Wednesday, December 5, 2012

ब्रिटिस साम्राज्यका नेपाली मोहरा, गोर्खाभर्तिको नालीबेली - नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति बैरागी काँइला, मानवशास्त्री डम्बर चेमजोङ र डा. हुम गुरुङको समिक्षा



‘जिउँदो पात्रहरूले सुनाएको सत्यकथा’
                                      
–बैरागी काइँला

झलक सुवेदीको यो पुस्तक पढिसकेपछि मलाई रमाइलो पनि लाग्यो । उद्वेलित पनि ग¥यो । यदि पुस्तक नपढेको भए तत्कालीन नेपाली समाज र नेपालको कतिपय कुराहरू बुझ्नबाट बञ्चित हुने थिएँ कि भन्ने अनुभूति भयो । खोजमुलक रहेछ । लेखक र प्रकाशकले गैरआख्यानिक कृति भनेता पनि पढिरहँदा उपन्यास पढेजस्तो लाग्यो । झलकजीले सुरुमा नै नेपालको संक्षिप्त इतिहास राख्नु भएको छ, ‘गोरखाली राज्यको स्थापना वर्तमान नेपालको जग हाल्ने काम र तिनको राज्य बिस्तारसँगै जोडिएर आउने भारतीय भूमिमा प्रभाव र प्रभुत्व बढाई राखेको ब्रिटिस उपनिवेशवादी सँगको जोड टक्कर थियो नेपालीको ।’ त्यसको पनि यस किताबमा प्रभावकारी झल्को छ । 
गोरखाली र इष्ट इण्डिया कम्पनी सरकारसँगको युद्ध पछि भएको सुगौली सन्धि सम्झौतासँगै सुरु भएको लाहुर जाने चलनले आज परम्पराको रुप लिएको छ । अन्यत्र पनि सेवाको लागि जानेहरूबाट लाहुरे संस्कृति विकास भएको यो पुस्तकमा पढ्न पाइन्छ । हामी देख्छौं, गोरखालीहरूले नेपाल एकीकरणको क्रममा जितेका जातिहरू पछाडीको पुच्छर ‘ली’ काटेर र गोरखा भएर तिनकै बिँडो थामेर इतिहासलाई चम्किलो पारेर हिडेका छांै । तिनै गोरखालीको बिँडो थाम्ने भइरहेका छन् पश्चिमका गुरुङ, मगर र पूर्वका राई, लिम्बूहरू । गेसो सभापति पदमबहादुर गुरुङ, जसको यस पुस्तकमा संघर्षपूर्ण रामकहानी छ, त्यसको माध्यमबाट लेखकले गोरखाली सेनाबाट सुरु भएको लाहुरे संस्कृतिको विकासको आधार र ब्रिटिस सेनामा कार्यरत गोरखा लाहुरेहरूको कथाब्यथा अन्त्यन्त प्रभावकारी ढंगले राख्नु भएको छ ।
यो कहानी भित्र पत्याउन नसकिने यथार्थ कथाको वर्णन छ । त्यो कथा हो, ‘नेपालीले अर्काका लागि लडेको लडाइँको कथा । यसरी लडेर आफूले होइन अर्कैले जितेको कथा ।’ दुई ठूला विश्वयुद्धको र अन्य थुप्रै लडाइँहरू लडिसकेपछि नाङ्गा खुट्टा र खाली हात फर्काइएका अशक्त लाहुरेहरू र कहिल्यै नफर्कने पति वा छोराहरू पर्खेर बसेका पत्नी र आमाहरूको ‘फेन्टेसी’ जस्तो लाग्ने यो सत्यकथा नेपाली जीवनको कटु यथार्थ पनि हो । म मेरो छिमेककोे बाजेको मावली पर्ने जो पहिलो विश्वयुद्धमा लडेर फर्केका थिए,  उनले भोगेको दुःखको एउटा उदाहरण दिन्छु । ती बाजेलाई पनि लडाइँपछि रित्तो हात घर फर्काइएको रहेछ । हामी उनको घरमा उनका नातिहरूसँग खेल्न जान्थ्यौं । तर, उनीहरूको दुःख चाहिँ विचित्रको थियो । सानो मासुको टुक्रा पनि बाडेर होइन चाटेर पालो पु¥याउनुपर्ने अवस्था थियो । साउने सक्रान्तिको समय थियो । मासुको एक टुक्रा एकजनाले चाट्थ्यो, फेरि अर्काेलाई चाट्न दिन्थ्यो । तर, कसैले पनि निल्दैनथ्यो ।  