Sunday, December 26, 2021

मादीको सेरोफेरो (२) ढिलो र सुस्तरी आएका परिवर्तनहरु


१)

मलाई आजकल आफु कछुवाकै तालमा लखर लखर हिँडिरहेको र समय भने बुलेट रेलको गतिमा कुदिरहेको हो कि जस्तो लाग्छ । हेर्दा हेर्दै समाजका सबै आयामहरु विस्तारित भएका छन् । तिनले नयाँ स्पेश सिर्जना गरिरहेका छन् । व्यक्ति र परिवार हुँदै समाजका आर्थिक, सामाजिक, साँस्कृतिक आयामलाई बदल्ने अनेकवली घटनाका आँधीहरु आइरहेका छन् । म हुर्कँदा गाउँमा फुसको छानो भएका घुमाउने घरको बाहुल्यता थियो । सगोलका परिवारका सबै सदस्यहरु ती घरका भित्रबाहिर छेउकुनामा अटाउँथे । सासु बुहारी संगै सुत्केरी हुन्थे, कुनै पुरुष एकैपटक नयाँ सन्तानको बाबु पनि र नाती नातीनिको हजुरबाउ पनि बनिरहेको हुन्थ्यो । ती कति साँघुरो जीवनलाई सुमसुम्याएर बस्दा हुन ? जीवन ऋतुपरिवर्तनसंगै परिवर्तन हुने नीयमित चक्रजस्ता आइरहने कृषि कर्ममा आधारित थियो । लगौंटी लगाएर कछाड कम्मरतिर सारेर खेत खलिहानमा काम गरिरहेका अधेडावस्थाका पुरुषहरु, एकसरो धोती या गुन्युमा रजश्वला हुँदाका राता छाप लिएर मेलापात गरिरहेका महिलाहरु । साँघुरा गल्लीलाई नै आलोपालो मलमुत्र  त्यागका स्थल बनाइने भएकाले नाँगा पाइतालाले फोहोर छल्दै हिँडेका भद्र भलाद्मीहरु । समय त्यस्तै थियो । म त्यस्तैमा हुर्कें । मैले त्यसैमा बग्न दिएँ आफुलाई पछिसम्म पनि । अहिले म हुर्केको समयसंग आधा शताव्दी जतिको दुरी छ । र म आफ्नो अवचेतनमा पुरानो समयका छापहरु बोकेर नयाँ दुनियाँसंग साक्षात्कार गर्न हिँडिरहेको छु । 

हरेक पटक गाँउमा जाँदा म गाउँबाट आफै विस्थपित पराइ जस्तो पाउँछु । काठमाण्डौको सार्वजनिक वृत्तको एउटा घेरामा रहँदा पनि जब आफुलाई खुम्च्याउँदै एउटा विन्दुमा उभिएर सिंगो काठमाण्डौसंग तुलना गर्छु म आफुलाई काठमाण्डौको भनेर अस्तित्ववोध गर्दिन । अमरावती आवासको एउटा फुच्चे घरको छतमा बसेर परपर देखिने काँठ देखि केन्द्रसम्मको काठमाण्डौ नियाल्दा आफुलाई पराया परायाजस्तो अनुभुत गर्छु ।  स्थान र समयका दुइ भिन्न ध्रुवका विच डोलायमान छु जस्तो लाग्छ । म यसपाली काठमाण्डौबाट केही साताका लागि गाउँ जाँदाका प्रसंगले तरंगित छु । 

२)

