अभि सरको चिन्ता र स्ववियु

“राजनीतिक आर्थिक सिद्धान्तहरुले काम नदिने अवस्थामा आएको विश्वमा जागरुक हुने वर्ग भनेको युवाहरु हुन, विद्यार्थि हुन । तिनीहरु दुई किसिमले आन्दोलन गर्न सक्छन, ज्ञान र अध्ययनको सीमा फराकिलो गरेर अनि स्वतन्त्र भएर । त्यसैले आफ्ना विद्यार्थी स्वतन्त्र भएर बढुन भन्ने कामना सहित ईतिहासका चिन्ता बुझेरै गरेका हौं ।” अभि सुवेदी, कान्तीपुर ९ फागुन २०७३ ।
०३५÷०३६ सालको विद्यार्थि आन्दोलन मेरो पहिलो राजनीतिक पाठाशाला थियो । त्यो आन्दोलन पृथ्विनारायण क्याम्पसमा पुगेपछि नै म यस अघि आफुले विचारै नगरिएका विषयमा गम्भिर डिष्कोर्षमा सामेल हुन थालें र अर्धसचेत नागरिकका रुपमा जुलुसमा भाग लिन पनि । त्यतिवेला प्रहरीले कपाल समातेर जगल्ट्याएको र काँचा कठबाँसका लठ्ठीले पिठ्युँ र दाहिने पिंडुलामा बर्षौं नमेटिने सुम्ला उठ्ने गरि कुटेको सम्झना अहिले पनि ताजै छ । यसरी आफै घाईते हुनु अगाडी प्रहरीलाई ढुंगा हानेर लखेट्न सुर्रिएको पनि सम्झन्छु । त्यतिवेलासम्म म कुनै दलमा सामेल थिईन ।
मेरो राजनीतिको दोस्रो पाठाशाला भने ०३६ असारमा भएको विद्यार्थि युनियनको निर्वाचन थियो । जनमत संग्रहको घोषणा भए लगत्तै भएको विद्यार्थि युनियनको निर्वाचनमा एकजना आन्दोलनकारी नेता सोमनाथ प्यासीको नेतृत्वमा बनेको प्रगतिशिल प्यानललाई मैले मत दिएं र केहि प्रचार प्रसार पनि गरें । केहि दिनको द्धिविधा पछि मैले वामपन्थी राजनीति रोजेको थिएँ । यसरी एकापट्टि ढल्के पछि त्यसको पक्षमा गरिने तर्क र प्रतिद्धन्दीका विपक्षमा जुटाईने आरोपहरुले राजनीतिक डिष्कोर्षको आकार लिन्थे । हामी हाम्रा छिपछिपे ज्ञानलाई तिखार्दै नेपालबाट विश्व विरादरीमा चियाउन र वृहत्तर युवा विद्यार्थि आन्दोलनमा आफ्नो स्थान पहिल्याउन प्रयास गथ्र्यौैंं । यसरी चियाउँदा त्यतिवेला अल्लारे वयमा लिएको निर्णय सहि रहेछ भन्ने विश्वास बलियो बन्थ्यो । हाम्रो आन्दोलन र हामीले लिएको विचार सबैप्रकारका विभेदका विरुद्धमा थियो, शोषणका विरुद्धमा थियो, स्वतन्त्रताका पक्षमा थियो, न्यायका पक्षमा थियो र मानिसहरुलाई उ जन्मेको वर्ग, जाति, लिंग, क्षेत्र र उसको छालाको रंगका आधारमा गरने विभेदको होईन सबै क्षेत्रमा समानताको पक्षमा थियो । भलै त्यतिवेला सामाजीक द्धन्दका स्वरुपहरु अहिले झैं मुखर भएर पहिचानका पक्षमा उभिएका थिएनन तर हामीले अफ्रिकनहरुले जातिवादका विरुद्ध गरेका संघर्षमा ऐक्यवद्धता जनाएका थियौं, देशभित्र कायम रहेको एकभाषा, एक धर्म, एक जातिको वर्चस्ववाला सिद्धान्तका विपक्षमा नारा लगाएका थियौं । हामी साम्राज्यवादका विरुद्ध थियौं । हामी प्रभुत्ववादका विपक्षमा थियौं । हामी पञ्चायती निरँकुशताका विपक्षमा थियौं । हामी गणतन्त्रका पक्षमा खुला नारा लगाएर हिँड्थ्यौं । 
