Thursday, December 24, 2015

यो किसान, यी दल र भूमिसुधारका कुरा



यहि सोमवार प्रज्ञाहलमा विचार विशेष नामक एउटा जर्नलले आयोजना गरेको भूमिसुधार सम्वन्धी वहस कार्यक्रममा एकजना किसानले पनि वक्ताको रुपमा भाग लिए । कार्यक्रमका प्रमुख अतिथि थिए आदरणीय प्रदिप गिरी । आयोजक मध्यका थिए साँसद तथा कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा । सहभागि अन्य वक्ताहरुमा एमाले नेता साँसद केशव बडाल पनि थिए र  अनुसन्धानदाता कृष्ण पौडेल पूर्ण विके (पिएचडी), अभियानकर्मी जगत वस्नेत लगायतका अतिथिहरु मञ्चमा देखिन्थे । म अलि ढिलोगरि कार्यक्रममा पुगेको थिएँ । एकैछिनमा यी किसान वक्ताको रुपमा बोलाईए । उनले झण्डै १० मिनट धाराप्रवाह बोले र नेपालमा विभिन्न दलका सरकारहरुले भूमिसुधारका पक्षमा के गरे या के गरेनन भन्ने वारे धारणा राखे । उनको सामान्य तर्क थियो किसानलाई भूमिको अधिकार नदिईकन या किसानहरु जमिनको मालिक नभैकन यो देशमा उन्नती पनि हुन्न, कषिमा व्यापक रोजगारि सिर्जना नगरि युवा विदेशिने क्रम पनि रोकिन्न । यी किसान वक्ता थिए भूमि अधिकारकर्मि सोम  भण्डारी ।
दशदिन जति अगाडी यी सोम राष्ट्रिय योजना आयोगको सभाकक्षमा उपाध्यक्ष युवराज खतिवडासंग चर्को स्वरमा भनिरहेका थिए ः यो भुकम्प पिडितहरुले पाउने राहत कोटामा भूमिहिन या घडेरीको पनि लालपुर्जा नभएको साउको या गुठिको जमिन कमाएर पुस्तौ बसेको किसानले कसरी ऋण पाउँछ, घर कहाँ बनाउँछ र सहयोग पाउँछ ? पहिले तीनलाई जमिनको हक देउ अनि राहत पनि देऊ । उपाध्यक्ष खतिवडा यीनका कुरा ध्यान दिएर सुनिरहेका थिए । यी रहेछन् भूकम्प पिडितहरुको संगठनका पनि अध्यक्ष र यीनको चिन्ता भने भूमिहिनहरु सरकारले दिने राहत र ऋण पाउनबाट पनि बञ्चित होलान भन्ने रहेछ । त्यसभन्दा केहि अगाडी एकदिन यीनी भूमिसुधार मन्त्रालयका सचिव सहिसचिव लगायतका अधिकारीहरुसंग गुठि जमिन कमाईरहेका किसानका नाममा जमिन दर्ता गराईदिन माग गर्दै त्यसरी नै बोलीरहेका थिए ।
मलाई यीनको चरित्र या व्यक्तित्व र झण्डै लहडी ढंगले एकोहोरो किसानका पक्षमा लागिारहने आन्दोलीत जिवनले पोहोर देखि नै आकर्षित गरिरहेको थियो । समाजसंग सम्वाद गर्न मलाई केहि पात्रहरुले प्रेरित गर्छन, म कुनै माध्यमबाट उ भित्र प्रवेश गर्न र अन्तरंग भएर कुरा सुन्न लालयित बन्छु । हामी राजनीतिक टिप्पणी लेख्नेहरु राजनीतिका ताता पिंडालुजस्ता समाचारमा प्रवेश गर्छौैं, आफुलाई चाहिएको मसला झिक्छौं र आफ्नै दृष्टि र कोण सहित त्यसको पुनर्उत्पादन गरेर पस्कन्छौं । मलाई अहिले यी निरन्तरका राजनीतिक