उहिल्यै स्कुल पढ्दा कसैले पुस्तकमा हालेका गातामा देखिने चिन सचित्रका चित्रहरुले मन लोभ्याउँथे । यस्तो लाग्थ्यो चीनबाट दुःख गरिबी हटेको छ । मान्छे खान लाउन र पढ्न या ओखतीमुलोको दुःखमा छैनन । पछि कलेज पढेर चिनीया साहित्य र समाचार पढ्दा भेटिएका नाङ्गा खुट्टे डाक्टरको कुरा सुनेपछि त त्यस्तो पो व्यबस्था भन्ने पथ्र्यो पछिसम्म पनि जसले मलाई समाजवादी बनाउन बल पु¥याएको हुँदो होे । उसो त आफ्नो वर्गीय हैसीयतका कारण अवचेतनमा आफ्नै लागि एउटा समृद्ध भविष्यको खोजीले काम पनि गर्दो हो । पछि जब चीनिया कम्युनिष्ट पार्टीले साँस्कृतिक क्रान्तीका दशबर्षलाई गडवडका बर्ष भनेर दस्तावेज ल्यायो अनी पो त्यतीबेला चिनेको चिन र वास्तविक चिनका विचका भेद था हुन थाले । न्युज विक, फार इष्टर्न इकोनोमिक रिभ्यु, टाइम्स, एशिया विक्स जस्ता पत्रपत्रिकामा आँखा डुलाउन थालेदेखि नै चिनको समाजवादका समस्या चिन्न सहयोग पुगेकै थियो । पछि चिनीयाहरुले नै आफ्नो आर्थिक अवस्थाका बारेमा खुलस्त बोल्न र लेख्न थाले अनि सचित्रवाला भ्रम पनि पखालियो । सि चिनफिङ पार्टी र सरकारको नेतृत्वमा आएपछि तिनले कठोरतापूर्वक चिनबाट आधारभूत गरिवी हटाउने नीति लिए । यस क्रममा भएका प्रगतीको विश्वभर प्रशंसा भएका छन् । मलाई पनि त्यसका लागि चालिएका नीतिहरुले आकर्षित गरिरहन्छन् र हाम्रो गाउँ या शहरमा गरिबी घटाउन लिइएका नीतिबारे अध्ययन गर्न चासो जाग्छ । त्यसैले पनि गाँउतिर घुम्न जाँदा त्यहाँ मानिसहरुले कस्तो आर्थिक उपार्जन गरिरहेका छन्, अर्थतन्त्र कस्तो छ, के सम्भावना छन् भन्ने बारे खोतलखातल गर्न मन लागिरहन्छ् । यसपाली गाँउतिर घुम्दा भेटिएका केही चित्रहरुले मलाई उत्साहित बनाएका छन् । यसैपनि कास्की जील्ला देशकै तेस्रो नम्बरको धनी जिल्ला हो  । यहाँको गरिबीको दर देशभरको दुलनामा निकै कम छ । र पनि केही बर्ष पहिलेको कास्की र अहिलेको कास्कीका विच आएका तिव्र परिवर्तन भने जो कोही पनि समयको अघि र पछिको यात्राका चित्रहरुमा भेटाउन सक्छ । 

३)

