Sunday, October 23, 2016

ईतिहास र प्रवृती ः उस्तै लाग्छन सबै

नेपालको विदेश सम्वन्धमा वहस जारि छ । गतबर्ष संविधान जारि भएपछि मधेशमा भएको आन्दोलनलाई सहयोग गर्दै भारतले लगाएको नाकावन्दी पछि देशको जनमत र राजनीतिक नेतृत्व ध्रुविकृत छ ः भारत ढल्कुवा या चिन ढल्कुवा भनेर एक अर्कामा चर्को आरोप लगाईने गरिएको छ । चिन ढल्कुवा हुनु राष्ट्रवादी र भारत ढल्कुवा देखिनु अराष्ट्रिय भन्ने मतको वर्चस्व छ । ईतिहासमा थान्को लागेका कतिपय गलत पात्रहरुको देवत्वकरण सुरु भएको छ । निरंकुश राजतन्त्रका नायक (जनता र लोकतन्त्रका लागि खलनायक) हरुको मुर्तिपुजा सुरु भएको छ र गणतन्त्रवादीका दरवारको मुल ढोकामा महेन्द्रका शालीक निर्माण गरिने हो कि जस्तो छनक मिल्छ । अस्तीमात्र गोवामा एउटा अन्तरराष्ट्रिय जमघटमा पुगेर आएका प्रधानमन्त्री प्रचण्डमाथि भैरहेको आलोचना र काठमाण्डौ ओर्लेपछि प्रचण्डले देखाएको अति उत्साहलाई हेर्दा हाम्रो द्धन्दको तत्व खुल्छ ।
नेपालको ईतिहासमा नै पहिलो पटक नेपाल, भारत र चिनका मुख्य कार्यकारिहरु  एकै ठाउँमा गफिएको तस्विरले के संकेत गर्छ ? के नेपालको महत्व अव भारत र चिनका विचमा सम्वन्ध सेतुका रुपमा विकास गर्न या नेपाललाई अर्काको प्रभाव क्षेत्रमा नछोड्न दुवै देशले चासो बढाएका हुन ? नेपालले भारत र चिनसंगका सम्वन्धमा अहिले अप्नाएका नीतिहरु, जुन हरेक सरकारपिच्छे फरक जस्ता लाग्छन्, र ईतिहासमा नेपालले लिएका नीतिका विच केहि सम्वन्ध पनि छ कि यो नयाँ कुरा हो ? शाह र राणाकालमा र सात सालपछि कसकसले कस्ता नीति लिएका थिए ? तिनले आजको नेपालको रणनीतिक सुरक्षामा के शिक्षा दिन्छन् ? नेपाल मामिलाका एक जना अमेरिकी अध्यता लियो रोजले झण्डै ४५ बर्ष पहिले लेखेको पुस्तक नेपाल स्ट्राटेजी फर सर्भाईवल (ईसं १७७०—१९७०) केहि उत्तर अवस्इ दिन्छन् ।
सन् १९७१ मा क्यालिफोर्निया विश्वविद्यालयबाट अमेरिकामा छापिएको ३१० पेजको यो पुस्तकको दोस्रो संस्करण मण्डला बुक प्वईण्टले दोस्रो संस्करणका रुपमा २०१० मा छापेको देखिन्छ । यस संस्करणको भूमिका जोन ह्वेल्पटनले लेखेका छन् जसले लियो रोजको लेखनकाल पछिका केहि सन्दर्भलाई उल्लेख गरेर पुस्तकमा ताजगी भरेका छन् ।