वर्गिय द्धन्दमा हामी श्रमजिवि वर्गका पक्षमा खुला आवाज उठाउँथ्यौं । मई दिवस मनाउन मैले त्यहिँ सिकें र विश्वभरका श्रमजीवीका पक्षमा नारा लगाएं । आठ मार्चका बारेमा त्यहिँ सिकें र गाउँहरुमा आठमार्चका बारेमा सिकाउँदै सुनाउँदै महिला अधिकारका पक्षमा बोल्दै हिँडें । मोहिहरुका पक्षमा, किसानहरुका पक्षमा, आवासको अधिकारका पक्षमा, सबैले पढ्न पाउनुपर्ने पक्षमा, स्वास्थ्य सेवा र सामाजीक सुरक्षा सबैले पाउनु पर्छ, रोजगारि पाउनुपर्छ भन्ने पक्षमा आवाज उठाउन त्यहिबाट सिकें । 
हाम्रो पुस्ताले गरेको ०४६ को आन्दोलन, माओवादीहरुले सञ्चालन गरेको १० बर्षे जनयुद्ध, बैसठ्ठी त्रिसठ्ठीको जन आन्दोलन, मधेश आन्दोलन, जनजाती, दलीत र महिलाहरुका आन्दोलनले ती केहि मागहरु पुरा भएका छन । केहि मागहरु अझै शक्तिशाली भएर टड्कारो भएर आएका छन र धेरै माग पुरा गर्न अझै पनि आन्दोलन र दवावको खाँचो देखिदै छ । किनभने अहिले पनि देशको राजनीतिमा या नीति निर्णय प्रक्रियामा प्रभुत्व रहेको वर्चश्वशाली समुह जनतालाई अधिकार सम्पन्न बनाउनबाट अनेक निहुँ खोजेर भाग्दै छ । जनताले पाईसकेका अधिकार खोस्ने धम्की दिदै हिँड्ने सामाजीक फासीवादले सिंगौरी खेल्दै चुनौती दिईरहेको छ । 
यी प्रसंगहरु त्रिविवि अन्तर्गतका क्याम्पसहरुमा आगामी साता हुन लागेको स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचनका सन्दर्भमा आएका हुन । स्वतन्त्र विद्यार्थि युनियन खोल्न पाउने अधिकारका पक्षमा लड्दा खाएको अश्रुग्याँस, लठ्ठि र जगल्ट्याँईले हुनसक्छ त्यसप्रति एकप्रकारको मोह पनि छ र आसा पनि । 
तर यतिवेलाको विद्यार्थि नेतृत्वले व्यक्त गरेका विचार र तिनले अघि सारेका नारा हेर्दा भने यी संगठनहरुले विद्यार्थि आन्दोलनका खास मर्म र उद्देश्यहरु ठम्याउन नसकेको र यिनीहरु विस्तारै आफ्ना माउ संगठनका आज्ञाकारी अनुयायी मात्र बन्न थालेको आभास हुन्छ । अहिलेका विद्यार्थि संगठनहरुले आफ्ना विचारमा उल्लेख्य परिवर्तन गरेनन, विचारधाराहरु सापेक्ष आफ्ना कार्यसुचि तय गरेनन भने र आफ्नै मातृ पार्टी र नेतृत्वलाई दवाव दिने खुल्ला प्रयास गरेनन भने विद्यार्थि आन्दोलन मृतप्राय बन्दै जाने निस्चित छ ।
प्रश्न अमुर्त नबनाईकन गरौं आजको विद्यार्थि आन्दोलनको कार्यभार के होला या के हुनसक्छ ?
