Monday, September 18, 2017

सम्झनामा ती दिन…

केही सम्झना बालुवामा पर्ने पाइतालाका डोबजस्ता हुन्छन् । अलिकति हावा चल्नुपर्छ उडेर आउने बालुवाले नामेट पारिदिन्छ । या कवि तीर्थ श्रेष्ठले कवितामा भनेजस्तो हिउँमा लेखिएका नामजस्ता हुन्छन् जो हिउँ परे पुरिएर हराउँछन् । घाम लागे हिउँ पग्लेर हराउँछन् ।
भदौ २९, २०७४ nayapatrika

केही सम्झना चट्टानमा खोपेका चित्रजस्तै हुन्छन् । केही लेउ लाग्न सक्छ, केही चमक हराउन सक्छ । छामेर हेर्नुस् ती जस्ताका तस्तै बसिरहन्छन् । थोरै पुछपाछ गर्नुस् ‘क्रिस्टल क्लियर’ भएर आउँछन् । बाल्यकालका अनेक घटना यस्तै चट्टानमा खोपिएका हुन्छन्, जसले जीवनलाई पछि फर्केर हेर्दा रमाइलो बनाउँछन् । दुःखी बनाउँछन् । रुवाउँछन् पनि र हसाउँछन् पनि । जीवनको जिउने कला, जीवनप्रतिको हेराइ, बुझाइ या समग्रमा जीवन दर्शन निर्माण गर्नमा यस्तैयस्तै अनेक चट्टानमा कोरिएका सम्झना त काम लाग्ने हुन् । गाउँघरको कृषि जीवनमा हुर्केकाहरूका बाल्यकालीन स्मृतिमा गाउँमा हुने जात्रा, वनपाखामा गाइने गीत र तिनले बोक्ने भाव तथा लयको जबर्जस्त प्रभाव हुन्छ । मलाई अहिले पनि तिनको गज्जबको प्रभाव छ । अहिले सजिलै प्रविधिले सुन्ने अवसर दिने यस्तै गीतले कहिले काहीँ निरसलाग्दा दिन या साँझलाई जिउनलायक बनाइदिन्छन् ।
यस्तै सम्झनामा पर्छ करापुटार र यस्तै सम्झनामा पर्छन् ठाडो भाकाका गीतहरू । यसो सुन्यो सुनूँ–सुनूँ लाग्ने । गुनगुनाउन मन लाग्ने । अहिले पनि फुर्सदमा सुनिबस्छु । फनक्कै घुम्यो हेर सनिसारै डाँडा माझैमा गैरी ताल … ए होला र यस्सै माया जाल… गैरी ताल … । सुन्न त सुनिन्थे तल पर्‍यो डुम्रे बजार, माथि पर्‍यो बन्दिपुर … तिम्रो मनको सुर … । अथवा रोइला र चुड्काहरू । तर, करापुटार भनेपछि सुन्न मन लाग्ने र सम्झनामा बढिरहेको चाहिँ त्यही ठाडो भाका हो । मामाघर थियो करापुटार चिसंकु । खान बस्नको समस्या हुन्थेन । गैहालिन्थ्यो ।
