Thursday, June 19, 2014

बकिंहममा चिनियाँ प्रधानमन्त्री

चिनियाँ प्रधानमन्त्री ली ख छियाङ बेलायतको भ्रमणमा छन् । यसपटकको
चिनियाँ प्रधानमन्त्रीको भ्रमण टोलीमा २०० जना चिनियाँ व्यापारी या
व्यापारिक प्रतिष्ठानका उच्च अधिकारी सामेल छन् । अर्थात् यो दुनियाँकै
ठूलो प्रतिनिधि मण्डलमध्येको एउटा हो । यसअघि ब्रिटिस प्रधानमन्त्री
क्यामरुन गत डिसेम्बरमा चीन भ्रमणमा आउँदा झन्डै यत्रै आकारको प्रतिनिधि
मण्डल लिएर आएका थिए । चीन र बेलायतबीच प्रतिनिधि मण्डल आउनु–जानु,
कूटनीतिक भ्रमणहरूको आदान–प्रदान हुनु सामान्य कामकाजका रूपमा लिन सकिन्छ
। तर, इतिहासका केही सन्दर्भसँग भिडाएर हेर्दा भने यसपालिको चिनियाँ
भ्रमणका केही ऐतिहासिक महत्त्व र संकेत भेटिन्छन्, जसले आगामी शताब्दीको
विश्व शक्ति सन्तुलनको मानचित्र मात्र देखाउँदैन, बरु बितेका झन्डै दुई
सय वर्षमा विश्व पुँजीवादमा आएको विकास र परिवर्तनको झाँकी पनि देखिन्छ ।
चिनियाँ प्रधानमन्त्रीको भ्रमणको चर्चा उनलाई बेलायती राजप्रासाद बकिंहम
प्यालेसमा महारानी एलिजाबेथ द्वितीयाले गरेको स्वागतका सन्दर्भमा पनि
भएको छ । सामान्यतया समकक्षीहरू अर्थात् राज्य प्रमुखहरूसँग मात्र
महारानीले भेट्ने गर्छिन् । यसअघि उनले जर्मन चान्सलर एन्जेला मार्केललाई
मात्र आफ्नो प्रोटोकल मिचेर भेटेकी थिइन् । साप्ताहिक ‘टाइम’ले
जनाएअनुसार चिनियाँहरूले नै महारानीसँग भेट्न नमिल्ने भए भ्रमण नै रद्द
गर्ने धम्की दिएका थिए । तर, बेलायतीलाई चीनको आर्थिक लगानीको यति खाँचो
छ कि उनीहरू चिनियाँहरूलाई खुसी पार्न लालायित थिए । यसले आजभन्दा झन्डै
२२० वर्षअघि ब्रिटिस दूत म्याकार्टनीले चिनियाँ छिङ वंशीय शासकसँग भेट्न
खोज्दा व्यहोरेको हैरानीको सम्झना दिलाउँछ । हेनरी किसिन्जरका अनुसार
१७९४ मा चीन गएका ब्रिटिस दूत म्याकार्टनीलाई त्यहाँका महाराजसँग भेट्न
महिनाँै कुर्नुपरेको थियो । म्याकार्टनी राजाका सामु घुँडा टेकी निहुरेर
भुइँमा निधार राखेर ढोग गर्न लामो समयसम्म तयार भएनन् । जब उनी तयार भए,
तब उनको खातिरदारीमा राजा आफैँले प्यालामा रक्सी राखेर पिउन दिए र
सम्मानपूर्वक उनलाई फिर्ता पठाइयो । उनले पेकिंगमा दूतावास खोल्ने र
त्यहीँ बस्ने भनी गरेको अनुरोधलाई चिनियाँहरूले अस्वीकार गरी पठाइदिएका
थिए । त्यसपछि पनि बेलायतीहरूले चीनमा आधिकारिक रूपमा व्यापार गर्न र दुई
देशका बीच समान कूटनीतिक सम्बन्ध कायम राख्न गरेको प्रायस असफल भएको थियो
। किनभने चिनियाँहरू अरू राजालाई आफूसरह मान्दैनथे । आफैँलाई पृथ्वीको
केन्द्र र स्वर्गका राजाको प्रतिनिधि ठान्थे ।
सन् १८३९ मा अफिम युद्ध सुरु भयो । बेइजिङमा दूतावास खोल्न चिनियाँहरूले
