Sunday, February 2, 2014

आख्यानमा राजनीतिक यथार्थ




श्यामल

माघ १७ - 

अघिल्लो दशकसम्म चाउरिएको नेपाली उपन्यास लेखन यस दशकमा बौरिन थालेको देखिंदै छ । नेपाली उपन्यासमा नयाँ नयाँ सम्भावना देखिँदै छन् र उपन्यासका विषयवस्तुमा नेपाली समाजका बहुविध पाटाको प्रविष्टि हुँदै छ । सस्तो प्रेममा अल्झिएका, व्यक्तिका नितान्त निजी व्यावहारिक सीमाहरूसम्म खुम्चिएका, समाजलाई अत्यधिक प्रभावित तुल्याइरहेका अर्थराजनीतिक सन्दर्भबाट विमुख र जमिनको यथार्थभन्दा भावुकतालाई अत्यधिक ध्यान दिइएका उपन्यासको समय सकिन लागेको सङ्केत हो यो । राजनीति लेख्न नजान्ने तर राजनीतिलाई साहित्यमा स्थान दिइनु हुन्न भन्ने खालका गलत लेखकीय सोच र मान्यताका कारण नेपाली उपन्यास पनि दुष्प्रभावित थियो । झलक सुवेदीको 'आधा जून' उपन्यासले त्यस्तो रुढीमाथि प्रहार गर्दै समकालीन राजनीतिक यथार्थलाई उपन्यासको सिंगो विषयवस्तु बनाएको छ र एक प्रकारको पृथक् स्वादको सिर्जना गर्ने चेष्टा गरेको छ । 

'आधा जून' देशभर व्याप्त तर नलेखिएको बलशाली यथार्थ हो । यो संस्मरण, इतिहास र आख्यानको त्रिवेणी पनि हो । यसमा केही जीवित पात्रहरू, केही समष्टीकृत पात्रहरू र केही छद्म आवरणभित्र रहेका पात्रहरू चलायमान छन् । इतिहास विजेताहरूले लेखाउँछन्, कुनै खास आदर्श प्राप्तिका निम्ति पींधमा रहेर जीवन उत्सर्ग गर्नेहरू हराउँछन् र तिनको  गणना ...र अन्यमा मात्र हुन्छ भन्ने परम्परागत यथार्थलाई फेर्ने प्रयास पनि हो यो । सामान्यतया उपन्यासकारहरू यस्तो विषयवस्तु चयन गर्न जोखिम महसुस गर्दा हुन् । हुन पनि राजनीतिसँग जोडिएर आउने प्रेम, यौन, भ्रष्टाचार, दमन, अपारदर्शी व्यवहार र तिनले समाजमा छाडेका नकारात्मक परिणामको आख्यानीकरण एक कष्टसाध्य काम हो । जोखिम मोल्ने साहस तथा गम्भीर सिर्जनात्मक दृष्टिबाट मात्र यस्तो रचनात्मक काम सम्भव हुन्छ । पश्चिमी दुनियाँका साहित्यमा लेखकहरूले आख्यान र गैरआख्यान दुवैमा पहिल्यैदेखि यस्तो जोखिमलाई लेखकीय अहं र रचनात्मक जोखिमसँग जोडिआएका छन् । तर, खासगरी दक्षिण एसियाका नेपालजस्ता अविकसित मुलुकमा यस्तो जोखिम कडा मानिन्छ । आपmनो सामाजिक वृत्तबाट आलोचित र बहिष्कृत हुने भय र मौनता साध्दा हुने तुलनात्मक लाभका कारण धेरै लेखक कठोर यथार्थको सामना गर्न सक्तैनन् । त्यसैले तिनका रचनात्मक कार्य या छद्म या त बनावटी यथार्थबाट पोषित हुन पुग्छन् । उपन्यासकार सुवेदी यस अर्थमा एक अपवाद बन्न पुगेका छन् । नेपाली साहित्यमा यसलाई एक सुखद संकेतका रूपमा लिइनुपर्दछ । 