गत असौज २१ गते पत्रकार युवराज श्रेष्ठ, भिडियोग्राफर चुनु गुरुङ र म मादी गाउँपालिकाको सबैभन्दा दुर्गम मानिने पक्र्यु जान एउटा हाइलक्स पिकअपमा चढ्यौं । थुम्सीकोटबाट झण्डै ५ बज्न लाग्दा हिँडेका हामीलाई मध्यपहाडी लोकमार्गको बन्दै गरेको फराकिलो सडकले मादी किनार हुँदै मुग्रि बेसीसम्म पु¥यायो । यो सडकले अब हाम्रो लेकाली गाँउहरुलाई पनि राष्ट्रिय सम्पर्क सञ्जालमा तिव्रतासाथ जोड्नेवाला छ । दमौलीबाट एक घण्टा नहुँदै या पोखराबाट आधा घण्टाको यात्रामा हरेक वडा छुन सकिने गरी सडकहरु बन्दैछन् । मुग्रीबेँसीबाट भूर्तुङ, मुग्री, गोर्जे, छाप, रखाल गाउँ, मिजुरे, पाख्रिकोट, नागिधार, रवै हुँदै साँझ ८ बज्दा नबज्दा हामी पक्र्यु पुग्यौं । नुन तेल या अन्य उपभोग्य वस्तु बोकेर हिँड्नेहरुका लागि यो केहीवर्ष पहिलेसम्म पुरा एकदिनको बाटो थियो । यस्तो सामान बोक्नेहरुलाई पोखरा आउजाउ गर्न चार दिन लाग्थ्यो । केही ठाउँमा कच्ची सडकका अप्ठेरा नझेलिएको होइन । साँझ पक्र्युमा समाजघर बाहिर पाहुनाहरुलाई स्वागत गर्न गाउँका सबैजसो युवा र प्रौढ जुटेका थिए । आँगनमा बसेर सेल रोटी, तरकारी र रुची हुनेले कोदाको पातलो रक्सी र नहुनेले चिया खाँदै गफगाफ गरियो । एकछिनमा साउण्डवक्स घ्यार्रघुर्र गर्न थाल्यो । माइक्रोफोनमा बोलेरै स्थानीयले हामी भन्दा पहिले पुगेका अतिथिहरुलाई स्वागत सम्मान गरे र गाउँसम्म पुग्ने बाटो बनाइदिएकोमा धन्यवाद दिए । स्थानीय किशोरी युवतीहरु नाच्न निस्के । मलाई सानो हुँदा हाम्रो साप्ले तिर देखाइने ठेट्टरको झल्को आयो । परम्परागत गुरुङ वेशभुषामा हाँस्दै निस्केका गुरुङ किशोरीहरु वत्तीको उज्यालोमा खुव राम्रा देखिएका थिए । किशोर अवस्थामा यस्ता युवतीका प्रति आकर्षित भएकोले पनि होला । एउटा गीतले म त हो मलायाको लाहुरे म सित जान्छौ कि ....यस्तै केही भाव बोकेको थियो । गाउँ अनुसार लवज फरक हुने र लामो समय काठमाण्डौ बसेकोले आजकल गुरुङ भाषा बुझ्न मलाई समस्या पर्छ । गीतले चैं मलायाका लाहुरेलाई अब्बल मानेको भएपनि अहिले गाउँमा आयस्ताको स्रोतका रुपमा भने मलेसिया अरबतिर गएका तर मलायाका लाहुरे नमानिनेहरुको भरथेग छ । गीतले तिनको अपमान गरेजस्तो देखिन्थ्यो । तर यो गीत कतै रेकर्डबाट बजाइएको थियो, उनीहरुको मौलिक थिएन । 

सोध खोज गर्दै जाँदा यी नाच्दै गरेका किशोरीहरु २ घण्टा परको छापडाँडामा रहेको हिमालय मावीमा आउजाउ गरेर माविस्तरको कक्षा पढ्नेहरु रहेछन् । दिनको चार घण्टाको हिँडाइपछि यीनले कसरी पढाइ छिचोल्दा हुन भन्ने प्रश्नले हैरान बनायो । शिक्षा प्रतिको लगावले समाजको बदलिदो मनोविज्ञान झल्काउँथ्यो । भोलीपल्ट उक्त मावीका शिक्षक भाइ यमप्रकाश सुवेदी र पालिका अध्यक्षसंग यिनीहरुलाई होष्टलमा बसेर पढ्ने व्यबस्था गर्न सकिने नसकिने बारे केही कुरा गरें, कुनै पार नलगाई हिडें (कसैलाई आश्वासन चैं दिएको थिईन र नैतिक संकटमा परीन) । अब सबै मौसममा बस चल्ने भयो भने यीनीहरुले विहान बसमा आउने र साँझ बसमा नै गाउँ फर्कने सुविधा पाउलान । 

विहान उठेर हेर्दा गाउँ नै धान झुलेको फाँटले घेरिएको थियो । रुदीखोलामाथि २ हजार मिटर भन्दा माथिको यो पूर्वतिर सिङ्धीलाई सम्मुख पारेर बसेको लेकाली पाखोमा झुलेको धानले यहाँको आर्थिक चित्र अलिकति झल्काउँथ्यो । घरहरु सबै जस्ताले छाएका । सबै घरमा चर्पिको व्यबस्था भएको । नानीहरु पढाउन विशेष जोड दिन थालिएको । चुनी गाउँको चित्र क्यामरामा कैद गर्दै थिइन, युवाराज डायरीमा नोट गर्दै थिए । स्थानीय आस बहादुर गुरुङ गाउँमा आउँदै गरेको परिवर्तनका कारणहरु बताइरहेका थिए । म पाखो अवलोकन गर्दै एउटा कान उनीहरु तिर लगाइरहेको थिएँ । 