लडाइँबाट फर्किएको त्यो बाजेको नातिहरूको कथा हो यो । नाम काटिएर आउनेहरुको त्यस्तोसम्म बेहाल थियो । आज विश्वास लाग्ने कथा जस्तो नलागे पनि यो यथार्थ थियो । 
यो किताब पढेपछि ‘घाम कहिल्यै नडुब्ने’ साम्राज्यका धनी अंग्रेजहरूको मानवता सम्बन्धी मानवीय संवेदना रहितको व्यापारको झल्को हामी पाउँछौ । अहिले आएर नेपालको लागि लाहुरे संस्कृति परम्परा र आयको स्रोत हुन पुगेको छ । यसको सकारात्मक र नकारात्मक पक्षहरू पनि धेरै होलान्, यो किताबमा लेखकले दुइटै पक्षलाई प्रस्तुत गर्नुभएको छ । उहाँले पूर्व धरानदेखि पश्चिम नेपालका धेरै गाउँहरूमा गएर युद्ध लडेकाहरूलाई प्रत्यक्ष भेट्नु भएको रहेछ । इटहरीकी शान्तिमाया लिम्बू, चन्द्रमाया, आइपीमाया, डम्बरबहादुर गुरुङ, दिक्पाल गुरुङहरू जस्ता जिउँदा पात्रहरूको मुखबाट आएको सत्यकथाले भरिएको छ यो किताब । यो कथा एकप्रकारले आख्यान पनि हो, गैरआख्यान पनि हो । अहिले निश्चित एउटा विधामा लेख्ने चलन हरायो पनि भनिन्छ । हामीले उपन्यास ‘लज्जा’ पढ्यौं, त्यो पढ्दा उपन्यास भन्दा पनि किताबको ‘डकुमेन्टेसन’ जस्तो पनि लाग्थ्यो । 
वास्तवमा लाहुरे सस्ंकृतिले धेरै कुरा ल्यायो । राम्रो पनि ल्यायो र नराम्रो पनि । यो किताब पढेर हामी देख्छौं पैसा आयो तर पछिबाट । ऋण परेकाहरूले पैसा ल्याएर घरजग्गा उकासे होलान् । पतिले छोडेर गएपछि स्वास्नीको शारीरिक पीडा अर्कै होला । छोराछोरीको हालत र हविगत अर्कै भयो होला । अनेक नकारात्मक पक्षहरू पनि आए । मैले हाम्रो आफन्त भित्रै पनि देखेको छु, पतिले पठाइदिएको पैसा चलचित्रको निर्माता हुनका लागि अरुलाई भक्कु दिएर चिलिम (लाहुरको भाषामा) फर्किएको छ । त्यो पैसा दिएको न कुनै कागजपत्र छ, न कुनै ठोस आधार । पति आउँदा निराश हुन्छ, घरझगडा हुन्छ, कुटाकुट हुन्छ यो धरान इटहरीतिरको कथा हो । लाहुरे प्रथाले बोली, भाषा, रहनसहन, खानपानदेखि लिएर लेखकले भने जस्तै  गणतान्त्रिक, आर्थिक र सामाजिक रुपमा ठूलो हलचल ल्याएको छ । त्यसको दस्तावेज यो किताबमा छ । राम्रो कुरा चाहिँ लेखकले पदमबहादुर गुरुङलाई केन्द्र बनाएर ल्याउनुभयो । उनले लाहुरे हुँदा अपमानजनक व्यवहार र असमानता खप्न पुगे । त्यसैबाट मुक्तिको यात्रा बु्रनाइबाट सुरु भयो । त्यो विद्रोहले सन् १९९० को जनआन्दोलन पछि स्थापना भएको गेसोले अंग्रेजहरूको असमान व्यवहारबाट ठगिएका गोरखा सिपाहीहरूलाई आर्थिक रुपमा धेरै माथि पु¥याउन सफल पनि भयो । उनीहरूलाई बेलायतमा स्थायी बसोबासको व्यवस्था पनि गरिदियो । अहिले यताको घर बिक्री गर्दै उता जान थाले । यसको विविध पक्ष होला । यसको इशारा यो किताबमा पाइन्छ । 