हाम्रो समयभन्दा अघिल्लो पुस्ताबाटै यो ठाडो भाका गाउँदै हिँडेका भेडीखर्के साइँलाको मंगलबार मृत्यु भएछ । यिनको गीत करापुटारमा उहिले झन्डै चालीस वर्षपहिले एकपटक प्रत्यक्ष सुनेको सम्झना छ । शिवरात्रिका वेला करापुटारको फाँटको बीचमा रहेको इसानेश्वर महादेवको मन्दिरमा दूध चढाउने र राति ठाडो बत्ती बाल्ने अथवा लाखबत्ती बाल्नेहरूको भिड हुन्थ्यो । वरपरबाट आफ्ना उत्पादन बिक्री गर्न आउनेहरू र एक पन्थ दुई काज गर्दै धार्मिक उद्देश्य र किनमेलको काम पनि सँगै गर्नेहरूले जात्रा निकै ठूलो बनाउँथे । चोयाका सामान डोको, मान्द्रो, भकारी, अलि तल पर्ने पोल्याङका कुमालले ल्याउने माटाका भाँडा र फलामका कुटो, कोदाला, आँसी, बन्चरो यहाँका मुख्य आकर्षण थिए, कृषि अर्थतन्त्रसँग गाँसिएका । तर, हाम्रा लागि यी सबैभन्दा बढी यो बजारको महत्व यिनै गीत सुन्नुमा थियो । दिउँसैदेखि दोहोरीका खाल बस्थे । रातभर चल्थे । भोलिपल्ट दिनभर पनि र अर्को रातभर गाइरहने पनि हुन्थे ।
लेकाली गाउँहरू सिङ्धी, पसगाउँ, भुजुङ, गिलुङ, मिजुरे, नाल्मा या घलेगाउँतिरबाट झरेका गुरुङहरू, सिन्दुरे ठुलो स्वाँरातिरका दुराहरू, कछाडतिरका मगर आआफ्ना हुल बाँधेर आउँथे र दोहोरीमा जम्थे । नाच्थे, गाउँथे, रमाइलो गर्थे, धर्मकर्म गर्थे, किनमेल गरेर अर्को वर्ष भेट्ने बाचा गर्दै फर्कन्थे । यस्ता गीतमा माया पिरतीका कुरा पनि हुन्थे, घर–परिवार र समाजका दुःखसुखका कुरा पनि हुन्थे, चेलीका दुःख माइतीलाई माइतीका दुःख चेलीलाई सुनाउने अनेक कथ्य हुन्थे । गीतमा हुने ‘न्यारेसन’का यी भाव झलकमानको कर्खा या धर्मराज थापाले गाएका कतिपय गीतमा, अम्बरको नौ लाख तारा उदाएमा या भूपाल राईले लेखेर कुन्तीले गाएको धरान धनकुटामा, भूपिले लेखेको र नारायण गोपालले गाएको अल्झेछ क्यारे पछेउरी, जीवन शर्माका गीतहरू, जेबी टुहुरेको आमा–दिदी–बहिनी हो जस्ता अनेक गीतमा पनि हुन्छन् । बब मार्ले र गत वर्षको नोबल पुरस्कार पाउने गायक बब डिलनले गाएका गीतमा पनि । यी करापुटारे गीतमा स्थानीय ब्लुज हुन्थे, स्थानीय कथाहरू, कृषि जीवनका अनेक बिम्ब सामेल भएका गेडा सम्झँदा यिनको तागत पछि–पछि महसुस हुँदै छ ।

