माटो–बहसको एक झलक
- विमल आचार्य कसैसँग आँखाले हेरिनभ्याइने जमिन छ अनि कसैसँग भने आँखाजति पनि छैन । मान्छेहरू कसरी कोही धनी वा गरिब भए ? जागिर–व्यवसायले धनी भए । कहिलेदेखि ? बाबुबाजेका पालादेखि । अनि, त्यसभन्दा अघि ? जग्गा प्रशस्तै थियो । कसरी भयो ? पहिले त यो धरा कसैको थिएन अर्थात् सबैको बराबरी थियो । शासक–प्रशासक जो भए, तिनलाई जसले रिझाए, उनीहरूले पाउनु पाए । टाठाबाठा जग्गामालिक भए, उनीहरूलाई बसीबसी खान पुग्यो । जग्गा नहुनेहरू अर्काको (जो उनीहरूको पनि थियो पहिले) खेतबारीमा मरीमरी काम गरेर पनि भरपेट खान नसक्ने भए । झलक सुवेदी समाज, अर्थ र राजनीति जोडजाड पारेर बरोबर कलम अनि मुख चलाउने साहित्यकार हुन् । साहित्यकार किन भनेको भने तथ्य र कल्पनाको डिमार्केसन मेटिँदो छ, उनको लेखनमा । ब्रिटिस साम्राज्यका नेपाली मोहरा : गोर्खा भर्तीको नालीबेलीमा जस्तै भूमि, किसान र राज्यमा पनि उनले साहित्यिक स्वाद पस्केका छन् । लेख्छन्, ‘गणेश हिमालको हिउँ त्यसरी नै पातलिएको छ, जसरी पृथ्वीनारायण शाहले निर्माण गरेको पहाडेहरूको स्थान खुम्चिँदै गएको छ ।’ भूमि, किसान र राज्य एउटा यस्तो अनुसन्धानमूलक पुस्...