पुस्तक चार भागमा बाँडिएको छ । पहिलो भागमा नेपालको विदेश नीतिका आधारहरुको निर्माणको सन्दर्भ छ । दोस्रोमा पृथ्विनारायण शाहपछि कोतपर्व पहिलेसम्मको नेपालको विदेश सम्वन्ध, नेपाल तिव्वत युद्ध, नेपाल अँग्रेज युद्ध सहित नेपालले अँग्रेजहरु र चिनसंग राखेका सम्वन्धहरुको उतार चढावको कहानी छ । आधुनिक नेपालको ईतिहासमा यो समय सबैभन्दा बढि जोखिमको समय थियो नेपालको सन्दर्भमा जहाँ चिनिया सेना काठमाण्डौबाट जम्मा तिस किमि जति पर वेत्रावतीसम्म आई पुगेको थियो । उता अंग्रेजहरुले नेपालले अधिनस्थ पारेका झण्डै ४० प्रतिशत जति भूमि र राज्यहरु जितेको थियो र मकवानपुरवाट चिसापानी गढितिर अंग्रेज सेनाले चढाई गर्ने तयारी थालेपछि सुगौली सन्धीमा हस्ताक्षर गरेर नेपालले आफ्नो बाँकी भूभाग र राज्य जोगाएको थियो । अर्थात नेपालको अस्तित्वका लागि चुनौतिको समय थियो त्यो ।
तेस्रो खण्डमा राणाहरुको शासनकालमा नेपालको विदेश सम्वन्धको चर्चा छ । यस अवधीमा नेपालले तिव्वतमाथि एकपटक आक्रमण गरेको छ । ब्रिटिशहरुको पक्षमा सहयोग गर्न र भारतीय रजौटाहरुको विद्रोह दमन गर्न जंगबहादुर आफै लखनउ पुगेका छन् । व्रिटिश सेनामा गोर्खाहरुको निर्वाध भर्ति सुरु भएको छ, पहिलो र दोस्रो विश्वयुद्धमा नेपालले व्रिटिशहरुको पक्षमा प्रत्यक्ष सहभागिता जनाएको र सहयोग गरेको छ । यसै कालखण्डमा वेलायतलाई तिव्वत मिशनमा नेपालले सहयोग गरेर तिव्वतसंगको सम्वन्धलाई कमजोर बनएको छ, नेपालको बाटोबाट तिव्वत र भारतका विच हुने व्यापारको बाटो सिक्कम सरेको छ । नेपालले सन् १९२३ मा पहिलोपटक बेलायतबाट सार्वभौमसत्ता सम्पन्न देशको मान्यता लिएको छ र सन् १९५० को सन्धी मार्फत भारतको सुरक्षा छातालाई स्किार गरेर आफ्नो सार्वभौम सत्तामा सम्झौता पनि गरेको छ ।
चौथो भागले भारतको स्वतन्त्रताको तरखर देखि नेपालमा राणाहरुबाट शाहमा सरेको दरवारी शक्तिको सयम (१९४६ देखि १९७०) को नेपालको परराष्ट्र सम्वन्धको नयाँ अध्यायको चर्चा छ । यसमा त्रिभुवन, टंकप्रसाद, विपि समेतले नेपालको परराष्ट्र सम्वन्धलाई मोड दिन गरेका प्रयास पनि छन् । तर यसको मुख्य हिस्सा भने राजा महेन्द्रका नीतिहरुका सम्वन्धमा केन्द्रित रहेको छ । यहि अवधीमा भारतको सैनीक मिसन नेपाल आएको छ, उत्तर र पस्चिमका सिमानाहरुसम्मको नेपाल सरकारको सञ्चार सम्वन्धको स्रोत भारतीय सेना बनेको छ ।
चिनसंग कुटनीतिक सम्वन्धको स्थापना, सिमा सम्झौता सम्पन्न भएको छ कोदारी राजमार्ग निर्माण थालिएको छ । नेपालले अमेरिका, सोभियतसंघ जस्ता देशसंग कुटनीतिक सम्वन्ध स्थापना गर्दै राष्ट्रसंघको सदस्य बनेको मात्र होईन सुरक्षा परिषदको सदस्य बनेको छ । अर्थात भारतसंग स्वतन्त्र देखिने प्रयास गरेको छ । तर सन् १९५०को सन्धी सन् १९६५ मा भारतसंग सैन्य मामिलामा गरेको गोप्य सम्झौता पनि यसै समयमा भएको छ । यी विषयलाई पुस्तकले विस्तारमा चर्चा गरेको छ ।