अहिले जीवन बदलिएको छ । गाउँको कृषि अब सीमान्तीकरणमा परेको छ । विप्रेषण, बसाइँसराइ, बजारको विस्तार र अन्यत्र उत्पादन हुने दाल चामल या खाद्यवस्तु फैलेका छन् । विद्यालयको विस्तार र नयाँ युवामा परम्परागत ग्रामीण प्रचलनको प्रभाव घट्दै जाने गरी टिभी, एफएम र मोबाइल हुँदै जोडिएका नयाँ–नयाँ अवसरहरू । अर्थतन्त्रको आधारमा आउने परिवर्तनले संस्कृति, सम्बन्ध र जिजीविषामा आउने फेरबदलका प्रभाव । बेफुर्सदी र निराशाले निर्माण गर्ने कोलाहल । यी सबले बिस्तारै–बिस्तारै गाउँले जीवनमा उम्रने लोकलय र भाकाहरूको ठाउँ सहरका कोठामै कल्पना गरिने भाका र लयहरूले लिन थालेका छन् ।
भेडीखर्के साइलाको नाममा जे छ, त्यो लमजुङको ठाडो भाकासँग गाँसिएको छ । सिन्दुरेकै एउटा सानो ठाउँ भेडीखर्कमा जन्मेका भएर भेडीखर्के र आफ्ना दाजुभाइमध्येका साइँला भएकाले भेडीखर्के साइँला बनेका यिनको नाम आफैँमा तत्कालीन समयको एउटा बिम्ब हो ।
लमजुङे अथवा करापुटारे ठाडो भाकाको आयु पनि सवा सय वर्षजतिको भएको छ । सुरुमा ठुलोस्वाँराका देउबहादुर दुरा र गहतेका पञ्चैसुब्बा गुरुङले गाउने गरेको यो गीत पछि महिलाको पनि टिम तयार पारेपछि थप लोकप्रिय भएको भनिन्छ । पञ्चैसुब्बाको संकलनको एउटा गीत २००७ सालतिरै काठमाडाैँमा प्रकाशित हुने कुनै पत्रिकामा छापिएको भनेर मार्टिन चौतारीका अध्येता रमेश पराजुलीले एकपटक तस्बिर खिचेर ट्विटेका थिए । तर, अहिले खोजीपस्दा मैले पनि भेटिनँ उनको पनि रेकर्डमा रहेनछ । खस नेपालीमा गाइने भाका भएकाले त्यतिवेलै लमजुङमा गुरुङ र दुरा भाषामाथि खस नेपाली भाषाको प्रभाव बढिसकेको अनुमान लगाउन सकिन्छ । दुरा भाषाचाहिँ अहिले झन्डै लोप भइसकेको छ ।
देउबहादुर दुराको मृत्युपछि केही समय यो गीत गाउनेको अभाव खट्केको थाहा हुन्छ । गाउँमा बुढाहरूले यसको चर्चा गरेर सुनाएको मलाई सम्झना छ : कहाँ गयो देउबहादुर दुरा, शून्य भयो कर्पुटार बजार ।
भेडीखर्केले त्यही शून्यता पूर्ति गरेर ठाडो भाकालाई निरन्तरता दिएका थिए । उनको मृत्युसँगै ठाडो भाकाको निरन्तरता फेरि संकटमा परेको छ । स्याङ्जाली लोकगायक पशुपति शर्माले मुना थापामगरसँग मिलेर पनि ठाडो भाकामा गीत गाउने प्रयास गरेका रहेछन् । तर, त्यो गीत अभ्यस्त गायकको जस्तो छैन, ठाडो भाकाको गहिराइ त्यसले बोेकेको छैन । सामान्यतया यस्ता भाका र गीत भन्ने शैलीलाई आधुनिक जीवनका चुनौतीसँग मिलाएर गाउने गरियो भने त्यसले नयाँ जीवन पाउँछ । जसरी क्यारेबियन या अफ्रिकी देशका अनेक ब्लुज या परम्परागत गीतले अमेरिका प्रवेश गरेर प्रभाव सिर्जना गरेका छन् । त्यस्तै हाम्रा यी भाकाको निरन्तरता दिने र संरक्षण गर्ने प्रयासको खाँचो देखिन्छ । समय र आर्थिक सामाजिक विकासको क्रम पछि फर्केर देउबहादुर, पञ्चैसुब्बा या भेडीखर्केको जमानामा पुग्दैन, यो अघि बढ्छ । तर, मानिसका दुःखसुख व्यक्त गर्ने माध्यमका रूपमा सिर्जना हुने यी भाका र लयमा नयाँ जीवनका चुनौतीले थिलथिलो मनलाई उपचार गर्ने या मानिसलाई नयाँ समयसँग जुध्न प्रेरित गर्ने क्षमता हुन्छ, त्यसैले पनि यसलाई बचाइरहनु आवश्यक छ ।
केही वर्षपहिले द्वन्द्वकालका केही घटनाबाट पीडितको इतिहास उनीहरूकै कथ्यमा आधारित भएर एउटा डकुमेन्ट्री तयार पार्न अनुप सुवेदीसँग म पनि करापुटार पुगेको थिएँ । त्यस क्रममा करापुटारे भाकाविना यताको वास्तविक बिम्ब प्रतिनिधित्व नहोला भनेर स्थानीय रामबजारका एकजना गुरुङ दाइको घरमा स्थानीयलाई जम्मा गरेर गाउन लगाइएको थियो । अझै पनि डकुमेन्ट्रीचाहिँ सार्वजनिक प्रदर्शनमा आएको छैन । गीत के–कति समेटिएको छ भन्ने पनि था भएन । यता केही वर्षदेखि लमजुङका विभिन्न ठाउँमा ठाडो भाकाका गीत रेकर्ड गरिएका र पाको या काँचो रूपमा युट्युबमा राखिएको भने पाइन्छ । ठाडो भाका गाउँदै हिँड्नेलाई, श्रद्धाञ्जली भेडीखर्के साइँलालाई ।

No comments:

Post a Comment