Thursday, June 27, 2019

राजनीतिक टिप्पणी गर्दाका दुःख


राजनीतिक विषयमा टिप्पणी गर्ने र लेख्ने भएकोेले पत्रपत्रिका या रेडियो र टिभीहरुले आफुले देखाउन या लेख्न या सुनाउन खोजेको विषयलाई पुष्टि गर्ने गरि टिप्पणीको लागि आग्रह गर्ने गरेका छन । पत्रकारिताको सामान्य सिद्धान्तले पनि कुनै विषयलाई प्रस्तुत गर्दा सम्वन्धित विषयमा विज्ञता हासिल गरेको या काम गरिरहेको या सार्वजनिक रुपमा विश्वसनीय व्यक्तित्व निर्माण गरेकाहरुसंग टिप्पणी मागेर विषयलाई बलियो बनाउन प्रयोग गरिन्छ । केही बर्ष देखि फाट्टफुट्ट म पनि यस्तो टिप्पणी गर्नेमा परेको छु । कसैले वामपन्थी विश्लेषक भनेर र कसैले राजनीतिक टिप्पणी गर्ने  व्यक्तिका रुपमा या लेखकका रुपमा विभिन्न विषयमा मसंग टिप्पणी लिने गरेका हुन्छन । खासगरी नेकपाका बारेमा या वामपन्थी राजनीतिका बारेमा केहि सोध्नु पर्यो भने खोजिने मध्ये एकजना म पनि पर्ने गरेको भन्ठान्छु । म यसलाई सामान्यत आफ्नो पेशागत धर्मजस्तो मानेर स्विकार  गर्छु । 
यस्तो टिप्पणी प्रत्यक्ष भेटेर या फोनबाट पनि लिने गरिन्छ । टेलिभिजनमा त नभेटी हुने भएन । तर रेडियो र पत्रपत्रिकामा भने फोनबाटै काम चल्छ ।  टिप्पणीकारका रुपमा म यस्तो फोनबाट लिईने टिप्पणी र प्रकाशन हुँदा नबोलिएको कुरा आउने, बोलेको कुरालाई बँग्याएर सम्वाददाताले आफु अनुकुल बनाएर छाप्ने र वित्थामा नभनेको र आफ्नो मान्यता विपरितका भनाई सार्वजनिक भएकाले आफुले लाज मान्नु पर्ने अनेक अवस्थाको सामना गरेको छु । नेपाली अखवारवाला या अनलाईनवाला पत्रकारहरुले मसंग गरेको व्यबहार हेर्दा मलाई अरु म जस्ता टिप्पणी गर्नेका पनि मेरै जस्ता दुःख होलान भन्ने विश्वास लाग्छ ।
यसै साता दुईवटा अनलाईन पत्रिकाका सम्वाददाताहरुले मसंग जिज्ञासा राखेका थिए । दुवैको जिज्ञासा ओली सरकार र नेकपा भित्रका समस्याका सम्वन्धमा थिए । यसो सानो चर देखियो भने छिनो हालेर बढाउँदै ठुलै चिरो पार्नेगरि विषय पस्कनु त पत्रकारिताको धर्मजस्तो हुने गरेको छ । त्यसैले विभाजन या द्वन्दलाई प्रोत्साहित गर्नेगरि समाचारहरु बनाईन्छन । यस्तो सम्वाददाता आफै राजनीतिक रुपले वायस पनि हुनसक्छ । उसले तटस्थताका सिद्धान्तहरु भत्काएर आफु अनुकुलको समाचार बनाउँछ । या त सम्पादकले नै समाचारको जोड र कोण के मा लगाउने र त्यसका लागि कसकसलाई बोल्न लगाउने भन्ने निर्देशन दिएको पनि हुनसक्छ । 
