Saturday, December 28, 2013

'राजनीतिले ठूलाको कुरा लेख्छ, साहित्यले सानाको'



काठमाडौ, पुस १२ -
यसअघि गोर्खा भर्तीका विषयमा ँबि्रटिस साम्राज्यका नेपाली मोहरा’ लेखेका राजनीतिक विश्लेषक झलक सुवेदी अहिले ँआधा जून’ नामक उपन्यास लिएर आएका छन् । कुनै बेलाका सक्रिय राजनीतिक कार्यकर्ता झलकसँग उपन्यासको विषय, भाषा र नेपालको वामपन्थी आन्दोलन बारे गरिएको वार्ता ।



तपाईं राजनीतिमाथि लेख्ने मान्छे, उपन्यासका लागि भाषाको खोजी कसरी गर्नुभयो ?

आफू जन्मे हुर्केको ठाउँप्रतिको लगाव र माया मेरो पुस्तकमा व्यक्त हुनुपर्छ भन्ने मलाई पहिलेदेखि नै लाग्थ्यो । त्यसैले पनि मैले आपmनै ठाउँको भाषा रोजें । मेरो गाउँ भएको कास्कीको मकैखोला वरपरका चार गाविसलाई नयाँ कास्की भनिन्छ, पहिला यी लमजुङमा पर्थे । यहाँ बोलिने नेपाली

बोली फरक छ । तल करापुटार झर्‍यो भने अर्कै बोली पाइन्छ । मैले त्यहींको आफूले बोलेको बोली त्यो परिवेशका पात्रहरूलाई दिएँ । उपन्यासको अर्को भागमा सहरको कथा छ, त्यसमा सहरकै भाषा लेखेको छु ।



पात्रका भाषाबाहेक औपन्यासिक भाषाको खोजीचाहिँ कसरी गर्नुभयो ?

योचाहिँ मैले साहित्य पढेर नै सिकेको हुँ । विद्यार्थीकालमा नै हिन्दी र अंग्रेजीमा रसियन साहित्य निकै पढियो । रसियन साहित्यबाट परिवेशको चित्रण, चरित्र निर्माण र छोटा वाक्य लेख्ने कुरा सिकियो । खासगरी मिखाएल सोलोखोभ र दक्षिण अमेरिकी लेखक इजावेला एलेन्द्रोको छाप ममा परेको थियो । मेरो औपन्यासिक भाषाको निर्माणमा यी लेखक र साहित्यको भूमिका छ ।



तपाईंले देखे भोगेका पात्र र परिस्थितिको चाहिँ कति योगदान छ ?

मैले पढेका चरित्र र मेरा पात्रको कहीं न कहीं भेट हुन्छ । किनभने, संसारभरको वामपन्थी वा कम्युनिस्ट आन्दोलन र संघर्षको स्वरूपमा फरक होला तर मूल चरित्र उस्तै छ । युरोपमा हुने वामपन्थी आन्दोलन र एसियाको नमिल्ला तर, अपि|mका, ल्याटिन अमेरिका र एसियाका आन्दोलन र संघर्षका धेरै चिज विशेषताहरू मिल्छन् । यसैले मलाई लाग्छ कुनै चाइनिज वा नाइजेरियन पाठकले मेरो उपन्यास आपmनो भाषामा पढ्न पाउने हो भने उसले केही न केही तादात्म्यता भेट्नेछ । युरोपको कुरा भिन्न छ । क्रिस्चियानिटी र पूर्वीय संस्कृतिमा भएका भिन्नताजस्तै उता र यताको संघर्ष र आन्दोलनमा पनि केही भिन्नताहरू छन् ।



अहिलेको समयको कथा नलेखेर किन बितेको समयतिर फर्किनुभयो ?