जे सुकै भए पनि पदमबहादुर गुरुङ र गेसोको सफलता मानव विकासको विजय, असमानता र रङ्गभेदवादी नीतिको हारको कथाको रुपमा यो पुस्तक आएको छ । यो कृति लगभग २ सय वर्षसम्मको नेपालको राजनीतिक, आर्थिक र सामाजिक इतिहासको प्रभावशाली दस्तावेज हो । चाखलाग्दो शैली, सरल र प्रभावकारी भाकाले कृतिको महत्व झनै बढाएको छ । गैरआख्यान भनिए पनि यो कृति आख्यानमय छ । बहुविधाको शैली प्रयोग गरी लेखिने आख्यान जस्तै यो चाखलाग्दो, उपयोगी र सङग्रहनीय छ । 



डम्बर चेम्जोङ

त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर

झलक सुवेदी लिखित ब्रिटिस साम्राज्यका नेपाली मोहरा  पुस्तक मैले आद्योपान्त पढेँ । गोरखा भर्तीको इतिहास, यसको सुरूआत, विकास र यसको वर्तमानसम्मको जानकारी मैले वहाँको पुस्तकबाट पाएँ ।  मेरो समीक्षा चाहिँ यस पुस्तकलाई मानवशास्त्रीय, समाजशास्त्रीय कोणवाट सैद्धान्तिक व्यापकतामा सामान्यीकरण गर्नुमा केन्द्रित हुनेछ । सो यस प्रकार छन्ः
अध्ययन विधिः
अध्ययन र अनुसन्धान विधिका हिसाबले पुस्तक व्यक्तिगत सन्दर्भबाट सुरू हुन्छ र विश्व विचरण गर्दछ । एउटा व्यक्ति भर्ती हुनुपर्ने नियति, फौजी जीवनको भोगाइ, लडाइँ, आफ्नो फौजी जीवनको भोगाइ दासताको साङलोले बाँधिएको अनुभूति, र सामुहिक मुक्ति र सामुहिक अधिकार प्राप्तिका लागि आपूmजस्तै अवकास प्राप्त सैनिक विरादरीलाई संगठित र संलग्न गर्ने र समानताका नयाँ लडाइँमा आफूलाई समर्पित गर्ने व्यक्तिका माध्यमबाट एउटा विशिष्ट सामाजिक इतिहास बक्दछ यस पुस्तकले । यसरी अध्ययन विधिका हिसाबले सामाजिक इतिहासको माइक्रो –म्याक्रो सम्बन्धहरू जोडिएका छन् यस पुस्तकमा । व्यक्तिको अनुभवबाट सुरू यस पुस्तकमा माइक्रोस्कोपिक कथनद्वारा म्याक्रोस्कोपिक (बृहत्तर) समाजको वर्णन त छँदैछ अझ गोरखा भर्तीको इतिहास समेत हुनुले यसलाई टेलिस्कोपिक वृतान्त समेत भन्नुपर्ने हुन्छ । सामाजिक इतिहास लेख्ने यो विधिलाई बटम–अप विधि पनि भनिन्छ जसमा मानवहरूका वैयक्तिक र सामुहिक अनुभव र अभ्यासहरूलाई आधार मानिन्छ र सैद्धान्तिक तहमा सामान्यिकृत गरिन्छ । यसो भनौँ,  व्यक्तिगत जीवनका अनुभव, संगठन, र  आन्दोलनमा संलग्नताहरूका आधार स्तम्भमा समग्र राजनीति र इतिहास ठड्याइएको छ यस पुस्तकमा । यो अर्थमा यो पुस्तक समाजशास्त्रीय छ व्यक्ति र संरचनाबीचको सम्वन्ध वा मेल यहाँ छ । 
व्यक्ति त कर्ता न हो सवै नियम त समाज मै हुन्छ  भन्छन् कार्ल माक्र्स लगायतका संरचनावादी समाजवैज्ञानिकहरू । 