यो साताका दुवै अनलाईनका सम्वाददाता मेरो चिन जानकै हुन । टिप्पणी मागिहाले पनि उक्त विषयमा आफ्नो मत पनि सार्वजनिक होस भन्ने अलिअलि लोभको समन गर्न नसकेर या सम्वाददातासंग अथवा पत्रिकासंगको निजी सम्वन्ध कायमै रहोस न त भनेर पनि टिप्पणी दिने गरिन्छ । कहिलेकहिँ दिन्न भन्ठानेको या बोल्दिन भन्ठानेको विषयमा पनि बोल्नु पर्ने गरि कर या अनुरोध आउँछ र पनि बोलिन्छ । 
सोध्नेले लामो पृष्ठभूमि बाँधेर आफु अनुकुलको उत्तर खोज्न प्रयास गर्छ । अथवा लामो बोल्न लगाएर आफुलाई चाहिएका शब्दहरु मिलाएर आफु अनुकुलको बनाएर पनि प्रकाशित गरिदिन्छ । विचको काटकुट गरेर प्रसंग नमिल्ने गरि छिकिदिएपछि बोल्नेले वास्तवमा भन्न खोजेको कुरा र यता देखाईएको कुरा कहिले कहिँ त आनका तान फरक हुन्छ ।
यो साताका दुवै टिप्पणीमा मेरा कुरा पुरै वँग्याईएको त थिएन तर यो एकप्रकारको डिष्टोर्सन भने अवस्य थियो । पहिलोवालाले मैले बोलेको भनेर आफ्नै भाषामा कोट घुसाएको थियो । सामान्यतया मलाई चिन्ने या मेरो भाषा बुझ्नेका लागि पनि त्यो मिलेको थिएन । अर्कोकुरा मैले जे कुरालाई जोड दिएको थिँए त्यससंग पनि त्यति तालमेल मिल्दैनथ्यो । सम्वाददाताले आफ्नो भाषा र अनुकुलतामा त्यसलाई मिलाएर पेश गरेको थियो । मैले मोवाईल एसएमएस मार्फत उनलाई यस्तो नगर्नु भएको भए हुन्थ्यो भनेर सजग गराएँ । तर कुनै प्रतिक्रिया दिन उनले आवस्यक ठानेनन ।
यता दोस्रो अनलाईनवालाले फोन गरेर टिप्पणी माग्दा महिले अघिल्लो दिनको उक्त समस्या सुनाएँ र रेकर्ड गरेर बोलेको कुरा मात्र राख्ने भएमात्र टिप्पणी गर्ने बताएँ । अघिल्लो दिनको सम्वाददातासंग यीनको पनि कुरा भैसकेको रहेछ । उनले आफु त्यस्तो नगर्ने भन्दै बचन दिए र टिप्पणी लिए । यी दोस्रोले मेरो भनाई त बँग्याएका थिएनन, आफु अनुकुल बनाए पनि अर्थ विग्रने थिएन । तर उनले आफ्नो समाचारमा म जस्तै अर्को टिप्पणीकारसंग पनि कुरा गरेका रहेछन  सायद फोनमै होला । समाचारमा पहिला अर्को टिप्पणीकारको भनाई लामो नै बनाएर राखिएको थियो । र अन्तमा मेरो भनाई राख्नु अघि झलक सुवेदी पनि ...........को भनाईसंग सहमत छन भनेर राखिएको थियो । जवकी उक्त टिप्पणीकारले के भनेको थियो भन्ने कुरा मलाई सुनाएकै थिएनन । मैले नसुनेको कुरामा मलाई सहमत भएको बताएर उनले दुवैलाई मिलाएर आफ्नो तर्क स्थापित गर्न खोजेको हुँदाहुन । तर भन्नु पर्ने चैं फलानो टिप्पणीकारकै जस्तो विचार झलक सुवेदीको पनि छ भन्ने हुनुपथ्र्यो । यहाँ पनि मलाई सम्वाददाताले ठगेको अनुभव भयो ।
