निर्यातमा आधारित विकासको पक्षमा
एक बिहान बाथरुम पस्दा विचार गरिहेरें, त्यहाँ प्रयोग हुने कमोड, स्प्रे, बेसिन, धाराको टुटी, सावर, टुथपेस्ट, टुथब्रस, ट्वाइलेट पेपर, साबुन, स्याम्पु, टावेल, अन्डर गार्मेन्ट्स सबैजसो आयातित रहेछन् । पानीचाहिँ यहीँको । त्यसपछि किचनमा चिया बनाउन गएँ । पानी र चियापत्ती नेपाली रहेछ । चिनी नेपाली हुन पनि सक्छ, नहुन पनि । स्टिलको ताप्के विदेशी । इन्डक्सन चुलो या ग्यास चुलो विदेशी । ग्यास विदेशी । बिजुलीचाहिँ नेपाली । चियाको कप विदेशी नै रहेछ । तेल, प्याज, मसलाहरू धेरैजसो विदेशी । तरकारी घरकै । केरा, स्याउ विदेशी । फ्रिज विदेशी । नुन पनि विदेशी । धाराको टुटी र सिंक विदेशी । वासिङ मेसिन विदेशी । चिया पिउँदै बस्ने सोफा आयातित सामानले बनेको रहेछ । टीभी खोल्यो विदेशी, टीभीमा हेरिने ९० प्रतिशत च्यानल विदेशी उत्पादन । टीभी आउने इन्टरनेटको माउ स्रोत विदेशी । भुइँमा राखेको कार्पेट नेपाली भए पनि प्रयोग भएको ऊन विदेशी । घरको भित्तामा लगाएको रङ विदेशी । हरसमय हातमा साथमा हुने मोबाइल विदेशी । फेसबुक विदेशी, ट्वीटर, मेसेन्जर, वाट्सएप, भाइबर, विच्याट सबै एप विदेशी । घरबाहिर जाँदा लगाइने जुत्ता, मो...