किसान समस्यामाथि प्राज्ञिक बहस
हामीले कलेज प्रवेश गर्ने समयमा नेपालमा ९५ प्रतिशत जनसंख्या कृषिमा आधारित छ भनिन्थ्यो । अहिले त्यो घटेर ५८ प्रतिशतमा झरेको छ । त्यतिवेला समग्र अर्थतन्त्रको ९० प्रतिशत कृषिको योगदानमा आधारित रहेको बताइन्थ्यो । अहिले त्यो २७ प्रतिशततिर झरेको छ । त्यतिवेलासम्म पनि नेपालले कृषि उत्पादन निर्यात गर्दैथ्यो । अहिले वार्षिक अर्बौैंको खाद्यान्नलगायत कृषि उपज आयात गरिन्छ । हामीले राजनीतिमा प्रवेश गर्दा भूमिसुधारको प्रश्न पहिलो प्राथमिकतामा थियो, यसले सम्पूर्ण किसानलाई जमिनको मालिक बनाएर सीमित जमिनदारका हातबाट जमिन खोस्ने कुरा गथ्र्यो । कृषिमा उत्पादन सम्बन्धमा किसानको पक्ष बलियो भएसँगै उत्पादकत्व बढ्ने, समाज न्यायपूर्ण हुने र यसले समग्र अर्थतन्त्रलाई औद्योगिकीकरणतिर लान मद्दत गर्ने कुरा गरिन्थ्यो । पहिलो योजनादेखि नै कृषिलाई प्राथमिकतामा राखियो । तर, हरेक पछिल्लो योजनामा कृषि पछि धकेलिँदै गयो । अहिले पनि देशको कुल गरिब जनसंख्याको मुख्य हिस्सा कृषि पेसामा आधारित छ । परम्परागत कृषि नष्ट हुँदै छ । नयाँ विश्वसनीय कृषि संस्कृतिको विकास पनि भएको छैन । धमाधम मानिसहरू कृषिबाट पलायन भइरहेका छन् । स...