यस अघि गत बर्षको कार्तिक महिना तिर या निर्वाचन घोषणा भैसके पछि दि हिमालायन टाईम्सका सम्वाददाताले मलाई तत्कालिन माओवादी केन्द्रले काँग्रेस संग सरकारमा बस्ने एमालेसंग चुनावी गठबन्धन गर्नु नैतिक रुपले मिल्ने कुरा हो कि हैन भनेर टिप्पणी मागे । मैले यसलाई सम्वन्धित दलले कसरी लिन्छ त्यसमा भर पर्ने कुरा हो भन्दै निर्वाचन घोषणा भैसकेको सन्दर्भमा कुन दलले को संग गठबन्धन गर्छ भन्ने विषयले खासै नैतिक प्रश्न नउठाउने भन्दै अफ्नो भनाई राखेको थिएँ । तर निज सम्वाददाताले त सिधै मेरो भनाई बँग्याएर शिर्षक नै नैतिक रुपले नमिल्ने भन्यो भन्ने अर्थमा राखेको रहेछ । पछि अर्को सन्दर्भमा उनले एउटा टिप्पणी माग्न फोन गरेका थिए । मैले अघिल्लो कुरा सम्झाएर किन त्यस्तो कुरा गरेको भन्ने प्रश्न सोधें । उनले फोन राखे र त्यस पछि कहिल्यै सम्पर्क गरेनन ।
यी त प्रतिनिधि उदाहरण मात्र हुन । एकपटक त म नेपालमा नभएको समयमा एकजना सम्वाददाताले मेरो नाममा आफैले छोटोमोटो कोट लगाएर समाचार बनाएको पनि पढ्न पाईएको थियो ।
टिप्पणी या कोट का लागि कुरा गर्न फोन गर्नेहरु पनि थरी थरिका हुन्छन । एकथरी फोन गरेर आफ्नो परिचय र कुरा गर्न चाहेको बिषय नखुलाईकनै प्रश्न सोध्न थाल्छन । अर्कोथरी हुन्छन फोन गरेपछी उत्तर दिने मान्छे कहाँ छ, के गर्दै छ, समय छ कि छैन, सोध्न खोजिएको बिषयमा बोल्छ कि बोल्दैन भन्ने ख्याल गर्दैनन र सिधै प्रश्न सोध्न थाल्छन् । यता बसमा कोचिएर उभिएर शरीरको सन्तुलन मिलाउदै बल्लबल्ल फोन उठाएको हुन्छु र पत्रकार चै तत्काल उत्तर माग गर्छ । कुनै अपराधीले करले वकिलका प्रश्न को जवाफ दिएजस्तो । कहिले साथी भाईहरुसँग सन्ध्याकालिन रमाझमा मा बसेको मुड बिगार्दै फोन वाला कर गर्छ । कहिले पारिवारिक काम या भेट्घाट भएको बेला म अहिले बिजी छु भन्दा पनि कर्कर गरी रहन्छ । कुनै अभिसप्त जस्तो परिस्थितीमा पारीन्छ । हैट दु:ख कती कती ? 
टिभी र रेडियोमा समेत लामो वाक्य र सन्दर्भलाई काटछाँट गरेर आफु अनुकुल बनाएर प्रशारण गरेको देख्नु सुन्नु पर्दा कहिले कहिँ त अब कहिल्यै यस्तो टिप्पणी दिन्न भन्ने झोक पनि चल्छ । तर अनेक गरेर तर्कन खोज्दा पनि कहिले कसैको करले, कसैको अनुरोध आग्रह टार्न नसकेकाले, कहिले आफ्नै कुरा भन्न मनलागेकाले आएको मौका छोप्नाले फसिहालिन्छ । 
सम्पादकहरुले, धेरै सम्वाददाताहरुले, चिनेका मित्र या भाईबैनीहरुले नै फर्काइ फुक्र्याई टिप्पणी लिने र पछि टिप्पणीकै हुर्मत लिने गरेका छन । उनीहरु आफ्नो प्रयासमा सफल भएकै छन म असफल भैनै रहेको छु ।
बोलेकै मात्र हो तर त्यसरी काँटछाँट र बँग्याईदाका दुःख व्यहोर्नेलाई मात्र था हुन्छ । 
अझ व्यक्तिगत नाफा घाटाको हिसाव गर्नेहरुलाई कति दुःख हुँदो यसरी विगारिंदा ?

No comments:

Post a Comment