यो गाउँ र पोंसी समेत २० बर्ष पहिलेसम्म गरिवी र सिमान्तीकरणको दलदलमा थिए । २०६० वरपरबाट अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले यहाँ अलंैंची खेतीको सम्भावना रहेको भन्दै स्थानीय वासिन्दाहरुलाई त्यसका लागि तयार पारेछ । विरुवा उपलब्ध गराउन एक्यापले सहयोग गरेछ । गाउँलेहरुले आफ्नो निजी पाखो र सामुदायीक बनमा गरी निजी तथा सामुदायीक रुपमा पनि अलैंची खेती गर्न थालेका रहेछन् । यसले १० बर्ष जती राम्रो आम्दानी दिएको रहेछ । एउटा परिवारले दुइ लाख देखि सात लाख सम्म कमाइ गर्न सकेका रहेछन् । त्यही आम्दानीले गाउँको अनुहार बदलेको रहेछ । भेट भएका स्थानीय नेताहरुले सुनाए अनुसार गाउँमा जे जति परिवर्तन आएको छ त्यसको जगमा यही अलैंचीको कमाल रहेछ । हामीले जताततै अलैंची खोज्यौं तर कतै पनि देखिएन कतै कतै दसी देखाउन मिल्ने बाहेक । केही बर्ष यता एकप्रकारको भाइरसले अलैंची सखाप पारेको रहेछ । अब त्यहाँको माटोबाटै उक्त भाइरस समाप्त नभइ अलैंची नहुने रहेछ । किसानहरु त्यसका लागि समय कुरीरहेका भेटिए । उनीहरुको अनुहारमा आसावाद छताछुल्ल थियो ।

पोंसीको कथा पनि उस्तै थियो । बिहानै हामी विद्यालय मुनीको टोलमा पुग्दा धारामा पानी भर्न निस्केका महिला तथा पुरुषहरु, केही गरिवीको छाप र केही मध्यमवर्गीय सम्पन्नताका चिन्ह भएका यी विभिन्न उमेरका महिला पुरुषले गाउँ बदलिदै गएको चित्र देखाउँथे । पिएन क्याम्पस पोखरामा स्नातक पढ्दै गरेका युवा भेटिए जो हामीप्रति शंका र जिज्ञासाले हेर्दै थिए । बारीमा कोदो र अलि तल खेतमा धान लहराइरहेको थियो ।  यो मादीको वडा नम्वर ८ का टोलहरुको प्रसंग हो जसले यो २० वर्षमा काँचुली फेरेका थिए । मलाई एक्यापले बाहेक यो आर्थिक उन्नतीमा कसैले ठोस सहयोग गरेको जस्तो लागेन । बाटो ल्याइदिने कामका लागि भने उनीहरु राजनीतिक नेतृत्वका प्रति अनुगृहित देखिए जसले उनीहरुलाई एउटा एकलास र अलगावमा रहेको गाउँबाट दुनीयाँसंग सम्पर्क सञ्जालमा लगिरहेको थियो ।

