Tuesday, December 27, 2016

भय र भ्रमको सोसियल ईन्जिनीयरिङ


पोखराका माले एमालेमा एउटा रमाईलो किस्सा प्रचलनमा थियो एकजना शिक्षकका बारेमा । माविका प्रअ भएका उनी पछि एमालेको जिल्ला नेतासम्म भए । गाविस अध्यक्ष पनि । एकपटक असारको महिनामा उनी अरु खेतालाहरुसंगै बेसीबाट गाउँ फर्कदै रहेछन् । टर्च लाईट यी शिक्षकसंग मात्रै थियो । उनी कम्युनिष्ट पार्टीका कार्यकर्ता । गाउँमा कम्युनिष्ट विचारको प्रचार गर्ने काम पनि गर्थे । साधारण जनतामा रहेको धार्मिक अन्धताको वारेमा पनि उनी जानकार हुने नै भए । त्यो रात अँध्यारोमा उनी टर्च बालेर अरुलाई बाटो देखाउँदै हिँडिरहेका थिए । उनका मनमा अचानक आफ्नो माक्र्सवादी विश्वासप्रति यी गाउँले खेतालाहरुको आस्था जगाउने उपायको झिल्को उठेछ । संगै हिँड्नेहमा महिला धेरै थिए । झम झम पानी आएको छ । निष्पट््ट अन्धकार छ । बाटो अप्ठेरो । ति शिक्षकले बलिरहेको टर्च अचानक निभाएछन् । अन्धकार फैलीने वित्तिकै महिलाहरु एकैपटक चिच्याएछन राम राम ! ति शिक्षक घरीघरी टर्च ठाकठुक गरेजस्तो गर्दा रहेछन तर स्विच अफ राखेर बलेन भन्दा रहेछन् । एकछिनमा उनले सबैलाई भनेछन् खै राम राम भनेर बलेन माओ माओ भनओ त बल्छ कि ? महिलाहरु सबैले अप्ठेरो मान्दै माओ माओ भनेछन् यता यिनले टर्च अन गरेछन् । उज्यालो भयो भनेर महिलाहरुले फेरि माओ माओ भनेछन् । यता सरले भनेछन ल हेर त राम राम भन्दा बलेन माओ माओ भन्नासाथ बल्यो । अब देखि सबैले माओ माओ भन्ने है ! 
यो प्रक्रियामा उनले माओको नाम भज्न लगाउन अँध्यारोको भयलाई उपयोग गरेका छन् । विग्रेको भनिएको टर्चको मर्मतका लागि छल गरेर माओ माओ भन्न लगाएका छन् । यसले उनको राजनीतिलाई दिर्घकालमा के सहयोग गर्यो भन्ने त थाह भएन तर उनले अल्पकालिन सन्तुष्टि भने लिएको देखिन्छ ।
२०३७ सालतिर सोमनाथ प्यासीजीले सुनाउनु भएको यो किस्सा मलाई अहिलेको नेपालको राजनीतिमा देखिएको सोसियल ईन्जिनीयरिङ्ले सम्झनामा ल्याईदिएको हो । 
राजनीतिमा लाग्नेले एक्लै केहि गर्न सक्दैन । राजनीति आफैमा सामुहिक प्रयास हो । आम रुपमा कुनै खास वर्ग या स्वार्थ समुहको हितको प्रतिनिधित्व गर्ने उद्देश्यले यस्ता सामुहिक प्रयासहरु संगठित गरिन्छन् । विचारधाराहरु तीनै स्वार्थहरुको पक्षमा गरिने तर्कहरु हुन । अवस्य पनि व्यक्तिको भुमिका र सक्रियताको महत्व रहन्छ तर हो त यो सामुहिक कार्यकलाप । यसमा विचार र नेतृत्व एउटाको या केहिको हुन्छ, त्यसलाई अरुका लागि स्विकार्य बनाउने गरि माझिन्छ र प्रस्तुत गरिन्छ या व्यापारिक भाषामा भन्दा विक्रि गरिन्छ । यस्तो पनि भन्न सकिन्छ, प्राय मतदाता र समर्थक त्यस्तो विचारका क्रेता बन्छन र नेता तथा दल चैं उत्पादक र विक्रेता । अहिलेको संसदीय या प्रतिस्पर्धात्मक राजनीतिमा क्रेता अर्थात जनता सेवा प्राप्त गर्ने निस्क्रिय पात्र जस्तो बनाईन्छ र नेता चैं सेवा प्रदान गर्ने सक्रिय कर्ता । अर्थात यहि असली विक्रेता नहुँदो हो त हामी यस्तो सेवा कसरी प्राप्त गर्न सक्ने हुन्थ्यौं र.... ? भन्ने मनोविज्ञानको निर्माण राजनीतिक सफलताको एउटा कडि बन्छ ।