नदिएपछि ब्रिटिसले थुप्रै बन्दरगाह सहरहरूमा आक्रमण गरे र अहिलेको हङकङ
जो गोङजाउको दक्षिणमा पर्ल रिभर डेल्टामा पर्छ, कब्जामा लिए । अर्थात्
चीनलाई विभाजित गरियो । हङकङ झन्डै १६० वर्षसम्म बेलायतको उपनिवेश रह्यो
। सन् १९९७ मा मात्र चीनले हङकङमाथिको सार्वभौमसत्ता उपयोग गर्न पाएको हो
। यसरी चीनमा प्रवेश गर्दा बेलायतले ऊसँग एउटा भूभाग खोसेर या चीनलाई
टुक्र्याएर कमजोर बनाएको थियो । त्यो घटनाको झन्डै १७५ वर्षपछि लन्डनमा
प्रधानमन्त्री लीले स्कटल्यान्डलाई बेलायतबाट अलग नहुन सुझाब दिए ।
स्कटिस जनताको फैसलाको समर्थन गरिने भन्दै लोकतान्त्रिक छनोटको समर्थन
पनि गरे । इतिहास उल्टिएको जस्तो चित्र देखाउने यो घटना बिल्कुल भिन्न
विश्व व्यवस्था निकट आउन लागेको संकेत हो ।
सन् १८२४ मा पहिलोपटक बेलायतले रेलवे लाइन बनाएर संसारलाई चकित पारेको
थियो । यातायातका क्षेत्रमा त्यो घटना एउटा ऐतिहासिक क्रान्तिकारी कदम
थियो । औद्योगिक क्रान्ति, विज्ञान र प्रविधिमा गरेको अद्वितीय सफलतासहित
आधुनिक बेलायतले समग्र दक्षिण एसिया, मलेसिया र अहिलेको सिंगापुरसमेतमा
कब्जा जमाउँदै चीनलाई पनि घेराउ गर्‍यो । उता चिनियाँ छिङ वंशीय राजा र
उनको दरबारलाई युरोपमा आएको फेरबदलको अत्तोपत्तो थिएन । आफैँलाई संसारको
केन्द्र मान्ने र युरोपीयनलाई बर्बर असभ्य जाति मान्ने परम्परा कायमै
राखेका उनीहरू बेलायतीहरूको फायरपावर देखेर तिलमिलाए । त्यतिवेलासम्म
सामन्तवादी अर्थतन्त्र, राजनीति र संस्कृतिमा उभिएको चीन विश्वको कुल
गार्हस्थ उत्पादनको झन्डै ३० प्रतिशत एक्लो चीनले नै उत्पादन गथ्र्यो,
आफैँमा आत्मनिर्भर थियो र एकप्रकारले पूरै बन्द समाजमा थियो । आधुनिक
पुँजीवादसँगको लडाइँमा चीन परास्त भयो, जसबाट तंग्रिन उसलाई झन्डै १५०
वर्षभन्दा बढी समय लाग्यो । अहिले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र
भएको छ । यद्यपि यो अझै पनि मध्यम आयस्तर भएको र पूर्ण विकसित देशको
क्लबमा प्रवेश पाइनसकेको देश हो, आर्थिक असमनता अत्यन्त बढी छ,
जनसंख्यामा अझै पनि विश्वको नम्बर एक छ, तथा सैन्यशक्तिका दृष्टिले
रसियाभन्दा पनि पछाडि पर्छ । तर, उसको उदाउँदो छवि र अमेरिकाको स्थिर
हुँदो शक्तिका कारण चीनलाई फरक ढंगले हेर्न थालिएको छ । यस्तो स्थिति
आर्थिक रूपमा चीनले आर्जन गरेको शक्ति र सम्भावना आँकलनबाट उत्पन्न हुने
गरेको हो ।
क्यामरुन र लीको उपस्थितिमा दुई देशका सरकारबीच लन्डनमा तीव्रगतिको रेल
लाइन बनाउन चिनियाँ कम्पनीलाई दिनेसम्बन्धी हस्ताक्षर भएको छ । पहिलो रेल
लाइन बनाएर विश्वलाई चकित बनाउने बेलायतको लन्डनमा पछिल्लो पुस्ताको
तीव्र गतिको रेल कुदाउने प्रविधि, प्राविधिक र पुँजीसमेत लिएर चिनियाँ