भिसी लक्षुमन गुरूङको भनाइमा यो कुरा प्रष्टिएको छ–  “उ बेला भर्ती हुन्न भन्न पाउँदैनथ्यो .....।” ( हेर्नू पेज २२ )
सैद्धान्तिक पक्ष
नेपाल कहिल्यै कसैको उपनिवेश थिएन, भएन भन्ने गलत बुझाइलाई यस पुस्तकले जवाफ दिएको छ, आज पनि हामी उपनिवेशवादी हैकमको शिकार छौँ । यतिमात्र होइन गोरखाली शासकहरू समेत उपनिवेशवादी, साम्राज्यवादी थिए भन्ने कुरा समेत उल्लेख गर्नुभएको छ लेखकले यस पुस्तकमा (हेर्नू , पेज ३८) । यो प्रस्तुतिले नेपालभित्र समेत आन्तरिक औपनिवेशिकीकरण थियो र छ भन्ने स्वीकारोक्ति बुझाउँछ । 
समाजको मूल्यमान्यता कसरी परिवर्तन हुन्छ ? प्रष्ट पार्छ पुस्तकले । अघि लाबहुरेले हिे गर्नु मुस्किल पथ्र्यो । लाहुरेलाई कुटुम्बले छोरी चेली दिन मान्दैनथे । कालान्तरमा समाज यस्तो भयो कि लाहुरेलाई ज्वाइँ बनाउन पाए छोरी चेलीको परन्तु समेत सुध्रन्थ्यो भन्ने विश्वास वढ्यो । उदाहरण,  भक्तसिं पुनको कुरा नै काफी छ (हेर्नू पेज ६४) ।  
लाहुरे समुदायहरूको मौलिक संस्कृति, धर्म र भाषालाई औपनिवेशिक शैलीमा परिवर्तन गरिएको पक्षलाई उजागर गरिएको छ यस पुस्तकमा । यसका उदाहरण प्रशस्त छन् पुस्तकभरि ।  
लाहुरे–केन्द्रित अन्य साहित्यिक कृतिलाई, लोक गीत आदिलाई  सन्दर्भहरूसँग जोड्नाले पनि प्रस्तुुति चाखलाग्दो बनेको छ । पुस्तकमा लालित्यपूर्ण पदावलीहरू सर्वत्र भेटिन्छन् ।
पुस्तकको कमजोर पक्ष
पुस्तक पोखरा, स्याङजा, र बुटवल केन्द्रित हो कि जस्तो लाग्छ । मूलतः लिम्बू, राई लाहुरे समुदायहरूको कम प्रतिनिधित्व पुस्तकमा भएको अनुभूति हुन सक्छ ती समाजहरूका पाठकहरूले उक्त पुस्तक पढ्दा । 
पुस्तक राम्ररी सम्पादन नगरी नै छापिएको बुझिन्छ । कतिपय अनुच्छेद, र हरफरहरू निकै ठाउँमा दोहोरिएका छन् । 

जे भएपनि यो पुस्तक ब्रिटिस गोरखा भर्तीमा सेवा गर्ने समाजहरूको सामाजिक इतिहासको दस्तावेज हो । सम्बन्धितहरू र यस विषयमा रूचि राख्नेहरूले पढ्नै पर्ने पुस्तक हो यो ।  

गोरखा भर्ती र वेलायती लाहुरेको कथा

डा.हुमबहादुर गुरुङ
नेपालको पहाडी क्षेत्र तथा डाँडाकाँडाहरुमा गोरखा भर्तिको सपना बोकेका युवाहरुले पल्टनेहरुबाट लाहुरबाट फर्केपछि आफन्तहरुलाईफुर्सदको बेला मौखिक कथा सुनाउने प्रचलन झण्डै दुईसय वर्ष भई सकेको छ । लाहुरे जिवनमा भोगेका दुःख सुख अनि लडाईको वेला भोगेका कथाहरु रोचक पाराले भुतपुर्व गोर्खालीहरुले गाँउघरमा आफ्ना साथीभाई तथा परिवारलाई सुनाउने कथाहरुको सेतुका रुपमा मुख्य पात्र पदमबहादुर गुरुङ्गले भोगेका लाहुरे जिवनलाई केन्द्र विन्दु बनाई तीन वर्षको अनुसन्धान र परिश्रमबाट झण्डै दुइ सय वर्ष पहिले  देखि भोगेको कुरा जीवन्तरुपमा लेखक झलक सुवेदीले एक महत्वपुर्ण कृर्ति तयार गरेका छन् ‘व्रिटिस साम्राज्यका नेपाली मोहराः गोरखाभर्तीको नालीवेली ।’