हरेक दल या नेताले आम मतदाता नागरिकमा आफ्नो विचारको सहिपना र आफ्नो अपरिहार्यता स्थापित गराउन अनेक अभियान चलाउँछन् । यस्ता अभियानमा सामान्य कोठे गफ, सभा, जुलुस, साँस्कृतीक कार्यक्रम, भोज भतेर, पैसाको प्रलोभन, आफ्नो प्रभाव र शक्ति झल्कीने गरि विभिन्न लोकप्रिय व्यक्तिहरुको समर्थन पाएको भन्ने प्रचार, धार्मिक पुरोहितहरुको आशिर्वाद लिएका तस्विरहरुको प्रचार, सडक सफाई, कुनै मागका लागि अनसन या विरोध कार्यक्रम, बन्द चक्काजाम, धर्ना, प्रतिपक्षका विचार र कार्यहरुको छिद्रान्वेषी आलोचना जस्ता अनेक पक्ष पर्छन । तर यी माध्यमहरु मात्र हुन । 
यी भन्दा माथि त विचार नै हुन्छ जसका आधारमा दलले आफ्नो अनिवार्यता स्थापित गर्ने प्रयास गर्छ । यस्तो विचारको उत्पादन र वितरणको एउटा प्रक्रिया हुन्छ । विचारको उत्पादन र वितरणमा कसको नियन्त्रण छ भन्ने कुराले त्यस्तो विचार या संगठनले कुन वर्ग या स्वार्थ समुहको स्वार्थको रक्षा गर्छ भन्ने कुरा खुटिन्छ । प्राय राजनीतिमा के हुन्छ भने यस्तो विचारले कसको स्वार्थका लागि उत्पादन गरिएको हो छ भन्ने कुरा छोपिन्छ र त्यसर्लाइ साधारण नागरिकको हित गर्ने एकमात्र उपायका रुपमा प्रस्तुत गरिन्छ ।
नेतृत्वले यसरी कुरा पेश गर्छ ता कि उ निस्वार्थ निस्पृह छ र केवल जनता र देशको सेवा गर्ने पवित्र उद्देश्यले यो विचार बोकिरहेको छ । यदि उ नहुने हो, उसले भनेजस्तो नहुने हो भने देश बरवाद हुन्छ, जनता बरवाद हुन्छन भन्ने भय मज्जाले घोटेर मतदातालाई पिलाउने प्रयास हुन्छ । यस्तो भयको राजनीति धेरथोर सवैले गर्छन तर यसको वास्तविक वाहकहरु भने धुर्त र सिद्धान्तच्युत राजनीतिज्ञहरु हुन जसको जग सामाजीक भयमा निर्माण हुन्छ । पछिल्लो समय वास्तविक अवास्तविक भय नै राजनीतिको शक्तिशाली हतियार बनेको छ । चाहे त्यो पाकिस्तानको भय वेच्ने मोदीलाई होस या आप्रवासीको भय बेच्ने ट्रम्पलाई । 
नेपालमा अहिलेको राजनीतिमा विचारधारात्मक मुद्धा कमजोर भएका दल र नेताहरुबाट भय र भ्रम विक्रि गरेर जनतालाई आतंकीत गर्ने र जनमत आफ्नो पक्षमा पार्ने गजबको सोसियल ईन्जिनीयरीङ गरिदै छ । यतिवेला संविधान संसोधनको प्रस्ताव छलफलमा छ । यसको पक्ष र विपक्षमा देशभर बहस भैरहेको छ । बरु यस्तो छलफल हुने र छिनोफानो हुने वास्तविक थलो संसदमा चैं यसले प्रवेशै पाएको छैन । अहिलेको पाँच नम्वर प्रदेशमा भने तिन साता देखि आन्दोलन जारि छ । 
यस्तो आन्दोलनमा स्थानीय जनताको उल्लेख्य उपस्थिती पनि रहने गरेको छ । यस्तो उपस्थितीका लागि जसले अपिल गरेका छन् तिनले भय र भ्रमको सफलता पूर्वक विक्रि गरेका छन् । खासगरि लुम्वीनीका पहाडे मतदाताहरुलाई चार नम्वरतिर पर्ने वित्तिकै आफ्नो वेसीजस्तो बुटवल भैरहवा या कपिलवस्तुतिर झर्न, सन्तान पढाउन, वन्द व्यापार गर्न या बसाई सर्न समेन अप्ठेरो हुन्छ भन्ने काल्पनीक भय सञ्चार गरिएको छ । यसरी भय फैलाईएको छ मानौ अव एउटा प्रदेशका चेलीहरु अर्को प्रदेशको माईति पनि जान पाउँदैनन । 