'आधा जून' उपन्यास कुनै पार्टी विशेषको आदर्शको विघटन र समाजवादी स्वप्नको मृत्युको कथा मात्र होइन, भूमिगत राजनीतिका अप्राकृतिक, अपारदर्शी र असहज व्यवहारको परिणामको लेखाजोखा पनि हो । निश्चय नै भूमिगत राजनीति विद्रोहलाई आकार दिने परिस्थितिजन्य उपज हो तर त्यसका आपmनै प्रकारका सीमाहरू पनि छन् । पार्टी सत्ताका निमित्त गरिने अमानवीय चलखेल, धोखाधडी र आम मानिसका सद्भावसँग खेलबाड गर्ने हदसम्मको अवसरवादको भ्रूणले यसबाटै मलजल प्राप्त गर्छ र त्यो यसकै गर्भमा हुर्किएको हुन्छ । यस्तै अवसरवादले पञ्चेसँग कामरेड केशरको लगनगाँठो कस्ने वातावरण बनाइदिन्छ । व्यक्तिगत स्वार्थ यसरी नै आदर्श र निष्ठामाथि हावी हुन पाउँछ ।

भूमिगत रूपमा पार्टी अनुशासनका नाममा गरिने कारबाही कतिसम्म विवेकहीन हुन सक्थ्यो भन्ने प्रसंग पनि उपन्यासमा आएको छ । उदाहरणका रूपमा सञ्जयले नेताको आदेशमा सम्पर्क सूत्रसम्म पत्र पुर्‍याउने जिम्मेवारी सहजतापूर्वक लिएको छ तर आन्दोलनको नेतृत्व गर्दा उसले समयमै सो चिठी पुर्‍याउन भुल्दा उसले कारबाहीको सिकार हुन परेको छ । 

भूमिगत अवस्थामा गरिने कारबाहीको यो एक झिल्को मात्र हो । मालेकालमा र त्यसपछिको माओवादी सशस्त्र युद्धकालका भूमिगत लीलाको उद्घाटन गर्ने हो भने मानवसुलभ सामान्य कमजोरीका लागि पनि कति क्रूर सजाय दिइन्थ्यो भन्ने कुरा अहिले सतहमाथि आउन थालेको छ । पार्टीभित्र र बाहिर पनि प्रेम र यौन आशक्तिका सामान्य घटना विशेषलाई लिएर कतिले निर्मम सजाय भोग्नुपर्‍यो, ज्यान गुमाउनुपर्‍यो या भगौडा वा गद्दार बन्नुपर्‍यो भन्ने कुरा सम्भवतः अब लेखिनेछन् । केन्द्रीय सत्तामा भएका कारण कसै कसैका लागि त्यो आपत्तिको विषय बनेन । यस्तो घातक द्वैध चरित्रको क्रान्तिकारिताले पारेको कुप्रभाव कलमका माध्यमबाट अझै बाहिर आउन बाँकी छ ।

तत्कालीन मालेनिकट अध्येताहरूले झलनाथ, मदन भण्डारी, सीपी मैनालीजस्ता केन्द्रीय राजनीतिक चरित्रहरूलाई पहिचान गर्नै पर्दैन, उपन्यासकारले इतिहासकारले झैं नामै किटिदिएका छन्, मिति र सन्दर्भ उल्लेख गरिदिएका छन् । साथसाथै विमल, केशर र विजयजस्ता भूमिगत नाम पनि सहजै स्मृतिमा ल्याउन सक्छन् । सोमप्रसाद सोमनाथ प्यासी हुन् भन्नै परेन, तालपारि किस्ने तालपारिका नाममा विख्यातै कांग्रेसी हुन् । उपन्यासले ओगटेको कालखण्डका क्रियाशील कास्केली वाम राजनीतिकर्मीहरूमध्ये धेरैले आफूलाई उपन्यासका पात्रका रूपमा पाउनेछन् । यस्तो लेखकीय चातुर्यले यस औपन्यासिक रचनालाई इतिहास, संस्मरण र कल्पनाको त्रिवेणी बनाइदिएको छ । 