त्यो मेरो पृष्ठभूमिका कारण होलाजस्तो लाग्छ । म जुन राजनीतिक आन्दोलनमा लागें, त्यसले नै मेरो अध्ययनको भोक, लेखनको रस र लेखनको निसाना पहिल्याउन मद्दत गर्‍यो । यसर्थ मेरो लेखाइ र लेख्नुको कारण त्यो पृष्ठभूमिसँग गाँसिएको छ । अर्को कारणचाहिँ उमेर हुन सक्छ । उमेरले पचास कटिसकेपछि मानिसमा नयाँ कुरा सिक्नेभन्दा पुराना कुरा धेरै सम्भिmने प्रवृत्ति बढ्छ भनिन्छ । म सिक्ने कुरामा सधैं चनाखो र तत्पर छु । तैपनि, पुराना स्मृतिले बढी तानेको हुन सक्छ । यसका अलावा मेरा सपना पनि मेरो विगतसँग गाँसिएका छन् । मैले राजनीतिमा बिताएका १२-१५ वर्ष पार्टीसँग जोडिएका कुराबाहेकको जिन्दगी र संसारको कल्पना नै गरिनँ । जब २०४८ मा पार्टी राजनीति छोडें, म एउटा अलमलमा थिएँ । म पार्टीमा हुँदा स्थानीय नेता थिएँ । मैले धेरैलाई कार्यकर्ता बनाएको थिएँ, मानिसहरूमा जोस भरेको थिएँ, म मानिसहरूका आँखामा उत्तेजना पाउँथें । तर, चार वर्षपछि भेट्दा त्यही मान्छे अर्कै हुन्थ्यो । त्यो जोसिलो मान्छेमा निराशा भरिएको हुन्थ्यो । यति छिट्टै मान्छेमा यस्तो परिवर्तन कसरी आयो ? यो कुरा खोज्नका लागि पनि म पुरानो समयमा गएको हुँ ।



तपाईंले पुस्तक विमोचनमा राजनीतिको चित्रमा छुटेका सामान्य मान्छेको कथा लेखेको हुँ भन्नुभएको थियो । ती कस्ता मानिस हुन् ?

म तपाईंलाई उदाहरण दिन्छु । म जिल्लाको नेता हुँदा पार्टीको कामले एउटा गाउँमा गएको थिएँ । स्थानीय एक शिक्षकको घरमा भात खाएर सुतियो । त्यो कोठा निकै सानो थियो । खाटमा पार्टीका शुभचिन्तक ती शिक्षक र म सुतेका थियौं । राति मैले त्यो कोठामा कोही महिला पीडाले बिस्तारै कराएको जस्तो आवाज सुनें । त्यो चिसोको बेला थियो । मैले विचार गर्दा थाहा पाएँ, ती शिक्षककी श्रीमती भुइँमा सुतेकी थिइन् । ओढ्ने ओछ्याउने लुगा धेरै बाक्ला थिएनन् । र, ती चिसोले कराएकी थिइन् । मलाई रातभरि निद्रा लागेन । बिहान थाहा भयो, ती ७-८ महिनाका गर्भवती रहेछिन् । मलाई यो कुराले साह्रै पीडा भयो । पहिले नै थाहा भएको भए म अर्को घरमा सुत्न जान सक्थें । तर, उनीहरूले यो कुरा मलाई भनेनन् । त्यति बेला आफू नखाएर पनि पार्टीका मान्छेलाई खुवाउने, पार्टीका नेतालाई दिने चलन थियो । तर, यो देशको राजनीतिक इतिहासको अभिलेख लेखिँदा ती शिक्षक र तिनकी श्रीमतीको कुरा कतै लेखिने छैन । राजनीतिको ठूलो चित्रमा यी साना मान्छेको कतै गणना हुँदैन । राजनीतिको इतिहासमा जहिल्यै ठूला मान्छेको कुरा लेखिन्छ त्यसैले साहित्यले तल्लो तहका मानिसको कुरा लेख्नुपर्छ । मैले त्यही प्रयास गरेको हुँ ।



मालेको आन्दोलनपछि देशमा अर्को ठूलो कम्युनिस्ट आन्दोलन माओवादीले गर्‍यो । के मालेले छोडेको वा पूरा गर्न नसकेको काम माओवादीले गर्‍यो ?

