सुशील कोइरालाको बिरासत
०६३ वैशाख ८ गते साँझ । राजा ज्ञानेन्द्रले जनताको नासो सुम्पने भन्दै एउटा गोलमटोल सम्बोधन गरेका थिए । काठमाडौंमा कफ्र्यु थियो । देशैभर जनता सडकमा थिए । राजनीति कस्तो अप्ठेरोमा थियो भने सबैका स्वार्थ अत्यन्त जेलिएका थिए । संसद्वाद र राजतन्त्रबीच, हिंसात्मक विद्रोह र शान्तिपूर्ण आन्दोलनबीच, समस्याको गैरमाओवादी समाधान कि गैरराजतन्त्रीय समाधान भन्नेबीच देशभित्र र बाहिर पनि अनेक बहस थिए । यस्तो बहसमा भारतीयहरूको दुईखम्बे नीति पनि परीक्षणमा थियो, अमेरिकीहरूको गैरमाओवादी समाधानको नीति पनि । राजाको घोषणापछि दलहरूले के गर्लान् भन्ने कुतूहलसहित म बबरमहलस्थित आफ्नो डेराबाट रेडियो कानमा राखी बानेश्वरतिर जुलुस छ भन्ने हल्ला सुनेर गइरहेको थिएँ । हिँड्दै गर्दा बिबिसी नेपाली सेवाले दुईजना नेताको अन्तर्वार्ता सुनायो । पहिलो एमाले नेता अमृतकुमार बोहराको थियो र दोस्रो नेपालगन्जमा रहेका कांग्रेस नेता सुशील कोइरालाको । अमृत बोहराले पार्टीमा छलफल हुँदै गरेको भन्दै राजाको घोषणाको स्वागत र विरोध दुवै गरेनन् । अर्थात् सम्झौताको भाषा बोले । कोइरालाले सीधै ज्ञानेन्द्रको घोषणा खारेज गरिदिए । हामी मान्दैनौँ भन्न...