घटनाहरु दैनन्दीन राजनीतिलाई प्रभावित गर्ने कथित ‘ठुला मुन्छे’हरुलाई लिएर टिप्पणी गर्न मनै लाग्दैन, त्यसले निराशा बाहेक केहि हात लाग्दैन । यहि सन्दर्भमा मलाई यी पात्रभित्र नेपाली समाजको चरित्र, यहाँका आन्दोलनहरु र त्यससंग गाँसिएको राजनीतिको पाटो परख गर्न मन लाग्छ । यीनलाई पढिसके पछि  नेपालमा हरेक केहि बर्षमा हुने क्रान्तीकारी आन्दोलनहरुको जग भेटिए झै लाग्छ जसलाई यीनै सोमप्रसाद जस्ता आन्दोलनकारीहरुले धानेका छन् । ईतिहास यी साधारण मानिसहरुको होईन ठुला मान्छेको कुरा गर्छ । अरु या हरु मा गएर यिनीहरुको ईतिहास विलिन हुन्छ ।
बैशाख १२ को भुकम्प आउनु दुई साता अगाडीको कुरा हो । म एउटा कामले मेलम्ची तिर हिँडेको थिएँ । जहरसीं पौवामा चिया खाएर केहि पर पुगेपछि गाडि रोकियो र विग्रेको चक्का बनाउन थाल्यो । म केहि बेर सडकमा एक्लै अगाडी बढिरहेको थिएँ । त्यहिँ सडकमा मेरै झैं कपाल सेतै फुलेका हट्टा कट्टा र रातो पिरो अनुहारका सोम भण्डारीसंग अन्तरंग कुरा  गर्ने मौका मिलेको थियो । हामीले केहि बेर हिड्दै बाटो तल माथिका ऐसेलुका झ्याङ चाहार्दै निकै एैसेलु पनि खाएका थियौं । मैले यीनको जीवनका केहि पक्ष त्यहिँ खोतलेको थिएँ । यीनकी पत्नी विरामी थिईन, यीनी किसानलाई संगठित गर्ने अभियानमा नै सक्रिय थिए । भोलीपल्ट विहान हामी यीनको घर पुग्यौं जो किउल गाविसमा मेलम्ची खानेपानीको मुहान जाने सडकको माथि पर्छ । यीनको पारिवारीक र आर्थिक जीवनको केहि झल्को पनि मिल्यो ।
“मेरो गाउँमा एकजना तामाङ किसान थियो बहिरा काले भन्ने । उसले हेलम्वुको एउटा साहुको जमिन निकै धेरै कमाएको थियो । उक्त किसान मरिसकेपछि हामीले अनेक उपाय रचेर, साहुको दलाली गरेर त्यसमध्यको केहि जमिन कमाउन थाल्यौं । लामो समयसम्म यो जमिन कमाएपछि साहुको दास पो भैयो भन्ने लाग्यो । हामीजस्तै साहुको जमिन कमाउने दोर्जे तामाङ थियो । एकपटक उसको साहुले आएर घर भत्काईदियो र उठिबास लगाउन खोज्यो । दोर्जेले हामीसंग सहयोग माग्यो । म वडाअध्यक्ष थिएँ । केहि सहयोग गरियो र उसको उठिवास लगाउन दिईएन । मलाई दोर्जेको अवस्थाले निकै दुखित बनायो ।’
“म आफ्नो किशोर अवस्थामा नै साहुको दासत्वबाट मुक्त हुन खोजीरहेको थिएँ । विहे भैसकेको थियो । मलाई घर बस्न मन लागेन । २० बर्षको उमेरमा एक पैसा नलिई राति उठेर घर छाडेर भागें । विना उद्देश्य हिन्दै जाँदा महोत्तरी पुगें र पछि भान्से काम गर्ने भन्दै त्यहाँको मटिहानीको संस्कृत पाठशालामा पुगें । तर त्यहा धेरै पढिन र पछि जनकपुरको यज्ञवल्क्य संस्कृत पाठाशालामा पुगेर पढें । त्यहि बाट २०३८ सालमा एसएलसी दिएँ र घर फर्कें । एसएलसी त पास गरिन तर त्यहि पढाईले गाउँमा आउनासाथ शिक्षक नियुक्ति पाएँ । र गाउँकै पहिलो शिक्षक बनेर पढाउन थालें ।”