यसमा मालेभन्दा पनि अगाडि जानुपर्छ । सबभन्दा पहिले परिवर्तनको झन्डा २००७ सालमा कांग्रेसले उठायो । सबभन्दा पहिले दलितको पक्षमा कुरा गर्ने छुवाछूतको विरोध गर्ने काम कांग्रेसले गरेको हो । तर, जब कांग्रेसले तल्लो तहका मानिसका कुरा छोड्यो, कांग्रेसहरू पूजापाठमा लागे मालेले परिवर्तनको कुरा बोक्यो । २०३६ सालको विद्यार्थी आन्दोलनमै हामीले राजतन्त्रविरोधी नारा लगाएका हौं । राजनीतिमा दुई तीनवटा पूरै पुस्ताले दुःखको आन्दोलन गरेर अहिले गणतन्त्र आएको हो । कोही माओवादी आन्दोलनले गणतन्त्र ल्यायो भन्छन् कोही १९ दिने आन्दोलनले । यतिले मात्रै होइन । यसमा धेरै अघिल्लो पुस्तादेखिको योगदान छ । मानिसहरू अहिले नेताहरूले सुविधा लिएको मात्र कुरा गर्छन् तर यिनै नेताहरू कोही १५ वर्ष जेल बसेका छन् कोही कति वर्ष निर्वासनमा बसेका छन् । तर, सत्य के हो भने पहिलेका परिवर्तनकारी शक्तिहरू कांग्रेस, एमाले र माओवादी सत्तामा पुगेपछि त्यसको रूपान्तरण गर्नुको सट्टा सत्ताको दलालीमा लागे ।





माले -पछि एमाले) संसदीय व्यवस्था र चुनावमा गएको कुराप्रति तपाईं सहमत हुनुहुन्नजस्तो देखिन्छ । त्यसलाई तपाईंले विसर्जन देख्नुभएको हो भने त्यसको सही बाटो के थियो त ?

मैले संसदीय निर्वाचनमा जानुलाई गलत भनेको होइन । म सधैं यसको पक्षमा थिएँ । तर, संसदीय व्यवस्थामा गएको एक वर्षमा नै जसरी पार्टी र मूल नेतृत्व परिवर्तन भयो, यसको जसरी बुजुर्वाकरण हुन थाल्यो, त्यसको विरोधी हुँ । मेरो मान्यता संसदीय व्यवस्था र राज्य संयन्त्रमा गएर त्यसलाई तल्लो वर्गका जनताका पक्षमा बदल्नुपर्छ, राजनीतिक र सैद्धान्तिक आधारमा नै राज्यलाई सामान्य जनताको सेवामा लगाउने बनाउनुपर्छ र सिंगो समाजको रूपान्तरणमा लाग्नुपर्छ भन्ने हो । तर, पार्टी नेतृत्व त राज्य संयन्त्रलाई जनताका पक्षमा बदल्नुको सट्टा एक वर्षमा नै अरू नै कुरातिर लाग्यो । व्यक्तिवादी चरित्र देखिंदै गयो । यसमा मेरो असहमति हो ।



तपाईं आफू संलग्न आन्दोलनका प्रति बढी अनुग्रही र छोडेको पार्टीप्रति बढी पूर्वाग्रही हुनुभएको हो कि ?

म बढी पूर्वाग्रही हुन्छु कि भन्ने मलाई डर थियो । उपन्यासको पहिलो ड्राफ्टमा आफू पूर्वाग्रही भएको भेटें पनि । दोस्रोमा मैले ती सबै कुरा हटाएँ । अहिले उपन्यासमा पूर्वाग्रह छैन भनेर म भन्न सक्छु ।



यो उपन्यास कति प्रतिशत तपाईंको आत्मकथा हो ?

१० देखि १५ प्रतिशत । तर, त्यो पनि कुनै एउटा मात्र पात्रमा छैन । संजय पात्रमा मेरा अनुभूति र व्यक्तिगत कुराका केही छाप छन् तर यो अटोबायोग्राफी होइन । मैले भोगेको समयसँग संवाद गर्दा म र मेरा भोगाइ उपस्थित हुन्छन् नै तर त्यसलाई पूरै मेरो वास्तविक कथा भनेर पढ्न मिल्दैन ।



प्रकाशित मिति: २०७० पुस १३ १०:२३

No comments:

Post a Comment