चिन र व्रिटिश ईण्डिया÷ भारतका विच हिमालयको दक्षिण पानी ढलोमा बसेको नेपालले अहिलेसम्म आफ्नो सार्वभौमसत्ता जोगाएर राख्न सफल भएको छ । तर ईतिहास देखि आजसम्म सबै शासक या सरकार प्रमुख हुनेले आफ्नो सत्ता र देशको सार्वभौमसत्तालाई बराबर जस्तो प्राथमिकतामा राखेर यी दुई शक्तिसंग सम्वन्ध राख्ने गरेको, कहिले उत्तर ढल्केको या कहिले दक्षिण ढल्केको देखिन्छ । यसैगरि सत्तासिन र सत्ता निकटकहरु भित्र संधै कोहि न कोहि व्रिटिश÷ भारतको निकट कोहि चिनको निकट रहेको र यसले नेपालको विदेश नीतिलाई सन्तुलनमा राख्न पनि सहयोग पुग्दै आएको छ । हेर्दै जाँदा कसैलाई पनि राष्ट्रवादीको पगरि लगाउनु या राष्ट्रविरोधी विल्ला भिराउनुको औचित्य पनि सावित हुँदैन । सरकार र शासकहरु मात्र होईन सर्वसाधारण जनता पनि यी दुई कित्तामा उभिदै आएका रहेछन् । यसपालीको मुख्य चासो को कहिले कता ढल्केको थियो भन्ने जान्नु रहेको छ । केहि उदाहरण हेरौं ः
बहादुर शाहले तिव्वत आक्रमण गर्न लाग्दा दरवारीया हरि शाहले उग्र रुपमा विरोध गरेका रहेछन् जसकारण उनलाई सबै जीम्मेवारीबाट हटईएको रहेछ –पेज ५२)
दामोदर पाण्डेले अँग्रेज दुतावास काठमाण्डौमा राख्न स्विकृती दिएको कारण रणवहादुरको बनारस प्रबास थियो । रणबहादुर स्वयं व्रिटिशहरुलाई केहि छुट दिएर काठमाण्डौको सत्ता पुनप्राप्त गर्न चाहन्थे । भिमसेन थापा एकातिर व्रिटिश विरुद्ध मोर्चाबन्दीको कुरा पनि जारि राख्थे र नेपालमा सेना पनि बढाईरहन्थे तर आफ्ना आखिरी बर्षमा उनले पनि वेलायती दुत हड्सनसंग आफु नै व्रिटिशको सबैभन्दा विश्वासिलो मित्र रहेको बताएका थिए र माथवरसिंहलाई वेलायतसंग सम्वन्ध राम्रो बनाउन पठाएका थिए । यसलाई रंगनाथ पौडेल र गजराज मिश्रहरु झुठ भन्दै आफु विस्वसिलो रहेको दावि गर्थे । –९८)
भारत र चिनलाई एक अर्काका विपक्षमा प्रयोग गरेर फायीदा लिने प्रयास पनि सबै सासकहरुले गरेको देखिन्छ । यस मामिलामा विरेन्द्रको समय अलि कमजोर थियो उनले केवल चिन पक्षधर र भारत पक्षधर प्रधानमन्त्री आलोपालो बनाएर उक्त कार्डको प्रयोग गरेका थिए । तर दरवारको ईतिहास बेग्लै छ । कमजोर शासक मानिएका राजेन्द्रविक्रमले समेत चिन पक्षधर पाण्डेहरुको साथ लिएर व्रिटिश प्रभाव कम गर्न प्रयास गरेका रहेछन् । त्यतिवेला चौतारिया फत्तेजंग र पण्डित रंगनाथ व्रिटिशहरुको पक्षमा देखिन्छन् । राजेन्द्रले त व्रिटिशहरुले नेपालको बाटो तिव्वत जान नपाए आक्रमण गर्ने धम्कि दिएका छन् भन्दै नभएको कुरो समेत लगाउन भ्याएका रहेछन् (१००) ।