“हाम्रो वडाको ५० धुरी घरपरिवार मध्ये ४७ घरधुरी अरुको जमिन कमाउने किसानको थियो । तिन घर मात्र आफ्नो मात्र जमिन कमाउँथे । मेरा बाले २० रोपनि जति साहुको कमाउनु हुन्थ्यो । हामी छुट्टभिन्न हुँदा मलाई २ रोपनि मोहिवाला जमिन पर्को थियो । मेरो नीजी जमिन तिन रोपनि थियो । पछि दाजुभाईले कमाई रहेको मोहि जमिन पनि मैले सकारेर पाँच रोपनि जमिन साहुको कमाउँछु ।”
२०४५ सालको कुरा म शिक्षक पेशा छाडेर राजनीतितिर सक्रिय भएको थिएँ । मेरा त्यतिवेला दुईवटी छोरी थिए । हामी बर्षभरि धेरैजसो आलु खाएर बाँच्थ्यौं । त्यतिवेला मैले निलकण्ठ भण्डारीको जमिन कमाएको थिएँ । मंसीरमा दाँईको बेला थियो । दाँई सकेपछि धान जति सबै भरेर साहुले लगे । छोरीहरु दुवै रुन थाले ‘बुवा धान सबै अर्कैले लग्यो । हामी के खाने नी ?’ छोरीहरु रोएपछि मेरो पनि भक्कानो छुट्यो । आफ्नै जीवन देखि धिक्कार लागेर आयो । म यो अवस्थाबाट मुक्त हुने उपाय खोज्न थालें । यसले मलाई किसानको हकका पक्षमा आवाज उठाउन प्रेरित गर्यो ।
त्यतिवेलासम्म म तत्कालीन मालेको सम्पर्कमा पुगिसकेको थिएँ । मालेका साथिहरु जसको जोत उसको पोतको नारा लगाउँथे । हामी मोहिलाई त्यो भन्दा ठुलो कुरो के चाहिन्थ्यो र ? संधै अर्काको जमिन कमाउने र खानेवेलामा पुर्पुरोमा हात लागउने अवस्थाबाट मुक्ति यहि नारामा गाँसीएको थियो । म एकोहोरीएर त्यता लागेको थिएँ । मलाई सम्पर्क गर्न जानेमा मायानाथ अधिकारी र केशव बडालहरु थिए ।
किसानलाई कसरी जमिनको अधिकार दिलाउने भन्ने चासो मेरो आफ्नै समस्यासंग गाँसीएकोले मलाई यसले घरिघरी पोलीरहन्थ्यो । यसै क्रममा गाउँमा जयवागेश्वरी बचत तथा ऋण सहकारी गठन गरेर किसानलाई संगठित गरियो । अरु कुरामा सहयोग पुगेपनि यसबाट किसानलाई अधिकार दिलाउन नसकेपछि हामी किसान अधिकारको पक्षमा काम गर्ने तयारीमा लागेका थियौं । यहि क्रममा गाउँमा सामुदायीक विकासको काममा लागेको सामुदायीक आत्मनिर्भर केन्द्रको सम्पर्कमा पुग्यौं । वास्तवमा उनीहरु मलाई अर्थात सहकारीको अध्यक्ष, वडाध्यक्ष र गाउँको एमालेको सचिवसंग भेट्न आईपुगेका थिए आफ्नो योजना लिएर । मैले सहकारीमा कुरा लगें र सहकारीसंग मिलेर काम गर्ने गरि सेवाकेन्द्रले काम गर्ने भयो । हामीले एउटा शर्त राख्यौं ः किसानलाई अधिकार दिलाउन एउटा भूमि ऐन किसानलाई सिकाउने प्रशिक्षण कार्यक्रम चलाउनु पर्ने । त्यस अनुसार २०५१ साल चैत्र ११, १२, १३ मा प्रशिक्षण कार्यक्रम गरियो । अन्तमा त्यसमा सहभागि किसानहरुले मोहि हकहित संरक्षण समिति बनाउने निर्णय भयो । अहिले त्यहिसंस्थाको विकसित रुप राष्ट्रिय भूमि अधिकार मञ्चका रुपमा क्रियाशिल छ । यसका ५४ जिल्लामा साखाहरु छन् । ” किसानहरुको अधिकारको पक्षमा लड्ने यो संस्थाको यो विस्तार उनको लागि गर्वको विषय हो ।