कुनै बला छात्र संघर्षको अगि्रम मोचामा रहेकी संघर्षशील किशोरी तृष्णाको पछिल्लो जीवनबारे घतलाग्दो बयान छ । राजनीतिक तिक्डमबाजीबाट प्रताडित एक कार्यकर्ताको जीवनमा आइपरेको उहापोह र दुर्भाग्य देख्न सकिन्छ उसको अनुहारमा । र, यस्तो कठोर यथार्थका भोक्ताहरूको संख्या निकै ठूलो छ । ती आपmनो विगतबाट तर्सिएका हतभागी हुन् जो पहिले एक आदर्श समाजको स्थापनाका लागि मर्न तयार थिए तर अहिले बाँच्ने लालसामा सम्झौतामा जीवन निर्वाह गरिरहेका छन् । तिनको ऊर्जासम्पन्न युवाकाल महत्त्वाकांक्षी सत्ताको भर्‍याङ बन्दैमा सकियो र उत्तरार्द्धमा ती मुर्झाएर बााचेका छन्- तृष्णा, पावेल, सञ्जय र रीताझैं । उपन्यासमा क्रान्ति र आन्दोलनको बीज थलो पृथ्वीनारायण क्याम्पसको सन्दर्भमा भन्ने हो भने छात्र विद्रोहका प्रतीक बनेका लक्ष्मी कार्की र झलक सुवेदी या सक्रिय राजनीतिबाट पाखा लागेका छन् या त चतुर्‍याइँपूर्वक पाखा लगाइएका छन् । कार्यकर्ताका नितान्त निजी जीवनमाथि हुने वर्जनीय हस्तक्षेपबाट पनि कतिपय ऊर्जाशील क्रान्तिकारीहरू आन्दोलनबाट अलग हुन बाध्य भएको यथार्थ यस उपन्यासमा राम्रोसँग विम्बित भएको छ । 

उपन्यासमा दलित चेतनाको यथार्थ पनि राम्रोसँग अभिव्यक्त भएको छ-  माइली सर्किनीबाहेक अरू सबैले निर्दललाई भोट दिनु यस्तै एक दृष्टान्त हो । वर्ण भेदविरोधी चिन्तन, सामाजिक मुक्ति र राजनीतिक स्वतन्त्रताको लागि चेतनाको बीज उमे्रर हुर्कंदै गएका बेला, सञ्जय र पावेल, रत्नप्रसाद र माइली सर्किनीले गाउँमा मुक्तिका लागि लडिरहेका बेला दलित बस्ती उनै पञ्चहरूको पक्षमा उभिनु र उनीहरूले आफ्नै मुक्तिको मार्ग पहिल्याउन नसक्नु एक दुःखद वास्तविकता हो । अहिले पनि दलित मुक्ति आन्दोलन त्यही दशा र दिशाबाट गुजि्ररहेको देख्न सकिन्छ । तर माइली सर्किनी अर्थात् कामरेड आइतीमायाको स्वभाव र संलग्नताले दलित मुक्ति आन्दोलनको दियो निभ्न दिएको छैन ।   

रत्नप्रसाद मास्टर र रोहित काकाको दशालाई राम्ररी मनन गर्ने हो भने हरिहर सही देखिने सम्भावना हुन्छ जसको गलामा व्यापारले सुनको मोटो सिक्री झुन्ड्याइदिएको छ, जो पञ्चेहरूको यौन र मदिराविलासका लागि उपयुक्त गुप्तवासको प्रबन्ध गर्छ र जसको शंकरेसँग राम्रै उठबस हुन्छ ।  एमाले मात्र होइन, पछिल्लो समय अग्रगामि भनिएको माओवादीसमेत ठेक्कापट्टा र लाभका लागि परशुहरू शंकरेका असल पुर्जा बनेको कटु यथार्थ हामीले भोगेकै हौं । तसर्थ यो उपन्यास वाम आदर्शको क्षयीकरणको दस्तावेज पनि हो । भन्नैपर्छ, यसले कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि पर्याप्त संकेत गरेको छ । निहित स्वार्थी तत्त्वहरू कसरी संगठन सत्तामा हावी हुन्छन् र कालान्तरमा राजनीतिक निष्ठा र आदर्शको पतन गराउन सफल हुन्छन्, त्यो प्रसंग पनि पाठकहरूका लागि कम रोचक हुने छैन । 