जंगवहादुरले एकातिर ब्रिटिशसंगको सम्वन्धलाई आफ्नो निरन्तरताको शर्त मानेर चलेको देखिन्छ । अर्कोतिर बेलायतीहरुलाई घुर्कि देखाउनका लागि चिनतिर कोशेली लिएर दुत पठाएका छन् । यस्तो कार्य पछि विर रणोद्धिप सिंह र चन्द्र संसेरहरुसम्मले गरेका छन् । उता नेपालसंग औपचारिक कुटनीतिक सम्वन्ध नभएपनि चिनीयाहरु केहि बर्ष विराएर कोशेली र प्रधानमन्त्रीलाई मान पद्वी सहित नेपाल पठाईरहन्छन् ।
विरसंसेरले गोर्खाहरुलाई ठुलो संख्यामा व्रिटिश सेनामा भर्तीको अनुमति दिएको कारण जंगहरु थिए । सन् १९५० को सन्धीमा नेपाललाई परोक्ष प्रत्यक्ष रुपमा भारतीय सुरक्षा छाताभित्र पार्न राणाहरुले स्विकृती दिएको भारतमा बसेर क्रान्तीको तयारीमा लागेका शक्तिहरुलाई रोक्न दिल्लीको सहयोगको अपेक्षाले काम गरेको थियो । सन् १९६५ मा भारतसंग भएको सुरक्षा सम्वन्धी सहमती काँग्रेसलाई असहयोग गर्न दिल्लीलाई मनाउन महेन्द्रले गरेका थिए ।
साना साना कुरामा दवाव दिन र नेपाललाई चिनतिर ढल्कीन नदिन आंसिक र अघोषित नाकावन्दी लगाउते भारतको पुरानै नीति रहेछ । नेपाललाई चिनतिर झुक्न रोक्ने, कोदारी राजमार्ग बन्न नदिने उद्देश्यले भारतले अघोषित नाकावन्दी समेत लगाएको थियो (२४७) ।
पहिले व्रिटिश ईण्डिया र पछि स्वतन्त्र भारतको दवाव थेग्न धेरैजसोले चिनलाई गुहारेको पनि उतिकै साँचो हो ।
अचम्मका घटना पनि देख्नु पढ्नुपर्छ । नेताहरु आज भारततिर झुकेका, भोली विहानै चिन तिर झुकेका र कतैका पनि नरहेका अनेक दृष्टान्त छन् । यससम्वन्धमा सबैभन्दा टड्कारो उदाहरण चैं डा. के आई सिंह र डा तुलसी गिरी पर्छन । सात सालको क्रान्ती सहमतिमा टुंगिएर विपि सहितको सरकार बनिसक्दा पनि विद्रोहको झण्डा बोकिरहेका के आई सिंहलाई दमन गर्न भारतीय सेनाको सहयोग लिईएको थियो । उनी सिंहदरवार कब्जा काण्ड पछि ज्यान जोगाउन चिनतिर गएर शरण लिएका थिए । उनलाई उक्साएर चिनले नेपालमा कम्युनिष्ट छापामार संघर्ष चलाउला भन्ने काठमाण्डौ र दिल्ली समेतलाई निकै चासो थियो । चिनले त्यसरी उनलाई उक्साएन । जब महेन्द्रले उनलाई माफि दिएर नेपाल बोलाए त्यसको भोलीपल्टै देखि सिंहले त चिनको उग्र विरोध गर्ने र दिल्लीको झण्डै दलाली गर्ने अभिव्यक्ति दिन थाले । यहि अभिव्यक्तिले दिल्ली खुशि पार्न खोजेका मेहन्द्रले सिंहलाई ११० दिनका लागि प्रधानमन्त्री समेत बनाए ।