४) त्यो भन्दा २ दिन पहिले अर्थात असौजको २० गते हामी वडा नम्वर १० का विभिन्न टोलमा पुगेका थियौं । त्यसमध्ये तोगी विशेष अर्थको लाग्यो मलाई । याङ्जाकोट तिर फर्केको १४ सय मिटर भन्दा बढीको उचाइमा रहेको यो पाखो मुख्यतया बाहुनहरुको वस्ती हो । यहाँका सबैजसो घर पहिले म पुगेकै घरहरु थिए । ४० वर्ष पहिले स्थानीय प्राविमा पढाउँदा यहाँका धेरै घरका केटाकेटी मेरा विद्यार्थी थिए । यहाँको वाक्य हटाउने त्यहाँ पुग्दा नेपालका पहाडी जिल्लामा जाग्दै गरेको व्यबसायीक कृषिको झल्को मिल्थ्यो । टनेल बनाएर गरिएको तरकारी खेती र मौरीपालन यहाँको मुख्य आकर्षण थियो । पितृराज लामिछाने मौरीपालक किसानका रुपमा पहिले नै वरपर नाम चलेका युवा किसान हुन । तिनले मौरीका घारहरु बाटोमा, घर वरपर यसरी सजाएका छन् कि टाढाबाट हेर्दा पनि कलात्मक चित्रजस्तो लाग्छ । मह भन्दा मौरीको घार बेच्न जोडदिन थालेका छन् । वडा सदस्य समेत रहेका भिमप्रसाद काफ्लेकाहाँ टनेल भित्र फलेका काँक्रा र विस्तारमा फैलिएको किवि खेती आकर्षक थियो । सोमनाथ खनाल र गणेश खनाल, बृहस्पती लामिछानेका दाजुभाई सबै मौरी र टनेल खेतीमा लग्गु भएका पाइए । बजारका लागि नियमीत चल्ने सवारी साधन भइदिए या सरकारले बजार व्यबस्थापनमा सहयोग गरिदिए हामी गाउँमै केही गर्न सक्छौं भन्ने उत्साह सबैमा थियो । पोखराबाट ३० किमि जतिको दुरीमा रहेको यो लेकाली गाउँमा आउँदै गरेको परिवर्तनले मलाई आर्थिक रुपले गाउँहरुलाई रुपान्तरण गर्न पूर्वाधारहरु तयार भएको जस्तो लाग्यो । यहाँ गाउँपालिकाको युवा स्वरोजगार कार्यक्रम, एक्यापको कार्यक्रम, मुख्यमन्त्री कृषि कार्यक्रम जस्ता विभिन्न कार्यक्रम मार्फत सरकारी अनुदान र सहयोग पनि आइरहेको पाइयो । सुदुर पस्चिम पहाडमा घर भएका एकजना कृषि ज्ञान केन्द्रका कर्मचारी ढुक्कैले बसेर किसानलाई विउ र विरुवा उत्पादनमा प्राविधिक सल्लाह दिने गरेका रहेछन् । 

मौरिपालक किसान पितृराजको अनुभव के छ भने किसानहरुलाई सरकारले दिने अनुदान उत्पादनका लागि या टनेल बनाउन या पूर्वाधार बनाउनमा दिनु हुन्न त्यसको उपयोग भन्दा दुरुपयोग हुने सम्भावना हुन्छ । उनको दलिल के छ भने उत्पादनका आधारमा अनुदान दिने हो भने कृषि क्षेत्रले प्रगति गर्छ, सरकारको लगानी खेर जाँदैन । वास्तविक किसानले सहयोग पाउँछ । पितृको यो तर्कले नेपालको नीति निर्माताहरुको ध्यान आकर्षण गर्न सके वितरणमुखी र परिणाम नदिने खालको लोकप्रियतावादी अनुदान नियन्त्रण हुनसक्थ्यो ।

