मादीको सेरोफेरो (२) ढिलो र सुस्तरी आएका परिवर्तनहरु
१) मलाई आजकल आफु कछुवाकै तालमा लखर लखर हिँडिरहेको र समय भने बुलेट रेलको गतिमा कुदिरहेको हो कि जस्तो लाग्छ । हेर्दा हेर्दै समाजका सबै आयामहरु विस्तारित भएका छन् । तिनले नयाँ स्पेश सिर्जना गरिरहेका छन् । व्यक्ति र परिवार हुँदै समाजका आर्थिक, सामाजिक, साँस्कृतिक आयामलाई बदल्ने अनेकवली घटनाका आँधीहरु आइरहेका छन् । म हुर्कँदा गाउँमा फुसको छानो भएका घुमाउने घरको बाहुल्यता थियो । सगोलका परिवारका सबै सदस्यहरु ती घरका भित्रबाहिर छेउकुनामा अटाउँथे । सासु बुहारी संगै सुत्केरी हुन्थे, कुनै पुरुष एकैपटक नयाँ सन्तानको बाबु पनि र नाती नातीनिको हजुरबाउ पनि बनिरहेको हुन्थ्यो । ती कति साँघुरो जीवनलाई सुमसुम्याएर बस्दा हुन ? जीवन ऋतुपरिवर्तनसंगै परिवर्तन हुने नीयमित चक्रजस्ता आइरहने कृषि कर्ममा आधारित थियो । लगौंटी लगाएर कछाड कम्मरतिर सारेर खेत खलिहानमा काम गरिरहेका अधेडावस्थाका पुरुषहरु, एकसरो धोती या गुन्युमा रजश्वला हुँदाका राता छाप लिएर मेलापात गरिरहेका महिलाहरु । साँघुरा गल्लीलाई नै आलोपालो मलमुत्र त्यागका स्थल बनाइने भएकाले नाँगा पाइतालाले फोहोर छल्दै हिँडेका भद्र भलाद्मीहरु । समय त्यस्तै थियो...