पुस्तक “व्रिटिस साम्राज्यका नेपाली मोहराः गोरखाभर्तीको नालीवेली” मा चलन चल्तीमा प्रयोग नहुने ‘मोहरा’ शब्दको अर्थ “चेसको गोटी” बुभ्mन भने पाठकलाई कठिन हुनेछ । लेखक झलक सुवेदीले नेपाली समाजबाट लाहुरे संस्कृति बारे आज सम्म सुनेका र देखेका कुरा बाहेक अनुसन्धानको गहिराई बाट नेपाली समाजले अहिले सम्म नसुनेका कुराहरु छर्लाङ्ग पारेका छन् । लाहुरे संस्कृतिवाट मख्ख भएका गोर्खाली तथा नेपालीहरुलाई ब्रिटिस साम्राज्यका किल्लाहरु जोगाउन संसारको विभिन्न देशहरुमा अग्रपन्क्तीमा लडेका लाहुरेहरुको कथाहरु पढ्दा साँच्चिकै भावविहोर बनाउंछ ।
मौखिक इतिहासमा सिमित गोर्खालीहरुको कथालाई एक गैर लाहुरे लेखकले  मेहनतका साथ अनुसन्धान गर्दा विभिन्न विधिहरु अपनाएर यो पुस्तक माथिको विश्वासनियता बढाएको छ । लेखकले अनुसन्धानका विधिबारे मौखिक इतिहास अन्तवार्ता ९इचब िज्ष्कतयचथ क्ष्लतभचखष्भध०) प्रत्यक्ष अवलोकन ९एबचतष्अष्उबलत इदकभचखबतष्यल) र ऐतिहासिक दस्तावेजहरु ९ज्ष्कतयचष्अब िम्यअगmभलतक० अध्यान गरि कथाको गहिराइमा पुगेको छ । गहिराईमा पुग्नकै लागि लेखकले विभिन्न लाहुरे वस्तीहरुका साथै हङकङ्ग जस्ता लाहुरे जीवन विताएका ठाँउहरुमा गई सुक्ष्म अध्ययन गरिएकोले त्यसले अझ विश्वासनियता बढाएको छ । तथापि यसबारे पुष्टि गर्न अरु विधिहरु नअपनाइएको देखिन्छ । यसो हुनुमा मुख्यतय एकजना व्यतिmको जीवनमा आधारित कथा भएकोले हुन सक्छ । लेखकले अनुसन्धानको क्रममा पालना गर्नुपर्ने नैतिक मान्यताहरु ९भ्तजष्अब िऋयलकष्मभचबतष्यलक) समेत ध्यान दिई सबै सहभागीहरुलाई सम्मान गर्नुको साथै कतिपय निजि मामिलाहरुमा आँच आउन नदिन “पिंकी” जस्ता काल्पनिक नामहरु राखेर आफ्नो अनुसन्धानकर्ताको धर्म निभाएका छन् । विषय वस्तुसँग मेल खाने कविता, गीत तथा ठाँउठाँउमा गुरुङ्ग भाषा प्रयोग गरि लेखकले लाहुरे समुदायका पदमबहादुर गुरुङ्गलाई पछाउँदै अनुसन्धानको गहिराईसम्म पुग्ने प्रयास गरेको देखिन्छ । 
पुस्तकमा गोरखाभर्तीको प्रथा, गोर्खाली राज्यको विस्तारका साथै आधुनिक नेपाली इतिहास बारे चर्चा गरीएको छ । नेपाल–अङग्रेज युद्ध पछि वेलायती सैनिकहरुले जस्तोसुकै कठिनाईमा पनि बहादुरीका साथ लड्न सक्ने गोर्खालीहरुलाई ब्रिटिस गोरखालाहुरे बनाउने अभियान चलाए पश्चात गल्लावालहरु गाँउगाँउमा गई युवाहरुलाई फकाई कैयाँै दिन हिडाएर पक्लीहावामा भर्ति गर्न लाने प्रथाको बारेमा चर्चा गरेका छन् । वेलायत सरकारको यसरी भर्ति गराउने प्रथाहरुलाई वैधानिकता दिन नेपाल सरकारलाई दवाब दिएको कुरा यस पुस्तकमा चर्चा गरिएको छ ।