५) कार्तिक महिनाको मध्यतिर मादीकै वडा नम्वर १ को घ्याम्राङ पुग्दा केही किसानहरु धान थन्क्याउन ब्यस्त थिए । बाटोको तलमाथि घ्याम्राङ खोलाको वारीपारी उत्तिस घारी भित्र लहलहाउँदो गरी अलैंची घारी सप्रिएको थियो । बाटोमै एक्याप र हरियो वन कार्यक्रमको सहयोगमा बनाइएका अलैंची सुकाउने भट्टीहरु थिए । मैले स्थानीय युवा राम र हामीले खाना खाएको घरका युवा कुमान गुरुङसंग उनीहरुले यसबाट के कस्तो आयस्ता गरेका छन् भनेर सोधेको थिएँ । ५० भन्दा कम घर भएको घ्याम्राङ यस भेगकै पछि परेको गाउँहरु मध्ये एक थियो । यहाँ गोर्खा भर्तीको प्रभाव थिएन । एकाध जना भारतीय सेनामा पुगेका थिए । म पहिलो पटक २०४७ असौजमा पुग्दा र त्यसको ३० वर्ष पछि पुग्दाका भिन्नता त देखिने नै भए । तर ६ वर्ष पहिले देखि थालिएको अलैंची खेतीले यहाँ एकप्रकारले स्थायी परिवर्तन ल्याइदिएको छ । गतवर्ष ५ सय रुपैंया किलोमा विक्रि भएको अलंैची यसपाली १ हजारमा विक्रि भयो, अहिले बजार भाउ १२ सय भन्दा बढी पुगेको छ । यसबर्ष खडेरीका कारण बोट सुक्दा पहिलेको जस्तो अलैंची फलेन । नजिकै खोलो छ, सिञ्चाइका लागि केही पाइपको व्यबस्था मात्र गर्न सक्दा पनि यो समस्या हल हुने किसानहरुको भनाइ थियो ।

पहिले दशैं मान्ने नगद आम्दानी नभएर गाउँलेहरुले दुःख पाउँथे । अहिले त अलैंचीले सबैको जीवन सहज बनाएको छ । प्रत्येक घरले धेरथोर क्षेत्रफल ओगटेर सामुदायीक बन या निजी जमिनमा अलैंची लगाएका छन् । यसले गाउँको मुहारै बदलेको छ भन्छन् राम गुरुङ । यसमा स्थानीय सरकार या प्रदेश या केन्द्र सरकारको खासै सहयोग योगदान छैन । एक्यापले यसमा सहयोग गरेको थियो । युवाहरुमा गाउँमा बसेर आम्दानी गर्न सकिने र भविष्य बन्न सक्ने आसावदा विकास भएको छ । राम गुरुङ यो चिसो पानी भएको ठाडो खोलामा साथिहरुसंग मिलेर ट्राउट माछा पालन पनि गर्दैछन् । यो गाउँका युवाहरु चैं कास्की मात्र नभएर गण्डकी प्रदेशमै भलिवल प्रतियोगीतामा तहल्का मच्चाउन सफल छन् । सानो र छेउ कुनाको मानिएको गाउँको अनुहारमा देखिएको यो परिवर्तन उत्साहजनक छ ।

६) हामी दुइवटा होमस्टेमा बास बस्यौं । वार्चोकमा नन्दसिरी गुरुङ र सिकलिसको धप्राङथरमा डिल कुमारी गुरुङको घरमा । वार्चोकको होमस्टे आरम्भिक चरणमा छ । लमतरी र क्रपु जोड्ने गरी पदमार्ग बन्दा र त्यसको प्रचार गर्न सक्दा यहाँ होमस्टे फष्टाउन सक्छ । तरकारी र फलफुल त तोगीले नै दिइहाल्छ । होमस्टेका लागि स्थानीय पालिकाले केही सहयोग गरेको छ तर लमतरीले पर्यटक आकर्षित नगरेसम्म अघि बढ्दैन । लमतरीको पूर्वाधार विकास हुदै छ जुन पोखराबाट नजिकको एउटा दृष्यावलोकन स्थल हुनसक्ने प्रचुर सम्भावना सहित एउटा एतिहासिक धरोहर बोकेको २ हजार मिटर अग्लो पहाड हो । सिक्लिस चैं पर्यटकीय चापले धपक्कै बलेको छ । यसैपनि यो गाउँ आफैमा एउटा महत्वपूर्ण गन्तव्य हो । त्यसमाथि सबैभन्दा होचो भागको र नजिकको कफुचे ग्लेसीयर यतैबाट पुगिन्छ, कोरी र क्होलासोंथर या ताङतिङ जान हुँदै क्रपु जाने पदयात्रा यहाँबाट सहज छ । हामेस्टे चलेकोले आयस्ता पनि दिन थालेको र यसमा एकपटक आएकाहरुले दिएको सुचनाका आधारमा सम्पर्क लिएर आउनेहरु बढी रहेको डिलकुमारीका पती पत्नीको भनाइ थियो । तर गाउँले होटल तिर जाने कि होमस्टे जोगाउने भन्नेमा दोधारमा देखिन्छन् । पैसा हुनेले नयाँ र ठुला घर बनाउन थालेपछि चैं यसको साँस्कृतिक मुल्य कमजोर हुने देखिन्छ । होमस्टे र होटल दुवै फष्टाएको ताङतिङ पनि हो । पर्यटकको चाप बढेको छ त्यस अनुरुपको सुविधा अझै विस्तार भएको छैन । तर दुवै गाउँमा युवाहरु भविष्य देख्न थालेका छन् । शहरबाट फर्केर घर बनाउन, मर्मत गर्न र बस्न थाल्नेको संख्या बढेको छ ।