यसैगरि मधेशका जिल्ला मात्र अलग राख्ने वित्तिकै भारतले त्यसलाई सर्पले मुसो निले जस्तो गरि निल्छ भन्ने अर्को भयको समेत अचम्मसंग विक्रि गरिएको छ । त्यसरी प्रचार गर्दा के छोपिएको छ भने एउटा प्रदेशबाट अर्कोमा बसाई सर्न, जग्गा जमिन किन्न, पढ्न या उपचार गर्न जान, वन्द व्यापार गर्न केहिले रोक्दैन । यसैगरि मधेशका जिल्ला एक बन्दैमा मधेश भारतले निल्ने होईन, मधेश भुगोलमात्र होईन त्यसको ईतिहास छ, जनसाँख्यीक बनौट, देशका अन्यभागसंगको अन्तरसम्वन्ध, संस्कृती र परम्परा छ । जसले उसलाई नेपाली राष्ट्रियतासंग एकाकार गराउँछ । आफ्नै मतदाता, पार्टी सदस्य र समर्थकसंग समेत, आफ्नै देशका नागरिकमाथि समेत विश्वास नहुने दलहरुले भने यसलाई गजवको भयका रुपमा विक्रि गरिरहेका छन् जसरी गतबर्ष मधेश आन्दोलनको क्रममा अव रामवरण यादवजस्ताले पनि राष्ट्रपति प्रधानमन्त्री बन्न पाउँदैनन, मधेशीले नागरिकता पाउँदैनन, सरकारी जागिर पाउँदैनन भन्ने भ्रम बेचीएको थियो । यो भयका आधारमा मानिसहरुलाई लठ्ठ्याएर एकोहोरो बनाउने र उनीहरुलाई आफ्नो राजनीतिको सफलताका लागि प्रयोग गर्ने मामिलामा अहिले केहि पक्ष सफल देखिएको छ । 
यस्तो सोसियल ईन्जिनीयरिङमा पत्रपत्रिका, रेडियो, टेलीभिजन, सामाजीक सञ्जाल, सभा र भाषण, सिनेमा, कला, साहित्य, नाटक आदि मार्फत विचारहरुको सम्प्रेषण गर्ने र निरन्तरको प्रचारका माध्यमबाट जनतको मनोविज्ञानमाथि आक्रमण गरिन्छ र उनीहरुको मत परिवर्तन गराईन्छ । माओवादीहरुले जनयुद्धका बेला हतियारको प्रदर्शनबाट यस्तो भय सिर्जना गर्ने प्रयास गर्थे । चोकोफन या चाउचाउको विज्ञापनलाई टिभि मार्फत हरेक लिभिङ रुममा पुर्याएर बच्चाहरुलाई मनोवैज्ञानिक रुपमा आफ्नो सामानको ग्राहक बन्नै पर्ने गरि आकर्षित या ईन्टक्सिकेट गर्ने व्यापारी र अहिले विभाजनको भय सिर्जना गरेर मधेश र पहाड अलग्याउँदा देश सकिन्छ भन्ने मनोविज्ञान निर्माण गर्नेहरु आफ्ना आफ्ना दोकानको बाहेक केही फायीदा हेरिरहेका छैनन ।
०४२ सालको साउन भदौ महिनातिरको कुरा हो । म कष्टडीमा रहेका हितकाजी गुरुङलाई भेट्न कास्की जीप्रकामा गएको थिएँ । गुरुङले पत्रपत्रिका पढन नदिईएको कुरा गर्नुभयो । म बाहिर निस्कें, पत्रीका पसलबाट केहि पत्रीका किनें । त्यसमा केहि जेरी स्वारी पोको पारें र लगेर प्रहरीलाई देखाईवरी हितकाजीलाई दिएँ । यहाँ दिन खोजीएको त पत्रीका थियो, तर दिईयो जेरी स्वारीका रुपमा । अर्थात एकछिन प्रहरीलाई भ्रमित पारियो र आफ्नो उद्देश्य हासिल गरियो । 
भय र भ्रम दुईटै खतरनाक हतियार हुन । प्रायजसो फासिस्टहरु यस्तो हतियार प्रयोग गर्छन ।
पाँच नम्वर प्रदेशका पहाडमा पर्ने जनताको मतको सम्मान गरिनुपर्छ । तर त्यस्तो मत भय र भ्रमको मनोविज्ञानका आधारमा बनाईएको हुनुहुन्न । वास्तवीकता या तथ्य सत्यका आधारमा जनमत निर्माण भएपछि मात्र त्यस्तो मतको राजनीतिक अभिव्यक्तिले शक्ती आर्जन गर्छ । तर भय र भ्रमको सामाजीक मनोविज्ञान निर्माण गरेर आफ्ना अल्पकालिन स्वार्थहरुको लागि काम गरिरहेका समुह जसरी सफल भैरहेका छन् त्यसले नेपालमा पनि ट्रम्पीजम या लुम्पेन राष्ट्रवादले हैरान पार्ने खतरा तर्फ संकेत गर्छ ।
gof klqsf, kf}if, @)&#

No comments:

Post a Comment