक चेत पनि पखालिँदो देखिन्छ । आउने दिनमा नेपाली राजनीतिमा को ठीक, को बेठीक भन्ने छुट्याउन निकै मुस्किल पो पर्ने देखिन्छ गाँठे !
naya patrika, baisakh 13, 2074

No comments:

Post a Comment