५ मेको सेरोफेरो
१. मे दिवस र ५ मे अस्ति १ मेका दिन विश्वभर मे दिवस मनाइयो । पर्सि ५ मेका दिन कार्लमार्क्सको जन्म भएको दुई सय वर्ष पुग्दै छ । यी दुवै सन्दर्भ एक–अर्कासँग अभिन्न रूपमा गाँँसिएका छन् । आफ्नो समयको मजदुर आन्दोलनका जगमा कार्लमाक्र्सले साम्यवादी दर्शनको परिकल्पना गरेका थिए । मार्क्सका शिक्षाबाट विश्वका कामदार वर्गले राजनीतिमा सहभागिता जनाउँदै बुर्जुवा सत्ताका विकल्पमा आफूलाई उभ्याएका थिए । समग्र मजदुर आन्दोलनलाई नै दुई भागमा बाँड्न सकिन्छः मार्क्सअघि र मार्क्सपछि । सन् १८४८ मा मार्क्स र एंगेल्सबाट लेखिएको कम्युनिस्ट घोषणापत्र नै इतिहासको यो विभाजन रेखा हो । एउटा विचारक र क्रान्तिकारीका रूपमा मार्क्सका काम र विचारले अहिले पनि दुनियाँलाई प्रभावित गरिरहेका छन् । जर्मन दर्शनको आलोचना गर्ने क्रममै उनले आफूलाई ऐतिहासिक भौतिकवादका प्रवर्तक बनाएका थिए । उनको समयमा युरोपभर पुँजीवादी क्रान्तिको जगजगी थियो । पुँजीवादी उत्पादन पद्धतिले सामन्तवादको मुलोच्छेदन गरिसकेको भए पनि राज्यसत्तामा सामन्तवादकोे उच्छेदन भइसकेको थिएन । सन् १७८९ को फ्रेन्चक्रान्ति र प्रतिक्रान्ति, सन् १८३० को क्रान्ति...