गोरखा पल्टनहरुको गठन, पुनर्गठन र विघटनले समय अनुसार बिभिन्न रुप लियो । पुस्तकमा सन् १९४७ मा भारत र वेलायतका वीच विभाजन गरिएपछि वेलायततिर पुगेका गोर्खालीहरुले वेलायती साम्राज्यवादको नीति अनुसार जापान, इन्डोनेशिया, मलाया लगायत विभिन्न देशमा शत्रुसँग भिड्ने काम मात्र नगरी युद्धबन्दीको रुपमा विताएका दिनहरुको बारेमा वेलिविस्तार गरिएका छन् । मलायाको जँगलमा पाएका लाहुरेहरुको दुःख र जिवनभर लाहुरे श्रीमानको प्रतिक्षामा बस्ने शान्तिमाया लिम्बु जस्ता लाहुरेनीको कथालाई उदाहरण दिँदै हजारँौ लाहुरेनीहरुले भोगेका पिडालाई अनगिन्ती कथाहरुका रुपमा प्रस्तुत गरेका छन् ।
पुस्तकमा लाहुरेहरुले क्याम्पको जीवनमा विताउने दिनचर्या र तालिमको समयमा रिक्रुट अफिसरहरुबाट खाइने गालीका साथै छुट्टिमा आउँदा हिन्दुकरणका कारण बाहिर (विदेश) जाँदाको पाप कटानी “पतिया” गर्न सात दिन सम्म पक्लिहवा बस्नु पर्दा लाहरेहरु  होटलवाला तरुनीहरुको जालमा फसेका कुराहरु लेखक सुवेदीले कवि भुपि शेरचनको “भैरहवा” शीर्षक कवितासंग जोडी रोचकता थपेका छन् । कतिपय लाहुरेहरु वरालिएर वेखर्ची भई घरै नगई पल्टन फर्केका कथाहरु प्रस्तुत गरेका छन् ।लेखकले लाहुरेहरुले आफ्नो अमुल्य जीवन व्रिटिसहरुको साम्राज्यवाद विस्तार गर्ने क्रममा पहिलो र दोस्रो विश्वयुद्ध तथा अरु अनेक लडाईहरु सकेपश्चात  चाहे  पछि बोलाउँला भन्दै रिडन्डेन्सी नीति बनाई रित्तो हात फर्काइएको दुःखान्त कथाहरु पनि पस्केका छन् । लाहुरे जीवनको  रिडन्डेन्सी र पेन्सन पछि कतिले आफ्नै गाँउठाँउमा बांकी जीवन विताए भने त्यहि गोर्खालीहरुको बहादुरीको कदर गर्दे बु्रनाइमा दोस्रो करियरको रुपमा नयाँ अवसर पाएको पनि वर्णन गरेका छन् । बु्रनाईको सुल्तान विरुद्धको विद्रोहमा उत्रेका शत्रुहरुलाई परास्त गरेबापत गोरखालाहुरेहरुलाई माया र विश्वास गरि बु्रनाईमा सेक्युरिटी गार्डका रुपमा काम गर्ने अवसर पाएको उल्लेख गरिएको छ । उता वेलायती लाहुरेहरु भने आफ्नै जिम्मेवारी बफादारीका साथ पालन गर्दै फकल्याण्ड देखि हवाईसम्म कुशलता पुर्वक लडाई लडिनै राखे । तर कतिपय नयाँ लाहुरेहरुलाई अफिसरहरुले गरेको गाली गलैज असह्य भएर अफिसरहरुलाई कुटपिट गरेको समेत उल्लेख  छ । यसबाट केहीे सोझा गोर्खालीहरुले जागिरबाट हात धुन परेका कुरापनि खुलासा गरेका छन् ।
यो पुस्तकको अर्काे महत्वपुर्ण पक्ष भनेको लाहुरेका महिला सदस्याहरुले भोगेका जीवन र उनीहरुका छोराछोरीले भोगेका सामाजिक पिडा पनि हो । एउटा अभिभावकले दिनुपर्ने माया ममता र हेरचाहको अभावमा कसरी घरबार बिग्रन्छ भन्ने कुरा लेखकले काल्पनिक  नामहरु राखेर लाहुरे समाजको चित्रण गरेका छन् । तर लाहुरे परिवारहरुले पनि राम्रो शिक्षा दिक्षा पाएर आज संसारको विभिन्न देशमा राम्रा कामहरु गरि सामाजिक प्रतिष्ठा कमाइरहेको चर्चा भने कमै उल्लेख गरिएको छ ।
