डाक्टर जीवागो : युद्ध, क्रान्ति र सामान्यजनका भुक्तमान
पास्तरनाक वोरिस पास्तरनाक रूसी क्लासिक साहित्यका एकजना विख्यात सर्जक हुन् । मूलतः कविका रूपमा स्थापित पास्तरनाक १८९० मा मस्कोको एउटा सम्भ्रान्त परिवारमा जन्मे-हुर्केका थिए । उनी किशोर अवस्थामा पुग्दै गर्दा रूसमा सन् १९०५ को क्रान्ति भएको थियो । उनको किशोर र युवावयमा रूस-जापान युद्ध, सन् १९०५ को रूसी क्रान्ति, दोस्रो विश्वयुद्ध, रूसका फेब्रुअरी र अक्टोबर क्रान्ति, त्यसपछिको चारवर्षे गृहयुद्ध भएका थिए । यी सबै घटनाले साधारण रसियालीहरूको जीवनमा उथलपुथल ल्याएको थियो । सम्भ्रान्त परिवारको परम्परागत उच्च वर्गीय जीवनशैली हठात् भताभुङ्ग भएको थियो । लेखक, कलाकार, चिकित्सक, प्रोफेसर सबै-सबैको जीवनमा क्रान्तिको एउटा आँधीले धक्का दिएको थियो । क्रान्ति र प्रतिक्रान्तिका शक्तिहरूका अनावश्यक दबाब, साइवेरिया निष्काशन, विदेश पलायन या दमनको सामना गर्नु परिरहेको थियो । पास्तरनाक भन्छन्- ‘जब तल्लो वर्ग जाग्यो उठ्यो अनि उच्च वर्गको अधिकार खत्तम भयो । कति छिटै सबै ओइलाए । अफसोस नगरिकनै सबै आफ्ना विचारबाट पछि हट्दै गए’ । (यहाँ उद्धृत गरिएका सबै पुस्तकांश हिन्दीमा अनूदित र प्रकाशित : डा. जीवागो, अनुवाद ...