कृषि र पशुपालनको मात्रै कुरा गर्दा सरकारले अनुदान या सहयोग दिएर गरिएका कृषि तथा पशु फार्महरुको तुलनामा परिवार आफै सक्रिय भएर गरेका कामले सफलता पाएको देखियो । बाख्रा पालक किसानहरु हाँडीखोलाका महेन्द्रजंग गुरुङ, भुर्तुङका सञ्जय गुरुङ, तप्राङका बलबहादुर राना सफल देखिए । मौरीपालन र टनेल खेतीमा तोगीका पितृराज र भिमप्रसाद लगायतका किसानहरु सफल देखिए । अर्थात राज्य अहिले पनि पूर्वाधारको निर्माण, किसानहरुलाई प्राविधिक सहयोग, वित्तिय व्यबस्थापन र बजार ब्यबस्था समेतमा कतै पनि प्रभावकारी रुपमा उपस्थित भएको छैन । केही लोकप्रिय कार्यक्रम छन् जसले उल्लेख्य उपलब्धी दिएका छैनन् । यी कुरा जिम्मेवार तरिकाले वस्तीहरुमा पु¥याउन सके, स्थानीय स्रोतको उपलब्धता र सम्भावना सहित परिवारहरु आफ्ना लागि आफै विकल्प छान्न सक्ने गरि सहभागि गराउन सक्ने हो भने हामीकहाँ आर्थिक रुपान्तरण सम्भव छ । मैले माथि लिएका नाम उदाहरण मात्र हुन । 

स्थानीय तहहरु अहिले पनि देखिने भौतिक निर्माणको काममा बढी तल्लिन छन् । लोकप्रिय हुन र मताधार बढाउन चाहन्छन् । तर परिवार परिवारको आर्थिक अवस्था बदल्न ठोस र प्रभावकारी योजना बनाएर लागेका देखिन्नन । राजनीतिक दलहरुलाई सहभागि बनाएर, वडाध्यक्षहरुलाई उत्तरदायी बनाएर गरिवी हटाउनकै लागि र आम मानिसको जीवनस्तर उकास्न लागि पर्ने हो भने कमसेकम मध्यपहाडी र तराई भेगमा चैं केही बर्षमा नै परिर्तन गर्न सम्भव देखिन्छ । अलिकति माइक्रो इकोनोमी सुधार्नतिर लाग्ने हो भने म्याक्रो इकोनोमीका समस्या हल गर्न डेटा मेनिपुलेशन मात्र गर्नुपर्ने थिएन होला । अलिमाथि चिनको उदाहरण दिएको थिएँ । यहाँ थप्नुपर्ने कुरा के भने चिनले लाखौं राजनीतिक कार्यकर्ता परिचालन गरेर, समाजको धनि हिस्सासंग गरिवी हटाउने काम जोडेर, व्यक्ति व्यक्तीलाई उत्तरदायी बनाएर ७ वर्षमा झण्डै १० करोड मानिसहरुलाई गरिवीबाट मुक्त गरेको हो । गफैले र प्रतिवेदनले मात्र त गरिवी हट्दैन । दुःखको कुरा चैं धमाधम महाधिवेशन गरिरहेका हाम्रा राजनीतिक दलहरुको कार्यसुचिमा यस्तो विषयले प्रवेश नै पाएको छैन । 


No comments:

Post a Comment