एकथरि मनिसहरु के भन्न थालेका छन भने अव विद्यार्थि आन्दोलनमा होईन सम्वृद्धिको मुद्धामा लागुन । तिनलाई लागेको छ राजनीतिक परिवर्तनको कोर्स सकियो अव विकासतिर लाग्ने हो (हामीलाई पञ्चहरु त्यहि भन्थे, त्यतिवेलाका राजा त्यहि भन्थे भनेर तुलना गर्दा कस्तो हिनतावोध हुन्छ भने !) कति त यस्ता ढिठ मुढाग्राहिहरु पनि छन जो पछिल्लो दशकमा नेपालले समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वको क्षेत्रमा गरेका राजनीतिक सहमति नै अति भएको ठान्छन् । बढि भयो परिवर्तन, दलितले टेर्न छाडे महिला बास्न थाले, मधेशी पनि चर्को बोल्न थाले भनेर तिनिहरु आफ्ना वैठक कोठा र रात्रिकालीन पार्टी देखि चिया पसलसम्म आक्रोस पोख्न थालेका छन् । तिनले यस्तो प्रसंग बोल्दा आफ्नो विपक्षमा कोहि देखे भने भाषा मिठो बनाउँछन र सामाजीक सद्भाव पहिले कस्तो थियो, समाज कति मिलेर बसेको थियो, परिवार कति अनुशासीत थियो अहिले भत्क्यो भन्छन । कमजोर मान्छेहरुले पढ्न अफिसर हुन साँसद र मन्त्री हुन पाए भनेर कुरा बटार्छन वास्तवमा तिनको रिस भने आफ्नो वर्चस्व खुस्कीने भयले सिर्जना गरेको हुन्छ । 
यता विद्यार्थि संगठनका नेताहरुका भनाई पढ्छु र अलि उदास हुन्छु । हाम्रो समय चेतलाई झक्झक्याईरहने उहिले प्रहरीसंग ढुंगा हानाहान गर्ने र्याडिकल विद्यार्थि  प्राध्यापक अभि सरका भनाई सम्झन्छु । अहिलेका विद्यार्थि नेताहरु त आफ्ना दलका नेताहरुले कोरिदिएको रेखामा पो बसिरहेका छन् । तिनलाई भंग गर्ने र आफ्नो समयको आवाज बोल्ने हिम्मत गरिरहेका देखिन्नन । संविधानले देखाएको बाटो भएपछि तिनलाई पुग्यो भनेको देखिन्छ । 
सानो उदाहरण दिउँ । केहि महिना पहिले डा. गोविन्द केसी अनसन गरीरहन्थे । उनले नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ सेवाका क्षेत्रमा गर्नुपर्ने सुधारका जुन माग गरेका थिए त्यसका लागि त यी विद्यार्थि संगठन पो जुध्नु पर्ने, जुलुश निकाल्ने या आफ्ना दलले कोरेका लक्ष्मण रेखा कोरेर दवाव दिनु पर्ने । तिनीहरु त आन्दोलनमा कतै देखा परेनन बरु आफ्ना आफ्ना दलका नेताले भनेको मानेर बसे । कमसेकम देव्रे ढल्कुवा दावि गर्ने विद्यार्थि संगठनले त त्यो झण्डा आफै बोक्नु पर्ने हो । तिनीहरु मध्य केहि त गोविन्द केसीकै विरोधमा सामाजीक सञ्जालमा विष वमन गर्दै बसेका देखिए ।
यसरी आफ्ना दलले निर्धारण गरेको सिमाभित्र बस्न खोज्दा अभि सरले भने जस्तै ‘विद्यार्थिहरु यसरी दलहरुका अङ्ग भएर काम गर्दा एकाध ठुला कुरामा असर पर्ने रहेछ । पहिलो त जर्ज अर्वेलले नाइन्टिन एट्टीफोर उपन्यासमा भनेजस्तो विद्यार्थीहरुले दलहरुको भाषा ग्रहण गर्ने रहेछन । ती तिनको भाषामा बोल्दा विद्यार्थीको बोली हराउने रहेछ ।’ 
अर्को कुरा पनि हेरौं । मधेशमा आन्दोलन चलिरहँदा यी संगठनहरु आफ्ना दलका स्थापित मान्यता भन्दा भिन्न मधेशभित्रका आवाज सोध्न हिँडेनन, उत्पिडितका आवाज बोल्न गएनन । समाजमा एउटा तप्काले बहकाएर परिवर्तनका मुद्धा छिमल्दै हिँड्दा पनि केहि बोलेनन । अहिले स्थिती कतिसम्म भएको छ भने मधेशलाई अलग देशको माग गर्नेहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । मधेशका मागहरुलाई सुनेर संवैधानिक प्रक्रियाबाटै हल गरेको भए मधेशमा चारदिन अघि मर्चवारमा देखिएको जस्तो खतरनाका दृष्य देखिने थिएन । अहिले पनि त्यसलाई संवोधन गर्नुको साटो राष्ट्रवादको आवरणभित्र फासीवादको अभ्यास भैरहेको छ । यसको विरोधमा विद्यार्थिहरुले सडकमा निस्केको, शक्ति प्रर्दशन गरेको या डिष्कोर्षहरु निर्माण गरेको देखिएन ।