नेपालको ईतिहासमा व्रिटिश ईण्डिया र गणतन्त्र भारतले संधै पाएको एउटा सुविधा रहेछ नेपाललाई दवाव दिन ः संधै जसो कोहि न कोहि भारतमा बसेर नेपालको सत्तासंग संघर्ष गर्दो रहेछ ।
बहादुर शाहकै समय देखि । रणवहादुर शाह र भिमसेन थापाहरु । । पद्यजंग लगायत जंग परिवारका सदस्यहरु । पछि नेपाली काँग्रेस लगायतका दलहरु । २०१७ साल पछि ससस्त्र विद्रोहमा लागेको नेपाली काँग्रेस ( लियो ई रोजले १८ साल वरपरको काँग्रेसको कार्वाहिलाई प्रष्टसंग आतंककारी भनेर किन लेखेछन् कुन्नी?)  पछिल्लो पटक मधेशवादी आन्दोलनलाई पनि भारतीय रणनीतिका पक्षमा उपयोग गरियो ।
नेपालका दुवै छिमेकी नेपाललाई न पूर्ण विश्वास गर्छन न आफ्नो प्रभाव कमजोर बनाउन नै चाहन्छन् भन्ने देखिन्छ । कतिसम्म भने नेपाल दरवारले चिनलाई पठाएका पत्र चिनिया÷तिव्वतीहरुले साखुल्ले भएर कलकत्तातिर अंग्रेजकहाँ पठाएका घटना पनि रहेछन् (१००) ।
सातसालमा नेपालमा पूर्ण रुपमा क्रान्तिकारी परिवर्तन हुनबाट भारतले नै रोकेको र आफ्नो प्रभाव क्षेत्रका रुपमा राख्न चाहेकोले विपिसंग भारतीय प्रधानमन्त्रीको ठ्याक धेरै ठाउँमा नमिलेको देखिन्छ ।
चिनले कोदारी राजमार्गको प्रस्ताव तिव्वतमा आफ्नो व्यापारिक आवस्यकता पूरा गर्न र दक्षिणतर्फ कनेक्टीभिटीका लागि दवाव दिएरै बनाएको भन्ने रोजको भनाई छ । कस्तो मिल्छ भने अहिले झण्डै ६५ बर्ष पछि ओविओआरमा नेपाललाई जोड्ने जोडदार प्रयासमा चिन नै लागेको छ ।
नेपालको मामिलालाई लिएर अहिले जस्तै भारत र चिन विच सम्वाद गर्ने चलन नेहरु र चाउ एनलाईको समयमा पनि रहेछ (२०७) । एउटाले भन्दा अर्कोले कसरी आर्थिक सहयोग बढि दिएर नेपाललाई फकाउने र आफ्नो बर्चस्व कायम राख्ने भन्ने चिन्ता पनि उतिवेलै देखिको रहेछ (२१२) ।
अहिले प्रचण्डको आलोचना गरिएको विषय, कतिपय अन्तर्राष्ट्रि मुद्धामा दुवै देशका समान धारणा छन् भन्ने कुरा नेहरु नेपाल आउँदा विपि र उनको संयुक्त बक्तव्यमा परेको कुरा पनि नोट गर्न लायक देखिन्छ ।
समग्रमा पुस्तक नेपालको वर्तमान राजनीति, कुटनीतिक सम्वन्ध र राज्यका धारणामा देखिने अनेक उतार चढावका विषयमा जान्न चाहनेका लागि नपढी नहुने स्रोत सामाग्री हो भन्न सकिन्छ ।

No comments:

Post a Comment