कम्पनी प्रवेश गर्नेछन् । अहिले ७० अर्ब डलर वार्षिक कारोबार रहेको दुई
देशको बीचको व्यापार अर्को वर्ष नै १०० अर्ब पुर्‍याउने सहमति भएको छ ।
वित्तीय पुँजीवादको दोस्रो विश्व केन्द्र मानिने लन्डन पुँजीबजारमा
चिनियाँँ मुद्रा युआन र चिनियाँ धितोपत्र कारोबार गर्ने गरी एउटा चिनियाँ
बैंकलाई आफ्नो कार्यालय स्थापना गर्न दिन बेलायत राजी भएको छ । अब
चीनबाहिर हङकङपछि युआनको ठूलो कारोबार केन्द्र लन्डन हुनेछ । यो यस्तो
कदम हो, जसले चिनियाँ मुद्रालाई विश्व मुद्रा बजारमा परिवत्र्य बनाउन
सहयोग हुनेछ । बिस्तारै अर्थतन्त्र र विश्व व्यापारमा चीनको हिस्सा बढ्दै
जाँदा युआन पनि पौन्ड, डलर या युरो जस्तै कारोबारको माध्यमका रूपमा विकास
हुनेछ ।
चिनियाँहरूका लागि भिसा नीति खुकुलो बनाउने भनी भ्रमणको पूर्वसन्ध्यामा
बेलायतले गरेको घोषणा धनी चिनियाँलाई बेलायतमा लगानीका लागि सहज ढंगले
आमन्त्रण गर्ने उपायका रूपमा बेलायतले लिएको मानिएको छ । यसैगरी खनिज तेल
कारोबार गर्ने बेलायती कम्पनी बिपी र चिनियाँ सरकारी तेल कम्पनी सिनुकका
बीचमा तेल आपूर्तिसम्बन्धी १८ अर्ब डलरबराबरको सम्झौता पनि भएको छ । यी
कुराले गर्ने संकेत हो, विश्वको अर्थराजनीतिक मानचित्र बदलिँदै गएको छ ।
पहिले पश्चिमाहरू बाइबल र हतियार लिएर तेस्रो विश्वका देशलाई असभ्य र
जंगली भन्दै कब्जा गर्न आउँथे । प्रविधि, विज्ञान र पुँजीमा उनीहरूको
नियन्त्रण थियो । विश्व पुँजीवाद साम्राज्यवादमा फड्को मारेको जगजगीका
वेला उपनिवेश बनाउन र स्रोत तथा बजारमा कब्जा जमाउन तेस्रो विश्वका
देशमाथि युद्ध थोपरियो, कागती निचोर्दा झैँ तिनलाई निचोरेर स्रोतहरूको
दोहन गरियो । परिणामत: उपनिवेशहरू थला परे, उपनिवेशकारीहरू मोटाए ।
उपनिवेशका जनताले आफ्नो स्रोत र सार्वभौमसत्तामाथि अधिकारको पुनस्र्थापना
गर्नैका लागि सयौँ वर्ष लडाइँ लड्नुपर्‍यो । त्यही युरोपेली पुँजीवाद
विकासको खास चरणमा पुगेको संकेत यो भ्रमणले दिएको छ । पहिले बेलायत जुन
शक्ति र धम्कीका साथ चीनमा प्रवेश गरेको थियो, त्यो धम्की नभए पनि
चिनियाँसँग राज्य पुँजीवादको अभ्यास गर्दा जम्मा भएको अथाह पुँजी छ ।
विश्वका पुँजीवादी शक्तिकेन्द्र मन्दीको संकटले थला परेका वेला पनि
चिनियाँहरू आर्थिक संकटमा परेनन्, बरु अरूलाई उद्धार गरिदिने भन्दै पोको
बोकेर युरोपतिर जाने हैसियतमा पुगे । अहिले ली त्यही पोको बोकेर बेलायत र
स्पेनको भ्रमणमा छन् । यसले क्रमश: विश्वको शक्ति सन्तुलन बदलिएको
प्रमाणित गर्छ । १५० वर्षअघि साम्राज्यवादले छेउमा मिल्काएको चिनियाँ
सियो अहिले शक्तिको माझैमा पुगेको छ । यो बदलिँदो चित्रलाई लीको भ्रमणले
थप पुष्टि गरेको छ ।

No comments:

Post a Comment