यसरी हेर्दा नेपालका विद्यार्थीहरुले र युवाहरुले आफ्ना सामुन्ने उठिरहेका मुद्धा के हुन भन्ने चासो देखाउन छाडेजस्तो देखिन आउँछ । तिनले किन आफ्नै समवयका दाई भाई या साथिहरु यता पढाई पढ्न पाएका छैनन, किन अरव या मलेशियाको थर्ड डिग्रीको काम गर्न लस्कर लागिरहेका छन्, किन शिक्षा र स्वास्थ्य माथिको पहुँचमा वर्ग विभेद चर्किदै गएको छ, शिक्षा आफै कसरी वर्ग विभाजनको साधन बन्दै गएको छ, किन आर्थिक असमानताले सुरसाले झैं मुख बाएर हामीलाई निल्न खोज्दै छ भन्नेतिर बहस गरेको देखिएन । अहिले नेपाली समाजमा जे जस्ता अन्तरविरोधहरु छन तिनका पछि सन् १९९० को दशकमा थालिएको आर्थिक उदारीकरणको प्रभाव कति छ, कति विश्वमा सुँड घुसार्दै चुस्दै हिँडेको वित्तिय पुँजीवादको प्रभाव कति छ हाम्रै शासकहरका भ्रष्ट कार्यकलापको हिस्सेदारी कति छ हाम्रो अविकासमा भनेर तिनको अर्थ राजनीतिक कारण खोतल्ने स्वतन्त्र प्रयास पनि गरेको देखिएन । नव उदारवादले च्यापेर लखेटिनेका कथा जवसम्म यी विद्यार्थी नेताहरुलाई आफ्नै जस्तो लाग्दैन र आफ्ना पार्टी नेताहरुका विचारमा कैद बनिरहन्छन तवसम्म विद्यार्थीहरुको वास्तविक आन्दोलन या यस्ता निर्वाचनहरुको अर्थ कहाँ रहन्छ ?
भिन्न भाषामा परिवर्तनलाई निषेध गर्न हिँडेको सामाजीक फासीवाद हाम्रो देशको अर्को चुनौती हो । यसले आफ्ना विचारहरु व्यक्त गर्ने भाषा नरेन्द्र मोदी र डोनालड ट्रम्पहरुबाट पैंचो लिएको छ । वामपन्थी, लोकतन्त्रवादी या राष्ट्रवादी जस्ता मिठा खोल भित्र बसेर विष छर्दै हिँड्ने छद्म फासीवाद हाम्रो समयको चर्को चुनौती हो । यसले देशलाई र लोकतन्त्रलाई कमजोर बनाउने छ । यसका विपक्षमा बोल्न नसक्नेहरु कसरी स्वतन्त्र विद्यार्थि युनियनको नेता बन्न सक्लान ?
यता नेपाल दुई विशाल छिमेकी देशहरुका बढ्दो आर्थिक विकास र चुलिदा शक्ति आकाँक्षाका विचमा चेपुवामा पर्दै गएको छ । भारतीय स्वार्थहरु निम्नस्तरमा ओर्लेर हाम्रो दैनिक जिवन र राजनीतिका निर्णय प्रक्रियामा हस्तक्षेप गरिरहेका छन । पछिल्लो समय चिनका दवावहरु पनि फैलिदै जाँदा नेपालको स्वतन्त्र अस्तित्वका लागि चुनौतिहरु थपिने र नेपाल दुई छिमेकीको नटुंगिने प्रोक्सीवारको शिकार बन्ने खतरा छ । यस सम्वन्धमा बहस गर्नु र धारणा बनाउनु हाम्रो आर्थिक विकासको पनि र आत्मसम्मानको रक्षाको पनि अनिवार्य शर्त हो ।
मेरो विचारमा अहिलेका विद्यार्थी आन्दोलनका मुख्य मुद्धा यिनै हुन ।
यी मामिलामा अभिसरको चिन्ता निकै गम्भिर छ । वहाँको यो भनाईबाट विट मारौं ः दलहरुको सिमाभित्र रहेर गरिने संगठन र लडिने निर्वाचनले ‘प्रजातन्त्रको रक्षा गर्ने वर्ग र भोलिको स्वतन्त्र वुद्धिजीवीहरु आउने बाटा बन्द गरिदिनेछन् ।’ भविष्यका लागि यो भन्दा ठुलो चिन्ताको विषय के हुनसक्ला र ?

Comments

Popular posts from this blog

खेर गएको एउटा लेख

‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’