Tuesday, December 24, 2013

राजनीतिक इतिहासमा उपन्यास

ललितपुर, पुस ९ - राजनीतिक विश्लेषक झलक सुवेदी आफ्नो पहिलो उपन्यास 'आधा जून' लिएर आएका छन् । फाइन पि्रन्ट प्रकाशनले छापेको यो उपन्यास सोमबार झम्सिखेलमा सार्वजनिक गरियो । २०३६ सालको विद्यार्थी आन्दोलन र त्यस आसपासमा नेपालमा चलेको वामपन्थी आन्दोलनलाई विषय बनाइएको पुस्तकले गण्डक क्षेत्रको युवाको नजरबाट त्यसबेलाको समाज र राजनीतिलाई हेरेको छ ।
पुस्तक सार्वजनिक गर्दै राजनीतिक विश्लेषक हरि शर्माले पुस्तकले आञ्चलिक भाषा समाएको बताए । पुस्तकलाई लेखक नारायण ढकालले 'नेपाली कम्युनिष्ट आन्दोलनको एउटा धारको विसर्जनको कथा' भनेको उल्लेख गर्दै उनले यसले एउटा कालखण्डको वामपन्थी आन्दोलनको चित्र उतारेको बताए । लेखक सुवेदी स्वयं त्यसबेला पोखराको पृथ्वीनारायण क्याम्पसमा रही मालेको राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले यसलाई वास्तविकता र कल्पनाको बीचको 'डकु-नोबेल' बताए ।
लेखक सुवेदीले पनि यो उपन्यासलाई वास्तविकता र आख्यानको बीचबाट लेखिएको बताए । '२०४८ सालको निर्वाचनबाट एमाले संसदीय राजनीतिमा प्रवेश गरेपछि नै मैले यो उपन्यास लेख्ने विचार गरेको थिएँ, दोस्रो जनआन्दोलनपछि बल्ल लेख्न थालें,' उनले कार्यक्रममा भने । आन्दोलनका बेला भयंकर सत्य भनेर घोकिएका कुराहरू विस्तारै अर्धसत्य भएको ज्ञान हुन थालेपछि राजनीतिलाई मूल पेसा नबनाउने गरी आफू पार्टी राजनीतिबाट अलग भएको बताउँदै उनले भने, 'जीवन र राजनीतिका तिनै अर्धसत्यलाई प्रस्तुत गर्ने गरी 'आधा जून' लेखेको हुँ ।' ठूलो आन्दोलनपछि केही नेता र कार्यकर्ताहरू स्थापित भए पनि त्यसमा ज्यान दिएर लाग्ने धेरै मानिसहरू 'अरूहरू' वा 'लगायत'मा परेर हराउने गरेको उल्लेख गर्दै उनले आफूले त्यस्ता सामान्य कार्यकर्ताको कथा लेखेको पनि बताए । 'आन्दोलन र आदर्शको मृत्यु देखेर छट्पटाउनेहरूको दृष्टिबाट लेखेको छु,' उनले भने ।
एमाले नेता प्रदीप ज्ञवालीले पुस्तकले थुप्रै गहन प्रश्न र बहस निम्त्याउने भए पनि लेखकले दाबी गरेजस्तो वामपन्थी धारको विर्सजन भन्न हतार हुने बताए । 'वामपन्थी आन्दोलनले लिएको बाटो र पात्र को कति सही वा गलत भन्ने विषयमा बहस हुन सक्ला तर संसदीय निर्वाचनमा गएको कुरालाई विर्सजन भन्ने हो भने सही बाटो के हो त ?' उनले प्रश्न गरे । ज्ञवालीले भने, 'संगठनका प्रति गुनासो वा आग्रह भए पनि धारको विर्सजन भएको भन्ने फैसला गर्नु हतार हुन्छ ।' पुस्तकले त्यसबेलाको आन्दोलनको 'वामपन्थी सङ्र्कीणता'लाई राम्रोसँग उजागर गरेको बताउँदै उनले भने, 'कुनै बेला कोकाकोला खाएको भनेर पनि कारबाही भएको थियो ।'
लेखक सुवेदीसँगै पृथ्वीनारायण क्याम्पसको राजनीतिमा सक्रिय एमाले नेता एवं सभासद् रवीन्द्र अधिकारीले लेखकले आधा देखिएर- आधा लुकेर 'अर्धभूमिगत' शैलीमा उपन्यास लेखेको बताए । 'कतिपय पात्रहरू वास्तविक छन् तर तिनमा कल्पना पनि मिसाइएको छ,' उनले भने, 'यसले भोलिको पुस्तालाई हिजो कसरी मुभमेन्ट चलेको थियो भन्ने जान्न मद्दत गर्छ ।'
 Literature
प्रकाशित मिति: २०७० पुस ९ १२:१९ 
- See more at: http://www.ekantipur.com/np/2070/9/10/full-story/381271.html#sthash.ygDI1CUd.dpuf

No comments:

Post a Comment