उनी राजनीतिमा लाग्दा पार्टीले दिएको जसको जोत उसको पोतको नारा कार्यान्वयन हुन्छ भन्ने आसा बढ्यो । उता पार्टी बनाउन जाने केशब बडाल नै भूमिसुधार आयोगको अध्यक्ष भएपछि झन विश्वास बढ्यो । एकपटक यीनी केहि किसानहरु सहित तत्कालीन भूमिसुधार मन्त्री राधाकृष्ण मैनालीकाहाँ गए । मैनालीले किसानहरुको जमिन दर्ता गर्ने निवेदन माथि भूमि सुधार ऐन २०३४ अनुसार गर्नु भनि तोक लगाए । त्यो ऐन अनुसार जमिन कमाउन लिने दिनेले एक आपसमा गाविसमा करार दर्ता गरेको छ भने त्यो सहित आवेदन दिएमा मात्र किसान मोहिका रुपमा कायम हुने व्यबस्था थियो । मैनालीको तोकले जमिन कमाई आएका तर मोहि दर्ता कायम नभएकाहरुका हकमा केहि पनि राहत दिदैनथ्यो । यीनीहरु ऐनबारे अध्ययन गरेर गएका थिए । मौनालीको तोकले काम गरेन भन्ने थाह पाईहाले । अर्थात अव एमलेको सरकारले किसानलाई हक दिन्छ भन्नेमा विश्वास भत्कने क्रम सुरु भयो । यो निराशा त पछि जनयुद्ध गरेर आएको माओवादी नेतृत्वको सरकारले पनि केहि नगरेपछि झन बढ्यो । नेपालमा भूमिसुधार र किसानको हितको प्रश्नमा वामपन्थीहरु नारा त ठुलो दिने काम नगर्ने दल हुन भन्ने निष्कर्ष उनको मनमा चस्कने एउटा दुःख हो ।
“म दावी गर्छु हाम्रो आन्दोलनले धेरै किसानलाई फायीदा भएको छ । कमसेकम गुठिका मात्र ८ हजार किसानले स्थायी अस्थायी पुर्जा पाएका छन् । मोहि किसानका हकमा ५ हजार जतिले जमिनको स्वामित्व प्राप्त गरेका छन् सिन्धुपाल्चोकमा मात्र । देशभर त ३६ हजार अर्काको जमिन कमाई आएका मोही या उखडा किसानले जग्गाधनि बन्ने अवसर पाएका छन् । १४ लाख भूमिहिन किसान छन् दर्तावाल मोहि १ लाख २० हजार वेदर्ता ५ लाख छन भन्ने उनको तथ्याँकले भन्छ । उनको अभियान यी सबैले घडेरी र उत्पादनका लागि जमिन पाउन भन्ने छ । पुँजीपतिले भाडामा जमिन लिनु अलग कुरो हो तर जो आफ्नै श्रमले खेतीपाती गर्छ उसले जमिन पाउनुपर्छ र जमिन नकमाउनेको जमिन हुनुहुँदैन भन्ने यीनको तर्क छ । यीनको तर्कसंग हाम्रो अर्थराजनीतिका अनेक गाँठा गुजुल्टीएका छन् ।