वास्तवमा जनताको बहुदलीय जनवादका कुरा र महाकाली सन्धि विवादका परिप्रेक्ष्यमा उपन्यासमा राजनीतिक विमर्श आवश्यकताभन्दा बढी भएको छ । लाग्छ, ती प्रसंगले त्यति बढी शब्द र समयको माग गरेका छैनन् । इतिहासको विशिष्ट मोड भएकाले यिनको सांकेतिक महत्त्व त रहन्छ नै तै पनि यसले उपन्यासको ओज बढाउनमा नकारात्मक योगदान गरेको प्रतीत हुन्छ । उपन्यासको सौन्दर्यलाई बढाउन यस्तो प्रत्यक्ष राजनीतिक विमर्श सहयोगी हुन सक्तैन । 

उमेरसुलभ प्रेमको चाहना, पारस्परिक आकर्षण र यौनतृष्णा, भविष्यप्रतिको अन्योल, भविष्य रेखा खिच्ने र असफल हुने परिस्थितिको रचनाले उपन्यासलाई स्वाभाविक ढंगले अघि बढाउन मद्दत गरेको छ । क्याम्पसको हातामा अँध्यारोमा गरिने आलिंगन, समर्पण र दुवैले गर्ने सुरक्षित भविष्यको खोजीका एक दुई प्रसंगले पाठकलाई आफ्नो क्याम्पस जीवनका यथार्थको स्मरण गर्न प्रेरित गर्दछन् । तृष्णा र सञ्जयबीच विछोडका निम्ति तयार भएको परिस्थिति त्यस उमेर र अवस्थाका सबैका लागि उत्तिकै लागू हुन्छ । यही उमेर हो जतिबेला ऊर्जा अधिक हुन्छ, बलिदानी भावना प्रचुर हुन्छ, र अन्योलको मात्रा पनि एकदमै बढी हुन्छ । गाउँले परिदृश्यमा कासी र हरिहर यस्तै उमेरमा बन्धनमा बाँधिन्छन्, रीता फस्न पुग्छे, तृष्णा अलग हुन्छे, सञ्जय अन्ततः दुई बच्चाकी आमा भइसकेकी आपmनी पूर्वप्रेमिकालाई अपनाउन पुग्छ । यस्तै बेला हो, अनुशासनको कठोर फलामे साङ्ला चुँडाएर मुक्त हुन खोजिन्छ र भविष्यलाई आकार दिन खोज्दाखोज्दै सबै गोलमाल हुन्छ । उपन्यासले जीवनको त्यस सत्यलाई पनि उचित स्थान दिएको छ र उपन्यास यस अर्थमा पनि सफल छ ।  

एक पाठकका हैसियतले उपन्यासकारलाई भन्नैपर्छ रीताको लोग्ने अर्की स्वास्नी लिएर अलग्गै बसेपछि र सञ्जयसँग नयाँ सम्बन्ध जोडेपछि रीताका दुई छोराको कुरा कतै हराएझैं छ । सञ्जयबाट एक छोरा जन्मेपछि ती दुई बच्चा कहाँ छन् भन्नेसम्मको संकेत गरिनु जायज हुन्थ्यो । माइली सर्किनी (का. आइतीमाया) को विद्रोही चरित्रले उसको सम्बन्ध तथा समाजमा परेको अनुकूल प्रतिकूल प्रभावले अलिकता विस्तृति खोजेको हुनुपथ्र्यो । 

सरल संरचनाको जगमा खडा भएको 'आधा जून' उपन्यास मूलतः जीवनको हरियो रंग, सिद्धान्तको खैरो रंग, विचारको हरियो रंग, जस्ता अध्याय र अनेकौं उप-अध्यायमा बुनिएको छ । स्वाभाविक रूपमा आउने पmल्यासब्याकले कथालाई अघि बढाउन र चरित्रलाई उसको ऐतिहासिक परिप्रेक्ष्यमा बुझ्न सहयोग गर्छन् । उपन्यासको भाषा गण्डकी प्रदेशको लोकजीवनको छनक दिन सक्षम छ । लोकजीवनका संवाद र भौगोलिक तथा सांस्कृतिक परिवेशको प्रभावकारी चित्रणले पाठकलाई उपन्यासको अन्तिमसम्म पुग्न निकै सहयोगी भूमिका निर्वाह गरेका छन् । फाइनपि्रन्टले बजारमा ल्याएकोे भिन्नै भावभूमिको यस उपन्यासलाई पाठकहरूले स्वागत गर्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । 

No comments:

Post a Comment