लेखकले गोर्खालीहरुलाई व्रिटिस सरकारवाट भएको अन्याय विरुद्ध २० वर्ष देखि गोरखा भुतपुर्व सैनिक सङघ (गेसो)ले गरि आएको सङघर्षको सफलतालाई पनि समेटेका छन् । वेलायतको उच्च अदालतमा सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल भएपछि प्रस्तावको पक्षमा बहुमत पुगेपछि गोर्खालीहरुले जितको महशुस गरेको कुरा पनि उल्लेख गरेको छ । गेसोले गोरखालाहुरेहरुको यस संघर्षमा सशक्त ढङ्गले साथ दिने व्रिटिस अभिनेत्री जोआना लुम्लेको नाममा कास्की र स्याङजाको सिमानामा “जोआना लुम्ले भ्यु टाउर” नै स्थापना गरेको छ । पुस्तक पढ्दै जाँदा पदमबहादुर गुरुङ्ग एक सिपाही मात्र होइन एक प्रखर सामाजिक अगुवा तथा नेता भएको झलक पाईन्छ । उनले आमा शुभा गुरुङसेनी र परिवारको लागि कहिले समय निकालेनन् । खाली गोर्खालीहरुको सामाजिक न्यायको लागि संघर्ष गरेर जीवनभर भौतारिरहे । 
लेखकले गोरखाभर्र्ती बारेको विवादबारे पनि लेखाजोखा गरेका छन् । लाहुरेहरु छुट्टीमा आउँदा देखाउने सान र लाहुरे नभए पछि ढाक्रेको विल्ला भिरेर समाजमा बाँच्नु पर्ने जीवन र बाध्यता पनि चासोको विषय छ । त्यसैले पनि हुन सक्छ जनजाति समुदायमा व्रिटिस लाहुरे हुन मरिहत्ते गर्ने परम्परा अझै पनि छ । लाहुरे प्रथा ठिक वा वेठिक भन्नेमा खासै ठोकुवा नगर्नुमा नेपालको वर्तमान राजनिति प्रतिको वितृष्णाले पनि हो । त्यसैले हुन सक्छ शक्तिमा नहुँदा गोरखाभर्ती बारे जे जस्तो बोले पनि नरहँदा यस बारे मौन रहन्छन् । किनभने सरकारले देशमा रोजगारको अवसरहरु दिलाउने कुनै तत्कालिन वा दीर्घकालिन अवसरहरु दिलाउन सकेका छैनन ।
पुस्तकको प्रस्तुतिकरण परम्परागत शैलीकै छ । यसलाई केही ऐतिहासिक फोटोहरु, उहिलेका लाहुरेहरु हिड्ने बाटाहरु र लेखकले यात्रा गरेका ठाँउहरु नक्सामा उतारेका भए प्रस्तुतिका कारण पाठकहरुको मन तान्न अझ टेवा पुग्न सक्थ्यो होला । लेखकले पुस्तकमा थुप्रै सन्दर्भ सामाग्रीहरु उल्लेख गरे पनि सिमित सामाग्री मात्र समावेश गरि अन्य महत्वपुर्ण सन्दर्भ सामग्रीहरु छुट्टाएका छन् । अनुसन्द्यानको दृष्टिकोणबाट उनले हेलचेक्राई गरेको देखिन्छ । अन्तमा यो पुस्तक पदमबहादुर गुरुङ्गको जीवनको शेरोफेरोमा बुनिएको हुँदा उहाँकै जिवनी हो कि भन्ने भान पनि हुन्छ । उहाँकै जिवनी नै पुस्तकको शिर्षक भए अझ उत्तम र न्याय संगत हुन्थ्यो कि ? पुस्तकलाई अंग्रजीमा अनुवाद गरि प्रकाशन गरिएमा गैर नेपाली पाठक र नेपाली भाषा विर्सिदै गएका भुतपुर्व गोरखासैनिकका छोराछोरीले पनि आफ्ना पुर्खाहरुको ऐतिहासिक कथा पढ्न अवसर पाउने थिए ।




No comments:

Post a Comment