“कम्युनिष्टहरुले भूमिको प्रश्नलाई नारामात्र बनाए । विपिले पनि २०१५ सालमा त भूमिको प्रश्नमा किसानको पक्षमा विचार अगाडी बढाएका थिए । उनलाई विचैमा सत्ताबाट हटाईयो । २०४८ मा गिरीजा सरकारका भूमिसुधार मन्त्री जगन्नाथ आचार्यले भूमिसुधारका बारेमा केहि सकारात्मक सोच अगाडी बढाउना साथ उनी राजीनामा दिन वाध्य भए । एमालेले पहिलो कार्यकालमा केहि काम गर्ने भनेर आयोग गठन गर्यो । बडाल आयोगले अत्यन्त राम्रा सुझाव दिएको थियो तर कार्यान्वयन गर्ने वेलामा एमाले सरकार पनि ढल्यो । पछि देउवाले केहि हदसम्म सकारात्मक प्रयास गरेका थिए । माओवादीहरु शान्तीप्रक्रियामा आएपछि अन्तरिम संविधानले भूमि सुधारलाई महत्वपूर्ण प्राथमिकतामा राखेपनि र पछि हरिवोल गजुरेलको अध्यक्षतामा आयोग बनाएपनि एमाओवादीले ठोस रुपमा भूमिका प्रश्नमा कुनै देखिने काम गरेन । अहिले पनि पस्चिममा हलियाहरु, मध्य तराईमा हरुवा चरुवाहरु तथा धेरै दलित र भूमिहिनहरुको अवस्था दयनीय छ । सबैभन्दा बढि गरिव पनि तिनै छन्  । हामी किसानका लागि अझै पनि आन्दलन नै विकल्प हो । मलाई जीवनकालमा भूमिहिनहरुको अवस्थामा सुधार आउने गरि आन्दोलनलाई अगाडी बढाउन पाए सन्तोष हुन्थ्यो भन्ने लाग्छ ।”
भण्डारी सेता कपडामा थिए । पछि कुरा गर्दा थाह भयो भुकम्पमा परेर यीनका बृद्ध पिता माता र एकजना दिदिको मृत्यु भएको थियो । उनको घर पनि भुईचालोले ध्वस्त पारिदिएपछि अहिले सामान्य टिनको छाप्रो बनाएर बसिरहेका छन् । यी त आन्दोलनमा हिडिरहन्छन् । घरमा दमको व्यथा भएकी श्रीमति छन जसलाई झरी बादल र हिँउदको चिसोले सताईरहन्छ । भरखर १२ पढ्दै गरेकी छोरी र आठ पढ्दै गरेको छोरो छन् । टिनको छानोमुनि यी किसानको जीवन जसोतसो चलिरहेछ । यीनलाई राजनीतिक दलहरु आफ्नो पक्षमा तान्न बल गरिरहन्छन् । एमालेले आफ्नै ठान्छ, एमाओवादी फकाउन चाहन्छ र काँग्रेसमा पनि मित्रहरु छन जो यीनको सामाजीक सम्वन्धको उपयोग गर्न चाहन्छन् । यीनले चैं  आफुलाई तटस्थ राख्दा नै किसानको पक्षमा काम गर्न सहज हुने ठानेका छन् ।
मैले यीनको कथाका केहि पाटा खोतल्दै जाँदा लाग्यो देशका देखिने नेताहरु भन्दा यी जस्ता नदेखिने नेताहरु हाम्रो सामाजीक परिवर्तनको कार्यसुचि लागु गराउन धेरै महत्वपुर्ण छन् । जसले प्रत्यक्ष रुपमा दलहरुबाट फायीदा लिएका पनि छैनन र सामान्य परिचयमा छन् । देशको वृहत्तर राजनीतिक डिष्कोर्षमा उनीहरुको नाम कसैले लिदैन । बसमा या सार्वजनिक स्थलमा उनीहरुलाई देखेर कसैले चिन्दैन । तर यीनीहरु सामाजीक परिवर्तनका खातीर आफ्नो सर्वस्व सुम्पेर हिडिरहेछन् । यस्ता मानिसहरु छन र हाम्रो समाज गतिशिल छ । समाजका अनेक आयाम र विधामा जे जति सोम भण्डारीहरु छन् उनीहरुको अभियानलाई सलाम ।

No comments:

Post a Comment